site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विसंगति र विद्रोहका आवाज
SkywellSkywell

काठमाडौं । नीर शाहको अभिनय क्षमताबाट सबै परिचित छन् । उनको अभिनयले सजिएका चलचित्रहरू बितेका पचास वर्षदेखि नेपाली दर्शकले हेर्दै आएका छन् । उनी नेपालका सुप्रसिद्ध अभिनेता हुन् भने कतिपय नेपाली सिनेमामा उनको नायकत्व आज पनि आज पनि स्मरणीय छ । 

प्रारम्भमा रंगकर्मसँग जोडिएका नीर शाह नेपाली चलचित्रको विकाससँगै उदाए । र चम्किए । तर नाट्यकर्मी/चलचित्रकर्मी शाह बाल्यकालदेखि नै कविता लेखनमा सक्रिय रहे । अभिनेता नीर शाहका अनुसार, नाट्य विधामा अत्यधिक रुचि भएकै कारण साहित्य पनि उनको भावनासँगै जोडिएर आएको हो । 

सानो हुँदा नै कवितामा उनको विशेष आकर्षण रह्यो । बाल्यकालमा उनले जेजस्ता साहित्य पढे, त्यसको प्रभाव उनीमा परेको हो । केही दिनअघि टेलिफोन वार्ताका क्रममा चर्चित गीतकार नीर शाह भन्दै थिए, “सानो छँदै मलाई मेरी आमाले ‘रामायण’ र ‘महाभारत’का कथाको किताब पढ्न दिनुभएको थियो । त्यहाँ अनेक पात्र र चरित्र बोकेका कथाहरू छन् । ती सम्पूर्ण चरित्रहरूको एक किसिमको प्रभाव ममाथि पर्न गएको हुनसक्छ । जसले मलाई नाट्य/संगीतका साथै काव्य रचनाका लागि अभिप्रेरित गर्‍यो ।”

KFC Island Ad
NIC Asia

शाहले स्कुलमा नेपाल पद्यसंग्रह, नेपाल गद्य संग्रहजस्ता किताबहरू पढ्नुपर्थ्यो । उनलाई नेपाली पढाउने शिक्षकहरू थिए, रुद्रराज पाण्डे, भीमवरसिंह थापा, पुरुषोत्तम जोशीहरू । तिनमा पाण्डे र थापा तत्कालीन रंगकर्ममा पनि सक्रिय थिए । 

शिक्षकहरूको सानीध्यले उनलाई नाट्य क्षेत्रप्रति आकर्षित गर्‍यो । फलतः उनी साथीहरूसँग मिलेर नाट्य संरचनामा लाग्‍न थाले । स्कुलमा पनि आफू-आफू मिलेर सामाजिक चेतनामूलक नाटकहरू लेख्ने र मञ्चन गर्न थालेको उनी बताउँछन् । 

Royal Enfield Island Ad

शाहका अनुसार उनको नाट्य क्रियाकलाप स्कूलमा चलिरहेको थियो भने उनी लेखकहरूको समूहमा पनि फाट्टफुट्ट आबद्ध हुन थाले । कारण, त्यसबेलासम्म उनले आफ्ना भावनालाई कविताको रूप दिन सुरु गरिसकेका थिए । एकपटक बाल संगठनले राष्ट्रियस्तरमा बाल कविता सम्मेलन आयोजना गरेको थियो । सो सम्मेलनमा शंकर थपलिया प्रथम, उपेन्द्रपाणि गौतम दोस्रो र नीर शाह तेस्रो भएका थिए ।

यो सम्मेलनमा प्राप्त उपलब्धिले शाहलाई काव्य क्षेत्रमा अगाडि बढ्न झनै अभिप्रेरित गर्‍यो । नीर भन्छन्, “त्यो मेडललाई आज पनि मैले साँचेर राखेको छु । जुन तत्कालीन शिक्षामन्त्री कीर्तिनिधि विष्टले प्रदान गर्नुभएको थियो ।” पछि शाह दार्जिलिङ पुगे, थप पढाइका लागि । दार्जिलिङ साहित्य, कला, संगीतका लागि अजस्र स्रोत समेटिएको सहर हो । कला साहित्यका मर्मज्ञहरूको विशाल कुण्ड हो दार्जिलिङभन्दा अतिरञ्जना नहोला । जहाँ, संगीत कलामा लागेका व्यक्तिहरू पनि साहित्यप्रति अथाह रुचि राख्थे । 

त्यस्ता व्यक्तित्वहरू, अगमसिंह गिरी, अम्बर गुरुङ, गोपाल योञ्जन, गुमानसिंह चाम्लिङलगायत अनेकौँ सर्जकलाई युवा सर्जक शाह नियालिरहेका थिए । दार्जिलिङको बसाइँको समयमा नै यी साहित्यकार, संगीतकर्मी, नाट्यकर्मीहरूका क्रियाकलापलाई नीर शाहले नजिकबाट नियाल्ने मौका पाए । र दार्जिलिङमै नाटककासाथै साहित्यप्रतिको उनको अभिरुचिले झन् मौलाउने मौका पायो ।

दार्जिलिङमै रहँदा आफूले ‘एन. विक्रमादित्य’का नामबाट कथा लेख्‍न सुरु गरेको शाह बताउँछन् । उनले लेखेका कथाहरू दार्जिलिङका स्थानीय पत्रपत्रिकाहरूमा थुप्रै छापिएको उनी सम्झिन्छन् ।

दार्जिलिङमा पढ्न बस्दा पनि उनले नाटकहरूमा अभिनय गरे । नाटकमा अभिनय गर्ने क्रममा उनको स्थानीय संगीतकार तथा गायकहरूसँग उठबस हुँदै गयो । शाह भन्छन्, “मलाई अभिनयबाहेक गीत गाउन वा नाच्न वा संगीत गर्न आउँथेन । आउँथ्यो त, केवल कथा/कविता लेख्नँ । त्यसैबेला धनञ्जय, दिव्य खालिङहरूजस्ता संगीतकारहरूसँग मेरो सम्पर्क भयो । मलाई लाग्यो मैले पनि एक-दुइटा गीत लेखेर दिनुपर्‍यो । यसरी गीत लेख्न थालेँ । केही कार्यक्रमहरूमा उहाँहरूले मेरो गीतमा संगीत भरेर गाउनु पनि भयो । जसले गर्दा म गीत लेखन तिर हौसिएँ ।”

गीत लेखनमा संगीत/नाट्यतिरको अभिरुचिले नै काम गरेको नीर शाह बताउँछन् । यद्यपि आफूले ति गीत नितान्त आफ्ना लागि मात्रै लेखेको उनको तर्क छ । 

यहीँबाट उनको गीत लेखनले गति लियो । गीत गङ्गामा गोता लगाउँदै जाँदा आफ्ना गीत सिर्जनामा उनले अभूतपूर्व सन्तुष्टि प्राप्त भएको अनुभूत गर्दै गए । सोही सन्तुष्टिका कारण उनको गीतियात्रा आज पनि यथावत् छ । निरन्तर चलिरहेको छ । 

शाह भन्छन्, “हुनसक्छ, म जे कुरा बोलेर अभिव्यक्त गर्न सक्दिनथेँ, त्यो मेरा लेखनमा अभिव्यक्त भए होलान् । त्यसैले मेरा आत्मसन्तुष्टिसँग मेरा गीत लेखन जोडिएर गए । त्यो कसैले गाए पनि नगाए पनि, संगीतबद्ध गरे पनि नगरे पनि, मैले लेख्दै गएँ ।”
०००
नीर शाह काठमाडौं फर्किए, दार्जिलिङबाट । काठमाडौं फर्किएपछि उनीलगायत उनका केही मित्रहरूलाई लाग्यो अब गीत/संगीत र नाट्यका क्षेत्रमा विशेष अभियान नै थाल्नुपर्छ । त्यसैको परिणति थियो ‘संगीत संगम’ कार्यक्रमको सञ्‍चालन । संगीत संगम कार्यक्रम बेलाबेलामा आयोजना हुन थाल्यो । यस अभियानले धेरै गीतकार, संगीतकार र गायकहरू जन्माएको उनी सम्झना गर्छन् ।

त्यसपछि नै हो नीर शाहको पहलमा रंगकर्मी संस्था ‘श्री समूह’को स्थापना भएको । जसले काठमाडौंका प्रेक्षालयहरूमा धेरै नाटकहरू मञ्चन गर्‍यो । तथापि, गीत लेखनका माध्यमबाट आत्मसन्तुष्टि खोज्ने शाहले गीत लेखनको क्रमलाई निरन्तरता दिइरहे । उनले गीत लेख्दै गए । गीतहरू रेकर्ड हुँदै गए । उनका कैयन् कालजयी गीत आज पनि स्रोताको मन-मस्तिष्कमा बसेको छ ।

यहाँ गीतकार शाहका तीन गीतको चर्चा गरिँदै छ, जसले आज पनि जुनै उमेर समूहका स्रोतालाई पनि मुग्ध बनाउँछ । गीतकार शाह आफ्ना यी तीन गीतहरूका बारेमा भन्छन् :

बादल बनाई देऊ आकार बदल्न सकूँ...
मेरा गीतहरू आफूभित्र गुम्सिएर बसेका तरङहरू हुन भन्ने लाग्छ मलाई । हरेक मानिसका मनमा अनेकन भावना गुम्सिएर बसेका हुन्छन् र त्यसले निकास खोजिरहेको हुन्छ । भावना गुम्सिनुको प्रमुख कारण व्यवहारिक जीवनमा भोगिएका विसङ्गतिहरू नै हो । 

तपाईंलाई केही कुराले चित्त बुझिरहेको छैन भने त्यस्ता कुराले कताकता घोचिरहेको हुन्छ । अनि ती थाहा नपाउँदा-नपाउँदै हुर्किएर गइरहेको हुनसक्छ । स्वभावतः त्यसले निकास खोज्छ । त्यस्ता भावनाहरू अभिव्यक्त गर्ने सबैको आ-आफ्नै तरिका हुन्छ होला । मेरो सन्दर्भमा भने ति भावना मेरा गीतहरूका माध्यमबाट नै निस्किएका हुन् । 

सानो-सानो कुरामा चित्त नबुझ्दा अनेकन भावले जन्म लिन्छ । त्यस्तो अवस्थामा कि त समयानुकूल आफैंलाई बदल्न सक्नुपर्ने हुन्छ, जो म सक्दिनँ । त्यसो हो भने जीवन हारै हारको थुप्रो हो भनेर त्यसलाई स्वीकारेर अगाडि बढ्न पनि त सकिन्‍न ! यही गहन विचारले मलाई बारम्बार घोचिरह्यो । र, त्यसैको निकास हो यो गीत :
 
बादल बनाइ देऊ आकार बदल्न सकूँ
क्षमता दिलाई देऊ जिउँदै म जल्न सकूँ...

यो गीत लेख्‍न मलाई एउटै मात्र घटनाले प्रेरित गरेको होइन भन्नेजस्तो मलाई यतिबेला लाग्दैछ । तपाईंले चित्त बुझाउन नसकेको, तपाईंलाई अन्यायपूर्ण, अत्याचारपूर्ण लागेका थुप्रै घटनाहरूबाट सिर्जेको भावना यस गीतको माध्यमबाट निस्किएको हो । 

यो गीत लेखिरहेको थिएँ । त्यसबेला हाम्रो समूहमा सङ्गीतको क्षेत्रमा शम्भुजीत बास्कोटाजी त्यत्तिकै सक्रिय हुनुहुन्थ्यो । उहाँ प्रतिभाशाली र जुझारु पनि हुनुहुन्थ्यो । उहाँले नै यो गीतमा लय भर्दै जानुभयो । यसका केही हरफ मैले धुनमा नै लेखेको हुँ ।

त्यसबेला यो गीत उदितनारायणजीले गाउँछु भन्नु भएको थियो र उहाँकै लागि भनेर धुन तयार हुँदै थियो । तर पछि यो गीत उदितनारायणजीले नगाउने हुनुभयो । त्यसपछि अर्का प्रतिभाशाली गायक दीपक खरेलले आफ्नो रेकर्डिङ डेटमा यो गीत गाउनु भएको हो । त्यसबेला रेडियो नेपालले गायकहरूलाई गीत रेकर्डिङका लागि डेट उपलब्ध गराउँथ्यो । 

यो गीत स्रोताहरूले अत्यन्तै रुचाउनु भयो ।

गीतकार शाह थप्छन्, “यहाँ उल्लेख गरिएका तीन वटै गीतहरूको सिर्जनाक्रम यसरी नै जोडिएको छ । केही न केही चोट नलागीकन त त्यो बाहिर आएको नै छैन । चोट लागेको कुरा मेरो चेतन मनमा भएको भए मैले थाहा पाउने भएँ । मेरो अवचेतन मनमा भएको भए मैले थाहा नपाउने भएँ । कति कुरा मलाई थाहा छ कति कुरा मलाई थाहा छैन, तर निश्चित रुपमा जताततै व्यवहारमा देखिने विसंगतिहरू, मेरा विद्रोहका आवाजहरू नै हुन् । त्यसमा कुनै सन्देह नै भएन ।”

गहिराइमा डुब्दै नडुब...
गहिराइमा डुब्दै नडुब 
डुबी सकेको छौ भने 
मोती नटिपी नफर्क...

यो अलि भिन्‍न खालको गीत हो । यो गीत मेरो जीवनको दर्शन बोकेको गीत हो । 

यो यसो हेर्दा मोटीभेसनल (प्रेरणादायी) गीत लाग्‍न सक्छ तपाईंलाई । तर यो अरूलाई भन्दा पनि मैले आफूले आफैंलाई मोटिभेट गर्न खोजेको हुँ । यसले मलाई नै मोटिभेट हुन किन सघाउ पुगेको मलाई लाग्छ । यसको कारण हो, यो मेरो जीवनको दर्शन नै त्यही हो । 

मानिसको जीवनमा प्रगाढ विश्वास राख्ने एउटा दर्शन हुन्छ नै । हुनुपर्छ भन्छु म । कम्तीमा मेरो जीवनमा त्यो छ । त्यही दर्शनमा विश्वास राख्छु पनि । र, जुन दर्शनमा म विश्वास राख्छु, त्यही दर्शनलाई गीति स्वरूपमा मैले अभिव्यक्त गरेको हुँ ।

मेरो जीवनको दर्शनलाई नै गीतको आकार दिए पछि त्यसलाई संगीतकार शम्भुजीत बास्कोटाले संगीतबद्ध गर्नुभयो र प्रकाश श्रेष्ठले गाउनुभएको हो । 

कहिलेकाँही म हास्छु...
यो गीत मैले बादल बनाई देऊ... भन्दा अगाडि नै लेखेको हुँ । यो गीत मेरो गीत लेखेर राख्ने डायरीमा थियो । एकपटक मेरो गीतको डायरी हेर्दै गर्दा नारायणगोपालजीले यो गीत पढ्नु भएछ । उहाँले यो गीत पढ्दै नै साह्रै रुचाउनु भएको थियो । 

यो गीत पढेपछि उहाँले गीतको मुनि लेख्नुभएको थियो- ‘क्यानभासमा लतपतिएको पहेँलो रंगजस्तो गीत’ ।

यो गीतमा उहाँले यस किसिमको टिप्पणी गर्नु भए पनि यो गीत उहाँले नै गाउनुहुन्छ भन्ने थिएन । यो मेरो डायरीमा मात्र सीमित थियो । 

केही समयपछि नै होला, संगीतकार सीके रसाइलीजी नारायणजीका लागि एउटा गीत बनाउने क्रममा हुनुहुन्थ्यो । त्यस गीतमा केही फरक संगीत दिने सोच पनि रहेछ उहाँको । 

एकदिन सीकेजीले म कहाँ आउनुभयो । उहाँले नारायणजीका लागि एउटा गीत रेकर्ड गर्ने तयारी गरेको कुरा गर्दै गीत माग्‍नुभयो । मलाई त विश्वास पनि लागेको थिएन, नारायणगोपालका लागि मेरो गीत खोजिँदा ! राम्रै हुन्छ भन्दै मैले मेरो गीतको डायरी दिएँ । र सीके रसाइलीजीले पनि डायरीबाट त्यही गीत लिएर जानु भयो, जुन गीतमा नारायणगोपालले आफ्नो टिप्पणी लेख्नु भएको थियो ।

कहिलेकाहीँ म हास्छु धेरै बेर हास्छु
जो हासी रहेछन् केवल उनीहरूको माझ हास्छु.... 

त्यसबेला सीके रसाइलीजीको एल्बम बन्दै रहेछ, रत्न रेकर्डिङ संस्थानबाट । त्यही एल्बममा त्यो गीत परेको थियो । त्यो रेडियो नेपालको गीत भए रेडियोमा बारम्बार बज्‍ने थियो होला । तर रत्न रेकर्डिङको गीत भएकाले होला, तुलनात्मक रूपमा कम बज्थ्यो । धेरैपछि गएर मात्रै यो गीत जनमानसमा भिज्‍न गयो । 

यस गीतमा सामाजिक कुरीतिहरूले म भित्र जन्माएको छटपटीलाई मैले स्पष्ट र सोझो भाषामा अभिव्यक्त गरेको छु । मैले जे अनुभूत गरेको थिएँ त्यही स्पष्टरूपमा लेखेको हुँ । 

यी तीनवटा गीत गीत रेकर्ड गर्नैका लागि भनेर लेखिएका गीत होइनन् । यी गीतहरू नि:तान्त मेरा मनका अभिव्यक्तिहरू हुन् । प्रकारान्तरले यी गीतहरू कुनै गायकका दृष्टिमा त कुनै संगीतकारको नजरमा परेर रेकर्ड भएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro