site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
नेपाली स्ट्राइकरले तोड्न नसकेको १३ गोलको रेकर्ड

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली सन् २०१५ मा साफ च्याम्पियनसिप खेल्न भारतको केरला पुगेको थियो । च्याम्पियनसिपको समूह ‘ए’ मा रहेको नेपालले दुई खेल खेल्यो । पहिलो खेलमा श्रीलंकासँग १-० गोलले पराजित हुँदा दोस्रो खेलमा नेपाल घरेलु टोली भारतसँग ४-१ गोलले पराजित हुन पुग्यो । तर, त्यस खेलमा नेपाली फुटबलमा रहेको लामो समयको गोलको खडेरीको भने अन्त्य भएको थियो ।

५ सेप्टेम्बर २०१३ मा साफ च्याम्पियनसिपमा भारतविरुद्ध गोल गरेपछि नेपाललाई गोलको खडेरी परेको थियो । २०१३ देखि २८ डिसेम्बर २०१५ सम्म आइपुग्दा नेपालले १२ खेल खेलेको थियो । जहाँ नेपालले कुनै गोल गर्न सकेको थिएन । तर, १२औं खेलमा नेपालका लागि स्ट्रइकर विमल घर्तीमगरले गरेको भारतविरुद्धको गोलले नेपालको दुई वर्ष लामो गोलविहीन यात्राको अन्त्य भएको थियो । भारतविरुद्ध घर्तीमगरले खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर, अग्रता जोगाउन नसक्दा नेपाल ४-१ गोलले पराजित भएको थियो ।

यस अवधिमा नेपालले मनाङ मर्स्याङदी क्लब तथा नेपाली यू-१९ र यू-१६ सँग गरी थप तीन मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ नेपाली सिनियर टोलीले यू-१९ सँग समेत गोलरहित बराबरी खेलेको थियो ।

Dabur Nepal

यही आँकडालाई ध्यानमा राख्‍ने हो भने नेपालको फरवार्डलाइन कति कमजोर छ भन्‍ने प्रस्ट देखाउँछ । नेपाली फुटबलको अग्रपंति सम्हाल्न दशकौं राष्ट्रिय टोलीमा बिताए पनि गोल गर्न भने सकिरहेका छैनन् । फरवार्डलाइनको जिम्मा सम्हाल्दै राष्ट्रिय टोलीमा दशकौं बिताएका तिनै खेलाडी नेपाली फुटबलका स्टार खेलाडी कहलिन्छन् । तर, तिनै स्टार भनिने खेलाडीहरूले भने टोलीमा आफ्नो भूमिकामाथि न्याय गरेको पाइँदैन ।

यतिसम्म कि नेपाली फुटबलका स्ट्राइकरहरूले डेढ दशकभन्दा लामो सामान्य १३ गोलको रेकर्ड तोड्न सकेका छैनन् । जुन नेपाली फुटबलको सबैभन्दा ठूलो विडम्बना हो । “नेपाली फुटबलको फरवार्डलाइन अझै सुधार हुन सकेको छैन । हामी जहिले पनि फरवार्ड लाइनमै चुकिरहेका छौं,” पूर्वस्ट्राइकर तथा पूर्वराष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले भने, “स्ट्राइकरले बललाई जज गर्न सकिरहेका छैनन् । जसले गर्दा उनीहरू राइट टाइम, राइट प्लेस र राइट पोजिसनमा पुग्‍न सकिरहेका छैनन् । जसले नेपाली टोलीको प्रदर्शन नै फितलो बनाएको छ ।”

उनले डिफेन्डर र मिडफिल्डरले राम्रो खेल्दा-खेल्दै पनि स्ट्राइकरले गोल गर्न नसक्दा नेपाली फुटबल अघि बढ्न नसकेको बताए । अन्य खेलाडीले राम्रो खेल्दा खेल्दै पनि गोलविना खेल जित्‍न नसकिने भएकाले स्ट्राइकरले आफ्नो लाइनमा चतुर भएर बस्‍न जरुरी भएको बताए ।

तोड्न नसकिएको राष्ट्रिय टोलीको १३ गोलको रेकर्ड
नेपाली फुटबलले अन्तर्राष्ट्रिय फुटबल खेल्न सुरु गरेको चार दशक भइसकेको छ । सन् १९७२ देखि नेपालले पहिलोपटक चीनसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेले पनि आधिकारिक खेल भने एसियन गेम्स छनोटलाई मानिएको छ । १९८२ मा पाकिस्तानसँग कराँचीमा भएको एसियन गेम्स छनोट नै नेपालको पहिलो आधिकारिक खेल हो ।

त्यसयता नेपालले हालसम्म विभिन्‍न प्रतियोगितादेखि मैत्रीपूर्ण खेललगायत २०६ खेल खेलेको छ । जसमा नेपालले १७१ गोल गरेको छ । दुई गोल भने नेपालले आत्मघाती उपहार पाएको हो ।

नेपाली फुटबलको इतिहासलाई केलाउने हो भने स्ट्राइकले धेरै गोल गरेको पाइँदैन । नेपालका लागि सर्वाधिक गोलकर्ता हुन् पूर्वखेलाडीद्वय हरि खड्का र नीराजन रायमाझी । खड्का र रायमाझीले नेपालका लागि सर्वाधिक १३ गोलको रेकर्डलाई साझा गरेका छन् ।

पूर्वस्ट्राइकर खड्काले सन् २००३ मा एएफसीले आयोजना गरेको एसियन कप प्रिलिमिनरीमा १३ गोलको आँकडा पूरा गरेका थिए । दशरथ रंगशाला भएको खेलमा नेपालले अफगानिस्तानमाथि ४-० को जित निकालेको थियो । घरेलु मैदानमा भएको खेलमा रायमाझीले दुई गोल गर्दा दीपक लामा र खड्काले एक-एक गोल गरेका थिए । उनले खेलको ३९औँ मिनेटमा मैदानको मध्यभागबाट बल अगाडि बढाउँदै गोल गरेका थिए । त्यो नै उनको अन्तिमा गोल हो र सर्वाधिक १३ गोलको रेकर्ड आफ्नो नाममा गरे । उनले नेपालका लागि ४१ खेल खेल्दै १३ गोल गरेका हुन् ।

त्यसपछि अर्का स्ट्राइकर रायमाझीले १३ गोलको आँकडा पूरा गरेका थिए । उनले ७ जुन २००८ मा माल्दिभ्सको मालेमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोल गर्दै १३ गोलको रेकर्ड खड्कासँग साझा गरेका थिए । नेपालले ४-१ गोलले जितेको खेलको छैटौं मिनेटमा रायमाझीले गोल गर्दै रेकर्ड आफ्नो नाममा गरेका थिए । २००२ देखि २०१० सम्म राष्ट्रिय टोलीमा बिताएका रायमाझीले २२ खेलमा १३ गोल गरेका छन् ।

रायमाझीले यो रेकर्ड बराबरी गरेयता नेपाली राष्ट्रिय टोलीमा थुप्रै स्ट्राइकरहरूको आगमन भयो । पछिल्लो पुस्ताका युवा स्ट्राइकर अभिषेक रिजालसम्म आइपुग्दा नेपालले राम्रै स्ट्राइकरहरू पाएको फुटबलविज्ञ सन्जीव मिश्र बताउँछन् । “नेपाली टोलीमा पहिले र अहिले राम्रै स्ट्राइक थिए र छन् पनि । तर, गोल गर्न नसक्नु नेपालको खेल्ने रणनीतिले हो,” उनले भने, “हाम्रो खेल्ने नरणनीति आफ्नो पोस्ट बचाउने हुन्छ । डिफेन्सिभ रणनीतिमा कसरी गोल निस्कन्छ ? यतिसम्म कि हाम्रा स्टाइकरहरूसमेत यस रणनीतिमा विपक्षको पोस्टमा गोल गर्नुभन्दा आफ्नो पोस्ट बचाउनतिर लागेका हुन्छन् । त्यसैले नेपाली स्ट्राइकरबाट थोरै गोल निस्केका हुन् ।”

छोटो समयमै प्रशिक्षक परिवर्तनले पनि राष्ट्रिय टोलीको प्रदर्शन खस्किएको उनको बुझाइ छ । प्रशिक्षकले आफ्नै रणनीतिमा खेलाउनु र खेलाडीलाई नचिन्नुले फुटबलको स्थिति उस्तै रहेको उनले बताए । नेपालले अन्तर्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल कम खेल्नुले पनि नेपाली स्ट्राइकरले दशक लामो १३ गोलको रेकर्ड तोड्न नसकेको उनले बताए ।

