
काठमाडौं । चैतयता बैंकहरुको कर्जा लगानी रोकिएपछि बैंक तथा वित्तीय संस्थामा तरलता फालाफालको अवस्था पुगेको छ । यस्तो तलरता बढी भएको अवस्था भूकम्पपछिकै उच्च हो । जसको प्रत्यक्ष प्रभाव निक्षेप र कर्जाको ब्याजदरमा देखिएको छ । बैकिङ प्रणालीमा तरलता उच्च भएको बैंकहरुबीच सुरु भएको ग्राहक खोसाखोसको स्थितीले नै पुष्टि गर्दछ ।
बैंकहरुले एकातिर निक्षेपकर्ता नै पलायन हुने गरी निक्षेपको ब्याजदर घटाएका छन् भने अर्कोतर्फ आधार ब्याजदरमा नै कर्जा अफर गरिरहेका छन् । बैंकहरुले ज्यादै कम मात्र निक्षेपमा ब्याजदर दिएपछि बैंकका निक्षेपकर्ता सहकारी तथा अनौपचारिक क्षेत्रतर्फ आकर्षित भएका छन् । यसले अर्थतन्त्रमा अर्को जोखिम ल्याउन सक्ने जानकार बताउँछन् । बैंकहरुको पछिल्लो अस्वस्थ प्रतिस्पर्धाले केही वर्ष यता स्थिर रहेको ब्याजदर पुनः अस्थिर हुने जोखिम बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले दुई वर्ष देखि निक्षेपको ब्याजरमा गर्दै आएको भद्र सहमति खारेज गरेपछि ब्याजरमा अस्वस्थ प्रतिस्पर्धाको खेल सुरु भएको हो । अहिले केही बैंकहरुले निक्षेपको ब्याजदर ह्वातै घटाएका छन् । केही बैंकले सार्वजनिक गरेर नै आधार ब्याजदरमा कर्जा प्रवाह गरिरहेका छन् भने केही बैंकले भित्रभित्रै ‘कर्पोरेट लोन’ पनि आधार ब्याजदरमा दिन थालेको स्रोतको दाबी छ ।
आर्थिक वर्ष २०७५-०७६ मा बैंकहरुमा निक्षेपको ब्याजदर बढाउन होडबाजी नै चल्यो । कतिपय पुराना र ठुला बैंकहरुले नै मुद्धति निक्षेपको ब्याजदर १३ प्रतिशतसम्म सार्वजनिक गरेपछि निक्षेपको ब्याजदरमा देखिएको होडबाजी रोक्न तत्कालिन गभर्नर चिरञ्जीवी नेपालले नै अग्रसरता लिनुपर्यो ।
त्यतिबेला गभर्नर नेपालले बैंकहरुलाई ब्याजदरमा होडबाजी नगर्न निर्देशन दिँदै निक्षेपको ब्याजदरमा सीमा तोक्न सुझाएपछि बैंकरले निक्षेपको ब्याजदरमा भद्र सहमति नै गरे । अहिले बैंकहरुको त्यही रुप कर्जाको ब्याजदरमा देखिन लागेको छ । अहिले बैंकहरुबीच एक विन्दुमा आधार ब्याजदरमै कर्जा प्रवाह गर्ने होडबाजी नै चलेको छ । केही बैंकले त आधार ब्याजदरमा नै कर्जा ‘अफर’ गरिरहेका छन् ।
कोभिड १९ विरुद्ध सरकारले लकडाउन गरेयता कर्जा लगानी ठप्प हुँदा बैंकहरुको निक्षेप भने लगातार बढिरहेको छ । सोही कारण हाल बैंकिङ प्रणालीमा दुई खर्बभन्दा बढी लगानीयोग्य तरलता थुप्रिएको राष्ट्र बैंकको तथ्यांक छ । तलरता बढी भएकै कारण कर्जा प्रवाह गर्न बैंकहरुबीच निश्चित अवधिका लागि ग्राहक फकाउँदा लागि परेको देखिन्छ ।
बैंकहरुको यस्तो होडबाजिका कारण ऋणी जोखिममा पर्नसक्ने स्थिती नआउँला भन्न पनि नसकिने जानकार बताउँछन् । राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक तथा कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले यस्तो अवस्थामा ऋणीहरु नै बढी सचेत हुनुपर्ने सुझाए । भोलि आधार ब्याजदर बढेको अवस्थामा आधार ब्याजदर जति बढ्छ त्यो भन्दा बढी ऋणको ब्याजदर नबढ्ने गरी कर्जा सम्झौता गर्दा भने ऋणी जोखिममा पर्ने सम्भावना कम हुने उनको भनाई । “यसमा ऋणी बढी सचेत बन्नुपर्छ” उनले भने, “यसरी सम्झौता गर्ने हो भने पछि ऋणी समस्या पर्दैनन् ।”
किन बढ्यो त तरलता ?
राष्ट्र बैंकले हालै लिएको नीतिका कारण पनि बैंकहरुमा तरलता बढ्न सहयोग पुर्याएको देखिन्छ । हाल केन्द्रिय बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) घटाएको, कर्जा स्रोत परिचालन अनुपात (सीसीडी) ८५ प्रतिशत बनाउँदा ५ प्रतिशतले नै नभए पनि १÷२ प्रतिशतले मात्रै थप तरलता प्रवाह हुँदा अधिक बजारमा अधिक तरलता भएको निरौला बताउँछन् ।
यस्तै कर्जा लगानी रोकिदा बजारमा तरलता बढी भएको र सोही कारण ब्याजदर घटाउन मद्दत पुगेको उनले बताए । “आयातमा संकुचन आउनु र रेमिट्यान्समा लकडाउनको खासै प्रभाव नपर्दा पर्याप्त विदेशी मुद्रा सञ्चिति रहेको छ” उनले भने, “यसले अझै ब्याजदर घटाउन पनि सक्छ ।” कोभिड १९ को प्रभाव कम भएर आर्थिक गतिविधि पुर्ववत् अवस्थामा नर्फिँकदासम्म कर्जाको ब्याजदर बढ्ने सम्भावना कम रहेको निरौलाको दाबी छ ।
यता, राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर भट्ट बैंकहरुले अल्पकालीनभन्दा पनि दीर्घकालीन योजना बनाएर लगानी गर्नुपर्ने बताउँछन् । “अहिले जुन दरमा बैंकहरुले कर्जा दिएका छन्, त्यो ब्याजदर कति समयसम्म कायम हुन्छ त्यसको ख्याल बैंकहरुले गर्नुपर्छ,” बाह्रखरीसँग उनले भने, “यस्तो अवस्थामा कर्जा लगानी गर्दा बैंक र ग्राहक पनि कति समयसम्म अहिलेको ब्याजदर कायम रहन्छ भन्नेतर्फ सचेत हुनुपर्छ ।” बैंकहरुले अहिले जुन ब्याजदरमा कर्जा योजना ल्याइरहेका छन् त्यो कति दिगो हुन्छ भन्नेतर्फ ख्याल गर्नुपर्ने उनी बताउँछन् ।
ग्राहक पनि अहिले सस्तोमा कर्जा पाइयो भन्दैमा लिनेभन्दा पनि कर्जा लिनुभन्दा पहिले भोलिको दिनमा कति प्रतिशतसम्म ब्याजदर पुग्न सक्छ त्यसमा पनि ख्याल गर्न उनले सुझाव दिए ।
पछिल्ला दिनमा नयाँ कर्जाको माग नै नभएको बैंकर बताउँछन् । “अहिले समग्र बैंकिङ्ग क्षेत्रमा कर्जाको माग बढेको छैन, कुनै बैंकको कर्जा लगानी बढेको छ भने अर्को बैंकको घटेको छ” एक बैंकरले बाह्रखरीसँग भने, “कर्जाको ब्याजदरमा होडबाजी गर्दैमा नयाँ कर्जाको माग आउने होइन । त्यसैले कर्जाको ब्याजरदमा तिव्र प्रतिस्पर्धा गर्नुको कुनै तुक छैन ।” ठूला बैंकले नै ब्याजदरमा प्रतिस्पर्धा गर्दाको प्रभाव साना र नयाँ पुस्ताका बैंकहरुमा परेको उनले बताए ।
दीगो छैन कर्जा योजना
अहिले बैंकहरुको ल्याएको कर्जा अफर दिगो नभएको वित्तीय क्षेत्रका जानकार बताउँछन् । राष्ट्र बैंकले पनि बैंकहरुले कर्जाको ब्याजदरमा गरेको प्रतिस्पर्धा नजिकबाट हेरिरहेको एक विभागिय प्रमुखले बताए । “अहिले ८ प्रतिशतमा कर्जा लगानी गर्ने र भोलि बजारमा तरलता कमी हुनासाथ १४ प्रतिशत पुर्याउने बैंकर्स प्रवृतिलाई नजिबाट निगरानी गरिरहेका छौं ।”उनले भने, “अहिले बैंकहरुले ल्याएका अफर दिर्घकालिन छैन, २-३ वर्षको पनि पुर्वमुल्याङकन नगरी ८ प्रतिशमा कर्जा लगानी गरेर १ वर्षमा नै १४ प्रतिशतसम्म पुर्याउने अवस्था आएमा राष्ट्र बैंकले आवश्यक कदम चाल्छ ।”
उनका अनुसार अहिले बैंकिङ प्रणलीमा देखिएको अधिक तरलता क्षणिक हो । आयातमा देखिएको संकुचन, राष्ट्र बैकले लिएको नीति एवं असार मसान्तमा सरकारले पुँजीगत खर्च बढाउँदा बैंकहरुमा केही तरलता बढेको उनको दाबी छ । “ठूला परियोजना निमार्ण सुरु भएर मेसीनरी सामान, पेट्रोलियम पदार्थको आयात बढ्नासाथ बैंकहरुमा कर्जाको माग पनि बढ्छ ,” उनले भने, “त्यसपछि कर्जाको ब्याजदरमा देखिएको अस्वस्थ प्रतिस्पर्धा पनि अन्त्य हुन्छ ।”
घटेको ब्याजदरको कर्जा सेयर बजारलगायत अल्पकालिन क्षेत्रमा लगानी गर्न उपयुक्त भएपनि दिर्घकालिन अर्थात घर कर्जालगायतका क्षेत्रमा भने विचार गर्नुपर्ने उनको भनाई छ ।
कुन बैंकको कस्तो अफर ?
असार मसान्तमा ८.३२ प्रतिशत आधार ब्याजदर रहेको मेगा बैंकले ८.३२ प्रतिशत ब्याजरमा नै १ करोडसम्मको एसएमई कर्जा योजना ल्याएको छ ।
यस्तै ८.२२ प्रतिशत आधार ब्याजदर भएको एनआईसी एसिया बैंकले ८.२५ प्रतिशत ब्याजदरमा घर, सवारी र व्यवसाय कर्जा योजना ल्याएको छ । यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७.५९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना ल्याएको छ ।
८.९५ प्रतिशत आधार ब्याजदर भएको सनराइज बैंकले ९.९५ प्रतिशत ब्याजदरमा घर निर्माण, घर तथा जग्गा खरिद र सेयरको धितो कर्जा योजना ल्याएको छ । सिटिजन्स बैंकले ९.०४ प्रतिशत आधार ब्याजदर रहेकोमा ९.५ प्रतिशत ब्याजदरमा घर कर्जा र एसएमई कर्जा योजना ल्याएको छ ।
हिमालयन बैंकले ८.४९ प्रतिशत ब्याज दरमा साना तथा मझौला कर्जा, घर, सवारी साधन, शैक्षिक कर्जा सार्वजनिक गरेको हो । यस्तै बैंकले ९.८९ प्रतिशत ब्याजदरमा सेयर धित्तो कर्जा, व्यक्तिगत साना व्यावसायिक कर्जा, सुविधा कर्जा र व्यक्तिगत कर्जा योजना ल्याएको छ ।
यसैगरी एभरेष्ट बैंकले ८.२५ प्रतिशत ब्याजदरमा घर कर्जा, ८.२५ प्रतिशत, गाडी कर्जा ९.५५ प्रतिशत ब्याजदरमा साना तथा मझौला उद्योग कर्जा र ९.५५ प्रतिशत ब्याजदरमा व्यक्तिगत कर्जा योजना ल्याएको छ ।
त्यस्तै ८.४२ प्रतिशत आधार ब्याजदर रहेको ग्लोबल आइएमई बैंकले ८.७५ प्रतिशत व्याजदरमा घरजग्गा कर्जा ८.९९ प्रतिशत ब्याजदरमा गाडीकर्जा र ९.४९ प्रतिशत ब्याजदरमा सेयरको धितो कर्जा योजना ल्याएको छ ।
७.३२ प्रतिशत आधार ब्याजदर भएको नबिल बैंकले ७.९९ प्रतिशत ब्याजदरमै घर कर्जा र साना तथा मझौला कर्जा, ८.४९ प्रतिशतमा सेयर धितो र व्यक्तिगत ओभरड्राफ्ट कर्जा योजना ल्याएको छ । यता विकास बैंकहरुमा पनि एकल अंकमा नै कर्जा दिने प्रतिस्पर्धा सुरु भएको छ । संग्रीला डेभलपमेन्ट बैंक र महालक्षी विकास बैंकले ९.९९ प्रतिशत ब्याजरदमै घर कर्जा अफर गरिरहेका छन् ।
स्रोतका अनुसार कतिपय बैंकले त आधार ब्याजदरमा नै कर्पोरेट कर्जा समेत अफर गरिरहेका छन् ।