site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निषेधाज्ञाले बैंक तथा वित्तीय क्षेत्रमा जोखिम बढ्यो

काठमाडौं । कोरोना नियन्त्रणको लागि लगाइएको चार महिना लामो लकडाउन साउन पहिलो साताबाट अन्त्य भएको थियो । कोरोनाका कारण आर्थिक गतिविधि बन्द हुँदा अर्थतन्त्रमा गम्भीर असर पारिसकेको छ । गत आर्थिक वर्षमा सरकारले २ दशमलव २८ प्रतिशतको आर्थिक वृद्धि भएको बताइरहे पनि स्वतन्त्र आर्थिक विश्लेषकहरुले भने नेपालको अर्थतन्त्र नेगेटिभ भएको बताउँछन् । 

साउन पहिलो साताबाट लकडाउन अन्त्य भएसँगै आर्थिक गतिविधि पनि क्रमशः सुचारु हुँदै गएको थियो । तर कोभिड १९ को संक्रमण झन तीव्र रुपले विस्तार हुँदै गएपछि हाल काठामाडौं उपत्यकालगायत देशभरका ४० भन्दा बढी जिल्लाहरुमा आंशिक र पूर्ण निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञासँगै आर्थिक गतिविधि बन्द हुँदा वित्तीय क्षेत्र पनि ठप्प भएको छ । 

निजी क्षेत्रलगायत सबैतिरबाट अब पनि निषेधाज्ञा जारी राख्ने हो भने अर्थतन्त्र तहसनहस हुने भन्दै खुलाउनु पर्ने आवाज उठिरहेको छ । सबैतर्फबाट स्वास्थ्य पूर्वाधार तयार गरी जनस्वास्थ्यको मापदण्ड लागु गर्दै आर्थिक गतिविधि सुचारु गर्नुपर्ने आवाज उठिरहेका बेला वित्तीय क्षेत्रबाट पनि अब निषेधाज्ञा र लकडाउनको बन्दीमा अर्थतन्त्रलाई पार्न नहुने स्वरहरु सुनिन थालेका छन् ।

Argakhachi Cement Island Ad

रोगले मर्न नदिने भन्दै गरिएको निषेधाज्ञाले जनता भोकले मर्ने अवस्था आउन लागेको भन्दै राज्यले जनस्वास्थ्याको मादण्ड पूरा गरेर आर्थिक गतिविधि सुचारु गर्न दिनुपर्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन् । 

“निषेधाज्ञा र लकडाउन गर्नु नै समस्याको समाधान होइन । अब पनि अर्थतन्त्र सुचारु नहुने हो भने रोगको कारणभन्दा भोकको कारण भयावह अवस्था आउन सक्छ,” उनले भने । स्वास्थ्यको आवश्यक पूर्वाधार तयार गरी मापदण्डसहित अर्थव्यवस्था सुचारु गर्नुपर्नेमा उनको जोड छ ।

साउनबाट आर्थिक गतिविधि केही सुचारु भएसँगै कर्जाको माग बढ्ने अपेक्षामा रहे पनि करिब एक महिनामा नै देशका अधिकांश स्थानमा जारी निषेधाज्ञाले लकडाउनको भन्दा बढी प्रभावित पारेको दाहाल बताउँछन् । भौतिक दूरी कायम गर्दै राज्यले स्वास्थ्यको मापदण्ड लागु गरेर सोही अनुसार आर्थिक गतिविधि सञ्चालन गर्नुको विकल्प नभएको दाहालको भनाइ छ । 
बैंकहरुमा कर्जाको माग नहुनु र निक्षेप लगातार बढ्दै जाँदा अधिक तरलताको अवस्थामा पुगेको दाहाल बताउँछन् । आर्थिक गतिविधि सुचारु नभएर कर्जाको माग पनि नहुने र राष्ट्र बैंकले तरलता प्रसोचन नगर्ने हो भने ब्याजदर थप घटेर निक्षेपकर्ता निरुत्साहित हुने अवस्था आउने उनको भनाइ छ । 

यता निषेधाज्ञाले अर्थतन्त्र ठप्प हुँदा बैंकहरुलाई लगानीमा रहेको कर्जाको रिकभरीले पनि पिरोल्न लागेको छ । चैत र असार मसान्तमा असुल हुन नसकेको कर्जा तिर्ने समयम केन्द्रीय बैंकले ६ महिनादेखि १ वर्षसम्म थप गरेको छ । निषेधाज्ञाले गर्दा आर्थिक गतिविधि ठप्प हुँदा बाँकी रहेको कर्जा मात्रै हैन असोज मसान्तमा असुल गर्नुपर्ने कर्जासमेत असुल गर्न बैंकहरुलाई मुस्किल पर्ने अवस्था आएको अर्को एक बैंकरले बताए । 

“राष्ट्र बैंकको सहुलियतले पुस मसान्तसम्म असल वर्गमा रहेको कर्जा असार मसान्तमा असुल नहुँदा ५ प्रतिशत मात्रै प्रोभिजन गर्दा पुगेको थियो,” उनले भने, “भदौ लागेसँगै जारी भएको निषेधाज्ञाले असार मसान्तमा असुल हुन नसकेको ब्याजर रिकभरी त परको कुरा चालु आर्थिक वर्षको पहिलो त्रैमासको ब्याजसमेत असोज मसान्तमा रिकभरी हुने सम्भावन कम देखिन्छ ।” यसले बैंकहरुलाई अब ५ प्रतिशतको प्रोभिजन बढाएर २५ प्रतिशत पुर्‍याउनु पर्ने अवस्था आउने र असोज मसान्तको ब्यालेन्स सिट ठूलो नोक्सानीमा आउने ति बैंकरको भनाइ छ । 

पछिल्लो समय बैंकहरुले संस्थागत निक्षेपकर्ताको निक्षेपलाई न्यून ब्याजदरमा मात्रै बोलकबोल गरिरहेको अवस्था छ । व्यक्तिगत निक्षेपको ब्याजदर पनि घटेको अवस्थामा थप घट्नसक्ने बैंकर्स बताइरहँदा वित्तीय क्षेत्रमा अर्को ठूलो जोखिमको सम्भावना रहेको देखिन्छ । वित्तीय क्षेत्रबाट निक्षेप पलायनको जोखिम बढेको बैंकरहरु नै बताउँछन् ।  अब पनि निषेधाज्ञा थप गरेर आर्थिक गतिविधि बन्द गरीरहने हो भने अर्थतन्त्रमा ठूलो धक्का लाग्ने बैंकरहरुको भनाइ छ । 

डेभलपमेन्ट बैंकर्स एसोसिएसनका कार्यसमिति सदस्य तथा कामना सेवा विकास बैंकको प्रम्ख कार्यकारी अधिकृत प्रविण बस्नेत पनि लकडाउन र निषेधाज्ञा गर्नु नै समस्याको समाधान नभएको बताउँछन् । राज्यले आवश्यक स्वास्थ्य पूर्वाधार निमार्ण गर्ने र स्वास्थ्यको मापदण्ड तयार गरी आर्थिक गतिविधि सुचारु गर्नुपर्नेमा उनको जोड छ । 

“नर्मलको भन्दा न्यु नर्मल अवस्थामा भौतिक दूरी कायम गर्दै स्वास्थ्यकर्मी मापदण्ड सबैले पालन गर्नुपर्ने तथा राज्यले पनि कोरोना नियन्त्रणको नाममा निषेधाज्ञा र लकडाउन गरेर रोगभन्दा भोकले मर्ने अवस्था सिर्जना हुन्छ” उनले भने । 

लकडाउन अन्त्यसँगै असार मसान्तमा असुल हुन नसकेको कर्जा साउनमा करिब ३० प्रतिशत असुल भएको तर भदौ लागेसँगै जारी निषेधाज्ञाले कर्जाको लगानीसँगै असुल पनि ठप्प भएको उनको भनाइ छ । अझै पनि निषेधाज्ञा जारी रहने हो भने वित्तीय क्षेत्रसँगै अर्थतन्त्रले ठूलो नोक्सानी व्यहोर्नु उनले बताए ।

“हाम्रोमा स्वास्थ्यका मापदण्ड पालना नगर्दा ठूलो समस्या देखिएको छ,” उनले भने, “सबै नागरिकले स्वास्थ्यका मापदण्ड पालना गरी भौतिक दूरी कायम गर्ने र राज्यले स्वास्थ्य पूर्वाधार तयार गरेर आर्थिक गतिविधि सुचारु गर्नुपर्छ ।”

यता, लघुवित्त क्षेत्रमा पनि करिब १५ प्रतिशत सेवा मात्रै सुचारु रहेको लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्मा बताउँछन् । “सहरी क्षेत्रमा अधिकांश ठाउँमा बन्द तथा निषधाज्ञाले सेवा बन्द रहेको छ, उनले भने, “ग्रामीण भेगका केही केन्द्रमा सेवा प्रदान भइरहेको छ, तराइका अधिकांश ठाउँ र सहरहरुको शाखा बन्द भएको अवस्थामा विकट र दुरदराजमा १०-१५ प्रतिशत मात्रै सेवा प्रदान भइरहेको छ ।” 

राष्ट्र बैंकले गरेको ५ प्रतिशतको प्रोभिजनले बढी समस्या भएको उनी बताउँछन् । एकातिर कर्जा रिकभरी हुन नसक्दा प्रोभिजन बढेको छ भने नयाँ कर्जा लगानी गर्न प्रोभिजनले गर्दा क्यापिटल एडुकेसीले धान्ने अवस्था नभएको उनको भनाइ छ । जसले गर्दा कोभिड संक्रमण कम भएसँगै लगानीमा रहेको सामूहिक जमानीको कर्जा असुल नहुँदासम्म नयाँ कर्जा लगानी गर्ने अवस्था हुँदैन ।

व्यवसायीले अब व्यवसाय पनरुउत्थानको लागि पनि थप कर्जा लगानी गर्नुपर्ने तर ५ प्रतिशतको प्रोभिजनले गर्दा लघुवित्तको कर्जा लगानी गर्ने क्षमता नै नभएको उनको भनाइ छ । अब पनि निषेधाज्ञा बढाउने हो भने उद्योग व्यवसाय रिकभर हुनै नसक्ने अवस्थामा पुग्ने उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  १९:३५
प्रतिक्रिया दिनुहोस्