गत अप्रिल १५ बाट डेनमार्कमा विद्यालय पुनः सञ्चालन गरियो । महामारीकै बीचमा युरोपमा सबैभन्दा पहिला पढाइ सञ्चालन गर्ने देश डेनमार्क नै हो । यसैलाई पछ्याउँदै मे ११ बाट फ्रान्सले पनि पढाइ सुरु गरयो । क्रमशः इटली, स्पेन, जर्मन, नर्वेलगायतले डेनमार्कलाई पछयाउँदै कुनैले मन्टेसोरी तहबाट त कसैले माथिल्लो ग्रेडबाट विद्यालय सुुचारुरूपमा सञ्चालन गरेका छन् । तिनले भौतिक दूरी कायम गर्नेलगायतका सावधानी भने पूरै अपनाएका छन् । विद्यालय सञ्चालन गरेपछि संक्रमणको दर भने नबढेको पनि युरोपियन देशहरुले बताइसकेका छन् । महामारीकै बीचमा युरोपियन देशले विद्यालय पहिले खोल्ने ’ओपन स्कुल फस्र्ट’ को नीति अख्तियार गर्नुका केही वैज्ञानिक र व्यावहारिक कारण छन् । यो नेपालका लागि पनि उपयोगी हुनाले भएकाले विचारणीय छ ।
कारण १ : अहिलेको महामारीबाट सबैभन्दा कम प्रभावित बालबालिका नै हुन् । यो यथार्थलाई विश्व स्वस्थ्य संगठन र विभिन्न अनुसन्धानले पनि पुष्टि गरेका छन् । अमेरिकाको जोन हप्किन्स हेल्थ रिसर्च सेन्टरले गरेको नमुना सर्वेक्षणमा पनि १ देखि १४ वर्ष उमेर समूहका बालबालिकामा कोरोनाको असर अति कम परेको उल्लेख गरिएको छ । यसै तथ्यलाई डेनमार्कस्थित आरहुस युनिभर्सिटी हस्पिटलका एसोसिएट प्रोफेसर क्रिस्टियन वेज्सीले १९ वर्ष मुनिका बालबालिका कोभिड —१९ को कारण अस्पतालमा खासै भर्ना नभएको बताएर पुष्टि गरेका छन् — “बालबालिकामा अति कम असर देखिएको छ, अस्पताल भर्ना हुनेको संख्या नगण्य छ, त्यसैले डेनमार्कले स्कुल पुन संञ्चालन गर्न ढिला गरेन। ” प्रोफेसर वेज्सीले इन्डियन एक्सप्रेसको अनलाइन संस्करणमा भनेका छन् । “पूर्ण सजगता र सचेतताका साथ विद्यालय खोल्न किन ढिलाइ गर्ने ?” हो यिनै वैज्ञानिक तथ्य र प्रमाणका आधारमा युरोपका विकसित देशले बालबालिकाको पठनपाठन प्रभावित गर्न चाहेनन् । हाम्रोमा जस्तो जीवनभन्दा पढाइ ठूलो होइन भन्ने हठ गरिराखेको भए आज यी देशका बालबालिका पनि एउटा व्यावहारिक उद्देश्यका लागि गरिएको लकडाउनको सिकार भएर विद्यालय जानबाट वञ्चित हुने थिए । असर नै कम देखिएको बालबालिकाको समूहलाई विनाकारण पढ्न पाउने अधिकारबाट वञ्चित गर्नु पनि त न्यायसंगत हुँदैनथ्यो ।
कारण २ः महामारी र बालमनोविज्ञानसँग एक अर्कासँग सम्बन्धित छन् । युरोपियनहरु भावी पुस्ता अहिलेको भन्दा चुस्त र आधुनिक बन्नुपर्छ भन्नेमा विश्वास राख्छन् । त्यसका लागि खोज अनुसन्धानमूलक शिक्षा नै अहिलेका बालबालिकाका लागि आवश्यक छ । अनि यस्तो प्रकृतिको महामारी विगतमा पनि पटकपटक देखिएको थियो र आगामी दिनमा पनि आउनेमा आशंका छैन । अहिलेका बालबालिकाको मानसिकतामा महामारीसँग जुध्ने अस्त्र बन्दाबन्दी र कडाइ नै हो भन्ने गलत छाप नपरोस् भन्ने चाहन्छन् विकसित देशहरु । बाल मस्तिष्कमा परेको सही या गलत प्रभाव हटाउन कठिन हुन्छ । तसर्थ, यस्ता संकटसँग जुध्न गतिहीन प्रवृत्तिको बन्दाबन्दी नभई वैज्ञानिकले बनाउने खोपबाट मात्र सम्भव छ भन्ने ज्ञान बालबालिकाले लिन सकुन् भन्ने तिनको चाहना देखिन्छ । युरोपियनहरू भविष्यमा आउने यस्ता समस्याको हल गर्ने नाउँमा फेरि यस्तै विधि अवलम्बन नगरियोस् भन्ने चाहन्छन् । लकडाउन संक्रमण रोक्न आवश्यक सामाजिक दूरी कायम गर्न अपनाइएको व्यावहारिक अभ्यासमात्र हो । यो वैज्ञानिक उपाय होइन । यसर्थ बालबालिकाले अप्रमाणित यो शैलीलाई वैज्ञानिक विधि नमानुन् र खोज अनुसन्धान छोडेर भविष्यमा यस्तो शैली नअपनाउन् । यही उनीहरुको चिन्ताको विषय थियो । वास्तवमा विगतमा देखिएका विभिन्न महामारी बन्दाबन्दीले नभएर अनुसन्धानबाट पत्ता लागेको औषधि र सचेतनाका कारण निवारण गर्न सफल भएको हो ।
खोज र अनुसन्धानतर्फ उत्प्रेरित गर्ने शिक्षा बालबालिकाले विद्यालयमा शिक्षकको सामिप्यमा नै पाउन सक्छन् । नेपालले अहिले भनेको अनलाइन तथा डिजिटल पढाइ विकसित देशमा सामान्य अवस्थामा पनि चल्दै आएको हो । तर, बालबालिकाले शिक्षकसँगको प्रत्यक्ष सम्पर्कमा सिक्ने सिकाइको प्रभावकारिता र दिगोपनको महत्त्व उनीहरुले राम्रोसँग बुझेको देखिन्छ । यसैले वर्तमान विश्वमा विद्यालय शिक्षाको महत्त्व घट्नु भन्दा झन बढ्दो छ र यसलाई उनीहरुले यो विषम परिस्थितिमा पनि हृदयंगम गरे ।
कारण ३ः आर्थिक र सामाजिक कारण । युरोप, अमेरिका, अस्ट्रेलियालगायत देशमा अधिकांश अभिभावक आआफ्ना काममा व्यस्त हुन्छन् । त्यकारण उनीहरुलाई कार्यालय छोडेर घरमा आफनो बालबच्चा हेरेर बस्ने समय हँुदैन । महामारीका कारण ठप्प अर्थतन्त्रलाई चलायामान बनाउन पनि विस्तारै काममा फर्कनुको विकल्प थिएन । तसर्थ अभिभावकलाई काममा फर्कन बच्चाका कारण कठिन नहोस् भनेर पनि सजगताका साथ युरोपले ‘स्कुल फस्र्ट’को नीति लिएको हो । अनि लामो समय विद्यालय नगई परिवारमा सीमित हँुदा बालबालिकाको सामाजिकीकरण प्रक्रियामा पनि असर नपरोस् भन्ने उनीहरु चाहन्थे । यी सबैको आधार भने उनीहरुले विश्वास गर्ने वैज्ञानिक तथ्य, तथ्यांक र प्रमाण हुन् । युरोपियनहरूले न हिजो हतार गरेर आपातकाल घोषणा गरे न अहिले भरपर्दाे प्रमाणविना नै स्कुललाई प्राथमिकतामा राखेका हुन् ।
अब हामी चाहिँ लहडमा चल्ने कि वैज्ञानिक तथ्य र प्रमाणका आधारमा ?
नेपालमा किन नखोल्ने विद्यालय ?
अर्थतन्त्रमा आएको मन्दी त केही वर्षमा हल हुनसक्ला तर शिक्षामा मन्दी आयो भने देश दशकांै पछि पर्न सक्छ । महामारीको कारण गरिएको लकडाउनले अहिले नेपालमा ९० लाखभन्दा बढी विद्यार्थी नियमित पठनपाठनबाट वञ्चित छन् । कथित अनलाइन शिक्षाको प्रभावकारिताको धेरै चर्चा गर्नै परोइन । अब नेपालले पनि युरोपियनले जस्तै सजगता र सुरक्षा विधि अपनाएर बालबालिकालाई पठनपाठनमा फर्काउने कि जीवनभन्दा शिक्षा ठूलो होइन भन्ने कुतर्क गर्दै उनीहरुलाई पठनपाठनबाट वञ्चित गराउने ? त्यो मूलतः सरकारकै हातमा छ ।
कोरोनाको असर अझ केही वर्ष रहने वैज्ञानिकहरुले बताइसकेका छन् । हामी अझ कति वर्ष बालबालिकालाई विद्यालय पठाउनबाट रोक्न सक्छौँ ? या उनीहरुको भविष्य र पढाइप्रति खेलाँची गर्न सक्छौँं ? ढिलै भए पनि अपनाउने पर्ने शैलीलाई समयमै अपनाएर विद्यालय सञ्चालन किन नगर्ने ? यो गम्भीर प्रश्न हो ।
विद्यालयलाई क्वारेन्टिन स्थल बनाएरै राख्ने कि अध्ययन केन्द्र बनाउने समयमै सोचौँ । जीवन ठूलो त हो तर त्यसैका अलमल गरिरहँदा हजारौं विद्यार्थीले बन्दाबन्दीकै कारण पढाइ छोडे भने या केहीले नतिजा कमजोर आएकै कारण पढाइप्रतिको रुचि त्यागे भने घाटा कसलाई पर्छ ? स्वाभाविकरुपमा बालबालिकालाई पर्छ तर प्रकारान्तरले यो राज्यकै घाटा पनि हो । यसतर्फ किन नसोच्ने ? अरुले अपनाउन सकेको सजगता हामी अपनाउन सक्तैनौ भनेर बालबालिकालाई पनि हीनताबोधमा जीउन सिकाउने कि आधुनिक र ‘स्मार्ट’ बनाउने ?
