site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर बजारमा देखिएको उत्साह : लकडाउनमा थुनिएको बाढी कि नियामकलाई पाठ ?

काठमाडौं । लकडाउनका कारण लामो समय बन्द भएको सेयर बजार सोमबारबाट खुल्यो । बजार खुलेसँगै धेरैले सोचेको थिए, सेयर बजार परिसूचक नेप्से तल झर्छ । तर सबैको सोचाइविपरीत बजार खुलेको पहिलो दिन सुरुमा नेगेटिभ सर्किट लागे पनि अन्तिममा बजार सुधारोउन्मुख भयो ।

त्यसपछि मंगलबार नेप्से परिसूचक ६ प्रतिशतले उकालो लागेपछि २ घण्टाअगाडि नै पोजेटिभ सर्किट लागेर बन्द भयो भने बुधबार झन् कारोबार सुरु भएको डेढ घण्टा पनि नबित्दै नेप्से परिसूचक ६ प्रतिशतले उकालो लागेपछि बुधबारका लागि कारोबार बन्द भयो । 

कोभिड १९ नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण अर्थतन्त्रमा मन्दीको अवस्था आएको छ । नेपालको मात्रै नभएर विश्व अर्थतन्त्रमै मन्दी आएको छ । यस्तो अवस्थामा खुलेको सेयर बजारमा भने लगातार दुई दिन पोजेटिभ सर्किट लागेर बन्द हुँदा विभिन्न टिप्पणी हुन लागेको छ । बजार सञ्चालक नेप्से नीतिगत सुधारका कारण बजार पारदर्शी भएकाले सुधार देखिएको दाबी गर्छ । यता विश्लेषकहरूको भने फरक मत देखिन्छ । कतिपय बजारका जानकारहरू भने नेकपामा देखिएको किचलो र सरकार परिवर्तनको हल्लाले पनि बजारलाई ऊर्जा प्रदान गरेको दाबी गर्छन् । 

लामो समयपछि खुलेको बजारमा सेयरको खरिद चाप उच्च देखिएको छ भने बिक्री चाप न्यून छ । 

लकडाउनले गर्दा लामो समय बन्द रहेको बजार बीचमा वैशाख ३० र ३१ गते दुई दिन खुलेको थियो । कारोबार खुलेको दुवै दिन नेगेटिभ सर्किट लागेर बन्द भएपछि बजार बन्द गर्ने चौतर्फी दबाबका कारण पुनः बन्द भएको थियो । यसबीच बजार सुधारको धेरै प्रयास गरेको नियामक नेपाल धितोपत्र बोर्डले दाबीसमेत गर्दै आएको छ । 

बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गाना बजारमा कन्फिडेन्टको लेभल बढेको दाबी गर्छन् । बाह्रखरीसँग कुरा गर्दै अध्यक्ष ढुङ्गानाले भने, “पछिल्लो समय भएको नीतिगत सुधारले बजारमा कन्फिडेन्टको लेभल विकास भएको छ, जुन बजारले नै देखायो ।” पहिले लगानीकर्तामा झरेको मनोबलमा अहिले सुधार देखिएको उनको भनाइ छ । 

यस्तै अर्थतन्त्रका अन्य क्षेत्र निष्क्रिय हुँदा सेयर बजार लगानीको प्रमुख क्षेत्रका रूपमा देखिँदा बजारमा सुधार आएको उनको भनाइ छ । उनले भने, “सुनमा पनि लगानी गर्न सक्ने ठाउँ छ तर सुनमा लगानी गरेर मानिसले होल्ड गर्न सक्दैन त्यसमा लिमिटेसन छ तर सेयर बजारमा भने १० अर्ब लगानी गर्छु भन्यो भने सक्छ ।” 

यता नेप्सेका सीईओ चन्द्रसिंह साउद पनि सेयर बजारमा भएको नीतिगत सुधारको नतिजा देखिएको दाबी गर्छन् । बजारमा पारदर्शिता देखिँदा बजारमा सुधार देखिएको उनले बताए । अहिले लगानीकर्ताको डिम्याट खातामा देखिएको सेयर मात्रै बिक्री गर्न मिल्ने व्यवस्था रहेकाले लगानीकर्ताले बजारमा पारदर्शिता बढेको साउदको दाबी छ ।

उनले भने, “अहिले बजारमा सप्लाई कम देखिनुको मुख्य कारण भनेको पहिले लगानीकर्ताले आफूसँग हुँदै नभएको सेयर पनि सेल अर्डर गर्थे भने आज किनेर आजै बिक्री गर्ने, तर अहिले डिम्याट खातामा देखिएको सेयर मात्रै सेल अर्डरमा राख्न पाइन्छ ।” डिम्याटमा पनि फ्री सेयर भयो भने मात्रै बिक्री गर्न पाइने व्यवस्थाले पारदर्शिता बढाएको उनको दाबी छ । 

सेयर विज्ञ तथा राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्ट पनि अहिले बजार बढ्नुमा कुनै बाह्य कारण नभएको बताउँछन् । “अहिले बजारमा लिमिटेड मात्रै लगानीकर्ता रहेको र लगानीकर्ताले नै मनोवैज्ञानिक प्रभाव देखाउन खोजेको जस्तो देखिन्छ,” उनले भने, “लकडाउन पनि बजार तल जाने र खस्किने भन्ने खालको भ्रम रहेको अवस्थामा थियो, तर पछि पनि लगानीकर्तालाई नै चाहिने बजार हो, त्यसलै बजारमा पहुँच भएकाहरूले मनौवैज्ञानिक रूपमा भए पनि बजारलाई सकारात्मक प्रभाव देखाउन खोजेको हो ।” 

तल्लो विन्दुमै रहेकाले बजार बढ्नु नौलो नभए पनि अहिलेको अवस्थामा स्थिर अथवा सामान्य घट्नपर्ने अवस्था हो । तर लगानीकर्ता मनोबल गिर्न नदिने सीमित लगानीकर्ताले बजारमा मनौवैज्ञानिक प्रभाव पारेको उनले दाबी गरे । तर बजार अहिलेकै वरिपरि रहने उनले विश्वास व्यक्त गरे । धेरै माथि जाने कुनै कारण नदेखिएको उनको भनाइ छ । उनले भने, “अहिले कोभिडका बेलामा पनि बजार माथि जाने रहेछ त्यतिकै रोकेको रहेछ भन्ने पार्न पनि लगानीकर्ताले नै मनौवैज्ञानिक रूपमा बजार बढाएको जस्तो देखिन्छ ।” यसमा अन्य कुनै बाह्य प्रभाव नभएको उनले बताए ।

सेयर विश्लेषक रुक्मांगत काफ्ले पनि बजारमा बाह्य चलखेल नभएको बताउँछन् । बजार अचानक माथि गएको अवस्थामा कति समय टिक्छ, यसमा बाह्य प्रभाव छ कि छैन भनेर हर्दा, कारोबार रकमलगायतलाई आधार मान्दा ठूलो परिमाणमा कारोबार नभएकाले बजारमा केही अल्पकालीन लगानी आएको हो कि भन्ने देखिएको उनले बताए । उनले भने, “बजारका ठूला खेलाडीले लकडाउनको अवधिमा सेभिङ भएको रकमले बजारलाई बढाउन खोजेको जस्तो देखिन्छ, यसमा साना लगानीकर्ता चनाखो हुन आवश्यक छ ।” भोलि बिक्री चाप आउँदा साना लगानीकर्ता माथिल्लो विन्दुमा पर्ने हो कि भन्ने कुरामा सचेत रहन आवश्यक रहेको उनले बताए । 

“सरकारले खर्च धान्न नसक्ने अवस्था भनीरहेको छ भने, आर्थिक गतिविधि पनि भएको छैन, अर्थतन्त्रमा मन्दीको अवस्थामा अस्वाभाविक रूपले किन बढ्यो भन्ने कुरामा सचेत हुन आवश्यक छ,” उनले भने, “बजार बढ्नु नराम्रो होइन तर अहिले न आर्थिक सूचक राम्रो छ, न मार्केटलाई सपोर्ट गर्ने कुनै नीति आएको छ तथापि बजार बढेको छ भने, यसमा भित्री कारोबार भएर त बजार बढेको छैन भन्ने आभाष हुन्छ नै ।” यसलाई स्वभाविक रूपमा लिन नमिल्ने उनले बताए ।

धेरै साना लगानीकर्ताले बजारमा नआएकाले अहिले बिक्री चाप कम देखिएको उनको भनाइ छ । नेप्सेले भनेजस्तो डिम्याटमा भएको सेयर मात्रै बिक्री अर्डरमा हाल्न सक्ने व्यवस्थाले मात्रै बिक्री अर्डर न्यून नभएको उनको दाबी छ । अहिले साना लगानीकर्ता कतिपय बजारमा आउने अवस्थामा नभएको र कतिपय बजारलाई ‘वाच’ गरिरहेकाले पनि बिक्री अर्डर कम भएको उनको दाबी छ । 

यस्तै अहिले एक ब्रोकर एक डिम्याटको व्यवस्था रहेको छ भने लगानीकर्ताले धितो राखेको सेयर पनि बिक्री गर्न नपाइने व्यवस्था छ । जसले गर्दा पनि बिक्री अर्डर कम देखिएको जानकारहरू बताउँछन् ।
फाइल तस्बिर ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro