काठमाडौं । कलिलो उमेर । न भविष्यको चिन्ता, न त सफलताको सपना । जसले जे भन्यो त्यहि सही । सायदै नौ वर्षको उमेरमा केहीले मात्रै आफ्नो भविष्यप्रति चिन्तन गर्छन । त्यसमा पनि खेल क्षेत्र बालापनमा बाध्यता, सपना र भविष्यभन्दा पनि रहर धरै हुन्छ । बालापनको रहरमा गरिएको कुनै पनि कामलाई सफलता र असफलताको तुलोमा मापन पनि गरिँदैन । न त खेलमा लागेर भविश्य उज्वल छ भन्दै प्रेरित गर्ने कोही थि । साथीहरु जहाँ गए पछि-पछि लाग्दै गइन्, पुनम श्रेष्ठ ।
सानोमा साथीहरुसँगैसँगै हिडेको बाटोको गन्तव्य सफलत कै रहेछ भन्ने अहिले आएर महसुस भइरहेको छ, नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण विजेता खेलाडी पुनम श्रेष्ठलाई । पुनम महिला ७८ किलो तौलमुनी जुडोको प्रतिस्पर्धामा स्वर्ण जित्ने खेलाडी हुन् ।
पुनम हाल जति सफल छन्, उनलाई पुरानो दिनको संघर्षले त्यही स्तरले पीडा दिन्छ । आठ वर्षको उमेरदेखि जुडोमा लागेकी पुनमलाई हालै मात्र सफलता मिलेको छ । १२ वर्ष जुडोमा लाग्दा उनलाई एउटै कुराको चिन्ताले सताइराख्थ्यो । सफलता हात परेन भने के हुन्छ ? परिवारले के भन्ला ? समाजले के भन्छ ? पुनमलाई आफ्नो परिवार र समाजभन्दा पनि सँगैका प्रतिस्पर्धीले के भन्लान भन्ने चिन्ता थियो । उमेर समूहको जुडो प्रतिस्पर्धा धेरै अवसर नपाएकी पुनमलाई सागको सफलतापछि भने अन्तराष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता हुन असहज भने हुनेछैन ।
तर, विश्व वरीयतामा राम्रो स्थानमा हुँदै ओलम्पिकमा सहभागिता जनाउन पाउने अवसरलाई भने तत्कालका लागि वञ्चित गरेको छ ।
नेपाली खेलकुदमा राम्रा खेलाडी पहिचान गरी अवसर दिने प्रवृति नहुँदाको असर पुनममाथि पनि परेको छ । नेपाली जुडो इतिहासमा प्राय: पुरानै अनुहार देखिन्छन् र अन्तराष्ट्रियस्तरको प्रतिस्पर्धा पनि उनीहरुले नै सहभागिता जनाउने अवसर पाउछन् ।
पुनमले १२ औं सागमा तेस्रो पदक जितिन् । घाइते हुँदा रिङबाहिर बसेकी पुनम सोहि दिनदेखि १३ औँ सागको तयारीमा लागेकी थिएन । संयोगवश भनौं या अवसर पुनम १२ औं सागमा सेमिफाइनलमा पराजित भएको खेलाडीसँग १३ औं सागमा सेमिफाइनलमा जित निकाल्दै फाइनल प्रवेश गरिन् ।
संघर्षका सुरुआती दिन
पुनमको सुरुआती खेल जीवन भने फरक छ । उनले तेक्वान्दोबाट खेल जीवनको सुरुआत गरेकी थिइन् । खेलप्रतिको रुचिका कारण उनले तेक्वान्दो खेल्न सुरु गरेकी भने होइनन् । साथीहरु खेल्न जाँदा उनलाई पनि तेक्वान्दो खेल्ने रुचि भयो । साथीसँगै तेक्वान्दो खेल्न थालिन् । केही समयमै तेक्वान्दो मोह बढेकी पुनमले आर्थिक अभावका कारण तेक्वान्दो यात्रबाट बिदा लिनुपर्यो । उनले तेक्वान्दो त छोडिन् तर, खेल क्षेत्रबाट टाढा रहन सकिनन् ।
तीन महिना तेक्वान्दो खेलेर रिङ बाहिर गएकी पुनमलाई पुनः अर्को खेलबाट रिङ प्रवेश गर्ने अवसर जुर्यो । त्रिपुरेश्वको रंगशालामा धेरै खेलको प्रशिक्षण हुन्थो । त्यसै अवसमा साथीसँगै पुन: १२ वर्षअघि जुडोको प्रशिक्षण गर्ने थलोमा पुगिन् । अरुले प्रशिक्षण गरिरहेको देख्दा उनलाई पनि खेल्ने रहर जाग्थ्यो । तर, कमजोर आर्थिक अवस्थालाई सम्झिँदा पुनमलाई रिङमा छिर्ने आँट भने आएन् ।
केही साथीहरुको माझमा रहेकी पुनमलाई जुडोका प्रशिक्षक चन्द्रकुमार डंगोलले वाच गरे । उनले पुनमलाई प्रशिक्षण गरिरहेको स्थानमा बोलाए । प्रशिक्षकले बोलाएर जुडो खेल्न आउन आग्रह गर्दा उनलाई आफ्नो खेल जीवनले नयाँ आयाम पाउन थालेको आभास भयो । त्यसको पछिल्लो दिनदेखि उनी जुडोको प्रशिक्षणमा नियमति जान थालिन् । प्रशिक्षणले राम्रो हुँदै गएपछि राष्ट्रिय स्तरमा हुने जुनियर लेबलको खेलमा सहभागिता जनाउन थालिन् ।
“तेक्वान्दोबाट खेल जीवनको सुरु गरेकी थिए । यसमै लागेर अघि बढ्छु भन्ने थियो । तर कमजोर आर्थिक अवस्थाले मैले निरन्तरता दिन सकिन । मेरा लागि खेल जीवनको पहिलो बाटो बन्द हुँदा अर्को खुला रहेछ । जुडोमा मैले नयाँ खेल यात्राको सुरु गरे । त्यसमा सफलता पनि मिल्ने आभास भयो । मेरो आर्थिक अवस्थाले पनि जुडो खेल्न साथ दियो । प्रशिक्षकले पनि खेलका लागि भनेर धेरै कुरामा सहयोग गरे,” पुनमले भनिन् ।
२१ वर्षीया पुनमलाई प्रशिक्षक डंगोलले खेलका लागि आवश्यक सामाग्रीहरुमा सहयोग गर्थे । त्यसैले नै पुनमलाई थप खेल खेल्ने उर्जा मिल्यो । उमेर समूहका प्रतियोगितामा पनि सहभागिता जनाउन थालिन पुनम । सीडब्लूसीएल इन्टरनेश्नल जुनिअर च्याम्पियन्सिप पुनमका लागि पहिलो प्रतियोगिता थियो । उनी उक्त प्रतियोगितामा पनि सफल भइन् । अन्तराष्ट्रिय स्तरमा भने उनलाई धेरै खेल्ने अवसर मिलेन ।
ड्रेस किन्ने पौसा नुहँदा, खेल नै नखेलौं लाग्थ्यो
मध्यम वर्गीय परिवारमा हुर्केकी पुनमले सानै उमेरबाट बुबाको माया पाउन सकिनन् । उनको सानै उमेर हुँदा बुबाले अर्को बिहे गरेपछि आमाको काँधमा सबै जिम्मेवारी पर्यो । त्यो हिस्सेदार पुनम बन्न पुगिन् । बालापनमा बुबाको मायाको अभाव र आमामाथि परेको जिम्मेवार हिस्सेदार बन्नुपर्दा पुनम निकै दुखी हुन्थिन् ।
आफ्नो खेल यात्रा सुरु गर्दा आमाले गरेको दुःख सम्झिँदा पुनमका आँखा रसाए । पुनमले आमाको दुःख हेर्दै खेल जीवनको सुरुआत गरिन् । उनको खेल खेल्ने रहर एकातर्फ, परिवारमा आमाले गरेको संघर्ष अर्कोतर्फ ।
तर, जुडोमा भने प्रशिक्षकले साथ दिए । उनको परिवारको आर्थिक अवस्था भने प्रशिक्षकलाई थाहा थिएन् । कारण उनले आफ्नो परिवारको अवस्था नभनि खेलेको प्रशिक्षण थालेकी थिइन् । केही दिनपछि जुडोको ड्रेस किन्नुपर्यो । पुनमसँग पैसा थिएन । पैसाकै अभावमा तेक्वान्दो खेल्न छोडेकी पुनलाई जुडोको ड्रेस किन्न नसक्दा खेल नै खेल्दैन भन्ने लाग्यो ।
त्यसपछि प्रशिक्षकबाट उनको ड्रेसदेखि अन्य कुरामा पनि सहयोग मिल्न थाल्यो । “खेल सामग्री किन्न नसक्दा तेक्वान्दो छोड्नु बाध्य भएकी थिएँ । फेरि जुडोमा त्यही समस्याको सामना गर्नुपर्यो । ड्रेस नै किन्न नसक्दा खेल खेल्न नै छोडि दिनुपर्छ भन्ने सोंच आयो । प्रशिक्षकले सहयोग गर्दा निरन्तरता दिन पाएँ,” पुनमले भनिन् ।
पुनमले विभागीय टोलीमा प्रवेश गर्दा भने खेल यात्रालाई निरन्तरता दिन सहज भयो । परिवारको आर्थिक पक्षमा पनि केही राहात मिल्यो । त्यहीबाट पुनमलाई राष्ट्रियस्तरको खेलमा पनि प्रवेश गर्ने अवसर मिल्यो । आफूलाई जुडो फापेको पुनमलाई महसुस हुन्छ ।
स्वर्णिम साग
भारतमा भएको १२ औँ सागमा पहिलो पटक अन्तराष्ट्रियस्तरको खेलकुदमा सहभागिता जनाएकी पुनमलाई आफ्नो खेल जीवनको पहिलो साग नै सफल बनाउने अभिभारा थियो । सागको पहिलो खेलमा जित निकालेकी पुनम सेमिफाइनलमा भारतीय खेलाडीसँग पराजित हुन पुगिन् । हातको सन्तुलन नमिल्दा उनी चोट लागरे घाइते भइन् । पहिलो सागलाई सफल बनाउने लक्ष्य लिएकी पुनमले तेस्रो पदकमा चित्त बुझाउनु पर्यो ।
पहिलो साग नै असफल भएपछि पुनमलाई पिडा भयो । तर, पनि उनी हार नमानी पछिल्लो दिनबाट तयारी गर्न थालिन् । उनलाई पहिलो साग हार्दा पनि खेल जीवनको आगामी यात्रामा सफल बन्ने योजना पनि थियो । त्यसपछि नेपालमा आयोजना भएको सातौं राष्ट्रिय खेलकुदबाट राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने मौका पाइन् । पुनमले पहिलो राष्ट्रिय खेलमा सफलता प्रप्त गरिन् । उनी आफ्नो तौल समूहमा प्रथम हुन सफल भइन् ।
त्यसपछि पुनमको खेल जीवनले विस्तारै सफलताको मोड लिन थाल्यो । नेपालमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि प्रथम हुँदै लगातार दुई राष्ट्रिय खेलकुदमा स्वर्ण जित्न सफल भइन् । पुनमको राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि बेग्लै पहिचान बन्यो । उनलाई यतिले मात्रै पुगेको थिएन । १३ औँ सागको छनोट खेलको रुपमा रहेको प्रतियोगितामा सफलता प्राप्त गर्दै पुनमले सागको सफलतालाई ध्यान दिइन् ।
घेरेलु मैदानमा नै भएको सागमा पुनम पहिलो प्रतिस्पर्धीको रुपमा श्रीलंकाकी खेलाडीलाई पाइन । उनीसँग उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्दा उनले सेमिफाइनमा भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्नु थियो । १२ औँ सागमा जुन खेलाडीबाट उसकै घरेलु मैदानमा हार व्यहोर्नु परेको थियो सोही खेलाडीलाई हराउन सफल भइन्, पुनम आफ्नो मैदानमा । पुनमका लागि फाइनल यात्रा खेलजस्तै थियो सेमिफाइनल खेल । फाइनल खेलमा बंगलादेशकी खेलाडीलाई हराउँदै पुनमले स्वर्ण कब्जा गरिन् ।
“खेल जीवनले पहिलो सफलता घरेलु मैदानमा नै पाएँ । १२ औँ सागमा जुन खेलाडीसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिनु परेको थियो सोही खेलाडीलाई पुनः घरेलु मैदानमा हराएर फाइनलको यात्र तय गर्दै स्वर्ण जित्न सफल भएँ । त्यसपछि नै मेरो खेल जीवनले पहिलो सफलता हात पार्यो,” पुनमले भनिन् ।
खेल्ने काम मात्रै भए सफलता टाढा छैन
नेपालमा धेरै खेलाडीलाई खेलेर मात्र जिविकोपार्जन गर्ने वातावारण छैन । नेपालमा जो-जति च्याम्पियन खेलाडी छन्, उनीहरु विभागीय टोलीमा नै छन् । प्रदेशबाट खेल्ने खेलाडीले राष्ट्रिय खेलकुद प्रतियोगितामाबाहेक अन्य खेलहरुमा सहभागिता जनाउँदैनन् । कारण खेल क्षेत्रमा राज्यको उपयुक्त लगानी नहुनु । त्यसो त नेपालमा केही अभिभावकले आफ्नो सन्तानले खेल मात्र खेलेको भन्न चाहना राख्दछन् ।
वर्षेनि एक-दुई खेलकुद प्रतियोगितामा सहभागिता हुँदै बाँकी समय खेलाडीले के कसरी गुजारा गर्ने भन्ने चिन्ता हुन्छ । यसैको असर साग, ओलम्पिकजस्ता खेलकुद प्रतियोगितामा नेपाललाई पर्न जान्छ । सागमा नेपालले पहिलोपटक ५१ स्वर्ण जित्न सफल भयो । यो समय खेलाडीहरुको पहिलेका सागभन्दा राम्रो तयारी थियो ।
“अन्य देशले जस्तो प्रशिक्षण, प्रशिक्षण गर्ने स्थान, प्रशिक्षक र खेलाडीई आहारको व्यवस्था भयो भने खेल क्षेत्रमा सफलता टाढा छैन । अहिलेको अवस्थाको प्रशिक्षणले मात्र यो सफलता मिल्छ भने यो भन्दा राम्रो स्तरको प्रशिक्षण अनि लगानी भयो भने सफलता टाढा छैन,” पुनमले भनिन् ।