“रायमाझीको खेल र गोल संख्या हेर्न हो भने धेरै राम्रो हो । उनले केही समय खेलेको भए यो रेकर्ड तोडिएर अर्को रेकर्ड बनेको हुने थियो । तर, उनी फुटबल छाडेर जर्मनतिर लागे । फेरि उनले राष्ट्रिय टोलीमा डेब्यु गरेपछि करिब चार वर्ष फुटबलबाहिर रहे,” मिश्रले भने, “नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जति खेल्नुपर्ने हो त्यति खेलेको पाइँदैन । पछिल्लो समय विश्वकप छनोट र एसिया कप छनोट पनि संयुक्त रुपमा हुनुले खेलाडीलाई धेरै घाटा पुगेको छ ।” 

नेपालले १९८९ तिर युरोप भ्रमण गरेको थियो । त्यतिबेला नेपाल जर्मनी प्रशिक्षणका लागि पुगेको थियो । त्यहाँको बसाइमा नेपालले स्थानीय क्लबहरूसँग मैत्रीपूर्ण खेल खेलेको थियो । तर, त्यसयता नेपालले युरोप भ्रमण गर्न सकेको छैन । युरोप भ्रमण गर्न नसक्नुले पनि नेपाली फुटबलको स्तर खस्केको उनी सुनाउँछन् । नेपाली फुटबलको स्तर माथि उठाउन र खेलाडीको मनोबल बढाउन प्रि-सिजनका बेला युरोपियन क्लबहरूलाई बोलाएर मैत्रीपूर्ण खेल खेलाउन आवश्यक रहेको उनले बताए । 

राष्ट्रिय टोलीको पछिल्लो विश्वकप छनोटको पाँच खेलको प्रदर्शन हेर्ने हो भने पनि चाइनिज ताइपेईविरुद्ध मात्र दुई गोल गरेको थियो । जसमा दुवै गोल अन्जन विष्टले गरेका थिए । विश्वकप छनोटका पाँच खेलमा नेपालले दुई गोल गर्दा १९ गोल खाएको छ । तर, फरवार्डरहरूले आफ्नो भूमिका भने निभाउन सकिरहेका छैनन् ।

रेकर्डनजिक भरत
खड्का र रायमाझीपछि सर्वाधिक गोल गर्ने खेलाडीमा स्ट्राइकर भरत खवास र जुमानु राई छन् । भरतले नेपालका लागि ५३ खेल खेल्दै १० गोल गरेका छन् । उनी अझै राष्ट्रिय टोलीमा केही समय बिताउन सक्नेछन् । तर, उनीसँगै समान गोल गरेका राई भने राष्ट्रिय टोलीबाट बाहिरिइसकेका छन् । त्यसैले यो रेकर्ड खवासले आफ्नो नाममा राख्‍न सक्ने सम्भावना धेरै छ । 

राष्ट्रिय टोलीको डेब्युमै गोल गरेका खवासले पनि राष्ट्रिय टोलीमा आफ्नो अबको लक्ष्य भनेको १३ गोलको रेकर्ड तोड्नु रहेको बताए । उनले उक्त रेकर्ड आफ्नो नाममा राख्‍ने आत्मविश्वास रहेको बताएका छन् । २ वर्ष क्याडेट ट्रेनिङ गर्दा केही प्रतियोगिता गुमाएका उनले रेगुलर खेल्न पाएको यो रेकर्ड भेट्न सक्ने उनको बुझाइछ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइसरका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता नहुनेले आफ्नो लक्ष्य पूरा गर्न अझै केही समय लाग्ने उनले बताए । जसका कारण आफ्नो लक्ष्य प्राप्तिमा अवरोध पुग्‍न सक्ने उनको बुझाइ छ । 

त्यस्तै समान ९-९ गोल गर्नेमा गणेश थापा, वसन्त थापा र अनिल गुरुङ छन् । यी तीनवटै खेलाडीले राष्ट्रिय टोलीबाट संन्यास लिइसकेका छन् । अर्का स्ट्राइकर विमल घर्तीमरगको नाममा ८ गोल छ । धेरै आशा गरिएका खेलाडीमध्येका एक विमल पनि पछिल्लो समय टोलीमा पर्न संघर्ष गरिहेका छन् । त्यस्तै नवयुग श्रेष्ठले ६ गोल गरेको गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  १०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro