काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो नौ महिनामा सरकारले ६९ अर्ब ५१ करोड ८३ लाख ४७ हजार ७०२ रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालन गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार २०८० साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालन गरिएको हो । परिचालन भएको अन्तर्राष्ट्रिय आर्थिक सहायतामा ५८ अर्ब ४४ करोड ९८ लाख ३२ रुपैयाँ ऋण र ११ अर्ब ६ करोड ८५ लाख ४७ हजार ६७० रुपैयाँ अनुदान रहेको छ ।
नेपालले अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धता प्राप्त गरेअनुसार परिचालन भने गर्न सकेको छैन । जसका कारण नेपालले प्राप्त गर्दै आएको सहायता प्रतिबद्धतामा २६.२ प्रतिशतले कमी आएको छ ।
चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धतामा कमी आएको हो ।
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिना (साउनदेखि फागुनसम्म)को अवधिमा नेपालले एक खर्ब एक अर्ब २० करोड रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धता प्राप्त गरेको छ । गत आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा नेपालले एक खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धता प्राप्त गरेको थियो ।
कुल अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धतामध्ये अनुदान सहायता ४० प्रतिशत र ऋण सहायता ६० प्रतिशत रहेको छ । यस अवधिमा भएको अन्तर्राष्ट्रिय सहायता प्रतिवद्धतामध्ये सबैभन्दा बढी एसियाली विकास बैंकबाट ४७ प्रतशत रहेको छ ।
साथै, चालु आर्थिक वर्षको पहिलो आठ महिनामा प्राप्त भएको अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी बजेटरी सहायता क्षेत्रमा २१.५ प्रतिशत रहेको छ भने सबैभन्दा न्यून सामाजिक क्षेत्रमा रहेको छ ।
अर्थ मन्त्रालयका अनुसार प्राप्त अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धतामा २१.५ प्रतिशत बजेटरी सहायता, २०.८ प्रतिशत सहरी विकास, १४.४ प्रतिशत ग्रामीण विकास, १६ प्रतिशत स्वास्थ्य, आठ प्रतिशत शिक्षा, ३.४ प्रतिशत वातावरण, २.६ प्रतिशत कृषि, ०.५ प्रतिशत सामाजिक र ११.६ प्रतिशत अन्य क्षेत्रमा रहेको छ ।