site stats
बाह्रखरी :: Baahrakhari
देश
आजदेखि मापसे चेकिङ, ट्राफिक नियम मिच्‍नेलाई जरिवाना

काठमाडौं । सार्वजनिक यातायत सञ्‍चालनमा आएसँगै आजबाटै मापसे चेकिङ सुरु भएको छ । महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई निर्देशन दिँदै आजबाटै मापसे चेकिङ सुरु गर्न भनेको हो । नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भएसँगै ट्राफिक प्रहरीले जोखिम बढ्ने भन्दै मापसे चेकिङ बन्द गरेको थियो ।

यस्तै आजबाटै लागु हुने गरि लकडाउनअघिका सबै ट्राफिक गतिविधि सुरु गरिएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार ट्राफिक नियमविरुद्ध चल्नेलाई जरिवाना लाग्‍नेछ । ढकालले भने, “हामी पुरानै अवस्थामा सक्रिय हुन्छौं । लकडाउन हटेसँगै नियमविपरीत जानेलाई पहिलेजस्तै चिट काटेर आर्थिक कारबाही पनि हुन्छ ।”

Argakhachi Cement Island Ad

महाशाखाले सडकमा गुड्ने सार्वजनिक यातायातको अनुगमनका लागि महिला ट्राफिक प्रहरीको छड्ने टोलीसमेत परिचालन गरेको छ । टोलीले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी यात्रु राखेको पाइए तत्काल कारबाही गर्ने एसएसपी ढकालले बताए । महिला प्रहरीको टोलीले बसपार्क, बसबिसौनी र गुडिरहेको बसमा समेत अनुमगन गर्नेछ ।

ट्राफिक प्रहरीले दैनिक तोकिएको भन्दा बढी यात्रु बोक्ने सार्वजनिक सवारीलाई कारबाहीसमेत गर्दै आएको छ ।

तर सार्वजनिक यातायतमा सामाजिक दूरी कायम गर्न निकै चुनौती रहेको ढकाल बताउँछन् । ढकालले भने, “यसमा यात्रु पनि सचेत रहन जरुरी छ । आफ्नो स्वास्थ्यप्रति हामी आफै जिम्मेवार हुन सकेनौं भने जोखिम बढ्नसक्छ । मास्क, सेनिटाइजरलगायत सामग्रीको प्रयोग गरेर यात्रा गर्न पनि हाम्रो आग्रह छ ।”

प्रहरीको आँखा छलेर यात्रु कोचेको देखिए, सामाजिक दूरी कायम भएको नपाइए तत्काल ट्राफिक प्रहरी वा नजिकको प्रहरी युनिटमा खबर गर्न पनि महाशाखाले आग्रह गरेको छ । उपत्यकामा दैनिक १५२ स्थानमा ट्राफिक प्रहरीले ड्युटी गर्दै आएको छ भने ४६ स्थानमा संयुक्त चेकिङ हुँदै आएको छ ।

प्रविधियुक्त निगरानी भ्यान, सीसीटीभी क्यामेराबाट पनि निगरानी बढाइएको ढकालले बताए । उपत्यकामा १५ सय ट्राफिक प्रहरी कार्यरत छन् ।

फाइल तस्बिर ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  ०९:५४
प्रतिक्रिया दिनुहोस्