site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रतिफल नै नदिने कम्पनीमा फस्दै लगानीकर्ता !

काठमाडौं । एक महिना अगाडि गत चैत १८ गते गोर्खाज फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ८७९ रुपैयाँ थियो । तर, अहिले यस कम्पनीको सेयर मूल्य घट्दो लयमा छ । एक महिनाको अन्तरालमा ९०५ रुपैयाँसम्म पुगेको यस कम्पनीको सेयर मूल्य एक सातादेखि घट्दै गएको छ ।

पछिल्ला दिनमा यस कम्पनीको मात्र हैन, फाइनान्स समूहका सबै कम्पनीको सेयर मूल्य उच्च छ । नेप्से परिसूचक ३२ सय पुगेको समयमा जसरी बढेको थियो, अहिले पनि यस समूहका अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । एक महिनाको अन्तरालमा प्रतिकित्ता २८३ रुपैयाँसम्म फाइनान्स कम्पनीको सेयर मूल्य बढेको छ ।

जानकी फाइनान्स, नेपाल फाइनान्स र पोखरा फाइनान्सको सेयर मूल्य एक महिनायता साढे १०० रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । यीबाहेक अरू फाइनान्स कम्पनीको पनि सेयर मूल्य बढेको नै छ ।

तर, वैशाख १७ गतेको तुलनामा १८ गते एन दिनमै ९ वटा फाइनान्स कम्पनीको सेयर मूल्यमा कमी आएको छ । लगातार मूल्य बढाएर ठूला लगानीकर्ताले उच्च विन्दुसम्म पुर्‍याएर फाइनान्सको सेयर बेच्न थालेपछि मूल्य घटेको हो ।

एकै दिनमा फाइनान्स कम्पनीको सेयर मूल्य ९६ रुपैयाँसम्म घटेको हो । यसरी उच्चरूपमा मूल्य घट्नेमा श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी छ । यस कम्पनीको सेयर मूल्य एकै दिन ९६ रुपैयाँ घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को तथ्यांकले देखाउँछ ।

यसका साथै पोखरा फाइनान्सको सेयर मूल्य ६६ रुपैयाँले घट्यो भने गोर्खाज फाइनान्सको सेयर मूल्य एकैदिन ३४ रुपैयाँ घट्यो । पछिल्लो एक महिनाको सेयर मूल्य हेर्दा गोर्खाज फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी घटेको छ ।

गत चैत १८ गतेयता गोर्खाज फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १६८ रुपैयाँ घटेको छ । प्रतिफल नै नदिने तर कम पुँजी भएका कम्पनीमा सेयरका ठूला खेलाडीहरूले खेल्दा सेयर मूल्य बढ्दै गएको छ । 'खेलाडी'कै कारण वित्तीय विवरण ऋणत्मक नै भएका कम्पनीहरूको सेयर मूल्य उच्च हुँदै जाने र एउटा विन्दुमा पुगेर पुनः न्यून विन्दुमा झर्ने अवस्था घटेको बजारमा पनि छ ।

२०७१/७२ मा सात प्रतिशत बोनस सेयर दिएको गोर्खाज फाइनान्सले हालसम्म कुनै पनि प्रतिफल दिएको छैन । तर, यही कम्पनीको सेयर मूल्य लगातार बढ्ने र घट्ने गर्छ । यस कम्पनीले लगानीकर्तालाई प्रतिफल नदिएकाले पनि बजारका 'खेलाडी'हरूलाई चलखेल गर्न अवसर भइरहेको देखिन्छ । पुँजी कम भएकै कारण यो कम्पनीको सेयर मूल्य उच्च रूपमा बढाउने र घटाउने गरिएको छ । हाल यो कम्पनीको चुक्तापुँजी ८७ करोड ७९ लाख ९३ हजार ७०० रुपैयाँ छ । सानो मात्रामा पुँजी भएकै कारण पनि यो कम्पनीमा खेलाडीहरूले खेल्ने अवसर पाएका छन् ।

सामाजिक सञ्जाल फेसबुक होस् वा क्लव हाउसमा हल्ला चलाएर यस्ता कम्पनीको सेयर मूल्यमा टाठाबाठा लगानीकर्ताले चलखेल गर्ने गरेका छन् । पुँजी कम हुँदा दुई चारजना सेयर बजारका खेलाडीले सेयर होल्ड गरेर राख्ने र उच्च विन्दुसम्म मूल्य पुर्‍याएर बेच्ने गरेका छन् । उनीहरूले करोडौँ रूपैयाँ यहीँबाट कमाउँछन् ।

यसरी ठूला लगानीकर्ताले चलखेल गरेको पत्तो नपाउँदा बजार नै नबुझेका सोझा लगानीकर्ता फस्ने गरेका छन् । उच्च विन्दुमा खरिद गरेको सेयर एक वर्षसम्म राख्दा पनि साँवा नआउँदा उनीहरूले घाटा खाएर नै बेच्नुपर्ने बाध्यता हुन्छ । 

न्यून विन्दुमा पुगेपछि त्यही सेयर ती नै लगानीकर्ताले किन्ने र फेरी अर्का लगानीकर्तालाई त्यसैगरी फसाउने गर्छन् । किनभने वर्षाैंदेखि घाटामा रहेका र प्रतिफल नै नदिने कम्पनीमा लगानी गर्दा सोझा र लोभले बजारमा प्रवेश गर्ने लगानीकर्ता फस्ने गरेका छन् । 

उदाहरणका लागि गोर्खाज फाइनान्सलाई पनि लिन सकिन्छ । पछिल्लो एक वर्षको तथ्यांक हेर्दा यो कम्पनीको सेयर मूल्य न्यून विन्दु साढे ४०० सम्म र उच्च विन्दु साढे ९०० सम्म पुगेको थियो । एक वर्षअघि साढे ९०० मा किन्नेले ५०० रुपैयाँ घाटा खाएर बेच्न बाध्य भएको पनि हुन सक्छ ।

बजार कुन समय बढ्छ वा कुन समय घट्छ भनेर कसैलाई थाहा हुँदैन । सेयरमा लगानी गर्ने भनेको कमाउनकै लागि हो । तर, सेयर बजारमा कमाउने भन्दा गुमाउने धेरै हुन्छन् । विश्वव्यापीरूपमा नै जब बजार बढ्छ, तब सबैतिर यसको चर्चा चल्छ । त्यही बेला कमाउने लोभ र लालचमा नयाँ लगानीकर्ता फस्ने सम्भावना बढ्छ ।

बजारमा लगानी गर्दा लगानीकर्ताले कम्पनीको आधारभूत पक्षहरू बुझ्नुपर्ने हुन्छ । प्रतिसेयर मूल्य, प्रतिसेयर नेटवर्थ, नाफा नोक्सान, लाभांश दिन सक्ने क्षमता, कम्पनीको व्यवस्थापन हेर्नुपर्छ । यसकासाथै पछिल्ला वर्षको लाभांश स्थिति बुझेर कारोबार गर्नुपर्छ ।

तर, प्रतिसेयर नेटवर्थ नै ऋणत्मक भएका कम्पनीको सेयर मूल्य अहिले उच्च दरले बढिरहेको छ । यही बेला बजार नै नबुझेका लागनीकर्ता बजारमा प्रवेश गर्दा फस्ने गरेका छन् । ठूला र 'टाठाबाठा' लागनीकर्ताहरू त एउटा विन्दुमा पुगेर बाहिर निस्किन्छन् ।

अहिले फाइनान्स समूहका कम्पनीमा लगानीकर्ता फस्ने जोखिम बढ्दै गएको छ । पछिल्ला दिनमा फाइनान्सको सेयर मूल्य लगातार बढे पनि यो स्थायी भने हुँदैन । फाइनान्स कम्पनीको मूल्य उच्च विन्दुमा पुगेको समयमा किन्ने जोसुकै लगानीकर्ता पनि फस्ने निश्चित छ । किनभने फाइनान्स कम्पनीहरूको वित्तीय अवस्था अहिले राम्रो छैन । कतिले त लाभांश पनि दिएका छैनन् । आगामी वर्ष पनि अधिकांश फाइनान्स प्रतिफल दिन सक्ने अवस्थामा छैनन् ।

लाभांश दिने फाइनान्सले पनि यो वर्ष न्यून दिए । मन्जुश्री फाइनान्सले यो वर्ष चुक्तापुँजीको करसहित ५.२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गर्‍यो । त्यसका साथै श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सले पनि करसहित ५.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । तर, बाँकी फाइनान्स कम्पनीहरूले कुनै पनि प्रतिफल नदिँदा पनि ती कम्पनीकै सेयर मूल्य उच्च छ । 

चैत मसान्तसम्म १५ मध्ये अधिकांश फाइनान्सको खुद नाफा घटेको छ । १२ वटाको वितरण योग्य नाफा ऋणत्मक छ । गत वर्षको चैत मसान्तसम्म १५ फाइनान्सले ३२ करोड ६१ लाख रुपैयाँ नाफा कमाएकामा यो वर्षको सोही अवधिमा ३५ करोड ५१ लाख रुपैयाँले नोक्सानीमा छन् ।

गोर्खाज फाइनान्सले चैत मसान्तसम्म ९ करोड १५ लाख नाफामा छ भने वितरणयोग्य मुनामाफा भने ५९ करोड ४७ लाख रुपैयाँ ऋणात्मक छ । 

यसका साथै जानकी फाइनान्स चैत मसान्तसम्म १० करोड ८६ लाख रुपैयाँ घाटामा छ । त्यस्तै, वितरण योग्य मुनाफा पनि ४५ करोड ७७ लाख रुपैयाँ नोक्सानीमा छ । तै पनि यो कम्पनीको सेयर मूल्य गोर्खाज फाइनान्स पछि नै महँगो छ । यी कम्पनीको पुँजी कम भएकाले पनि ठूला लागनीकर्ताले खेल्न सफल भएका हुन् । आगामी दिनमा यस्ता कम्पनीमा सामान्य लगानीकर्ता फस्ने निश्चित छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro