site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसमा १४औं महाधिवेशनको चहलपहल

काठमाडौं । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित नेपाली कांग्रेसको १४औं महाधिवेशनको चहलपहल पुनः सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठकले कोरोनाका कारण स्थगित महाधिवेशन प्रक्रिया सुरु गर्न नयाँ कार्यतालिका सार्वजनिक गरेसँगै चहलपहल बढेको हो । 

पार्टी कार्यालय सानेपामा सोमबार रातिसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले कोरोना महामारीका कारण प्रभावित महाधिवेशन कार्यतालिका परिमार्जन गरेर महाधिवेशनमा प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । बैठकले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ । 

बैठकले गत फागुन १५ भित्र सक्ने भनेको पार्टीका अन्तरिम संरचनाहरूको समायोजन साउन १० भित्रै सम्पन्न गरी महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको कांग्रेसले जनाएको छ ।  मंसिर मसान्तभित्रमा सभापतिबाट प्रमाणित क्रियाशील सदस्यहरूको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने र पुस ६ गते देशभरका गाउँ–नगरअन्तर्गत पर्ने ६ हजार ७४३ वडामा कांग्रेसको अधिवेशन हुनेछ ।

महाधिवेशनको परिमार्जित कार्यतालिका अनुसार सात सय ५३ स्थानीय तहमा पुस ८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते हुने भएको छ । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुस १६ गते र प्रदेश अधिवेशन आगामी माघ ६ गते हुने भएको छ । 

पार्टीको महाधिवेशन भने पूर्वनिर्धारित मिति फागुन ७ बाट १० गतेसम्म काठमाडौंमा हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । गत माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आगामी महाधिवेशन २०७७ फागुन ७–१० काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।

त्यसअघि सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिष्कारबीच गत पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकबाट बहुमतका आधारमा केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थप गर्दै २०७७ फागुनको ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेका थिए ।

सभापति देउवाले बहुमतका आधारमा महाधिवेशनको मिति तय गरेपछि वरिष्ठ नेता पौडेलको समूह र तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाको समूह केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएका थिए ।

पार्टीको आन्तरिक विवाद समाधानका लागि गत माघ १० गते बूढानीलकण्ठमा बसेको बैठकमा सभापति देउवाले महाधिवेशनको मिति यथावत् राखेर अन्य विषय सच्याउन आफू तयार रहेको बताएपछि असन्तुष्ट समूह माघ १३ गतेको केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएको थियो । सोही बैठकले महाधिवेशनको तिथि सर्वसम्मत पारित गरेको थियो ।

उक्त बैठकले पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधि २०७६ माघ मसान्तभित्र निर्धारण गरेको थियो । त्यस्तै २०७६ फागुनदेखि २०७६ चैत मसान्तसम्म विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्य सम्पन्न गरिसक्ने निर्णय भएको थियो ।

केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि २०७७ वैशाख मसान्तभित्र तय भएको थियो ।

नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजुरी र नवीकरणउपर क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी दिने अन्तिम अवधि २०७७ जेठ १५ गतेभित्र निर्धारण गरिएको थियो ।

पूर्वनिर्धारित अधिवेशनको कार्यतालिका :
(क) गाउँ/नगर वडाअधिवेशन– २०७७ कात्तिक १६ गते ।
(ख) गाउँ/नगरपालिकाअधिवेशन– २०७७ कात्तिक १८ गते
(ग) प्रदेशसभा क्षेत्रीय अधिवेशन– २०७७ कात्तिक २१ गते
(घ) प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला)– २०७७ कात्तिक २३ गते
(ङ) एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन– २०७७ कात्तिक २५ गते
(च) प्रदेश अधिवेशन– २०७७ मंसिर २९ गते
(छ) केन्द्रीय महाधिवेशन– २०७७ फागुन ७, ८, ९ र १० गते 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro