site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
जागिर खाने ठाउँ मात्रै बन्यो प्रतिष्ठान

सुनील मिश्र/रंगकर्मी (मिनाप)

सुनील मिश्र पुराना रंगकर्मी हुन् । उनी जनकपुरको प्रसिद्ध नाट्य संस्था ‘मिथिला नाट्य कला परिषद्’ (मिनाप) सँग आबद्ध छन् । २०५२ देखि ०६५ सालसम्म उनी मिनापको अध्यक्षको जिम्मेवारीमा रहे । त्यसपछि नयाँ पुस्तामा संस्थाको बागडोर जानुपर्छ भन्दै उनले युवा रंगकर्मीहरूलाई मिनापको नेतृत्व सुम्पिए । तथापि उनको रंगकर्म सक्रियता यथावत् छ । करिब आठ वर्षअघि मुटुको समस्याले गर्दा उनले विशेष दौडधूपको काम र टाढाटाढासम्म गएर नाटकमा अभिनय गर्न छोडेका छन् । नभए उनी मञ्चमा गरिने नाटक होस् वा सडक नाटक, टेलिफिल्म होस् वा ठूलो पर्दाका फिल्म, अभिनयमा डुब्न रुचाउने उनले भ्याएसम्मका काम गर्दै आएका थिए । करिब २०/२२ वटा नाटकमा काम गरेका सुनीलले सयौँ शो गरेका छन् । सीता, अवतार, सीमाना, हाइवेलगायत फिल्ममा काम गरेका उनले कैयन् नेपाली र मैथिली टेलिसिरियलहरूमा समेत काम गरेका छन् । जनकपुरमै रहेका मिश्रसँग केही दिनअघि टेलिफोनमा लामो कुराकानी भएको थियो । प्रस्तुत छ, रंगकर्मी मिश्रसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानी । 

रंगकर्ममै सक्रिय हुनुहुन्छ ?
अँ । अहिले पनि कुनै न कुनै रूपमा रंगकर्मसँग जोडिएकै छु म । मिथिला नाट्य कला परिषद्को पूर्वअध्यक्षका हैसियतमा रहे पनि एउटा रंगकर्मीका रूपमा मेरो सक्रियता यथावत् छ । म करिब १३ वर्षजति मिनापको अध्यक्ष भएँ । त्यसपछिका दिनमा युवापुस्ताका भाइहरूले मिनापलाई अगाडि बढाउँदै आउनुभएको छ । अहिले प्रमेश झा परिषदको अध्यक्ष हुनुहुन्छ । पदेन सदस्यका रूपमा रहेकाले पनि मेरो संस्थागत सक्रियता रहिरहेको छ ।

Dabur Nepal

अभिनय पनि गरिरहनु भएको छ ?
यतै वरपर स्थानीयस्तरमा हुने नाट्य प्रदर्शनीहरूमा म पनि सहभागी हुँदै आएको छु । मुटुको बिरामी भएपछि बढी धपेडी गर्न नसकिने भएकाले नजिकै आयोजन हुने नाटकहरूमा अभिनय पनि गरिरहेको छु । कलाकार भएकाले अभिनयबाट अलग रहन सक्दिनँ । त्यसमाथि मिनापले गर्ने नाटकको अभ्यास हुँदा त्यहाँ जाने र आफूले जानेका कुरा सिकाउने क्रम पनि जारी नै थियो, लकडाउन हुनु अगाडिसम्म । संस्थाको हेरचाहमा पनि मेरो सक्रियता छ । 

तर पछिल्लो समय ‘मिनाप’ त्यति चर्चामा छैन, जति पहिले चर्चामा रहन्थ्यो ?
पहिले तत्कालीन प्रज्ञा प्रतिष्ठानले हरेक वर्षको वैशाखमा नाटक महोत्सव गर्दै आएको थियो । त्यसबेला विभिन्न भाषाका नाटकहरू लिएर मुलुकका अधिकांश नाट्य संस्था काठमाडौंमा जुट्थे । महोत्सवमा मुलुकभरका रंगकर्मीहरू राजधानी पुगेका हुन्थे । मिनापका हामीहरू पनि नाटक लिएर पुग्थ्यौँ । त्यसबेला नयाँ–पुराना जुनै पुस्ताका पनि रंगकर्मीको उपस्थिति हुन्थ्यो, काठमाडौंमा । ती सारा रंगकर्मीहरूमा उत्सुकता पनि हुन्थ्यो । रहर पनि हुन्थ्यो । 

