site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्थायी कमिटीमा नेता नेपालका १७ बुँदा : दुई अध्यक्षको होइन, समग्र पार्टीको एकता होस्
SkywellSkywell

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी कमिटी बैठकमा १७ बुँदा प्रस्तुत गरेका छन् । स्थायी कमिटीको बैठकमा पार्टी र पार्टी एकताको बुझाइमा विविधता देखा नपरोस् भनेर १७ बुँदे सुझाव–धारणा राखेका थिए ।

पहिलो बुँदामा नेता नेपालले पाँचौं स्थायी कमिटीको अन्त्यमा देखापरेको एकता दुई अध्यक्षको मिलापमात्र हुन नहुने कुरा उठाएको उनी निकट स्रोत बताउँछ ।

“यो दुई पार्टीबीचको एकता हो, पार्टी एकता मूलतः साविक कमिटीहरू बीचको एकता हो भन्ने बुझ्नुपर्दछ,” नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “अध्यक्षहरू नै पार्टीका प्रमुखहरू हुन्, तर यसलाई दुई अध्यक्षहरूको जिम्मेवारी बाँडफाँड वा समझदारीको आधारमा मात्र भनेर व्याख्या गर्न सकिँदैन, यो समग्र पार्टी पंक्तिको एकता हो, त्यसैले निश्चित विधिमा आधारित भएर एकता गर्नुपर्छ र सोही अनुसार जिम्मेवारी दिनुपर्छ ।”

KFC Island Ad
NIC Asia

पार्टीमा जिम्मेवारी प्रदान गर्दा पनि एकताको सन्देश दिनेबेला साविक कमिटीमा रहेको कसैलाई पनि अपमान नहुने गरी कमिटी निर्माण गर्नुपर्ने नेता नेपालको प्रस्ताव थियो ।

“अहिलेलाई पार्टी सचिवालय र स्थायी कमिटीको निर्देशन र सर्कुलर अनुरूप साविक कमिटीका सिनियरहरूलाई राखेर एकीकृत कमिटी निर्माण गर्नुपर्छ र अधिवेशनमा निश्चित विधि बनाएर प्रतिस्पर्धा हुने वातावरण निर्माण गरी योग्य र नयाँलाई पनि पार्टीमा जिम्मेवारी दिने कुराको सुनिश्चितता गरिनुपर्छ,” नेता नेपालले जोड दिएका थिए ।

Royal Enfield Island Ad

नेता नेपालले पार्टी विधानको धारा ४६ (क) मा व्यवस्था भएको ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’ सबै तहगत, मातहतका कमिटीमा लागु गर्न माग गरेका थिए । “सबै तहमा र सबै व्यक्तिको हकमा ‘एक व्यक्ति एक प्रमुख जिम्मेवारी’को कार्यान्वयन गर्नुपर्छ र यसो गर्दा मात्र विशाल पार्टीमा कामको सन्तुलन हुन्छ, धेरैलाई जिम्मेवारी दिन सकिन्छ एवम् नेतृत्व समेत विकास हुन्छ,” नेता नेपालको भनाइ थियो ।

विधानको धारा ४७ (क) मा भएको अनुगमन र मूल्याङ्कन सम्बन्धी व्यवस्था, धारा ६० (क) मा भएको पार्टीको निर्णयको व्यवस्था र धारा १७ को (ब), (झ) र (ट) माको केन्द्रीय अध्यक्ष र महासचिवको  अधिकार र कर्तव्यसम्बन्धी व्यवस्थालाई लागु गर्न पनि नेता नेपालले माग गरेका थिए ।

विभिन्न तहमा कम्युनिष्ट आन्दोलनको स्थापना, विस्तार र विकास गर्न योगदान गरेको पुस्तालाई सम्मान गर्नुपर्ने नेता नेपालको जोड थियो ।

“अहिले आन्तरिक प्रतिस्पर्धाबाट नयाँ पुस्ता आए पनि पूरानो पुस्ताको भूमिकालाई सम्मान हुने र उनीहरूलाई आफ्नो पार्टी भनेर अनुभूति हुने वातावरण निर्माण गर्नुपर्छ । आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित गर्नुपर्छ,” नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले जानकारी दियो ।

पार्टी बैठक नियमित एवम् विधानले तोकेको अवधिमा अनिवार्य रूपमा बस्नुपर्ने नेपालको भनाइ थियो । नेकपाको विधानमा स्थायी कमिटी ३ महिनामा र केन्द्रीय कमिटी बैठक ६ महिनामा बोलाउनुपर्ने व्यवस्था छ ।

“बैठकमा पर्याप्त छलफल गराउनुपर्छ र व्यक्त विचारहरूका आधारमा विधान अनुसारको प्रक्रिया अनुरूप निर्णय गर्नुपर्छ, यसबाहेक तत्काल समस्याहरू आउँदा वा महत्त्वपूर्ण निर्णयहरू गर्ने बेलामा पार्टीका औपचारिक वा अनौपचारिक बैठक बस्नुपर्छ र कमिटीले निर्णय गर्ने साथै नेतृत्वका बीचमा समझदारी निर्माण गर्ने काम गर्नुपर्छ,” नेता नेपालले उठाएका थिए ।

नेता कार्यकर्ताको मूल्याङ्कन गर्दा वरिष्ठता र क्षमताका आधारमा जिम्मेवारी र प्राप्त जिम्मेवारीको कार्य सम्पादन मूल्याङ्कनको आधारमा पदोन्नति वा यथाजिम्मेवारी दिने काम गर्नुपर्ने नेता नेपालको भनाइ थियो । “आफूलाई प्राप्त जिम्मेवारी पूरा गर्दा वा नगर्दा आफ्नो भूमिका वा पदमा के फरक पार्छ भन्ने कुरा प्रत्येक नेता कार्यकर्ताले बुझ्नु पर्छ र यसका लागि वैज्ञानिक प्रणालीको विकास गर्नुपर्छ,” नेता नेपालको जोड थियो ।

विषयगत विशिष्ठता भएका, अनुभवी पुराना नेतृत्व तहका साथै युवा र क्षमतावान्लाई निश्चित मापदण्ड बनाएर मात्र पार्टी तथा सरकारमा जिम्मेवारी दिनुपर्ने नेता नेपालको भनाइ थियो । यसो गर्दा योग्य, नयाँ र क्षमतावानलाई पार्टीमा आकर्षित हुने उनको मान्यता पनि थियो ।

“यसले पार्टी एवम् सरकारको आकर्षण तथा लोकप्रियता बढ्छ र नयाँ पुस्ता पार्टीमा आवद्ध हुने र सक्रियताका साथ लाग्ने वातावरण बन्छ,” उनले जोड दिएका थिए । जिम्मेवारी दिँदा चाकरी र मूल नेतृत्वसँग सामीप्यताको आधारमा नभई काम र क्षमताको आधारमा प्रत्येकलाई आफ्नो भविष्य सुनिश्चित देख्ने वातावरण निर्माण गर्नुपर्ने नेता नेपालले सुझाव दिएका थिए ।

पाटीभित्र झ्याङ्गिएको गैरसर्वहारा एवम् गैर कम्युनिष्ट प्रवृत्ति र चरित्रका विरुद्ध व्यापक शुद्धीकरण अभियान र वैचारिक, राजनीतिक र सैद्धान्तिक प्रशिक्षण अभियान चलाउनु अत्यावश्यक भएको उनले बैठकमा उठाएका थिए ।

सरकार र सरकार निर्माणमा

सरकार निर्माण गर्दा स्पष्ट र पारदर्शी मापदण्ड निर्माण गरी पार्टीभित्रको सन्तुलन, मुलुककोसमेत सन्तुलनलाई मिलाएर नेताहरूको बीचमा समझदारी गर्नुपर्ने नेता नेपालको भनाइ थियो । सरकारमा वा राजनीतिक नियुक्तिमा पठाउने व्यक्तिहरूको निर्णय पार्टीको सम्बन्धित जिम्मेवार निकायबाट गर्नुपर्ने उनको धारणा थियो । पार्टीको नीति अनुरूप घोषणापत्रका लक्ष्य हासिल गर्ने गरी सरकार सञ्चालन गर्नुपर्ने बताएका थिए ।

“पार्टीले सरकार सञ्चालन गर्नुपर्छ, सरकारले गर्ने महत्त्वपूर्ण निर्णय तथा दीर्घकालीन महत्त्व राख्ने विषयहरूलाई पार्टीमा छलफल गराउनु पर्दछ र आवश्यकताअनुसार विज्ञको राय लिनुपर्छ,” नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

समाजवादको सिद्धान्त र नेपाली व्यवहारबारे नेतृत्व पंक्तिको एउटै राय बनाउन घनिभूत र व्यापक छलफल–बहस चलाउन पनि नेपालले माग गरेका थिए । यसमा पार्टी पंक्ति र सिंगो समाजलाई संलग्न गराउनुपर्ने उनको जोड थियो । “समाजवादको उद्देश्य सबैखाले भेदभाव, असमानता, शोषण, उत्पीडन, असमानता र विकृति– विसंगतिको अन्त्य गरी न्यायपूर्ण, समानतामा आधारित, सुखी, समृद्ध र सुसंस्कृत समाजको स्थापना गर्नु हो भन्ने कुरामा स्पष्ट हुँदै शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मेवारी राज्यले बहन गर्नुपर्दछ,” उनले भनेका थिए ।

प्रत्येक व्यक्तिमा अन्तरनिहित क्षमता र खुबीको पहिचान र सम्मान गर्दै उनीहरूको व्यक्तित्व विकास गर्ने वातावरण तयार गर्न सुझाव दिएका थिए । नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन आजको सन्दर्भमा कुन क्षेत्रको भूमिका र योगदान सबैभन्दा प्रभावकारी र आवश्यक हुन्छ भन्ने कुरामा सरकार स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ।

“राष्ट्रिय पुँजीको विकास गर्ने, तीन खम्बे अर्थनीतिलाई दृढताका साथ अवलम्बन गर्दै विदेशी पुँजी र सहायताको प्रभावकारी रूपमा उपयोग गर्दै राष्ट्रिय उत्पादनमा वृद्धि र उत्पादकत्व क्षमता बढाउने कुरामा ध्यान दिनु पर्दछ,” नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “नेपाली अर्थतन्त्रका विभिन्न क्षेत्रको प्राथमिकताक्रम त्यसको महत्त्व र समग्र अर्थतन्त्रमा पार्ने प्रभावको आधारमा तय गर्नुपर्दछ ।”

भ्रष्ट्राचार अन्त्य र सुशासन

भ्रष्ट्राचारका प्रत्येक मुद्दामा सरकार एवम् पार्टी दुवै संवेदनशील हुनुपर्ने नेता नेपालको भनाइ थियो ।

“नेता तथा कार्यकर्ताहरूको जीवनशैली सादगीपूर्ण र पारदर्शी हुनुपर्छ,” नेता नेपालले आफ्नो विचारमा उभिँदै भनेका थिए, “प्रत्येक उजुरीको पार्टी तथा राज्यका सम्बन्धित अङ्गबाट तत्काल निष्पक्ष छानबीन गर्नुपर्छ, दोषीमाथि कडा कारवाही गर्नुपर्छ, गम्भीर जनसरोकार र सुशासनका कुरामा कसैलाई छुट दिनुहँदैन । सुशासनका बाधक विषयहरूलाई ऐन–कानुन, नियमावली संशोधन गरेरै भए पनि हटाउनु पर्छ र जनउत्तरदायी एवम् पारदर्शी शैली अपनाउनुपर्छ, तदनुरुप प्रशासन लगायत सबैलाई परिचालित गर्नुपर्छ ।”

नेता नेपालले सेटिङ्ग प्रणाली, दलाल पुँजीपति र बिचौलियाको स्वार्थपूर्तिको माध्यम बन्ने अवस्थाको अन्त्यको पनि माग गरेका थिए । राजनीतिक तथा अन्य नियुक्तिका नेता नेपालले सम्बन्धित निकायले अपेक्षा गरेको योग्यताअनुरूप निश्चित मापदण्ड तयार गर्नुपर्ने र त्यसआधारमा मात्रै नियुक्ति दिनुपर्ने बताएका थिए ।

“नियुक्त हुने व्यक्तिको आचरण, व्यवहार, आस्था र सन्तुलन समेत विचार गर्नुपर्छ,” नेता नेपालको सुझाव थियो, “एउटा तहमा छलफल चलाइ समाजमा बद्नाम नभएका एवम् कसैका विरुद्ध निम्नस्तरको गालीगलौच तथा सार्वजनिक अपमान नगरेको र नगर्ने व्यक्तिलाई मात्र नियुक्त गर्नुपर्छ ।”

पार्टीभित्र हुने गलत कामलाई निरुत्साहन गर्न नेतृत्व निर्मम बन्नुपर्ने नेता नेपालको भनाइ थियो ।

राज्यशक्तिको प्रयोग

राज्यशक्तिको प्रयोग राष्ट्रको सम्वृद्धि र विकासको निम्ति प्रयोग गर्न सुझाव दिएको थियो । अहिले पार्टीभित्र र सरकारमा अवाञ्छित शक्ति आर्जन गर्न प्रयोग भइरहेकोतिर नेता नेपालले सङ्केत गरेका थिए ।

“मुलुकको प्रगतिका बाधक तत्वहरुको पहिचान गरी त्यसको समूल अन्त्य गर्नु पर्दछ, राज्यशक्तिको दुरुपयोग पार्टीको आन्तरिक प्रतिस्पर्धालाई प्रभावित गर्न गर्नुहुँदैन,” नेता नेपालको सुझाव थियो ।

अन्तर्राष्ट्रिय सम्बन्ध

पार्टी, सरकारले पञ्चशीलमा आधारित विदेश नीति, असंलग्न परराष्ट्र नीति, दुई ठूला छिमेकीसँगको सन्तुलित सम्बन्ध, अरूको आन्तरिक  मामिलामा अहस्तक्षेप जस्ता नीति अवलम्बन गर्नुपर्ने नेता नेपालको धारणा थियो ।

“बोलीमा संयमता तर मुद्दामा स्पष्टता सहितको अडान राख्नु पर्छ,” नेता नेपालले सुझाव दिँदै भनेका थिए, “आफ्नो राष्ट्रिय हित र पारस्पारिक सम्मानमा आधारित विदेश नीति अँगाल्नु पर्छ, उल्लेखित नीति र सोही अनुरूपको व्यवहार राष्ट्रियता बलियो बनाउने आधार तथा दीर्घकालीन हितका विषय हुनुपर्छ, राष्ट्रिय हितमा आघात पुग्ने र असंलग्नताको परराष्ट्र नीतिका सिद्धान्तविपरीत कुनै सन्धि–सम्झौता वा सहमति गर्नु हुँदैन ।”

नेतृत्व तहमा हार्दिकता

नेतृत्व तहबीचमा हार्दिकता कायम हुनुपर्ने नेता नेपालको भनाइ थियो । सम्पूर्ण पार्टी पंक्तिप्रति कमरेडली, पूर्वाग्रहमुक्त व्यवहार गरिनुपर्ने नेता नेपालले बताएका थिए ।

“विगतमा पार्टी निर्माणमा सबैले योगदान दिएको हुनाले उनीहरूको कामको प्रशंसा तथा उनीहरूप्रति सम्मानभाव राख्नुपर्दछ,,” नेता नेपालले बैठकमा उठाएको कुरा स्रोतले उद्धृत गर्‍यो, “आपसी सम्बन्धमा गहिरो हार्दिकता हुन सकेन भने पनि न्यूनतम समझदारी निर्माण हुनुपर्दछ, कुनै पनि सहकर्मी तथा कार्यकर्तालाई घोचपेच, खिसिट्युरी, अपमान तथा सार्वजनिक बेइज्जत गर्नु हुँदैन, कुनै पनि समकक्षी नेताको बारेमा भेट्न जाने अरूसँग खिसिट्युरी गर्ने र उडाउने काम गर्नु हुँदैन । एउटालाई प्रयोग गरेर अर्कोलाई देखाइदिने वा समाप्त गर्ने सोंचाई गलत हो, त्यस्तो काम गर्नु हुँदैन ।”

व्यक्तिकै अगाडि स्वस्थ आलोचना गर्नु सुधारको आग्रह भएको चर्चा गर्दै नेता नेपालले यसले हार्दिकतामा असर पार्न नहुनेमा जोड दिएका थिए ।

पार्टी–सरकारबीचको अन्तरसम्बन्ध
केन्द्र, प्रदेश र स्थानीय तहमा सरकारलाई पार्टीको नीति र घोषणापत्र अनरूप काममा लगाउनको पार्टीसँग समन्वय आवश्यक रहेको नेता नेपालको निष्कर्ष थियो ।

“सरकारले पार्टीसँग समन्वय गर्ने तथा पार्टीले सरकारका कामलाई सहजीकरण गर्नुपर्दछ । सम्बन्धित तहका उच्च नेतृत्वको अनौपचारिक चुस्त टीम बनाएर सरकारको कामलाई प्रभावकारी बनाउने, पार्टीको स्वामित्व स्थापित गर्ने र गरेका कामलाई जनस्तरसम्म प्रचार गर्ने गर्नुपर्दछ,” नेता नेपालले सुझाव दिँदै भनेका थिए ।

त्यस्तै पार्टी र सरकारको जनतासँगको सम्बन्ध पानी र माछा जस्तो हुनुपर्ने नेता नेपालको भनाइ थियो । पार्टी एवम् सरकार जनताको सुख, दुःखको साथी, आशा एवम् भरोसाको केन्द्र बन्नुपर्ने निचोड निकाल्दै सबै क्षेत्र र तहमा पार्टी–सरकार बीच नियन्त्रण र सन्तुलनको नीतिको दृढताका साथ पालना गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।

“सुन्दर भविष्यको सपना देखाउने, तदनुरूपको व्यावहारिक, सम्भव र सन्तुलित योजना बनाउने,” नेता नेपालको सुझाव थियो, “योजना लागु भए–नभएको अनुगमन गर्ने, समस्याको पहिचान गरी त्यसको समयमै समाधान गर्ने, कम्तीमा पनि तोकिएको समयमा  सकेसम्म कम खर्चमा गुणस्तरीय सेवा र परिणाम दिने तरिका अवलम्बन गर्नुपर्छ ।”

पार्टी एवम् सरकारले सार्वजनिक सरोकारका कममा जनताको सहभागितामा जोड दिनुपर्ने पनि नेपालको धारणा थियो ।

धेरै बोल्ने, धेरै प्रतिबद्धता व्यक्त गर्ने, ठूला–ठूला कुरा र घोषणा गर्ने तर थोरै परिणाम दिने तरिकाबाट जोगिनु प्रधानमन्त्री एवम् सरकारलाई सुझाव दिएका थिए । “थोरै बोल्ने अनि धेरै परिणाम दिने कार्यशैली अपनाउनु पर्छ,” नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले बतायो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  २०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro