site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेकपा विवाद : ‘ग्याङ अफ् फोर’मा विभाजन ?
SkywellSkywell

काठमाडौं । गत बुधबार । प्रधानमन्त्री केपी शर्मा ओलीले एपी वान् टेलिभिजनसँगको अन्तर्वार्तामा नेकपाभित्रको विवादमा नयाँ खाले सिनारियो देखापर्ने बताए ।

नेकपाभित्रको पिलो निचोरिन सकेको छैन । बरु उकुच पल्टिने जोखिममा छ । विवाद फराकिलो बन्दै गएर विभाजनको दिशा समात्ने त होइन भन्ने प्रश्न उब्जिइरहेका बेला पार्टी अध्यक्ष ओलीको सकारात्मक अभिव्यक्ति आएको थियो ।

पाँच दिनभित्रै कस्तो परिदृष्य देखापर्ला भनेर घोत्लिनै परेन । पाँच दिन पर्खन पनि परेन । नेकपाको पार्टी राजनीतिमा दुईदिनमै भिन्न दृश्य देखा पर्‍यो ।

KFC Island Ad
NIC Asia

प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र देखापरेको गत्यावरोध चिर्न ६ सदस्यीय कार्यदल गठन गरे ।  पार्टीभित्र हाराहारी शक्तिका रूपमा रहेका तीनै गुटको समान प्रतिनिधित्व गरेर कार्यदल गठन गरेपछि नेकपाको आन्तरिक राजनीतिमा अर्को तरङ्ग उत्पन्न भएको छ ।

विवाद समाधान गर्न गठित कार्यदलले पार्टीभित्रको गतिरोधको निकास देला, नदेला, त्यो भविष्यको गर्भमा छ । तर, सचिवालयका चारजना सम्मिलित गठबन्धनमा भने विभाजनको रेखा प्रष्टै कोरेको छ । कार्यदल गठनप्रति वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ एकठाउँमा उभिएर असन्तुष्टि प्रकट गरेपछि नेकपाभित्र पृथकखाले सिनारियो देखापरेको छ ।

Royal Enfield Island Ad

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम विधान र पार्टीपद्धतिको साँधसीमा मिचेपछि पार्टी प्रणालीको रक्षाका लागि भन्दै भैंसेपाटी गठबन्धनको जायजन्म भएको थियो ।

मङ्सिर ४ को सचिवालय निर्णय कार्यान्वयन गर्न आनाकानी गरेपछि पुस २३ गते ओलीविरुद्ध प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ एकै कित्तामा उभिएका थिए । र, गौतम निवास भैंसेपाटीमा भेला भएर ओलीविरुद्ध समवेत स्वरमा गठबन्धन निर्माणको घोषणा गरेका थिए ।

तर, गठबन्धन निर्माण भएकै बेलादेखि गठबन्धनका नेता चोइटिने क्रम सुरु भयो । गठबन्धन धराशायी बन्दै गयो ।

फागुनमा संविधान संशोधन गर्न कार्यदल बनाउने प्रकरणपछि विष्णु पौडेल गठबन्धनबाट चोइटिए । पौडेल उछिट्टिए पनि बहुमत मौजुद थियो । वैशाख ८ को अध्यादेश प्रकरणपछि गृहमन्त्री रामबहादुर थापा बादल प्रचण्ड– नेपाल– खनालसमूहमा मिसिन आइपुगेका थिए । गठबन्धनको आकार अझै बढेको थियो ।

तर, वैशाख १७ नपुग्दै अर्को खाले दृश्य देखा पर्‍यो । वैशाख १७ गते पार्टी अध्यक्ष प्रचण्डले पहिलोपल्ट ओलीविरुद्ध मुख फोर्दै सचिवालय बैठकमा राजीनामाको माग गरे ।  तिलमिलाएका प्रधानमन्त्रीले वामदेवका लागि प्रधानमन्त्री छाड्छु भनेर नेकपाको विवादको ‘सिन चेञ्ज’ भयो । प्रधानमन्त्री बन्ने अभिप्सा बोकेका वामदेव ओलीका भए ।

अध्यादेश प्रकरणले सिर्जित समस्या साम्य भइसकेको थिएन । निकास दिन अभिप्रायले असार १० गतेबाट स्थायी कमिटीको बैठक सुरु भयो ।  निर्धारित कार्यसूचीमा छलफल अघि नबढ्दै प्रधानमन्त्री ओलीले असार १४ गते नयाँ विषय दिए । भारतले सरकार ढाल्न लागिपरेको र त्यसमा पार्टीका नेताहरूले पनि साथ दिएको हाकाहाकी आरोप लगाएपछि नेकपा महाविवादमा फस्यो । 

वामदेवको घरङ्घाट

विवाद समाधान गर्न डाकिएको स्थायी कमिटी बैठकले आफैं विवादमा पर्‍यो । असार १० गतेबाट सुरु भएको बैठक जम्माजम्मी ६ दिन सुचारु हुनसक्यो । त्यसपछि अन्त्यहीन स्थगनको बाटोतर्फ डोरियो ।

साउन ३ गतेको सहमतिको सम्भावना टरेपछि साउन १३ गते स्थायी कमिटी बैठक आह्वान भएको थियो । तर, ओलीले अन्तिम समयमा बैठक स्थगित गरिदिए । पार्टीको अन्तरिम विधानको दफा १८ (झ) विपरीत पार्टी अध्यक्ष ओलीले एकलौटीरूपमा स्थायी कमिटी बैठक स्थगन गरेको भन्दै ३१ सदस्य विपक्षमा उभिए । प्रधानमन्त्रीको नाकैमुनि, बालुवाटारमै बैठक राखेर प्रचण्डसँग छलफल नगरी बैठक स्थगितको सूचना टाँस गर्नु गलत रहेको निष्कर्ष निकाले । र, ओलीविरुद्ध प्रस्तावै पास गरे ।

भेलामा सरिक हुन आएका वामदेव गौतम न बहुमत सदस्यहरूको पक्षमा उभिन सके । न ओलीको कित्तामा नै रहेको स्पष्ट पार्न सके । ‘दृष्टसँग दैव पनि डराउँछ, ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउँदा पार्टी फुट्छ कि भन्ने डर छ’ भन्ने टिप्पणी गरेकाले बालुवाटारको विश्वास जित्ने कुरै भएन ।

पार्टी एकताको लागि भन्दै ६ बुँदे प्रस्ताव पेस गरेका गौतमको भूमिका बालुवाटार र खुमलटार कुद्दाकुद्दै खँजाहा बनेको छ ।  अहिले वामदेव, विश्वासको सङ्कट नेकपामा पर्याय नै बनिसकेको छ । र, ‘घरङ्घाट’को नियति बेहोरिरहेका छन् ।

प्रचण्ड–खनाल–नेपालसमूह र ओलीसमूहबीच स्पष्टै विभाजनको रेखा कोरिएपछि गृहमन्त्री थापा पनि आफूलाई तटस्थ राख्दै आएका छन् ।  सरकारको प्रश्नमा ओलीलाई साथ दिँदै र पार्टीको प्रश्नमा बहुमत पक्षमा उभिँदै आएका थापा पछिल्लो विवादमा कतैतिर पनि देखा परेका छैनन् । असार १७ गते अँगेनो रेस्टुरेन्टको बहुमत सदस्य (२९ जना)को भेलामा उपस्थित भएका थापा त्यसपछि गुटगत स्पर्धामा मौनप्रायः नै छन् ।

प्रचण्डले नै विधि लत्याएपछि

पार्टी एकतापछि र सरकार गठनपछिदेखि नै ओलीले सर्वाधिक खेपेको आलोचना, विधिको अटेर गरेको नै हो । सरकारको दैनिक कामकाज त पार्टीलाई सोधिरहनु र साक्षी राखिरहनु वाञ्छनीय हुँदैन । तर, दूरगामी प्रभाव पर्ने,  असर तुल्याउने, राष्ट्र र राष्ट्रियतासँग गाँसिएका नियुक्ति, सिफारिससमेतमा पार्टीलाई बेवास्ता गरिएपछि इतरसमूह ओलीसँग क्षुब्ध बन्न पुगेको थियो ।

सरकार सञ्चालनमा पार्टीका निर्देशन, निर्णय बेवारिसे बनेको भन्दै ओलीको भूमिका बदल्नेसम्मको बहस निम्त्याएको थियो । र, राजीनामाको चर्को दबाब झेलेको थिए । विधि, पद्धति र प्रणालीकै लागि भन्दै पार्टीभित्रको ठूलो हिस्सा ओलीको विरोधी बनेको थियो । गठबन्धनमा ध्रुवीकृत भएको थियो ।

६ सदस्यीय कार्यदल बनाउँदा प्रचण्डले नै विधिको बेवास्ता गरेको खनाल, नेपाल र श्रेष्ठको ठहर छ । उनीहरूले त सामूहिकरूपमा प्रचण्डको नियतमाथि नै शङ्का गरिसकेका छन् । गठबन्धनमा चरम अविश्वास प्रकट भएको छ । खनाल, नेपाल र श्रेष्ठले तत्काल सचिवालय बैठक बसेर कार्यदलबारे औपचारिक निर्णय लिन र कार्यदेश तोक्न माग पनि गरे ।

सचिवालयका तीननेताको माग मुताबिकै नेकपाले सोमबार बिहान साढे ९ बजे सचिवालय बैठक बोलाएको छ । यो परिघटनाले अध्यक्षद्वयको सहमति–समझदारीलाई पार्टी निर्णय मान्ने अवस्थाबाट नेकपाको शक्ति सन्तुलनले पृथक बाटो समातेको सन्देश दिएको छ । ओली–प्रचण्डको समझदारी पार्टी निर्णय बन्ने सम्भावना अब टाढिएछ भनेर अनुमान गर्दा फरक पर्दैन ।

कार्यदल बनाएपछि चारजनाको गठबन्धन तीनजनामा साँघुरिन पुगेको चर्चा नेकपावृत्तमा हुन थालेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले त सार्वजनिकरूपमा टिप्पणी नै गरिसकेका छन् । “विधिकै लागि भनेर यत्रो लडाइँ लडियो । पार्टीको विधान, पद्धति र पार्टी प्रणालीले नचिन्ने कार्यदल गठन गरेर प्रचण्डले के सन्देश दिनुभएको हो ? हामीले केही बुझन् सकेका छैनौं,” नेपाल निकट एक नेता भन्छन् । 

नेपालनिकट स्थायी कमिटी सदस्य बेदुराम भुसालको पनि त्यही तर्क छ । “दुईजना अध्यक्ष बसेर होइन, कुनै कमिटीको बैठकबाट गठन गर्नुपर्थ्यो,” भुसाल भन्छन्, “कार्यदल बनिसकेको छ । त्यसले काम पनि गर्दैगर्छ । काम गर्न समस्या होइन । यत्रो विधि, पद्धतिको कुरा उठाउने, दुईजना अध्यक्षले कार्यदल गठन गर्ने वैधानिक व्यवस्था छैन । यो पद्धति मिल्दो कुरा पनि होइन ।”

पूर्वमाओवादी समूहको दबाब

पूर्वमाओवादी समूहको दबाबको कारण प्रचण्ड सङ्कटमा थिए । पूर्वमाओवादीका अधिकांश नेता गठबन्धनको पक्षमा थिएनन् । अहिले पनि छैनन् । झलनाथ खनाल, माधवकुमार नेपालसँग गठबन्धन बनाएर भन्दा ओलीसँगै वार्ता र संवादमार्फत् मिलेर जानुपर्ने र समस्याका निकास निकाल्नुपर्ने उनीहरूको तर्क थियो ।

हरिबोल गजुरेल, देवेन्द्र पौडेल, मणि थापा, जनार्दन शर्मालगायत नेताहरूले प्रचण्डलाई २०७५ जेठ २ गतेकै सहमतिमा उभिन दबाब दिएका थिए । तर, कार्यकारी अध्यक्ष बन्ने लोभमा परेका प्रचण्डले मङ्सिर ४ गतेको सहमतिमार्फत खुट्टा छाडे । त्यसपछि पनि उनीहरूको दबाब मङ्सिर ४ कै सहमतिलाई विधानमा व्याख्या गरेर जानुपर्ने थियो ।

तर, प्रचण्ड पूर्वएमालेको छिद्रभित्रबाट पसेर ओलीलाई कमजोर बनाउन थालेपछि समस्या सिर्जना भएको उनीहरूको बुझाइ छ । ओली–प्रचण्डको दूरी बढेपछि एकता धरापमा परेको भन्दै पूर्वमाओवादी केन्द्रका केही नेता ओलीसँग निरन्तर संवादमा थिए । जनार्दन शर्मालगायत केही नेता सधैँजसो संवादमा थिए । पछि अरू नेता पनि गाँसिए । प्रचण्ड आफ्नो समूहमा एक्लिँदै गएपछि ओलीतिर मिल्न दबाब परेको नेपाल समूहको बुझाइ छ ।

प्रचण्ड साउन ३ गते नै ओलीसँग सहमति गर्न राजी थिए । प्रचण्डले अर्ली महाधिवेशनमा स्वीकृत जनाइसकेका थिए । शीतल निवासलाई साक्षी राखेर सहमति गर्न खोजिए पनि परिस्थिति परिपक्व नबनिसकेकाले भाँडिएको थियो । त्यसैको परिस्कृत रूप कार्यदल भएको नेपाल समूहको बुझाइ छ ।

कार्यदल साक्षी मात्रै ?

पूर्वमाओवादीका एकजना नेताले सहमतिको खेस्रा तयार भइसकेको दाबी गर्छन् । त्यसो त, बिहीबारै ओलीका तर्फबाट वार्ताको सहजीकरण गरेका नेता शङ्कर पोखरेलले सहमतिको मस्यौदा प्रचण्डलाई देखाएका थिए । त्यसदिन अध्यक्ष प्रचण्ड साथीहरूसँग छलफल गर्छु भन्दै बालुवाटारबाट बाहिरिएका थिए र थापागाउँको प्रेसिडेन्सियल कलेजको पाँच नम्बर प्रदेशस्तरीय केन्द्रीय सदस्यको भेलामा त्यसको खुलासा गरेका थिए ।

बिहीबार नै तयार पारिएको सहमतिको खेस्रालाई अन्तिमरूप दिन कार्यदल गठन गरिएको चर्चा नेकपाभित्र सेलाइसकेको छैन । त्यही थाहा पाएर हुनुपर्छ, शनिबारको पहिलो बैठकमा सुरेन्द्र पाण्डेलले कार्यदलको भूमिका, औचित्यका बारे प्रश्न उठाएका थिए । संयोजक विष्णु पौडेलले कार्यदलले सुझाव तयार पार्ने र दुई अध्यक्षले प्रस्तावका रूपमा स्वीकार गरेपछि बैठकमा पेस हुने बताएका थिए ।

अद्यापि दुई अध्यक्षबीच सहमति भइसकेर कार्यदललाई साक्षीका रूपमा उभ्याइएको र असन्तुष्ट पक्षलाई पनि अपनत्व गराइन लागेको हो कि भन्ने संशय नेकपावृत्तमा कायकै  छ । र, यही संशयले गठबन्धनको भविष्य जोखिममा पारेको हो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro