काठमाडौं । शिक्षित र बुझेकाहरुले समेत आफ्ना छोरालाई खेलकुदमा संलग्न गराउन नचाहिरहेका अवस्थामा महिला खेलाडी खेलकुदमा लाग्नु हाम्रो समाजमा ठूलो चुनौती मानिन्छ । महिला खेलाडीहरुप्रति परिवार र समाजको ’साँघुरो’ सोच अझै बदलिएको छैन । नयाँ पिँढीका कैयौं महिला खेलाडी अझै पनि लुकेर प्रशिक्षणमा आउने गरेको पाइन्छ । ‘भोलि बिहे गरेर अर्काको घर जाने हो, स्वास्थ्य बिग्रन्छ’ भन्ने समाज हामीबीच छ ।
उनीहरु त्यतिबेला मात्र परिवार र समाजमा खुलेर बाहिर आउँछन् जब कुनै उपलब्धि हासिल गर्छन् । पछि तिनै महिला खेलाडीको उपलब्धिले परिवार र समाजलाई मात्र होइन राष्ट्रलाई नै गौरवान्वित बनाएको हुन्छ । तर, तिनै बाधा व्यवधान चिर्दै नेपाली महिला खेलाडीले नेपाली खेलकुदको इतिहासमा नाम दर्ज गराएका छन् ।
किशोरावस्थामै परिवारले छोरीलाई खेलकुदका लागि खासै प्राथमिकता नदिएका बेला विवाहपछि नेपाली महिला खेलाडी पलायन हुनु स्वाभाविकजस्तै मानिन्छ । नेपाली खेलकुदमा त्यस्ता केही उदाहरण पनि छन् जो विवाहपछि पनि खेलकुदमा खेलाडीकै रुपमा सक्रिय रहे । त्यसमा पनि केही महिला खेलाडीले भने छोराछोरीको आमा बनेपछि प्रतिस्पर्धा मात्र गरेनन्, उनीहरुले नेपाललाई अन्तर्राष्ट्रिय पदक नै दिलाए ।
शारीरिक रुपमा तन्दुरुस्त आवश्यक पर्ने खेलकुदमा आमा बनेकाहरुले खेलाडीका रुपमा मैदानमा फर्किनु आफैंमा ठूलो चुनौती हो । तीमध्ये तेक्वान्दोकी आयशा शाक्य पनि एक हुन् ।
दुई छोराकी आमा बनेपछि शाक्यका दुई स्वर्ण
२०११ मा ओलम्पियन दीपक विष्टसँग विवाह गरेपछि तेक्वान्दो खेलाडी आयशा शाक्यले आमा बन्नुपूर्व अन्तिमपटक सन् २०१६ मा फिलिपिन्समा आयोजना भएको एसियन च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन् । त्यसपछि उनी करिब चार वर्ष खेलबाट टाढा रहिन् । यसअघि सागमा स्वर्ण र एसियाली खेलकुदमा कास्य पदक जितेकी उनी २०१६ पछि दुई छोराकी आमा बनिन् ।
“२०१६ पछि मेरो सबै खेलकुद गतिविधि ठप्प भयो । त्यो समय दुई बच्चालाई स्याहार्दै र घर हेर्नमै ठिक्क भएँ,” उनले भनिन्, “दुई बच्चा जन्मिँदासम्म मैले स्कुलमा साना-साना बच्चाहरुलाई पनि सिकाउँथे । तर, आफ्नो प्रशिक्षण भने पूर्ण रुपमा बन्द थियो ।”
त्यसपछि उनी एकाएक प्रदेश ५ मा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा देखिइन् । आठौं राष्ट्रिय खेलकुदलाई आफ्नो खेलमा फर्किने बाटो बनाइन् र सफल पनि भइन् । भारतमा आयोजना भएको १२औं सागमा रजत पदक जितेकी उनलाई अझै पदकको भोक मेटिएन । उनी १३औं सागका लागि पनि छनोट भइन् । घरेलु भूमिमा आयोजना भएको १३औं सागमा उनले दोहोरो स्वर्ण जितिन् । जब उनी दुई छोराकी आमा बनिसकेकी थिइन् ।
“आमा भइसकेपछि फिजिकल फिटनेस नै परिवर्तन हुँदो रहेछ । तर, आफूमा आत्मबल र विश्वास भयो भने जुनसुकै कठिनाइ पनि सहजै पार गर्न सकिँदो रहेछ । त्यसमाथि अझ आफ्नै श्रीमानको साथ हुँदा पीडा आफैं हराएर जाँदो रहेछ,” उनले भनिन् ।
खेल्ने इच्छा पहिलेदेखि नै भए पनि विवाहपछि प्रायः महिलाहरु आफ्नो परिवारका लागि सोच्दा आफ्नो सपनालाई त्याग गरिरहेको उनले बताइन् । सबैभन्दा ठूलो परिवार सोच्नु स्वभाविक भए पनि हरेक महिलाले आफ्नो सपना पूरा गर्नु जरुरी रहेको बताइन् । “मलाई मेरो परिवारले धेरै सहयोग गरेको छ । तिम्रो केही सपना छ भने त्यो पूरा गर । हामी साथ दिन्छौं भन्दै उहाँहरुले ऊर्जा दिनुभयो । आफ्नो मिहिनेत त छँदै छ, उहाँहरुको साथ र सहयोगले मेरो सपना पूरा गरेको छु,” उने भनिन् ।
सागमा सिजरिन शाहको ऐतिहासिक पदक
पूर्वखेलाडी सिजरिन शाह सागमा सबैभन्दा बढी पदक जित्ने नेपाली टेबलटेनिस खेलाडी हुन् । उनले सागमा स्वर्णसहित ४ रजत र ३ कास्य जितेकी छन् । नेपालले सन् १९९१ मा पाकिस्तानको इस्लामावादमा भएको सागमा दुई स्वर्ण जित्दा शाहको टिमले एक स्वर्ण जितेको थियो ।
त्यतिबेला सिजरिन शाह, गीता क्षेत्री, नीलम तुलाधर र पूजा थापाले महिला टिम इभेन्टमा स्वर्ण जितेका थिए । त्यो नै टेबल टेनिसले साग इतिहासमा जितेको पहिलो स्वर्ण पदक हो ।
विसं २०४० सालमा व्यवसायी जीनवविक्रम शाहसँग विवाह गरेकी सिजरिन त्यसको एक वर्षपछि आमा बनिन् । आमा बनेपछि उनले नेपाललाई थुप्रै अन्तर्राष्ट्रिय पदक दिलाएकी छन् । भारतको कोलकातामा सन् १९८७ मा भएको तेस्रो सागमा उनी पहिलोपटक सहभागी भइन् । प्रतियोगिताको बन्द प्रशिक्षणमा रहेकी उनी आफ्नो एक वर्षीय छोरालाई छाड्दै थप प्रशिक्षणका लागि चीन पुगिन् । दुई महिनाको चीन बसाइपछि भारत पुगेकी सिजरिनले आफ्नो पहिलो सागमै एक रजत र दुई कास्य पदक जित्न सफल भइन् ।
त्यसपछि लगातार पाकिस्तानमा भएको चौथो र श्रीलंकामा भएको पाँचौं सागमा सहभागिता जनाइन् । चौथो सागमा दोहोरो रजत पदक जित्दा पाँचौं सागमा एक स्वर्ण र एक कास्य पदक जितेकी छन् । सागमा सबै पदक सिजरिनले आमा बनेपछि जितेकी हुन् ।
लगातार आठौंपटक राष्ट्रिय च्याम्पियनको रेकर्डसमेत बनाएकी उनले सन् २०७३ मा चीनमा आयोजना भएको प्रथम एसियन टेबलटेनिस प्रतियोगितामा सहभागिता जनाएकी थिइन् । त्यसपछि उनले निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्दै आएकी थिइन् ।
“मैले आमा बन्नुपूर्व जति प्रतियोगिता खेले त्यति नै प्रतियोगिता त्यसपछि खेले । तर सागको सबै उपलब्धि म आमा बनेपछि नै हो । साग खेल्नकै लागि मैले एक वर्षको छोरा छोड्दै दुई महिनाको बन्द प्रशिक्षणका लागि चीन पुगेकी थिएँ,” उनले भनिन्, “मलाई त्यसअघि र पछि खेलमा फर्किन कुनै असहज वातावरण भएन । परिवारको सधैं समर्थन थियो ।”
अपरेसन गरेर बच्चा पाएको तीन महिनामै प्रशिक्षणमा फर्किएँ : चञ्चला
विवाहपूर्व खासै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएकी करातेकी चञ्चला दनुवारले विवाहपछि भने एसियन गेम्ससम्म खेलिन् । उनले २०१६ र २०१८ को एसियन गेम्स विवाहपछि नै खेलेकी हुन् । उनी २०६६ फागुनमा कराते खेलाडी नारायणकाजी राईसँग विवाह बन्धनमा थिइन् ।
साढे तीन वर्षका एक छोराको आमा बनिसकेकी चञ्चलाले आमा बनेपछि एसियन गेम्ससम्म नेपालको प्रतिनिधित्व गरिन् । तीन महिनाको काखे बालकलाई छाड्दै प्रशिक्षणमा फर्किएकी उनी त्यसको ६ महिनापछि राखेप च्याम्पियनसिप खेलेकी थिइन् । राखेप च्याम्पियनसिपको टिम इभेन्टमा उनले स्वर्ण पदक जितिन् । उनले १३औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई एकल कातामा रजत पदक दिलाइन् । यससँगै उनी पनि आमा बनेपछि नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडीमध्ये एक बनिन् ।
“बच्चा पाइसकेपछि खेल्ने योजना थिएन । किनभने मेरो अपरेसन गरेर बच्चा पाएको थिएँ । पुलिस क्लबमा भएका कारण खेल्नैपर्ने भयो । श्रीमानले पनि तिमी सक्छौ भनेर हौसला दिनुभयो । त्यसपछि छोरा तीन महिनाको हुँदा म प्रशिक्षणका लागि फर्किएँ,” उनले भनिन्, “बाबु १६ महिनाको हुँदा इन्डोनेसियामा आयोजना भएको १८औं एसियन गेम्सका लागि छनोट भएँ । त्यसका लागि पोरखरामा चार महिना बन्द प्रशिक्षण हुने भएपनि बाबुलाई मामाघर छाडें । अहिलेसम्म छोरा मामाघरमै छ ।”
त्यो समय उनका लागि निकै नै कष्टकर भएको उनले सुनाइन् । बिहान दुई र साँझ दुई घण्टा प्रशिक्षण गर्दा दिउँसो दुई घण्टा मात्र उनी छोरासँग समय बिताउन पाउँथिन् । “त्यो समय मेरा लागि निकै नै कष्टकर थियो । एकातिर बच्चा, अर्कोतिर प्रशिक्षण र अफिस । तर, मलाई केही गरेर देखाउनु थियो,” उनले भनिन्, “मलाई ११औं साग र १७औं एसियन गेम्स खेल्न नपाउनुको पीडा थियो । मैले अन्तिम समयमा आएर दुवै ठूला प्रतियोगिता गुमाएकी थिएँ । त्यही इखले पनि पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाएँ ।”
शरीरले साथ दिएसम्म अझै एक एसियन र साग गेम खेल्ने लक्ष्य रहेको उनले सुनाइन् । उनले सागमा नेपाललाई स्वर्ण पदक दिलाउने सपना रहेको बताइन् । “अहिलेसम्म शरीरले साथ दियो । अब उमेर पनि ढल्किँदै गयो । बच्चा हुँदा डाक्टरले सात महिना विश्राम गर्न भनेको थियो । तर, म तीन महिनामै प्रशिक्षणमा फर्किएँ । त्यसको दुखाइ अहिले सुरु हुन थालेको छ,” उनले भनिन् ।
सन्तान पाएपछि साग खेल्ने देवुको हुटहुटी
आमा बनेपछि परिवारबाट रोकतोक हुनुपूर्व जुडो खेलाडी तथा प्रशिक्षक देवु थापाका लागि सामान्य थियो । तर, उनको सन्तान पाउनुपूर्व खेल्दाखेल्दै खुट्टाको लिगामेन्ट गयो । त्यसपछि सन्तान पाइसकेपछि समेत उनको दोस्रोपटक लिगामेन्ट जाँदा परिवारको दबाब हुनु स्वभाविक लाग्छ । तर, त्यो दबाबले उनको साग खेल्ने हुटहुटीलाई रोक्न सकेन ।
“मेरो दुईवटा सन्तान थियो । तर, मलाई एकपटक ओलम्पिक वा साग गेम खेल्ने रहर थियो । त्यो हुटहुटी हराएको थिएन,” थापाले भनिन्, “गुरुहरुको अन्तर्राष्ट्रिय मेडलले मलाई अझ सागको सपनामा अल्झाएको थियो । जुन पूरा पनि गरेँ ।”
२०५४ सालमा जिम्न्यास्टिक खेलाडी मजाकाजी महर्जनसँग विवाह भएपछि उनी दुई सन्ताकी आमा बनिन् । आमा बनिसकेपछि उनले १०औं र ११औं साग खेलिन् । १०औं सागमा रजत पदक जितेकी उनले ११औं सागमा कास्य पदक जितेकी थिइन् । आमा बनेपछि नै उनले हङकङ र मकाउमा जुडोको एसियन च्याम्पियनसिप खेल्दै रजत र कास्य जितिन् । यो सबै उपलब्धि उनले दुई सन्तानकी आमा बनेपछि हासिल गरेकी थिइन् ।
पहिलो बच्चा चार महिनाको पेटमा हुँदा उनले बंगलादेशमा एसियन च्याम्पयनसिप खेल्दै कास्य पदक जितिन् । त्यो नै उनको पहिालो अन्तर्राष्ट्रिय खेल र पदक थियो । पहिलो सन्तान पाएको दुई महिनापछि प्रशिक्षणमा फर्किए पनि उनले त्यो समय खासै प्रतियोगिता भने खेलिनन् । दोस्रो सन्तानका रुपमा छोरा पाएको चार महिनापछि उनी पुनः प्रशिक्षणका लागि फर्किइन् । लगत्तै उनले राखेप च्याम्पियनसिमा खेल्दै स्वर्ण जितेर खेलमा पुनरागमन गरिन् ।
“मेरो जागिरै नेपाल प्रहरीमा भयो । त्यसमा पनि म जुडो खेलाडी । मैले क्लबका लागि खेल्नैपर्ने थियो । तर, श्रीमान् र जापानी गुरुको ठूलो सहयोगले मलाई खेलमा फर्किन त्यस्तो खास समस्या भएन,” उनले भनिन्, “सन्तान पाएपछि मैदान फर्किन गाह्रो त भई हाल्छ । तर, जति हामीले सोचेका थियौं त्यती भएन् ।” हाल जुडोको प्रशिक्षक रहेकी थापाका २२ वर्षीय छोरी र १९ वर्षीय छोरा छन् ।
आमा बनेपछि माला राईको मेरी कोमसँगको लडाइँ
बक्सिङ खेलाडी माला राईले आमा बनिसकेपछि जति अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिन् त्योभन्दा पहिले खासै प्रतियोगिता खेल्न पाएकी थिइनन् । उनले आमा बन्नुपूर्व २००८ मा भारत र २००९ मा भियतनाममा खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता खेलेकी थिइन् ।
२०६४ सालमा फुटबलर मिलन राईसँग विवाह बन्धनमा बाँधिएपछि उनले २०६९ सालमा छोरीका रुपमा पहिलो सन्तान जन्माइन् । त्यसको एक वर्षपछि समान्य प्रशिक्षणमा फर्किएकी उनी अर्को वर्षदेखि नै आफ्नो आत्मबल बढाउँदै प्रतियोगिता नै खेल्न सुरु गरिन् ।
“मेरो पारिवारिक माहोल खेलकुदमय थियो । तर, मलाई समस्या छोरीको थियो । हामी कोठा लिएर बसेका भएकाले छोरी सानो हुँदा छिमेकीको घरमा छोडेर जानुपर्ने अवस्था थियो,” राईले बताइन्, “त्यसको केही समयपछि बहिनीलाई बोलाएर उनले छोरी हेर्न थालिन् ।”
प्रशिक्षणमा फर्किँदा सुरुवाती समयमा आफूलाई शारीरिक रुपमा केही कमजोरी महसुस भए पनि त्यस्तो गम्भीर अवस्था भने नपरेको उनले बताइन् । आमा बनेपछि पहिलो राष्ट्रिय प्रतियोगितामै उनी उत्कृष्ट खेलाडी बनेकी थिइन् । उनी २०७१ सालमा ब्रिटिस कलेज नेसनल बक्सिङमा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।
आमा बनिसकेपछि उनले बक्सिङकी चर्चित भारतीय खेलाडी मेरी कोमसँग खेलिन् । उनले दोस्रो इन्डियन ओपन बक्सिङ च्याम्पियनसिप २०१९ मा मेरी कोमसँग खेलेकी थिइन् । तर, उनको पहिलो खेल नै मेरी कोमसँग परेपछि उनी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइन् । उनले सोही प्रतियोगिताको पहिलो संस्करण २०१८ मा पनि सहभागिता जनाएकी थिइन् ।
मालाले गत वर्ष घरेलु भूमिमा आयोजना भएको १३औं सागमा पनि नेपालको प्रतिनिधित्व गरिन् । उनले ५१ केजी तौल समूहमा नेपाललाई रजत पदक दिलाएकी थिइन् ।