site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मेलम्चीको काम कहाँ पुग्यो ? यस्तो छ नालीबेली
Sarbottam CementSarbottam Cement

काठमाडौं । जब काठमाडौं उपत्यकामा दीर्घकालीन रूपमा खानेपानी आपूर्ति गर्ने विषय उठ्यो । मेलम्ची खानेपानी परियोजना सबैभन्दा उत्तम विकल्प थियो ।

तर, आयोजना सुरु भएको दुई दशक बितिसक्दा पनि राजधानीका बासिन्दाले मेलम्चीको पानी कस्तो हुन्छ देख्न पाएका छैनन् । धारा–धारामा मेलम्चीको पानी प्रवाह हुने त कहिले कहिले ? खोलाको पानी सुरुङमार्फत् ल्याएर सुन्दरीजलमा अझै नझारिँदा उपत्यकाका बासिन्दाले मेलम्ची एकादेशको कथामात्र त होइन ? भनेर शंका गर्ने बेला भइसक्यो ।

खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको काम ९९ प्रतिशत सकिएको दाबी गर्छ । तर घरघरमा मेलम्चीको पानी आउने मिति निश्चित छैन । २०४७ सालतिर परिकल्पना गरिएको यो आयोजना समस्याग्रस्त आयोजनाका रूपमा अघि बढिरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विभिन्न समयमा आयोजना सम्पन्न हुने मिति सार्वजनिक हुँदै आए पनि आयोजनाले सोचेअनुरूपको सफलता हासिल गर्न सकिरहेको छैन । काम सुरु भएपश्चात् दुईवटा निर्माण व्यवसायीबाट निर्माण सम्पन्न हुन नसकेको यो आयोजना हालै मात्र चिनियाँ निर्माण व्यवसायी कम्पनी सिनोहाइड्रोले सम्पन्न गर्ने लक्ष्यसहित काम गरिरहेको छ ।

मेलम्ची खानेपानी आयोजना सुरु भएदेखि अहिलेसम्म के–के भयो ? प्रस्तुत छ बाह्रखरीले खाजेको विस्तृत विवरण :

Global Ime bank

सन् १९९२ मा गरिएको अध्ययन, प्राविधिक र आर्थिक सम्भाव्यताका आधारमा उपत्यकामा खानेपानी आपूर्ति गर्न सम्भाव्य विभिन्न २२ विकल्पमध्ये मेलम्ची, याङ्ग्री र लार्केबाट दैनिक ५१ करोड लिटर खानेपानी आपूर्ति हुनसक्ने विकल्प सबैभन्दा उत्तम पहिचान भएको थियो । सोही आयोजना निजी पुँजी परिचालन गरी सञ्चालन गर्ने उद्देश्यसहित २०५३ सालमा मेलम्ची खानेपानी लिमिटेडको स्थापना भयो ।

मेलम्ची खानेपानी आयोजनाको लागत धेरै भएको र यसका लागि एडीबी, जाइका, ओपेक, नर्वे, स्विडेनलगायत अन्य दातृ निकायबाट सहयोग प्राप्त हुनसक्ने देखिएपछि २०५५ सालमा विकास समिति ऐन, २०१३ बमोजिम मेलम्ची खानेपानी विकास समिति गठन भयो । एडीबीको इन्जिनियरिङ ऋण सहायता र नर्वे सरकारको अनुदान सहयोगमा आयोजनाको विस्तृत सम्भाव्यता र डिजाइन कार्य सुरु गरियो ।

आयोजनाको कार्यान्वयनमा देखिएका चुनौती र समस्याहरू तथा समाधानका लागि विभिन्न सरोकारवाला निकायबाट गरिएका प्रयास विभिन्न समयमा भएका उपलब्धिसहित, अहिले आयोजनाको प्रथम चरणमा मेलम्ची नदीको पानी डाइभर्सन गरी दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्ने काम चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताइएको छ ।

आयोजनाका प्रस्तावित संरचना

मेलम्ची खानेपानी आयोजनाको सुरु डिजाइनअनुसार प्रवेश मार्ग, सुरुङ तथा हेडवर्कससहितको मेलम्ची डाइभर्सन स्किम, सुन्दरीजलमा पानी प्रशोधन केन्द्र, काठमाडौं उपत्यकाभित्र थोक वितरण प्रणाली, वितरण सञ्जाल सुधार र फोहोरपानी प्रणाली सुधारलगायत मेलम्ची उपत्यकामा सामाजिक उत्थान कार्यक्रम, वातावरण व्यवस्थापन, पुनर्वासजस्ता कार्यक्रम समावेश थिए ।

आयोजनाको सुरुको लागत ४६४ मिलियन अमेरिकन डलर अनुमान गरिएको थियो । उक्त लागतमा काठमाडौंको मनोहरा खानेपानी प्रणालीको खर्चसमेत समावेश थियो । सन् २००५ मा आयोजनाबाट नर्वेजियन र स्विडिस सहयोग फिर्ता गएपछि आयोजनालाई सन् २००८ मा पुनर्संरचना गरी सञ्चालन गरिएको छ ।

आयोजनाको पुनर्संरचनापछि कस्तो ?

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत काठमाडौं उपत्यकामा खानेपानी व्यवस्थापन सुधारका लागि थप खानेपानीको आपूर्ति, पुरानो खानेपानी प्रणालीको बृहत्तर पुनस्र्थापना र विस्तारका अतिरिक्त वितरण क्षमतामा व्यावसायिक दक्षता अभिवृद्धिका लागि संस्थागत सुधारका काम समावेश थिए । तर, नर्वे र स्विडिस सहयोगको बहिर्गमनका कारण आयोजना सञ्चालनका लागि पर्याप्त आर्थिक स्रोत उपलब्ध हुन सकेन । र, सुरुङ निर्माणको पूर्वसर्तका रूपमा रहेको व्यवस्थापन करारअन्तर्गत निजी व्यवस्थापकको नियुक्ति गर्ने कामसमेत अन्तिम अवस्थामा सम्पादन हुन सकेन । यसकारण पुनर्संरचना गर्नुपर्ने भई आयोजनाअन्तर्गतका प्रमुख अवयवको निर्माण सोचेअनुरूपको समयमा सुरु हुन सकेन ।

यस्तै, साबिकको नेपाल खानेपानी संस्थानको सट्टा कम्पनी ऐनअन्तर्गत सार्वजनिक निजी साझेदारीसहितको केयूकेएलको स्थापना, महसुल निर्धारण आयोग र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसम्बन्धी ऐन तर्जुमा र उक्त निकायको गठनजस्ता काम सम्पन्न गर्न पनि समय लागेकाले सुरुङ निर्माणको काममा थप ढिलाइ भयो ।

आन्तरिक द्वन्द्व, लगानीका स्रोतको कमी तथा एसियाली विकास बैंकसँग ऋण सम्झौतामा गरिएका प्रतिबद्धताहरू पूरा गरेर मात्र आयोजनाको वास्तविक निर्माण कार्य सुरु गर्न सकिने अवस्थाका कारण यस आयोजनाको मुख्य निर्माण कार्य सुरु नहुँदै ऋण सम्झौताको अवधि २००७ डिसेम्बरमा समाप्त भयो । यस अवस्थामा सन् २००८ को सुरुमा नेपाल सरकार तथा एसियाली विकास बैंकबीच आयोजनालाई पुनर्संरचना गरी सञ्चालन गर्न सहमति भयो । यसबमोजिम आयोजनालाई दुई भागमा बाँडी सन् २०१३ भित्र सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाको निर्माण कार्य सुचारु गरियो । पुनर्संरचनापश्चात् आयोजना सञ्चालन कार्यलाई दुई भागमा बाँडी सञ्चालन गर्न थालियो ।

१) मेलम्ची खानेपानी आयोजना (उप–आयोजना–१) : मेलम्ची नदी पथान्तरण (हेडवर्कस्, सुरुङ, पानी प्रशोधन केन्द्र र सामाजिक उत्थान कार्यक्रम) को कार्य मेलम्ची खानेपानी विकास समितिबाट कार्यान्वयन गरिने ।

२) काठमाडौं उपत्यका खानेपानी तथा सरसफाइ आयोजना (उप–आयोजना–२) : थोक तथा वितरण प्रणाली, फोहोर पानी व्यवस्थापन तथा सेवा प्रदायकको क्षमता अभिवृद्धि कार्यक्रमजस्ता काठमाडौं उपत्यकाभित्रका सबै काम केयूकेएलअन्तर्गत स्थापना भएको आयोजना कार्यान्वयन निर्देशनालयबाट गरिने ।

मेलम्चीलाई काठमाडौं ल्याउने काम कहाँ पुग्यो ?

सन् २००६ मा पुनर्संरचना गरिएपछि उप–आयोजना–१ को कार्यक्षेत्र भित्र परेका कार्यक्रमको सञ्चालनको वर्तमान अवस्था निम्नबमोजिम छ ।

क. पूर्वाधार विकाससम्बन्धी कार्यक्रम

१) मेलम्ची खानेपानी आयोजना निर्माणका लागि आवश्यक अन्य सहायक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सिन्धुपाल्चोक र काठमाडौं जिल्लामा मुख्य प्रवेश मार्ग तथा चार अडिट प्रवेशमार्ग गरि करिब ४२ किलोमिटर नयाँ सडक निर्माण सम्पन्न भएको छ ।

२) मेलम्ची खानेपानी आयोजनाबाट २७ किलोमिटर सडक (लामीडाँडा–मेलम्ची पुलबजार २२ किलोमिटर तथा गोकर्ण–सुन्दरीजल ५ किलोमिटर) स्तरोन्नति गरिएको छ । यी मार्गको निर्माण नेपाल सरकार र ओपेक कोषको ऋण लगानीमा सम्पन्न भएको हो ।

३) मेलम्ची खानेपानी आयोजना निर्माणका लागि मेलम्ची पुलबजार, अम्बाथान, ग्याल्थुम तथा सुन्दरीजललगायत सबै साइटमा साइट कार्यालय तथा कर्मचारी आवास निर्माण सम्पन्न भएका छन् ।

ख. सामाजिक उत्थान कार्यक्रम

आयोजना निर्माणका क्रममा मेलम्ची उपत्यकावासीहरूको सामाजिक तथा आर्थिक उन्नतिका लागि सामाजिक उत्थान कार्यक्रममा गत आर्थिक वर्षको अन्तसम्ममा करिब ९४ करोड ९८ लाख रुपैयाँ खर्च भएको छ ।

ग. वातावरणीय व्यवस्थापन कार्यक्रम

मेलम्ची खानेपानी आयोजना निर्माणको क्रममा स्थानीय वातावरणमा पर्नसक्ने प्रभावहरूलाई न्यूनीकरण गर्न वातावरण संरक्षण कार्यक्रमअन्तर्गत १९ करोड ४० लाख रुपैयाँ खर्च भएको छ ।

घ. पुनर्वास कार्ययोजना

आयोजनाका लागि हालसम्म करिब १८ सय रोपनी जग्गा प्राप्ति गरिएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा जग्गा प्राप्ति, मुआब्जा तथा क्षतिपूर्ति वितरणमा १ अर्ब १२ करोड १२ लाख रुपैयाँ खर्च गरिएको छ ।

ङ. पानी प्रशोधन केन्द्र

१) पानी प्रशोधन केन्द्र निर्माण : भाग –१ (जाइका सहयोग)
काठमाडौं उपत्यकामा दैनिक ५१ करोड लिटर प्रशोधित खानेपानी उपलब्ध गराउन सुन्दरीजलमा परम्परागत शैलीको पानी प्रशोधन केन्द्रको निर्माण तीन चरणमा गर्ने लक्ष्य छ । पहिलो चरणमा १७ करोड लिटर क्षमताको केन्द्रको डिजाइन तथा सुपरिवेक्षणसहितको निर्माण जाइका स्रोतबाट व्यहोर्ने गरी ऋण सम्झौता भएको थियो ।

पानी प्रशोधन केन्द्रको परामर्श सेवाअन्तर्गत विस्तृत डिजाइन, लगत अनुमान तयारी, खरिद दस्ताबेजको तयारी र दैनिक अनुगमन तथा सुपरीवेक्षण कार्यका लागि परामर्शदाता कम्पनी गरेपछि २७ फेब्रुअरी, २००२ मा सम्झौता भएअनुसार काम भइरहेको छ ।

मेलम्ची खानेपानी आयोजनाको पुनर्संरचना गरी दातृ निकाय जाइकाबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रको दैनिक क्षमता ८.५ लिटर सञ्चालन हुने गरी निर्माण गर्न सहमति प्राप्त भएकाले पानी प्रशोधन केन्द्रको दैनिक क्षमता ८.५ करोड लिटर हुनेगरी परामर्शदाताबाट रि–डिजाइन गरी निर्माणको खरिद प्रक्रिया सन् २०१२ मा सुरु गरिएको थियो । अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक बोलपत्र आह्वान हुँदा भारतीय कम्पनीसँग १० जुलाई, २०१३ मा ठेक्का सम्झौता गरिएको थियो । निर्माण कार्यको अवधि ८१० दिनको र कुल सम्झौता रकम ४ अर्ब २० करोड रुपैयाँ (भ्याटबाहेक) थियो ।

सो काम २०७२ सालको भूकम्प तथा भारतीय नाकाबन्दीजस्तो परिस्थितिले प्रभावित गरे पनि पानी प्रशोधन केन्द्रको निर्माण ३१ डिसेम्बर, २०१७ मा सम्पन्न भइसकेको छ ।

यो केन्द्रबाट वाग्मती नदीमा बर्खाको दैनिक औसत ४ करोड लिटर पानी प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरणसमेत हुन थालेको छ ।

गत आर्थिक वर्षसम्ममा यस केन्द्रको निर्माणका लागि ३ अर्ब ७३ करोड रुपैयाँ खर्च भएको छ ।

पानी प्रशोधन केन्द्र निर्माण : भाग–२

सन् २०१५ मा दातृ निकाय एडीबीबाट पानी प्रशोधन केन्द्रको क्षमता ८.५ करोड लिटरबाट विस्तार गरी १७ करोड लिटर गर्न ऋण सहयोग प्राप्त भएको थियो । पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गर्ने कामको सुरुको डिजाइन परामर्शदाताबाट गरिएको थियो । पछि एडीबीको ऋण सहयोगअन्तर्गत प्रशोधन केन्द्रको क्षमता विस्तार कार्यको डिजाइन पुनरावलोकन तथा सुपरीवेक्षणका लागि सन् २०१६ मा नयाँ परामर्शदाता कम्पनी छनोट गरियो ।

पानी प्रशोधन केन्द्र भाग–२ को निर्माणको खरीद प्रक्रिया ६ डिसेम्बर, २०१५ मा सुरु गरिएको हो ।

७ नोभेम्बर, २०१६ मा यो काम गर्न एक अर्ब ३७ करोड रुपैयाँ (भ्याटबाहेक) बराबरको ठेक्का सम्झौता गरिएको छ र सम्झौताअनुसार जुलाई २०१८ (जम्मा ५४० दिन) मा कार्य सम्पन्न गर्ने अवधि तोकिएको थियो ।

तर, यो काममा पनि ढिलाइ भएको छ । आवश्यक तयारी काममा बढी समय व्यतित भएको र सुन्दरीजल पानी प्रशोधन केन्द्रको साइटमा दुई निर्माण व्यवसायी कम्पनीबीचको साइट सेयरिङसम्बन्धी समन्वय समस्य भएपछि पानी प्रशोधन केन्द्र भाग–२ को काम प्रभावित भएको छ ।

यस केन्द्रको विभिन्न एकाइमा गरिनुपर्ने कंक्रिटको काम सम्पन्न गरिएको छ । गत आर्थिक वर्षसम्ममा करिब एक अर्ब सात करोड रुपैयाँबराबर भुक्तानी गरिएको छ ।

च. सुरुङ निर्माण

मेलम्ची खानेपानी आयोजनाको रिबर्मादेखि सुन्दरीजलसम्मको २६ किलोमिटर पानी पथान्तरण सुरुङको प्रारम्भिक डिजाइन कार्य नर्वेजियन सहयोगअन्तर्गत भएको हो । ड्रिल एन्ड ब्लास्ट प्रक्रियाबाट सुरुङ खन्ने तथा प्रारम्भिक र अन्तिम सपोर्ट गरिँदै जाने गरी डिजाइन गरिएको यस सुरुङको आकार अंग्रेजी अक्षर ‘डी’ जस्तो छ ।

सेक्सनल एरिया १२.५० वर्ग मिटरको छ । २६ किलोमिटर सुरुङको निर्माणका लागि थप तीन सहायक सुरुङ निर्माण गरी आठ स्थानबाट निर्माणको कार्य हुनसक्ने व्यवस्था मिलाइको थियो ।

आयोजनाका लागि आवश्यक सहायक भौतिक पूर्वाधारको निर्माण सम्पन्न गरी सन् २००६ मा पुनर्संरचना गरिएपछि मात्र हेडवर्कस् तथा सुरुङ निर्माणको खरिद प्रक्रिया सुरु भएको हो ।

हेडवर्कस् तथा सुरुङ निर्माणको डिजाइन पुनरावलोकन र खरिद दस्ताबेज तयारीसमेत गरी दैनिक सुपरीवेक्षण गर्ने कार्यका लागि सुरुमा नर्डिक डेभलपमेन्ट फन्डको ऋण सहयोगमा काम सुरु भएको थियो ।

हेडवर्कस् तथा सुरुङ निर्माणका लागि चिनियाँ निर्माण कम्पनीसँग १९ फेब्रुअरी २००९ मा सम्झौता गरिएको थियो । जम्मा १५९० दिनमा निर्माण कार्य गर्ने अवधिअनुसार काम सक्ने अवधि २ सेप्टेम्बर, २०१३ सम्म थियो । निर्माण व्यवसायीबाट तयार कार्ययोजना तथा कबोलअनुसारका आवश्यक मानव संशाधन, उपकरण तथा निर्माण सामग्री व्यवस्थापनमा कमी–कमजोरीलगायत सम्झौताका सर्त पालना गर्न नसकेको हुँदा सो कम्पनीसँग २५ सेप्टेम्बर, २०१२ मा ठेक्का सम्झौता तोडिएको थियो ।

सो अवधिमा चिनियाँ कम्पनीले ६ हजार ४ सय १७ मिटर सुरुङ खन्ने तथा प्रारम्भिक सपोर्टको काम मात्र गरेको थियो । जसलाई ५१ करोड ६९ लाख रुपैयाँ भुक्तानी भएको थियो ।

बाँकी रहेको सुरुङ तथा हेडवर्कस् निर्माणका लागि इटलीको सीएमसीलाई छनोट गरियो । सो कम्पनीलाई १५ जुलाई, २०१३ भित्रमा (१ हजार ९५ दिन भित्रमा) निर्माण सम्पन्न गर्ने गरी ७ अर्ब ७२ करोड रुपैयाँको ठेक्का दिइएको थियो ।

तर, सीएमसीले सम्झौताको सुरुदेखि नै विभिन्न किसिमका विवाद सिर्जना गर्‍यो ।

यसैबीच २०७२ को भूकम्प तथा बाढीपहिरोले प्रवेशमार्ग अवरुद्ध बनायो, भारतीय नाकाबन्दीजस्ता परिस्थितिले निर्माण कार्य थप प्रभावित बनायो । यसकारण आयोजनाको ठेक्का सम्झौताको म्याद मार्च २०१८ सम्मका लागि थप गरिएको थियो ।

यस अवधिमा सीएमसीको नगद प्रवाहको समस्याका कारण पटकपटक निर्माण कार्य अवरुद्ध भयो । यसमा समिति, दातृ निकाय तथा खानेपानी मन्त्रालयबाट आवश्यक सहजीकरण गरी अप्रिल २०१६ मा सुरुङ खन्ने कार्य सम्पन्न गरियो । यसरी सुरुङ खन्ने काम सकाइए पनि क्यास फ्लोको समस्या देखाउँदै हेडवर्कस् तथा सुरुङको फाइनल फिनिसिङ गर्ने काम अवरुद्व भयो ।

सीएमसीले सो समयमा लागत बढ्न गएको भन्दै हेडवर्कस् निर्माणका लागि करिब एक अर्ब ६४ करोड ४९ लाख रुपैयाँ अतिरिक्त रकम र ४ सय २४ कार्यदिनबराबरको म्याद थप्न माग गरेको थियो । तर, सरकारले २८ करोड र ठेक्काअनुसारको बाँकी काम सम्पन्न गर्न ३० अगस्ट २०१८ सम्मको म्याद थप गरेको थियो ।
तर, सीएमसीले यो मानेन र पुनरावलोकनका लागि निवेदन ग¥यो । पछि त्यसलाई कुल २ सय १२ दिन थप गरी १० फेब्रुअरी २०१९ सम्मका लागि म्याद थपियो । सीएमसीलाई कुल ३६ करोड २७ लाख रुपैयाँ थप भुक्तानी गरियो ।

हेडवर्कस् तथा सुरुङ निर्माणको ठेक्का सम्झौता किन रद्द गरियो ?

सुरुङ ब्रेक थ्रु पछि फाइनल फिनिसिङ गर्ने काम चलिरहेको थियो । २५.३ किलोमिटर सुरुङको फाइनल फिनिसिङको कार्य सम्पन्न भइसकेको थियो । भेन्टिलेसन् साफ्टको ड्रिल भइरहेको थियो । गेटहरू जडान हुँदै थिए । वैकल्पिक पाइपलाइन जडान सहित हेडवर्कसमा विभिन्न संरचना निर्माणका लागि कंक्रिटको काम हुँदै गरेको थियो ।

यसै अवधिमा सीएमसीले निहुँ खोज्न थाल्यो । सीएमसीले तत्काल गराउन भन्दै ३० नोभेम्बर २०१८ मा करार सम्झौता रद्द गरेको सूचना जारी ग¥यो । परामर्शदाता तथा सरकारलाई जानकारी नगराई सीएमसी डिसेम्बर १५ मा भागेपछि निर्माण स्थगित भयो ।

सीएमसी भागेपछि ऊसँग सम्झौता तोड्न सबै पक्षबाट सुझाव आयो । सरकारले सीएमसीलाई पुनः काममा फर्काउन अनेक प्रयासहरू गरपनि कम्पनीले नमानेपछि ७ फेब्रुअरी २०१९ मा ठेक्का सम्झौता रद्द गरियो ।

मेलम्ची नदीमा बनाउनुपर्ने डाइभर्सन वेयर, इन्टेक प्रथम खण्ड इत्यादि निर्माणको काम र डिसिल्टिङ बेसिन, इलेक्ट्रोमेकानिकल, इन्स्ट्रुमेन्टेसन जडानको काम सुरु गर्न नसकेको अवस्थामा ठेक्का रद्द भएको हो ।

त्यस्तो अवस्थामा सीएमसीलाई उसले खुद गरेको काम, मोबिलाइजेसन पेस्की, मूल्य समायोजन तथा उसले गरेका विभिन्न दाबीबापतको क्षतिपूर्ति रकमसमेत गरी करिब ८ अर्ब ४६ करोड रुपैयाँ भुक्तानी भएको छ । सीएमसीको बैंक ग्यारेन्टीको २ अर्ब ९ करोड रुपैयाँ भने सरकारले जफत गरेको छ ।

नयाँ ठेक्काको व्यवस्थापन

सीएमसी भागेपछि ३१ मे, २०१९ मा मुख्य दुई प्याकेजको नयाँ खरिदका लागि बोलपत्रको सूचना प्रकाशन गरियो । सोअनुसार प्राप्त हुन आएका बोलपत्रको मूल्यांकनबाट चिनियाँ कम्पनी सिनोहाइड्रो छनोट भयो । सिनोहाइड्रोसँग सरकारले असोज १२ गते सुरुङ र असोज २४ गते हेडवर्कस् निर्माणको सम्झौता गरेको हो ।
सो सम्झौताअनुसार निर्माण व्यवसायी साइटमा परिचालन भई निर्माण काम चालु छ ।

आयोजनाको प्रगति

मेलम्ची खानेपानी आयोजनको समग्रमा ९७ प्रतिशत भौतिक प्रगति भएको छ । जसमध्ये सुरुङ निर्माण ९९ प्रतिशत सकिएको छ भने हेडवर्कसको काम ६५ प्रतिशत सम्पन्न भएको छ । डीआई पाइपसहितको वैकल्पिक पानी पथान्तरण प्रणाली र पानी प्रशोधन केन्द्रको सबै काम सकिएका छन् । तर, सुरुङ र पानी प्रशोधन केन्द्रबीचको जडान काम २ प्रतिशत बाँकी छ ।

पानी पथान्तरण सुरु निर्माणतर्फ रक डवेल तथा ग्राउटिङ, इन्भर्ट कंक्रिट लाइन, हाइड्रो मेकानिकल गेट जडान (७ वटा) को सबै काम सकिएका छन् । आयोजनाका अनुसार सुरुङ र पानी प्रशोधन केन्द्रबीचको पाइप जडान कार्य १० मिटर बाँकी छ । अनुगमन उपकरण पनि आपूर्ति र जडानको क्रममा छन् ।

हेडवर्कसतर्फ कोफर ड्याम, डीआई पाइपलाइन र हाइड्रोमेकानिकल गेट (६ वटा) निर्माण सम्पन्न भइसकेका छन् । अहिले होइस्ट र कन्ट्रोल प्यानल ठड्ययाउने क्रम जारी छ ।

हेडवर्कसमा फाउन्डेसनको काम सकिएको छ । स्टिलिङ बेसिनको काम ७० प्रतिशत सकिएको छ । बाँधको १० मिटरमध्ये ६ मिटर उचाइस्म्म कंक्रिट गर्ने काम सकिएको हो । इन्टेकको ६५ प्रतिशत काम सकिएको छ । पुल, पहुँच मार्ग, हाइड्रोमेकानिकल उपकरण, एस४ र इन्स्ट्रुमेन्टेनको काम अझै बाँकी छन् ।

पछिल्लो समय थपिएका समस्या

सीएमसी भागेपछि बाँकी रहेका कामका लागि विभिन्न १० प्याकेजमा ठेक्का सम्झौता भएअनुसार आयोजनालाई कार्य सम्पादन गराउन चुनौती खडा भएको छ । आयोजनामा रक डावेलको तथा ग्राउटिङको परिमाणमा वृद्धि हुन गएकाले थप काम गर्नुपरेको छ । साइटको परिस्थितिका आधारमा हेडवर्कसमा पुलको स्थान परिवर्तनलगायत प्लम कंक्रिट, वाक–वे तथा संरक्षणका कार्यमा बीओक्यूमा परिवर्तन गरी काम गर्नुपरेको छ ।

आयोजनाका अनुसार भेन्ट साफ्ट निर्माणको प्रविधि सहजरुपमा उपलब्ध नभएकाले निर्माण चुनौतीपूर्ण बनेको छ ।

यसैगरी लकडाउनका कारण विदेशी जनशक्ति परिचालनमा कठिनाइ भएको छ । यसले विशेषतः इन्स्ट्रुमेन्टेसन कार्यमा गम्भीर असर पुगेको छ ।

लकडाउनका कारण कामारले साइट छाडेका छन् । चार सय कामदारमध्ये हाल साइटमा ६० चिनियाँसहित १ सय ६४ जना मात्र छन् । लकडाउनकै कारण निर्माण सामग्रीको आपूर्ति तथा ढुवानी असहज बनेको छ । यसबाहेक सीएमसीका आपूर्तिकर्ताले आफ्नो भुक्तानी बाँकी रहेका कारण बेलाबेला अवरोध पनि गर्दै आएका छन् ।

आयोजनाको आथिक स्रोत व्यवस्थापन

नेपाल सरकार : ९५ मिलियन अमेरिकी डलर

एसियाली विकास बैंक : १४६.२ मिलियन अमेरिकी डलर (सुरुङ तथा हेडवर्कस् निर्माण र प्रशोधन केन्द्र भाग–२ डिजाइन)

जाइका : ४७.५ मिलियन अमेरिकी डलर (प्रशोधन केन्द्र निर्माण भाग–१ निर्माण)

नर्डिक सहायता कोष : १०.५ मिलियन अमेरिकी डलर (सुरुङ निर्माण परामर्श)

ओपेक : १३.७ मिलियन अमेरिकी डलर (आयोजना डिजाइन)

आव २०७५–७६ को अन्त्यसम्म भएको खर्च (रुपैयाँमा) ः

मुआब्जा : १ अर्ब १० करोड ९१ लाख
सवारी साधन : ४ करोड २२ लाख
निर्माण : १९ अर्ब १३ करोड ९५ लाख
सामाजिक उत्थान : ९४ करोड ९८ लाख
वातावरण : १९ करोड ४० लाख
परामर्श : ५ अर्ब ४३ करोड ४६ लाख
प्रशासनिक तथा चालू खर्च : ७९ करोड १ लाख
कुल : २७ अर्ब ६५ करोड ९५ लाख
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC