site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना महामारीमा पत्रकार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोनाभाइरस (कोभिड– १९) का कारण सरकारले गरेको लकडाउनको प्रत्यक्ष असर सञ्चार क्षेत्रमा पनि परेको छ । लकडाउनका कारण १२० दिनसम्म करिब करिब बजार बन्द गरे, उद्योग, कलकारखानालगायत ठप्प भए । तर अझै पनि स्कुल कलेज, पार्टी प्यालेस होटललगायतका क्षेत्र बन्द नै छन् ।
हवाइ उडान बन्द छ । सबैतिरको असर मिडियामा पनि परेको छ ।

बजार बन्द हुँदा आर्थिक गतिविधि ठप्प भयो, विज्ञापनमा असर पर्‍यो भन्दै कैयौँ मिडियाहाउसले पत्रकारलाई बिदा गरे । कतिपय सञ्चारमाध्यममा आधा तलब दिएका छन् भने कतिपयले केही प्रतिशत कटौती गरेका छन् । नेपाल पत्रकार महासंघले केही सञ्चारमाध्यममा गरेको अनुगमनका आधारमा सञ्चार क्षेत्रको अवस्था गम्भीर बनेको निष्कर्ष निकालेको छ ।

कान्तिपुर मिडिया ग्रुपले नेपाल, साप्ताहिक र नारी बन्द गरेको छ । रिपब्लिका मिडियाले अंग्रेजी पत्रिका रिपब्लिका बन्द गरेको छ भने आप्का हाउसको दि हिमालयन टाइम्स दैनिक पनि बन्द छ ।  अन्नपूर्ण पोस्ट, नागरिक दैनिक, कारोबार दैनिक, राजधानी दैनिक, नेपाल समाचारपत्रले पृष्ठ घटाएका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

कतै तलब छैन, कतै आधा भन्दा कम  

काठमाडौंबाट प्रकाशन हुँदै आएका स्थापित ठुला सञ्चारगृहमै समस्या देखिएको भन्दै पत्रकार महासंघ आन्दोलित छ ।   ठूला सञ्चारगृहमा महासंघले धर्ना दिइरहेको छ । कुनै पनि हालतमा पत्रकारलाई बिदा नगर्न महासंघले चेतावनी दिएको छ । कान्तिपुर मिडिया ग्रुपले नेपाल, नारी र साप्ताहिक बन्द गरेसँगै त्यहाँ कार्यरत पत्रकारहरुलाई बिदा गरेको छ । 

Global Ime bank

कान्तिपुर दैनिकमा व्यवस्थापन पक्षले लकडाउन सुरु भएलगत्तै केही पत्रकारलाई फोर्सफुल्ली बिदामा राखेको थियो ।  वैशाख महिनामा बेतलवी बिदामा बस्न भने पनि पत्रकारहरुलाई कुनै सम्पर्क नगरिएको बिदामा रहेका एक पत्रकारले जानकारी दिए ।   तर, कान्तिपुर दैनिकले नियमित काममा लगाएका पत्रकारहरुको तलब भने रोकेको छैन । 

असार महिनाको तलबसमेत खातामा पठाइसकेको लकडाउनको समयमा पनि नियमित काम गर्दै आएका ती पत्रकारले जानकारी बाह्रखरीसँगको कुराकानीमा बताए । तर, बिदामा बस्न भनिएका पत्रकारहरुको खातामा भने केहीलाई ५० प्रतिशत र केहीलाई न्युनतम पारिश्रमिक मात्र दिइएको छ । यसरी आधा र त्योभन्दा पनि कम तलब पाउनेको सँख्या ४० भन्दा बढी रहेको एक कान्तिपुरकर्मीले बताए । 

यसरी तलब कम पाउनेमा काठमाडौं र उपत्यकाबाहिरबाट तलबमा काम गरिरहेका पत्रकारहरु छन् ।   कान्तिपुरमा काम गरिरहेका र अहिले बिदामा बस्न भनिएकाहरुलाई नबोलाउने योजनामा व्यवस्थापन रहेको बुझिएको छ ।  कान्तिपुर दैनिकमा कर्मचारी कटौतीका लागि व्यवस्थापनले दबाब दिइरहेको र सम्पादकले भने त्यसमा सहमति नजनाएको सम्पादक निकट एक पत्रकारले जानकारी दिए । 

नेपाल र साप्ताहिकबाट मात्र एकैपटक ५० पत्रकारलाई बिदा गरिएको छ । स्थायी पत्रकारलाई उनीहरुले पाउने सुविधासहित थप ४ महिनाको तलब दिएर बिदा गरिएको छ ।  त्यस्तै, अस्थायी र करारलाई तीनमहिनाको तलब दिने सहमति गरेर बिदा गरिएको साप्ताहिकबाट बिदा भएका एक पत्रकारले बताए ।   बिदामा बस्न भनेका पत्रकार र कर्मचारीलाई काममा नफर्काइएपछि संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् । 

थापाथलीस्थित कार्यालय अगाडि उनीहरुले दैनिकजसो धर्ना दिइरहेका छन् ।  “लकडाउन शुरु भएपछि बिदा बस्नका लागि भनियो । तर, अहिलेसम्म बोलाइएको छैन,” आन्दोलनरत एक पत्रकारले बताए ।  उनीहरुले बाँकी रहेको तलब पाउनुपर्ने र काममा बोलाइनुपर्ने माग राख्दै आन्दोलन जारी राखेका छन् । 

बाह्रखरी मिडियाले जेठ महिनाको तलबमा ४० देखि ५० प्रतिशतसम्म कटौती गरेको छ भने त्यसअघिका महिना र असारको पूरै तलब दिएको छ । जेठ महिनामा कट्टा गरिएको तलब परिस्थिति सहज हुनासाथ प्रदान गरिने व्यवस्थापनले जनाएको छ ।

त्यस्तै, अन्नपूर्ण पोस्ट दैनिकमा लकडाउनकै बेलामा प्रधानसम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन् । 

लकडाउनको अवधिमा पत्रकारहको तलब पूरा दिनुपर्ने र कसैलाई पनि जागिरबाट हटाउन नहुने अडान राखे पनि सम्पादक थापा र व्यवस्थापनबीच दूरी बढेको थियो ।  सम्पादक थापाले पत्रकारले तलब नपाउने अवस्थामा आफू सम्पादक भइरहन मन नलागेको भन्दै राजीनामा दिएका थिए ।  अन्नपूर्ण पोस्टमा पत्रकारहरुले नियमित तलब पाएका छैनन् ।

पत्रकारहरुले चैत र वैशाखको आधा मात्र तलब पाएका छन् ।  बाँकी रहेको आधा तलब पछि आउँछ कि आउँदैन व्यवस्थापनले जानकारी नगराएको त्यहाँ कार्यरत एक पत्रकारले बताए ।  जेठ र असारको तलब नपाएपछि पत्रकारहरु असन्तुष्ट देखिएका छन् ।   तलब ढिलाइको विषयमा आपत्ति र गुनासा व्यक्त गर्ने कतिपय पत्रकारलाई प्रशासनिक तहबाट स्पष्टीकरण सोधिएको त्यहाँ कार्यरत एक पत्रकारले बताए । 

काटिएको आधा तलब दिनुपर्ने पक्षमा तत्कालीन प्रधानसम्पादक थापा थिए । उनले राजीनामा दिएपछि आएका सम्पादकले भने यसबारे केही नबोलेको एक अन्नपूर्णकर्मीले बताए ।  त्यस्तै, फोटो पत्रकार विकास कार्कीसहित डेस्कमा कार्यरत विश्वराज खनाल, सुशील पोख्रेल, डिल्लीराज उपाध्याय, दीपकराज घिमिरे र गोविन्द देवकोटालाई अखण्ड भण्डारी सम्पादक भएसँगै विशेष ब्यूरोमा सरुवा गरिएको थियो । 

असार २९ गते पुनः उनीहरुलाई नयाँ पद सिर्जना गरी जिल्लामा सरुवा गरिएको छ ।  कार्कीलाई विशेष खोज फोटो संयोजकका रुपमा कैलाली सरुवा गरिएको छ ।  त्यस्तै, खनाललाई विशेष खोज विकास संयोजकका रुपमा इलाम, पोख्रेललाई खोज विशेष प्रतिनिधिका रुपमा दार्चुला, उपाध्यायलाई हुम्ला, घिमिरेलाई रोल्पा र देवकोटालाई मनाङ सरुवा गरिएको छ । 

व्यवस्थापनले साउन १ गतेबाट लागु हुने गरि उनीहरुलाई सरुवा गरेको छ । सरुवा गरिएका एक पत्रकारले  भने, “कहिले विशेष व्युरो भनेर नाटक गरिएको छ । कहिले सरुवा गरेर जागिर छाड भनेर हामीमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरिएको छ ।” 

स्रोतका अनुसार भण्डारी सम्पादक भएर आएसँगै यसअघिका सम्पादक थापासँग नजिक रहेकाहरु व्यवस्थापनको निशानामा छन् ।  पत्रकार महासंघले पत्रकार सरुवा गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति नै जारी गरेर ‘सम्पादकीय नेतृत्वको बर्खास्ती’ कै लागि आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । 

पत्रकार सरुवाको र तलबका विषयमा अन्नपूर्ण पोस्टका अध्यक्ष रामेश्वर थापा र महासंघ पदाधिकारीबीच केही दिनअघि छलफल समेत भएको छ । सो क्रममा थापाले केही निर्णय गर्छु भनेर आश्वासन दिएका छन् । त्यस्तै, नयाँ पत्रिका दैनिकमा नियमित काम गरिरहेका पत्रकारहरुले असारसम्मकै तलब पाइसकेका छन् । भाषा सम्पादन र डिजाइनका २० जना पत्रकारलाई बेतलबी बिदामा राखिएको छ । 

व्यवस्थापन पक्षबाट आर्थिक कारण देखाएर बेतलबी बिदामा बसेर सहयोग गरिदिनका लागि आग्रह गरिए पनि कहिलेबाट कार्यालय आउने खबर नभएको एक नयाँपत्रिकाकर्मीले बताए । नागरिक दैनिकमा पनि नियमित पारिश्रमिकको समस्या छ । केही दिनअघि मात्र चैतको तलब पत्रकारहरुको खातामा गएको छ । 

वैशाख, जेठ र असारको तलब पत्रकारले पाएका छैनन् । चैतको तलब पनि केहीको ५० प्रतिशत र केहीको साठी प्रतिशत कम तलब खातामा गएको नागरिकका एक पत्रकारले बताए । असारदेखि अहिले पाइरहेको तलबमा तीस प्रतिशत तलब कम गरिने भन्दै पत्रकारहरुलाई व्यवस्थापनले मेल पठाइएको छ । 

केही कर्मचारी सरुवा गर्ने तयारी भएको बताइएको छ । नागरिक दैनिकको डेस्कमा कार्यरत तीन जनाको लकडाउनकै बीचमा जागिर गएको छ ।  लकडाउन भएपछि घर गएका उनीहरुलाई उपत्यकाबाहिर रहेकै बेला जागिरबाट निकालिएको नागरिकमा कार्यरत एक पत्रकारले जानकारी दिए ।  त्यस्तै, राजधानी दैनिकमा वैशाख महिनासम्मकौ पूरै तलब दिइएको छ । 

वैशाखको तलब असार लागेपछि पाएको राजधानीका एक पत्रकारले बताए ।  जेठ र असारको तलब दिइएको छैन । ७ जना पत्रकारलाई बेतलबी बिदामा राखिएको छ ।  पत्रकार कटौती गर्ने तयारीमा पब्लिकेसन्स हाउस रहेको त्यहाँ कार्यरत एक पत्रकारले बताए ।  करारमा रहेका केही पत्रकारको नवीकरण गरिएको छैन । 
पत्रकारले अन्यायपूर्वक आफुहरुलाई घरै बस्न भनिएको भन्दै नेपाल पत्रकार महासंघलगायत निकायमा उजुरी समेत गरेका छन् । 

हिमालय टाइम्स दैनिकमा चैत, वैशाख, जेठको पारिश्रमिक पाएका छैनन् ।   अति जरुरी हुने पत्रकारलाई दुईचार हजारका दरले भने दिने गरिएको त्यहाँ कार्यरत एक पत्रकारले बताए ।  कतिपय पत्रकारलाई संकटको अवस्थामा तलब खुवाउन कठिन परेको भन्दै व्यवस्थापन पक्षले बेतलबी बिदामा बस्न दबाब दिएको छ । कतिपयले यसबीचमा जागिर समेत छाडेका छन् । 

दी हिमालयन टाइम्स अंग्रेजी दैनिकमा लकडाउनको कारण देखाउँदै व्यवस्थापनले पत्रिका प्रकाशन बन्द गरेको छ ।  पत्रकारले वैशाखयताकै पारिश्रमिक पाएका छैनन् ।  पत्रिका  प्रकाशन अनिश्चित भएपछि यसबीचमा दुईजना पत्रकारले जागिर छाडेका छन् ।  पत्रकार महासंघले एक साताभित्र पत्रकारको तलब उपलब्ध गराउन भन्दै पत्र पठाएको छ । 

साउन ५ गते पत्र पठाएको महासंघले एक हप्ताभित्र तलब उपलब्ध नगराए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । तर, व्यवस्थापनले महासंघको पत्र नै बुझ्न इन्कार गरेको छ ।  नेपाल समाचारपत्र दैनिकमा कार्यरत पत्रकारको पारिश्रमिक चैत र वैशाख महिनाको ३० प्रतिशत कटौती गरेर भुक्तान भएको छ । व्यवस्थापन पक्षले जेठदेखि लागु हुने गरी ४० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय लिएको त्यहाँ कार्यरत एक पत्रकारले जानकारी दिए ।  

रिपब्लिका अंग्रेजी दैनिकमा वैशाखसम्मको पारिश्रमिक दिएर पत्रिका बन्द गरिएको छ । पत्रिका पुनः प्रकाशन हुने नहुने अनिश्चित छ ।  यस्तै, कारोबार दैनिकमा पनि जेठ र असारको तलब दिन बाँकी छ ।  चैतको दुईकिस्ता गरेर तलब दिइएको थियो भने  वैशाखको तलब  असारको अन्तिममा दिइएको एक पत्रकारले जानकारी दिए ।  जेठ र असार महिनाको तलब पत्रकारले पाएका छैनन् । 

पारिश्रमिक, काम गर्ने वातावरण र पेशागत हकहितको सुरक्षाका बिषयमा कारोबार दैनिकमा रहेको पत्रकार महासंघको प्रतिष्ठान शाखाले विज्ञप्ति जारी गरेको विषयमा व्यवस्थापन पक्षबाट स्पष्टीकरण सोधिएको थियो ।  स्वेच्छिक अवकाशमा जान चाहनेका लागि सूचनानै निकालिएको छ । 

टेलिभिजनको हालत पनि उस्तै

नियमित तलब दिँदै आएको इमेज टेलिभिजनमा पनि अहिले समस्या देखिएको छ ।  लकडाउनमा पनि नियमित काम गरिरहेका पत्रकारहरुले वैशाखको तलब असारको अन्तिममा मात्र पाएका छन् ।  जेठ र असारको तलब उनीहरुले पाउन बाँकी रहेको अहिले नियमित कार्यालय गएर काम गरिरहेका एक पत्रकारले जानकारी दिए । 

इमेज टेलिभिजन स्रोतका अनुसार हाल ३७ जनालाई बिदामा राखिएको छ । उनीहरुले चैतसम्मको मात्र तलब पाएको बुझिएको छ ।  जनता टेलिभिजनमा कार्यरत पत्रकारले तीनमहिना यताको पारिश्रमिक नपाएको बताएका छन् ।  योबीचमा एक दर्जनभन्दा बढी पत्रकार विस्थापित भइसकेका छन् । जागिर छाडेका पत्रकारलाईसमेत पारिश्रमिक दिइएको छैन । 

टीभीमा कार्यरत पत्रकारलाई २० हजारभन्दा बढी तलब खानेको कम्तिमा २० प्रतिशतभन्दा माथि तलब कट्टा हुने जानकारी व्यवस्थापन पक्षले दिएको त्यहाँ कार्यरत एक पत्रकारले बताए ।  त्यस्तै, माउन्टेन टेलिभिजनमा पत्रकारले चैतयताको तलब पाएका छैनन् । टीभीमा काम नभएको भन्दै केहीलाई अनलाइनमा आन्तरिक सरुवा गरिएको छ । 

केहीलाई तलब खुवाउन नसकिने भन्दै व्यवस्थापनले परेको बेला बोलाउने आश्वासन दिँदै घरमै बस्न भनेको छ ।  बिदामा राखिएका पत्रकारको एकतर्फी रुपमा तलब कटौती गरिएको छ भने तलब कटौती पनि असमान ढंगले भएको पत्रकारको गुनासो छ ।    न्यूज २४ टेलिभिजनमा पत्रकारलाई वैशाखयताको पारिश्रमिक दिइएको छैन । लकडाउन अवधिमा ६ जना पत्रकारको करार अवधि सकिएपछि थप नगरिएको बुझिएको छ । 

कार्यरत पत्रकारलाई पनि मासिक पारिश्रमिक नदिएर १५ दिनको हिसाबले मात्र दिइएको त्यहाँ कार्यरत एक पत्रकारले बताए ।  एपीवान टेलिभिजनमा पत्रकारले फागुनसम्मको पारिश्रमिक पाएका छन् ।  फागुनको पूरा तलब असारको अन्तिममा हालिएको एक कर्मचारीले बताए ।  चैतको तलब असार १ गते आउँछ भनेर व्यवस्थापनले आश्वासन दिएपनि तलब नआएको एक पत्रकारले बताए ।   

हिमालय टेलिभिजनमा पनि समस्या देखिएको छ । आलोपालो बिदामा राखेर कार्यालय गएको दिनको मात्र हिसाब गरेर पारिश्रमिक दिने गरिएको अनुगमनको क्रममा पाइएको छ । व्यवस्थापन पक्षबाट एकतर्फी निर्णय गरी दिनगन्तिको हिसाबले पारिश्रमिक दिँदा पत्रकार मारमा परेका छन् ।  पत्रकार कटौती भने गरिएको छैन । लकडाउनयता मासिक पारिश्रमिकको व्यवस्था नभएको त्यहाँ कार्यरत एक पत्रकारले बताए ।  

एभिन्यूज टेलिभिजनमा लकडाउन शुरु भएयताकै तलब भुक्तान गर्न बाँकी छ ।  लकडाउन अवधिमा क्यामेरापर्सन र रिपोर्टर गरी १५ जना पत्रकारलाई बेतलवी बिदामा राखिएको छ ।  अत्यन्त सीमित जनशक्तिको भरमा टीभी चलेको एक पत्रकारले जानकारी दिए । नियमित हाजिर भएर काम गर्ने पत्रकारको पनि ५० प्रतिशतसम्म तलब काटिएको त्यहाँ कार्यरत एक पत्रकारले जानकारी दिए । 

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !