मसँग कुनै झन्डा छैन
वास्तवमा
फायर उसैले खोल्यो
किनकि धेरै पहिलेदेखि
यसको सुपर पावरको विज्ञापन
हरेक मौकामा
हरेक ठाउँमा
उसले गर्दै आएको थियो
र पनि आमने–सामने हुन नसकेर
ऊ चार किल्लाभित्र लुक्यो
जस्तै भए पनि
समाचार उभ्याउन छोडेन
आफ्नो लडाइँको
आफ्नो बलिदानको
कहाँ–कहाँ
कति करोड घाइते भए
कति लाख ढले
कति हजार वर्ष सँगै बसेर
मैले उसलाई बुझेको छु
वास्तवमा
ऊ कति घमन्डको पोको छ
ऊ कति जितको भोको छ
जुन दिनबाट
उसले सुनाउन सक्नेछ
आफ्ना कोही पनि
घाइते हुन छोडेको छ
ढल्न छोडेको छ
उसले
एकपक्षीय नै सही
बिगुल फुकेर
सगौरव घोषणा गर्नेछ जितको
त्यसपछि
निस्कने छ विजय र्याली
जहाँ म देखिरहेको हुनेछु
हरेक किल्लाबाट
अलगअलग झन्डाको लस्कर
अहिलेलाई यति नै भन्छु
वास्तवमै मलाई कोहीसँग
जित चाहिएको छैन
मात्र कोही चेतिदिए पुग्छ
मात्र कोही सच्चिदिए पुग्छ
यसैले
मसँग कुनै झन्डा छैन
० ० ०
यसपालिको जात्रामा
यसपालि
न रथ बोक्ने काँध देखिए
न रथ तान्ने हात देखिए
न धिमे बाजाको सुरमा नाच्ने भेटिए
न बैंशालु र जात्रालुहरूको ताँती देखिए
पक्कै हो
जात्रालाई जुरुक्कै उचाल्ने
‘ल्हाकाय मायन हा’ को आवाज नसुनिएकै हो
अध्याँरो चिर्ने चिरागहरूको जुलुस नदेखिएकै हो
पूजा र प्रसादहरूको वर्षा नदेखिएकै हो
धेरै हेर्यौं
मान्छे मान्छे जोडिएर बन्ने जात्रा
तर यो समय हामी हेर्न बाध्य छौं
मान्छे मान्छे टाढिएर बन्ने जात्रा
जसरी पनि मन मनबाट
हट्दो रहेनछ जात्रा
जस्तो कि जात्रा
एउटा उल्लासको नथामिने हुरी हो
हामीले सुन्दै आएको मिथकमा झैं
असत्य पात्रमाथि
नारी शक्ति र दैवी शक्तिको विजयको चिनारी हो
यसैले अन्तरहृदयको आवाज
यही बोल्छ
टुटाउन हुन्न यो उत्सवको सिलसिला
जुन काल जुन जुगमा पनि
असत्यको चुनौती उही नै हुन्छ
चाहे भीमकाय बनेर अगाडि आओस्
चाहे सूक्ष्म बनेर पछाडि लागोस्
विजयी बन्नका लागि
कहिले जोडिएर र कहिले टाढिएर
मुकाबिला गर्नै पर्दछ
र यो समय यतिमात्र भन्न चाहन्छु
मान्छे मान्छे टाढिएर
मात्र मन मन जोडिएर पनि
उत्तिकै उल्लासको जात्रा मनाउन सक्छौं
र यो जात्रालाई
साहस उमार्ने
उत्प्रेरणाको यात्रा बनाउन सक्छौं
(ल्हाकाय मायन हा : उचालौं साथीहरू हो)