site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कति भयो बजेट खर्च ? कति उठ्यो राजस्व ?

इन्फोग्राफिक्स : देवेश मानन्धर

 

काठमाडौं । आर्थिक वर्ष ०७६/७७ आज सकिँदै छ । साउन १ गते सरकारी काम कारबाही चक्रको नयाँ वर्ष हो भने बजेट कार्यान्वयन साउन १ गते सुरु हुन्छ । यसअर्थमा असार मसान्त बुधबार सकिँदै छ । साउन १ अर्थात् भोलि (बिहीबार) बाट नयाँ आर्थिक वर्ष सुरु हुन्छ ।

आर्थिक वर्ष सकिँदै गर्दा सरकारी कामको सूचकका रूपमा मानिने बजेट खर्चको अवस्था भने निराशाजनक छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार हिजोसम्म ७०.५ प्रतिशत बजेट खर्च भएको छ । जबकि कुल राजस्व परिचालन बजेट अनुमानको ७८ प्रतिशत छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चालु आवको अन्तिम साता बजेट खर्च प्रतिदिन १४ अर्ब रुपैयाँ हुँदा अर्थमन्त्रीले आगामी आवको बजेट वक्तव्यमार्फत् गरेको दोस्रो संशोधित अनुमानभनदा बढी खर्च भइसकेको छ । पछिल्लो सातामात्रै ७० अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

उसो त असारमा मात्र एक खर्ब ९७ अर्ब रुपैयाँ बजेट खर्च भएको महालेखाको तथ्यांक छ । पछिल्लो ११ महिनामा साढे आठ खर्ब ८१ अर्ब रुपैयाँ बजेट खर्च भएको थियो । जेठ मसान्तसम्म सरकारको प्रतिदिन खर्च दुई अर्ब रहेकामा असारमा ६.५ अर्ब छ । असारको अन्तिम सातामा त झन् १४ अर्ब पुगेको छ ।

महालेखाको जानकारीअनुसार असार २५ गते २२ अर्ब र हिजो ३० गते २५ अर्ब रुपैयाँ सरकारी ढुकुटीबाट खर्च भएको देखिन्छ । महालेखा नियन्त्रकको कार्यालयबाट प्राप्त जानकारीअनुसार असार ३० गतेसम्म (आव सकिन एक दिन बाँकी रहँदा) १० खर्ब ८० अर्ब रुपैयाँ बजेट खर्च भएको छ । जसमध्ये सात खर्ब ८५ अर्ब रुपैयाँ चालु खर्च हो । यसैगरी एक खर्ब ८० अर्ब रुपैयाँ पुँजीगत खर्च र एक खर्ब १४ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको छ ।

बजेट खर्च दोस्रो संशोधित अनुमानभन्दा बढी हुँदा सबैभन्दा बढी चालु खर्च भएको छ । चालु खर्च विनियोजनको ८२ प्रतिशत हो । जबकि दोस्रो संशोधनले ७३.३ प्रतिशत हुने अनुमान गरेको थियो । तर, पुँजीगत खर्चको हविगत भने विगतको झैं छ । पुँजीगत खर्च विनियोजनको आधा पनि हुन सकेको छैन । दोस्रो संशोधनले ५८.६ प्रतिशत पुँजीगत खर्च हुने भने पनि असार ३० गतेसम्म ४४ प्रतिशतमात्र खर्च भएको हो ।

वित्तीय व्यवस्थातर्फ जम्मा ६८ प्रतिशत खर्च भएको छ जबकि दोस्रो संशोधनले ७८.८ प्रतिशत हुने अनुमान गरेको थियो ।

स्रोत व्यवस्थापनतर्फको तथ्यांक पनि उस्तै छ । हालसम्म सात खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । विनियोजनमा नौ खर्ब ८१ अर्ब रुपैयाँ राजस्व उठाउने भने पनि दोस्रो संशोधनमा आठ खर्ब २७ अर्ब रुपैयाँ परिचालन हुने अनुमान गरिएको थियो ।

वैदेशिक ऋण तथा अनुदान पनि लक्ष्यको निकै कम प्राप्त भएको छ । तर, आन्तरिक ऋण भने बजेटमा उल्लेख भएअनुसारै अर्थात् एक खर्ब ९५ करोड उठेको छ ।
 

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १६:२४
प्रतिक्रिया दिनुहोस्