काठमाडौं । ओखलढुङ्गाकी कार्की थरकी एक युवती काठमाडौंको एक तारे होटलमा काम गर्थिन् । लकडाउनको कहर छिचोल्दै उनको दैनिकी भर्खर लयमा फर्कन थालेको थियो । प्रायः उनी सीतापाइलास्थित दिदीको डेरामा बस्थिन् । त्यहीँबाट अफिस आउजाउ गर्थिन् । बिहीबार अरू बेलाभन्दा बढी नै काम थियो । आर्थिक वर्ष भर्खरै सकिएकाले हिसाबमिलान पनि बाँकी हुँदो हो ।
दिनभर आफ्नो काममा तल्लिन रहिन् । काममा व्यस्तरहँदा दिउँसोपख मोहम्मद आलमको नम्बरबाट फोन आयो । दुईचार कल उनले बेवास्ता गरिन् । उनलाई थाहा थियो, त्यो कामको फोन थिएन । फोन गर्नेको नियत पनि राम्रो थिएन । सुन्दर समुन्नत भविष्यको सपना साँचेकी कार्कीलाई आफ्नो बाटो थाहा थियो । गन्तव्य थाहा थियो । सपना थाहा थियो । अन्यत्रतिर अल्मलिने उनको आदत पनि थिएन । रुचि पनि थिएन ।
मोहम्मदको कलमा अल्झन चाहिनन् । फोन त्यही मोहम्मदको आएको थियो । जसलाई उनले चार महिनाअगाडि नै आफ्नो दृष्टिबाट हटाइसकेकी थिइन् । गलत नियतले, यौवनमा आँखा गाड्न थालेपछि उनी आफैं पन्छिएकी थिइन् । महानगरीय अपराध महाशाखाका एसपी होविन्द्र बोगटीका अनुसार मोहम्मदसँग कार्कीको चिनजान भएको तीन–चारवर्ष भयो । सीतापाइला, दिदीकहाँ आउनेजाने क्रममा पवित्राको बाटोमा मोहम्मद ठोकिन आइपुगे । सामान्य कुराकानी हुन थाल्यो ।
वातचित हुँदै जाँदा उनले मोहम्मदलाई दाइ भनेर सम्बोधन गर्थिन् । दाइ सम्बोधनमा मोहम्मद असहज महसुस गर्थे । उनलाई सुरुमा उनको ‘असहजता’को भेउ भएन । मन पराउँछ भनेर त कल्पना पनि गर्न सक्दिनथिन् । मोहम्मदको खराब नियत खुल्न समय लागेन । उनले कार्कीको यौवनमाथि आँखा लगाएका रहेछन् । फेसबुकमा जोडिएर तारन्तार म्यासेज गर्न थाले । आफ्नो अभिष्ट पूरा गर्न दिदीकहाँ नै आउजाउ गर्नथालेको अपराध महाशाखाका एसपी बोगटी बताउँछन् ।
मोहम्मदको आर्थिक हैसियत राम्रै थियो । डल्लुमा झोला बनाउने उद्योग थियो । कार्कीसँगको भेटमा रवाफ देखाउँथे । मोहम्मदले म्यासेन्जरमै माया गर्छु, मसँग बिहे गरे भनेर दबाब दिन थालेपछि कार्की आजित भइन् । पन्छन फेसबुकमा ब्लक गरिन् । फेसबुकमा ब्लक भए पनि उनले दुःख दिने क्रम रोकिएको थिएन ।
बिहीबार तिनै मोहम्मदले फोन गरेका थिए । तारन्तार फोन गरेपछि उनले फोन उठाइन् ।
मोहम्मदले कफी खाने निम्तो दिए । मोहम्मद सुध्रिए होलान् ठानिन् । मोहम्मदको आग्रह इन्कार गर्न जरुरत ठानिनन् । कार्यालयको काम सिध्याएर उनी सीतापाइला पुगिन् । उनीभन्दा अघि नै मोहम्मद पुगिसकेका रहेछन् । दुवैले रेस्टुरेन्टामा बसेर कफी खाए । केही भलाकुसारी गरे । त्यहाँ के कुरा भयो विस्तृतमा खुल्न नसकेको प्रहरीको भनाइ छ ।
अहिलेसम्मको प्रहरी अनुसन्धानका आधारमा कफी खाइसकेपछि मोहम्मदले उनलाई दिदीको डेरासम्मै पुर्याइदिने प्रस्ताव गरे । वर्षायाम हल्का पानी परिरहेको थियो । साँझ ढल्कँदै गरेको भए पनि पवित्रा राजी भइनन् । डेरा नजिकै भएकाले हिँडेर जानै सहज ठानिन् । तर, मोहम्मदले कर गरिरहे ।कार्कीले त्यहाँ पनि नाइँनास्ती गर्न सकिनन् । ढिपी नै कसेपछि हुन्छ नि त भन्न करै लाग्यो । मोहम्मदको बाइकमा बसेर उनी डेरातर्फ लागिन् ।
त्यतिबेला अन्दाजी साँझको ७ बजेको हुँदो हो । कार्की डेरा नपुग्दै, ५० मिटर वरै झरिन् । त्यहाँ उनलाई दही किन्नु थियो । डेरीबाट दही किनेर डेरातर्फ लम्कँदै थिइन् । डेरा पुग्न दसपाइला बाँकी हुँदो हो । उनीमाथि बज्रपात आइलाग्यो । अनुहार, शरीरमा पर्ने गरेर तातो, झोलिलो पदार्थ कसैले खन्याइ दियो ।
उनले कसले, के खन्याइदियो, केही भेउ पाउन सकिनन् । गुहार माग्ने, सहयोगको याचना गर्ने पनि होस आएन । रन्थनिँदै डेरा पुगिन् । डेरा पुगेपछि मात्रै खुल्यो, उनीमाथि तेजाब आक्रमण भएको रहेछ । प्रहरीका अनुसार पवित्रलाई तुरुन्तै कीर्तिपुर अस्पताल पुर्याइयो । हालसम्मको अनुसन्धानबाट तेजाब आक्रमणका मुख्य योजनाकार मोहम्मद नै हुन् भन्ने खुलिसकेको छ ।
आफ्नो हुन नसक्ने निश्चित भइसकेकी उनको जीवनलाई तहसनहस बनाउने र जिन्दगी बर्बाद गरिदिने योजनामै मोहम्मदले कफीको प्रस्ताव गरेका थिए । कफी खाइसकेपछि योजनाबद्ध तवरले प्रेम तिरस्कार गरेको बदला तेजाब हानेर लिए । उनले मोहम्मदको कलुषित प्रेमको सिकार हुनुपर्ला भनेर सोच्नै सकिनन् ।
प्रहरीका अनुसार कार्की बस्ने डेरा नजिकै मोहम्मदले आफ्नै कारखानामा काम गर्ने मुन्ना मोहम्मदलाई एसिड हान्न प्रयोग गरेका थिए ।
रक्सीको बोतलमा दिएकाले मुन्नालाई पनि एसिड भन्ने थाहा थिएन । प्रहरीसँगको बयानमा उनले रक्सी ठानेर हानेको बताइसकेका छन् । अपराध छिप्दैन भन्ने उखान यहाँ पनि चरितार्थ भयो । तेजाब हान्ने अभियुक्तहरू पवित्राको नजरबाट उम्किए पनि वारदातस्थल नजिकैको सीसीटीभीबाट उम्कन सकेनन् । कैद भए ।
त्यही फुटेका आधारमा प्रहरीले अभियुक्तलाई सहजै पक्राउ गर्यो ।
दुवै अभियुक्तलाई शुक्रबार प्रहरीले सार्वजनिक पनि गरिसकेको छ ।