त्यो अवस्था अहिले छैन । देश गणतन्त्रमा गइसकेपछि नाट्य परिवेश नै परिवर्तन भएको अनुभूत भइरहेको छ । २०६३ सालपछि जुन प्राज्ञिक स्वरूप देशमा आयो, त्यसपछि भने त्यति ठूलो नाट्य आयोजन गरिएको देखिएन पनि । आयोजन भए पनि विभिन्न नाट्य समूहबीच प्रतिस्पर्धा गराएर त्यसमा विजयी भएका संस्थालाई मात्र काठमाडौं बोलाइने परम्परा सुरु भयो । 

त्यो अवस्थामा हामी पुराना संस्थाले मात्रै किन भाग लिने, नयाँ संस्थाका नयाँ कलाकारलाई मौका दिउँ भनेर सहभागी हुन छाड्यौँ । नयाँ पुस्ताका रंगकर्मीहरूलाई अगाडि बढ्न दिनुपर्छ भन्ने मान्यताले गर्दा नै यो अवस्था आएको हो । किनभने हामी नयाँ पुस्ताका लागि बाधक बन्न चाहन्थेनौँ ।

देशभरिमा पुराना नाट्य संस्थाहरू धेरै छन्, जसले नाटकका क्षेत्रमा आ–आफ्नो ठाउँबाट काम गरिरहेकै छन्, तर तिनलाई आमन्त्रित गरेर बोलाउने र नाटक प्रदर्शन गर्न लगाउने जुन काम प्रतिष्ठान स्तरबाट हुनुपर्ने थियो, त्यो हुन सकेको देखिएन ।
 
मिनाप जनकपुर क्षेत्रमा गर्व गर्ने नाट्य संस्था हो । यस संस्थाबाट युवा नाट्यकर्मीहरू राजधानी जाने–आउने त गरिरहेका होलान् ? 
धेरै युवा नाट्यकर्मीहरू मिनापबाट काठमाडौं र मुलुकका अन्य ठाउँमा गएर नाटक प्रदर्शन गरिरहेका छन् । नगरेको होइन । रमेशरञ्जनजी नाट्य प्रतिष्ठानमा प्राज्ञ हुनुहुँदा दोलखा चरिकोट, इटहरीलगातय विभिन्न ठाउँमा गएर मिनापले नाट्य प्रस्तुति दिएको हो । तर यस्तोमा केही सीमितताका कारण चाहेको नाटक मञ्चन गर्न सकिने अवस्था रहँदैन । चाहेको नाट्य स्क्रिप्टमा काम गर्न सकिँदैन । किनभने नाटक भनेकै धेरै कलाकारहरूको अभिनय प्रस्तुति हो । जहाँसम्म मिनापको उपस्थिति नदेखिएको प्रसंग छ, पछिल्लो समयमा काठमाडौंसम्म गएर संस्थाले आफ्नो प्रस्तुति दिन सकेन । त्यसले गर्दा मिनापको उपस्थिति नदेखिएजस्तो भएको हो ।

यहाँ अर्को कुरा जोडौं, काठमाडौंमा पहिले गुरुकुल र सर्वनामले मिनापलाई पनि नाटक प्रदर्शनका लागि आमन्त्रित गरिरहन्थे । त्यस्तो अवसरमा हामी काठमाडौं जान्थ्यौँ र नाटक मञ्चन गथ्र्यौं । तर अहिले गुरुकुल आफैं मौन छ । र केही समय भयो, सर्वनामले पनि हामीलाई नाटक मञ्चनका लागि बोलाएको छैन । प्रज्ञा प्रतिष्ठानले नाटक महोत्सव गरेको छैन । त्यसैले गर्दा मिनाप सक्रिय भए पनि कार्यक्षेत्र संकुचित भएकाले मिनापको उपस्थिति नदेखिएको हो कि ! यसरी कार्यक्षेत्र संकुचन हुँदै गएको अनुभूत मलाई पनि भइरहेको छ ।

यस्तो किन भएको होला ? जबकि संगीत नाट्य प्रज्ञा प्रतिष्ठान अलग रूपमा खडा भएको छ ?
राज्य पक्षले नाट्य विधालाई उपेक्षा नै गरेको हो कि भन्ने मलाई लाग्छ । अहिले मुलुक संघीय गणतन्त्रात्मक युगमा छ । राज्यमा संघीय सरकार र प्रदेश सरकारको अवधारणाअनुरूप काम भइरहेको छ । यस्तोमा स्थानीय स्तरमा पनि नाट्य क्षेत्रलाई प्रोत्साहन दिन सरकारले उत्सुकता देखाएको भए अलिकति चम्किन्थ्यो होला नाट्य क्षेत्र । तर त्यसो कहिल्यै भएन । खासमा रंगकर्मलाई कसैले माया गरेकै देखिँदैन । 

फेरि रंगकर्ममा लागेर जीविकोपार्जन गर्नसक्ने अवस्था छैन । यो महँगीको जमानामा रंगकर्ममा लागेर जीवन धान्न कठिन छ । त्यसका लागि कलाकारहरूले बेग्लै काम गर्नुपर्छ । जीवन व्यावसायिक हुँदै गएको छ भने रंगकर्म अव्यावसायिक क्षेत्र भइदिएको छ ।

देशभरिका नाट्य संस्थाहरूलाई संगीत नाट्य प्रतिष्ठानले सहयोग गरेर भए पनि निरन्तर क्रियाशील गराउन त सक्थ्यो होला । केही गरेको देखियो वा देखिएन ?
म त प्रतिष्ठानबाट केही पनि भएकोे देखिरहेको छैन । अरू केही नभए पनि प्रतिष्ठानले मुलुकका यस्ता नाट्य संस्थाहरूको इतिहास कायम गरिदिए पनि ठूलो काम हुन्थ्यो । कुन संस्था नाट्य क्षेत्रमा आयो, कुन संस्था कति वर्षदेखि सक्रिय छ, तिनले के कति कामहरू गरेका छन्, तीमध्ये कुन–कुन सेलाए, ती सेलाए भने सेलाउनुको कारण के हो ? यी यावत् विषयमा खोजी गरेर बृहत् इतिहास लेखिने काम गर्नुका साथै यस्ता संस्थाहरूलाई मर्न दिनु हुँदैन भन्ने दृष्टिकोणबाट पनि काम हुनुपथ्र्यो । तर यस्तो अभिलेख कुनै प्रतिष्ठानले प्रकाशित गरेको छैन । प्रतिष्ठानमा जो जति प्राज्ञ भएर आउनुभयो उहाँहरूले आफूलाई कसरी हाइलाइट गर्ने र प्रज्ञा प्रतिष्ठानमा आफूले गरेको कामलाई कसरी देखाउने विषयमा मात्रै ध्यान दिनुभएको देखियो ! देशभरि छरिएर रहेका सयौं नाट्य संस्थाहरूबारे केही काम भएकै देखिएन । 

रंगकर्मकै लागि भनेर सारा कुरा त्याग्ने कलाकारहरूका लागि प्रतिष्ठानले अलिकति पनि हेरेको छैन । वास्तवमा रंगकर्ममा लाग्ने कलाकारहरूको विचल्ली भएको छ । खेलकुदको क्षेत्रमा लागेकाहरूका लागि राज्यबाटै विशेष भत्ता दिइन्छ । तर नाटकमा जीवन बिताएकाहरूका लागि केही छैन ! एकदमै सुखोरुखो क्षेत्र भएको छ यो त । तिनका लागि पनि त सोच्नुपर्ने होइन र प्रतिष्ठानले ? होइन भने भोलिका दिनमा को आउँछ रंगकर्ममा ! 

हामीजस्ता यो विधाबाट परिचय बनाएकाहरूले निजीस्तरमा केही गरिरहेका छन् र नाट्य संस्था बचाउने प्रयास गर्दै छन् । जबकि यो प्रयास राज्य पक्षबाट हुनुपर्ने थियो । यदि राज्य पक्षले उपेक्षा नै गरिरहने हो भने त धेरै दिनसम्म बचाइराख्न पनि गाह्रो होला ।

दिग्गज नाट्यकर्मी हरिहर शर्मा, निशा शर्मा, त्यस्तै धीरेन्द्र प्रेमर्षीजस्ता रंगकर्मी कलाकर्मी प्रतिष्ठानमा हुनुहुन्छ । तर पनि मुलुकका नाट्य संस्थाहरूको यो दुर्दशा !
यस्ता प्रतिष्ठान त जागिर खाने ठाउँ मात्रै भएकोे छ । जबकि त्यहाँबाट धेरै काम हुनुपर्ने थियो । यस्ता स्वायत्त संस्थाहरूको काम गर्ने शैली झनै परिवर्तन भएर जानुपर्थ्यो । काम गर्ने क्षेत्र विस्तारित भएर जानुपर्थ्यो । तर त्यस्ता कुनै काम भएको देखिँदैन । बरु हरिहर शर्मा दाइ सांस्कृतिक संस्थानमा हुँदा धेरै काम भएको थियो । मिनापले त्यसबेला सांस्कृतिक संस्थानमा पनि नाटक मञ्चन गरेको थियो । तर प्रतिष्ठानजस्तो निकायले पनि केही गर्न सकेको छैन ! 

यदि आफूले चाहेको काम गर्न सक्ने माहोल थिएन भने उहाँहरूले पद स्वीकार गर्न हुन्थेन । र स्वीकार गर्नुपर्ने अवस्थामा यो यो काम गर्छु र यसका लागि हामीलाई यस किसिमको सहयोग चाहिन्छ भन्नसक्नु पथ्र्यो । तर त्यस्तो केही पनि भएको छैन । हेर्नुस्, नाट्य क्षेत्र धेरै पीडामा छ । यो पीडातिर सरोकारवाला कसैको पनि ध्यान गएको छैन । त्यसैले मैले भनेको हुँ– रंगकर्मलाई जोगाउन साह्रै गाह्रो छ । 

यस्तो पीडादायी अवस्थामा पनि तपाईंहरू मिनापलाई अगाडि बढाइरहनु भएको छ ?
स्पष्ट भनुँ, आफ्नै परिचय जोगाउन पनि मिनापलाई सक्रिय राख्नुपरिराखेको छ । हामी केही न केही गर्नैपर्छ भनेर निरन्तर नाटकमा लागिरहेका छौं । भनौं रंगकर्मको सेवामा सक्रिय छौँ । मिनापले पछिल्लो समय धेरै नाटक र सांस्कृतिक कार्यक्रमहरू गरेको छ । स्थानीयस्तरमा मिनापको सक्रियताबारे सबैलाई थाहा छ । लकडाउन हुनुपूर्व मिनापका कलाकारले नेपाल र भारतका विभिन्न क्षेत्रमा गएर नाटक मञ्चन गरेका थिए । त्यसै सिलसिलामा ‘जानकी लीला’ गीति नाटक तयार गरेर प्रदर्शन पनि गरिएको थियो । 

पछिल्लो समय जनकपुरमा रंगकर्मको अवस्था कस्तो छ ?
एकदम राम्रो छ । मिनापमा हामी ४० जनाभन्दा बढी कलाकार अहिले पनि क्रियाशील छौँ । नाटकका साथै अन्य विभिन्न कार्यक्रम पनि मिनापले गर्दै आएको छ । मिनापबाट फागु पूर्णिमामा महामूर्ख सम्मेलनको आयोजना गरिँदै आइएको छ । डम्फा प्रतियोगिता पनि हामीले गर्दै आएका छौँ । डम्फा प्रतियोगिता गर्नुको कारण के भने, होलीमा डम्फा नै बजाउनुपर्ने हुन्छ होली गीत गाउँदा । तर त्यो परम्परा आज लोप हुँदै गइरहेको छ । डम्फा पुराना पुस्ताले मात्रै बजाउँदै आएका छन् । त्यसैले नयाँ पुस्तामा पनि त्यसप्रति आकर्षण बढोस् र परम्परा पनि जोगियोस् भनेर डम्फा प्रतियोगिता गर्ने गरेका हौं । सांस्कृतिक जगेर्नाका लागि गरिएको यो हाम्रो सानो प्रयास हो । 

परम्परागत संगीततिर युवाहरूको रुचि किन हराएको होला ? 
किनभने, सबै युवा काम गर्न विदेश जाने चलन बढ्दो छ । त्यसैले पनि यतातिर युवाहरूको रुचि नभएको हो कि भन्ने लाग्छ । हुनत हामीले सांस्कृतिक जगेर्नाका लागि तपाईंको योगदान रहन्छ भनेरै युवा पुस्तालाई मोटिभेट गर्दै छौँ । र यतातिरबाट आशावादी पनि छौँ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७  ०७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro