काठमाडौं । घरेलु मैदानमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले एतिहासिक प्रदर्शन गर्यो । नेपालले साग इतिहासमा पहिलो पटक ५१ स्वार्ण जित्न सफल भयो । नेपालको ऐतिहासिक स्वर्णको सफलतामा मुख्य भूमिका खेल्ने खेलाडी मध्यका हुन; मण्डे श्रेष्ठ, गौरिका सिंह, आयसा शाक्य र सुवास तामाङ । उसो त नेपाललाई सफलता दिन सबै खेलाडीको समान भूमिका छ । उनीहरुको भूमिकालाई सरकारलगायत विभिन्न निकायाले सम्मान गर्दै पुरस्कृत पनि गरेका छन् । सरकारले नै सबै खेलाडीलाई आर्थिक रुपमा पनि सहज हुने गरि सम्मानित गर्यो ।
सरकारले संविधान दिवसको अवसरमा प्रदान गरिने मानपदवी भने सबै खेलाडीको चित्त दुखाइको विषय बन्यो । लामो समय नेपाली खेलकुदमा योगदान दिएर सागमा नेपाललाई स्वर्ण जिताउने खेलाडीलाई उक्त मानपदवीले बेवास्ता गर्यो । संविधान दिवसका दिन नै सबै खेलप्रेमी र खेलाडीमाझ चर्चाको विषय बन्यो मानपदवी विभूषण । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागमा पदक जित्न सफल खेलाडीहरुलाई एउटा फाराम भर्न लगायो । त्यसको मुख्य उद्देश्य थियो खेलाडीले देशका लागि दिएको योगदानको कदर गर्नु । तर, संविधान दिवसको दिन त्यसको नतिजा ठिक उल्टो बनेर आयो । सागमा नेपाललाई एतिहासिक सफलता दिलाउने खेलाडी नै मानपदवीबाट विभूषण हुन पाएनन् ।
“राखेपबाट लामो फाराम भराइयो । विभागीय टोलीका खेलाडीले यस पटक नेपाल पुलिस क्लबभन्दा पनि राखेपबाट फाराम भरेर पठाए । हालसम्म मैले देशका लागि दिएको योगदानबारे पनि भरे । घरेलु मैदानमा भएको सागमा नै देशका लागि दुई स्वर्ण जितेको मलाई पनि सरकारले योगदानको कदर गर्दै मानपदवीबाट विभूषण गर्ला भन्ने लागेको थियो । तर, हामीलाई बेवास्ता भयो,” सागमा दोहोरो स्वर्ण जित्न सफल खेलाडी मण्डे श्रेष्ठले बाह्रखरीसँगको कुरामानीमा भने ।
१३ औं सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई राखेपले फाराम भर्न लगाएको थियो । तर, राखेपले सिफारिस गर्न लगाएका खेलाडीहरु भने मानपदवी बिभूषणका लागि पर्न सकेनन् । यता विभागीय टोलीबाट सिफारिस भएका खेलाडीहरुले भने तक्मा झुण्ड्याए । देशका लागि छोटो समयमा ठूलो प्रतिफल दिन सफल खेलाडीहरुको भने बेवास्ता भयो । यता साग खेलकुद गरेको भन्दै राखेपका सदस्य सचिव रमेश सिलवाल र समारोह समितिका कुलबहादुर थापाको नाममा भने मानपदीप बिभूषण पर्न सफल भयो ।
खेलकुद क्षेत्रमा योगदान दिएका खेलाडीले भने धेरै मन दुखाए । सन् १९९९ मा नेपालमा आठौं सागमा नेपालका लागि ३२ स्वर्ण जितेका खेलाडीलाई गोर्खा दक्षिण बाहु विभूषणबाट सम्मानित गरेको थियो । त्यस्तै अहिलेका स्वर्णधारी खेलाडीले पनि राखेपले बेवास्ता नगरी आफूलाई विभूषण गर्छ भन्ने लागेको थियो । त्यस्तै मानपदवीमा नेपालका लागि सागमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई बेवास्ता गरिएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले असन्तुष्टि जनाए ।
संघले शनिबार विज्ञप्ति जारी गर्दै खेलाडीलाई फाराम भराएर पनि सम्मान नगरेर सरकारले खेलाडीको अपमान गरेको जनाएको बतायो । “स्वर्ण पदक विजेता खेलाडीले फाराम भरेर राखेपलाई बुझाए पनि आज सूची सर्वाजनिक हुँदा विभागले सिफारिस गरेबाहेक कुनै पनि खेलाडी मानपदवीको सूचीमा समावेश नहुनु अत्यन्तै दुःखद पक्ष हो । यसले खेलाडी र खेल क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण फेरि एक पटक उजागर भएको छ,” संघका अध्यक्ष दीपक श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यता सागमा स्वर्ण विजेता अनु अधिकारीले पनि संघले विभूषणका लागि नाटकीय रुपमा फाराम भर्न लगाएर आफूहरुको अपमान गरेको बताइन् । संघले विभागीय खेलाडीलाई मात्र मानपदवीबाट सम्मान गर्ने भए आफूहरुलाई फाराम भर्न लगाएर राखेपले अपमान गरेको बतााइन् । विभागीय क्लब एपीएफबाट कराँते खेल्दै आएकी उनले गत वर्षमात्र क्लबबाट राजीनामा दिएकी थिइन् । “सरकारले साग जिति सकेपछि राम्रो सम्मानसहित पुरस्कृत गरेको थियो । त्यसै अनुसार मानपदवी विभूषणमा पनि सम्मान गर्छ भन्ने कुरामा आशामा थियौं । तर, त्यो भएन्,” अनुले भनिन् ।
त्यस्तै नेपालका लागि सागमा चार स्वर्ण दिलाएकी गौरिका सिंहले पनि विभूषणबाट सम्मानित भइनन् । एउटै सागमा चार स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको रुपमा पहिचान बनाएकी गौरिकाले सम्मान भने पाउन सकिनन् । विदेशमा बसेर प्रशिक्षण गरेर देशको गरिमा बढाउन महत्वपूर्ण योगदान गरेकी उनले देशबाट नै अपमानित हुनु परेको छ । उनले नेपाललाई पौडीमा चार स्वर्ण जिताएकी थिइन् । गौरिका आठौं राष्ट्रिय खेलकुदमा पनि १२ स्वर्ण जित्दै कीर्तिमान बनाउने खेलाडी हुन् ।
संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट सम्मानित हुने व्यक्तिहरुको नाम शनिबार सार्वजनिक गरिएको थियो । त्यसमा राष्ट्रिय खेलबुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवालसहित खेल क्षेत्रका १९ जना परेका छन् । राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, तेक्वान्दोकी कीर्तिमानधारी संगिना वैद्य र तेक्वान्दोकै प्रशिक्षक तुलसि गौतमको नाम सार्वजनिक गरेको थियो ।