विद्यालय खोलेपछि पनि संक्रमणको दरमा कुनै असर नपारेकाले युरोपलगायतका विकसित देशले विद्यालय सञ्चालनलाई निरन्तरता दिएका हुन् । वैज्ञानिक खोज र तथ्यमा आधारित भएर चल्ने कि लहड र भावनामा बग्ने समयमै सोचौँ । नेपालमा बढेको संंक्रमणको अनपेक्षित दर कडा बन्दाबन्दीकै बीचमा हो । वास्तविकतामा आधरित भएर तथ्यहरु विश्लेषण गरौँ । विनाऔचित्य र आधार विद्यालय बन्द गरेर महामारी रोक्ने उपाय बन्दाबन्दी नै हो भन्ने गलत छाप बालमस्तिष्कमा नपारौँ । फलस्वरूप, भविष्यमा यस्ता समस्या रोक्न उनीहरुले यस्तै अप्रमाणित बाटो नअपनाऊन् ।
लकडाउनलाई खुकुलो (लुजडाउन) गरेर सबै क्षेत्रलाई सामान्यतर्फ फर्काउन प्रयास गरिराखेका बेला स्कुल बन्द गर्नुको के औचित्य रहला ? अरु सबै बाहिर निस्कँदा कम असर परेका बालबालिकालाई घरमै थुनेर राख्नु विज्ञानसम्मत होला ? अझ नेपालको ग्रामीण भेकको चर्चा गर्ने हो भने त विद्यालय नगए पनि एउटै गाउँका साथीसँगीसँग भेटघाट नगरी, नखेली घरमै थुनिएर बसेका होलान् र ? अवश्य छैन । उसो भए ती बालबालिकालाई कथित सामाजिक दूरी कायम गराउने नाममा पढ्नबाट वञ्चित गर्नुको के अर्थ रहला ? यो विचारणीय विषय हो । बरु, विद्यालयबाट पाउने सुझाव र शिक्षाले नै दुर्गम गाउँका विद्यार्थीलाई भाइरससँग लड्न र सावधानी अपनाउन थप मद्दत मिल्नेछ । सहरी क्षेत्रमा पढ्ने विद्यार्थीको हकमा पनि यो लागू हुन्छ ।
सावधानी अपनाएर विद्यालय खोल्न आलटाल गर्नु बालबालिकाको शिक्षाप्रति गैरजिम्मेवार बन्नु हो । बजारमा हुलका हुल आवातजावात गर्दा, पसल र सुपर मार्केटमा भिड लाग्दा कोरोनाको वास्ता नगनेहरूले विद्यालयलाई मात्र महामारीको जोखिमको केन्द्र देख्नु गलत मानसिकताको उपज हो । अर्काेतर्फ अर्थतन्त्रलाई सञ्चालन गर्न र अभिभावकलाई नियमित काममा फर्कन पनि छिटो विद्यालय खोल्नुको विकल्प छैन ।
सामान्य विद्यार्थीको शैक्षिक स्तरको मापन विद्यालयको पढाइमा निर्भर रहेको हाम्रोजस्तो देशले लामो समय पठनपाठन ठप्प पार्दा स्वतः नतिजा खस्कनेछ । फलतः विद्यार्थीमा निराशा उत्पन्न हुनसक्छ । लामो बन्दाबन्दीले शिक्षकको सिर्जनशीलता पनि घट्न सक्ने र पूर्ववत् हुन लामो समय लाग्न सक्छ । यसैले क्षणिक स्वार्थ र लहडमा लागेर विद्यालय बन्द गर्ने कदमलाई निरन्तरता दिइनु हँुदैन । युरोपियनले अपनाउन सकेको सामान्य सावधानी हामी पनि अपनाउन सक्छौं भन्ने उच्च मनोबल निर्माण गरौँ । वैज्ञानिक र व्यवहारिक पक्षको विश्लेषण गरेर पठनपाठन सञ्चालन गर्नु नै बालबालिकाको हितमा हुनेछ । बन्दाबन्दीमा देखिएको हतारमा निर्णय गरेर उल्टो बाटो अपनाउने प्रवृत्ति शिक्षा क्षेत्रमा पनि नदोहोरियोस् । खोल्नै पर्ने विद्यालय बन्द गरेर अदूरदर्शिता नदेखार्औं । बरु पूर्ण सावधानी र अपनाऊँ !