चितवन । जल र जंगलसँग रमाउँदै आएका चेपाङ समुदाय अहिले जंगली जनावरभन्दा पनि मानिससँग डराउन थालेका छन । बिहान मध्याह्नको समय कोही खाना खाएर आराम गरेका थिए त कतिले चुल्हो सल्काउँदै थिए । तर निकुञ्जका कर्मचारी तथा सेनाको टोलीले क्षणभरमै उनीहरूको घर ध्वस्त भयो, जलाइयो । न उनीहरूले न आराम गर्न पाए, नत चुल्हो बाल्न नै पाए । बरु घरै आगोले डढेर खरानी भयो । साउन ३ गतेको यो घटना चितवनको माडी नगरपालिका ९, कुसुमखोलाको हो ।
यसबेला केहीको घर जलाइयो, केहीको हात्ती लगाएर भत्काइयो । आफूले उब्जाएको उपजले मुस्किलले ६ महिना खान पुग्ने र ६ महिना जंगलको भर पर्नुपर्ने ती चेपाङ अहिले विचल्लीमा परेका छन् ।
४ वर्षीय छोरो र ३ महिनाकी छोरी काखमा च्यापेकी कविता चेपाङलाई अब लालाबालालाई कहाँ ओत लगाउने चिन्ता थपिएको छ । उनी अहिले पनि झस्किन्छिन्, बर्बराउँछिन् सपना मात्र होइन विपनामा पनि । भगवानले त उनीहरूलाई ठग्यो–ठग्यो, राज्य पनि उनीहरूमाथि क्रूर अनि निर्दयी बन्यो ।
“पहिले मकैबारीमा हात्ती लगाए, दुईवटा हात्ती लिएर घर घुम्न थाले, हात्तीलाई घर धकाल्न लगाए, हात्तीले नमानेपछि लाइटरले जलाइदिए । घरमा भएको केही निकाल्न पाएनौं,” कविता चेपाङ यी कुरा बारम्बार दोहोर्याइरहन्छिन् ।
त्यहींका काजीराम चेपाङको घर पनि क्षणभरमै भग्नावशेषमा परिणत भयो । छाक टार्न राखिएका केही अनाज र लुगाफाटासँगै उनको नागरिकता र नगद १० हजार रुपैयाँ पनि जलेर खरानी भयो । “छोराले दुई महिनामा कमाएको १० हजार पनि जल्यो, मेरो नागरिकता पनि जल्यो मेरो बिन्ती उहाँहरूले सुन्नु भएन,” काजीराम भक्कानिन्छन्, “पहिले मेरो घर घुमे । सरहरू डुल्न घुम्न आएको भन्ने लाग्यो । तर गाली गर्दै हात्तीले घर धकेल्न लगाइयो । त्यो हात्तीले त सकेन । पछि लाइटर लगाएर जलाइदिए ।” छोरा दानबहादुरले मजदुरी गरेर कमाएकोे १० हजार रुपैयाँ उनले त्यही घरको पालीमा घुसाएर राखेका थिए ।
चेपाङ समुदायमा अधिकांशको दिनचर्या बेलुकाको छाक टार्न माछा मार्ने, कन्दमूल खोज्ने, दाउरा खोज्ने र केही ज्यालामजदुरी गर्न घरबाहिर निस्कने हुन्छ । दिनभर घरमा मुस्किलले महिला तथा केटाकेटी मात्र भेटिन्छन् । सुरुमा त निकुञ्जका टोलीको त्यो व्यवहार ती सोझा चेपाङलाई ख्यालठट्टा गरेको भान पनि भयो । तर वास्तविकता भने उनीहरूको सोचाइभन्दा धेरै परको कुरा थियो ।
हात्तीले घर भत्काउन र निकुञ्जका कर्मचारी र सेनाले गाली गर्न थालेपछि अर्की पीडित बुद्धिमाया चेपाङ पनि अवाक् भइन् । उनको गला अवरुद्ध भए, वाक्य फुटेन । “फेरि बनाइस् भने फेरि जलाउँछौ, फेरि भत्काउँछु भनेको छ, हामी कहाँ बस्ने के गर्ने यो झरीका बेला,” बुद्धिमाया गहभरी आँसु पार्छिन् ।
उनीजस्तै अर्का विष्णुहरि प्रजा पनि बिहानभर खेतमा काम गरेर नियमित आराम गर्न के लागेका थिए त्यो दिन । एक्कासि हात्तीसहितको टोलीले आएर अपशब्दसहित घरबाट बाहिर निस्की भन्दै आएको ताजा घटना उनको मानसपटलमा घुमिरहेको छ । “त्यही दिउँसो १२, १ बजेको थियो होला, माथि मकै फाँडेर घर भत्काउन आएका रहेछन् । घरबारबाट बाहिर निस्की, सामान निकाल भने, म खाना खाएर भर्खर आराम गरिरहेको थिएँ केही मेसो पाइनँ । जहान केटाकेटी रुन थाले भाग्न थाले,” उनले सुनाए, “मलाई पनि पिट्छ, मार्छ भन्ने लाग्यो केही बोल्नै सकिनँ ।”
विष्णुहरिले खानेकुरा, लुगाफाटो निकाल्छु केहीबेर पर्खनु भनेर बिन्ती गर्दा पनि टोलीको मन पग्लिएन, क्षणभरमै हात्तीले भत्काएर अवशेष बनाइदियो । निकुञ्ज टोलीले दुईवटा घर जलाए । अन्य बाँकी घर, मचान (खेती कुर्न बनाइएको छाप्रो) भत्काइदिए । विष्णुहरि अब ६ जना परिवार कसरी पाल्ने चिन्तामा छन् । “बरु मारिदिएको भए हुन्थ्यो, तर हाम्रो विचल्ली बनाइदियो,” उनले पीडा कहे ।
२०४८ सालदेखि बसोबास गर्दै आएका ती चेपाङ समुदायलाई स्थान्तरण गर्ने तयारी माडी नगरपालिकाको थियो । माडी नगरपालिकाको समन्वय र सिटीजन बैंकको सहयोगमा ८० घरधुरी बनाउने योजनासहित घर बन्ने क्रममा थिए । २८ घरलाई सोही वडाकै नजिक राईडाँडामा स्थान्तरण गरिएको थियो भने १३ वटा घरको छाना छाउने काम बाँकी थियो ।
नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकाल स्थानान्तरण गर्ने निर्णय र तयारी हुने निकुञ्जसँग सहमति हुँदाहुँदै एक्कासि घर जलाउनु निन्दनीय र अमानवीय काम भएको बताउँछन् । “अहिले निर्माण सामग्री थन्किएको छ । बाँकी काम रोकिएको छ,” उनले भने, “जसले निर्देशन गर्यो, उसलाई कडा कारबाही हुनुपर्छ ।”
हाल चेपाङका १० परिवार कुसुमखोला विद्यालयमा आश्रय लिई बसेका छन् । उनीहरूलाई नगरपालिका, विभिन्न सामाजिक संस्थालगायतले खाद्यान्न वितरण गरेका छन् ।
घटनालाई राजनीतीकरण गरियो : निकुञ्ज प्रशासन
निकुञ्ज प्रशासन भने घटनाको अतिरञ्जित र राजनीतीकरण भएको बताउँछ । पटकपटक बस्ती सार्न अनुरोध गर्दा नमानेपछि सामान्य बल प्रयोग गरिएको निकुञ्जको भनाइ छ । निकुञ्जभित्र रहेको बटुकदल गणका प्रमुख सेनानी अरुणकुमार श्रेष्ठ सेनाले त्यस्तो अमानवीय काम गर्न नसक्ने दाबी गर्छन् । “हामीले सम्झाइ–बुझाइ, सामान्य बल प्रयोग गरिएको र भत्काइएका मचान मात्र जलाएका हौं,” उनले बाह्रखरीसँग भने ।
उनका अनुसार भत्काएर मात्र छाड्दा पुनः छाप्रो बनाएर ती समुदाय बस्न सक्ने हुँदा भत्काएपछि जलाइएको हो । घटनालाई अतिरञ्जित र सामाजिक सञ्जालमा भएका तस्बिर यो घटनामा सम्बन्धित नभएको उनको दाबी छ । निकुञ्ज क्षेत्रभित्र घर टहरा बनाइँदा अतिक्रमण हुँदै जाने, चोरी–सिकारी बढ्ने र जंगली जनावरको जोखिम हुने हुँदा वर्षौंदेखि यो बस्ती हटाउने प्रयास हुँदै आएको थियो ।
तर लकडाउनका कारण बाँकी घरहरूको स्थानान्तरण गर्ने काम केही समय पर धकेलिएको हो । निकुञ्जले घटनाको सर्वत्र निन्दा र विरोध भएपछि आफ्नो धारणा सार्वजनिक गरेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रूपाखेतीले निकुञ्जले बस्तीमा आगो लगाउने र घर भत्काउनेजस्ता अमानवीय काम नगरेको जिकिर गरे ।
“त्यहाँ १० वटा झुप्रा घर र मचान रहेछन्, त्यहाँ न मानिस नै बस्छन् न धन–सम्पत्ति नै छ,” उनले भने । निकुञ्जको मध्यवर्ती क्षेत्रको अतिक्रमण नहोस् र वन्यजन्तुलाई खलल नपुगोस् भन्ने हेतुले ती घर टहरालाई हटाइएको उनले बताए । उनका अनुसार त्यहाँ घर भएका कतिपय चेपाङको अन्यत्र बसोबास रहेको र निकुञ्जभित्र खनजोत गरी अस्थायी टहरा र मचान बनाइएकाले भत्काइएको हो ।
चितवनका लोथर, कोराक, गोर्खा, धादिङ लगायतबाट आएका चेपाङको कुसुमखोलामा १ सबै गरी एक सय ६० घर थिए । अहिले १० घर मात्र स्थानान्तरण हुने क्रममा थियो । यस क्षेत्रको करिब चार सय बिघा चेपाङ परिवारले भोगचलन गर्दै आएका थिए । निकुञ्ज र स्थानीय सरकारको सहमतिअनुसार २०७५ पुसदेखि यो बस्ती खाली गर्न थालिएको हो कुसुमखोलाका बासिन्दाले सबै घरधुरी एकै क्षेत्रमा सार्न माग गरेका थिए । तर त्यसो हुन सकेन । अहिले उनीहरूलाई तीनवटा वडामा राखिएको छ । उनीहरूमध्ये अधिकांश तीनै वडाका झुपडीमा बस्दै आएका छन् ।