
काठमाडौं । कृषिमा बैंकहरुले गरेको लगानी प्रभावकारी हुन नसकेपछि नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकहरु कृषिमा लगानीको लागि नयाँ अवधारणा सहित अगाडि बढ्ने भएका छन् । कृषि क्षेत्रमा लगानी गर्न सबै बैंकको अनुभव नभएको र अनुभव भएकाले मात्रै कृषिमा लगानी गर्दा प्रभावकारी हुने निष्कर्षसहित राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कृषि क्षेत्रमा कर्जा लगानीको लागि नयाँ अवधारण अगाडि सार्न लागेको हो ।
राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कृषि क्षेत्रमा लगानी गर्नको लागि छुट्टै ‘बोन्ड’को व्यवस्था गर्न लागेको छ । कृषि बैंकलाई कृषिमा लगानी गर्ने विशेष बैंकको रुपमा विकास गरिने र लगानीको लागि आवश्यक स्रोत जुटाउन बोन्ड जारी गर्ने व्यवस्था राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गर्न लागेको हो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि क्षेत्रमा लगानी गर्ने विशेष बैंकको रुपमा कृषि विकास बैंकलाई अगाडि सार्न लागिएका बताइसकेका छन् । सोमबार अर्थसमितिको बैठकमा सबै बैंकको कृषि क्षेत्रमा लगानी गर्न दक्षता नभएको भन्दै दक्षता भएकोलाई त्यहि क्षेत्रमा मात्रै केन्द्रित भएर लगानी गर्ने व्यवस्था गर्न लागिएको बताएका थिए । त्यसको जिम्मेवारी कृषि विकास बैंकलाई नै दिने तयारी भएको उनको भनाई थियो ।
बैंकर्स संघमा उपाध्यायको ‘प्रिजेन्टेसन’
यसै विषयमा कृषि क्षेत्रमा बैंकहरुले गरेको लगानीको नेतृत्व कृषि विकास बैंकले गर्ने र त्यसको कोष व्यवस्थापनको लागि बोन्ड जारी गर्ने विषयमा नेपाल बैंकर्स संघको बैंठकमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले प्रिजेन्टेसनसमेत गरिसकेका छन् ।
बैंकर्स संघको आग्रहमा नै राष्ट्र बैंकले कृषि विकास बैंकलाई कृषि विशेष बैंकको रुपमा अगाडि बढाउन लागेको बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन् । उनले बाह्रखरीसँग भने, “बैंकहरुले आफूखुसी लगानी गर्छन् भने पनि गर्नसक्ने भए तर सबै बैंकसँग कृषिमा लगानी गर्ने विशेषज्ञता हुँदैन । त्यसलै कृषि विकास बैंकलाई कृषि विशेष बैंकको रुपमा अगाडि बढाउँ भन्ने प्रस्ताव हामीले गरेका हौं । यसमा राष्ट्र बैंकले पनि सकारात्मक भएर अगाडि बढाउन खोजेको हो ।”
कृषि विकास बैंकलालाई कृषिमा लगानी गर्न आवशयक स्रोत व्यवस्थापनको लागि बैंकले बोन्ड जारी गर्ने र त्यसमा बैंकहरुले लगानी गर्ने अध्यक्ष दाहालले बताए ।
“कृषिमा लगानी गर्न स्रोत जुटाउन कृषि विकास बैंकले बोन्ड जारी गर्छ । अरु बैंकले उक्त बोन्डमा लगानी गर्दा कृषिमा लगानी गरसरह हुन्छ,” उनले भने, “राष्ट्र बैंकमा गभर्नरसहितको छलफल भइसकेको छ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा २७ वटै वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतले कसरी अगाडि बढ्न सकिन्छ भनेर आफ्नो प्रस्तुती राखिसक्नुभएको छ ।”
बैंकर्स संघले एउटा समिति बनाएर ब्याजदर आवश्यक रकम निर्धारण गरिने उनले बताए । उनले भने, “कृषि क्षेत्रमा कर्जाको ब्याजदर कम हुनुपर्छ १० प्रतिशतमा नै लगानी गर्ने हो भनेपनि कृषि विकास बैंकलाई नाफा पनि चाहियो भने निष्किृय कर्जा पनि व्यवस्थापन गर्नुपर्छ । पाँच प्रतिशतमा बोन्ड जारी गर्न सकियो भने सबै व्यवस्थापन गर्न सहज होला ।” कृषि क्षेत्रमा १० प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने र पोर्टफोलियो बढ्दै जाँदा कृषिमा कर्जा लगानी पनि बढाउँदै लैजानुपर्ने उनले बताए । अब कृषि क्षेत्रमा कृषि विकास बैंकले स्पेसिफीक भएर लगानी गर्दा अन्य बैंकले अरु क्षेत्रमा लगानी गर्न सहज हुने उनले बताए ।
बैंकरहरुले यसअघि पनि प्राथमिकता प्राप्त क्षेत्रमा भएको कर्जा लगानीको पोर्टफोलियो किनबेच गर्न पाउनुपर्ने माग राख्दै आएका थिए ।