site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मैदानमा फर्कन खेलाडी आतुर !

काठमाडौं । लामो समय प्रशिक्षणविहीन बनेका राष्ट्रिय खेलाडी यतिबेला संघले प्रशिक्षणका लागि कहिले डाक्छ भन्ने पर्खाइमा छन् । यता संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) भने सरकारको निर्णयको पर्खाइमा छ । राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्न सरकारसमक्ष प्रस्ताव गर्दै आएको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले बताउँदै आएका छन् ।

तर, खेलाडी भने प्रशिक्षणका लागि निकै नै छट्पटाहटमा छन् । मानौं कि उनीहरू क्रिकेटको फाइनल खेलको अन्तिम ओभरको अन्तिम बलको पर्खाइमा छन् । जहाँ उपाधि जित्ने निश्चित भएपछि सेलिब्रेसन गर्न मैदानमा भएको विकेट उठाउका लागि दौडिन बाउन्ड्री लाइनमा तम्तयार भएर उभिएका छन् । उनीहरू कति छिटो मैदानमा प्रवेश गरौं र उपाधिको सेलिब्रेसन गरौंला भन्ने छट्पटाहटमा छन् । हो, हाल त्यस्तै प्रशिक्षण गर्न नपाएका नेपाली खेलाडीहरू संघले कहिले बोलाउलान् र जाउँला भनेर पर्खेर बसेका छन् । 

यही छट्पटाहटकै कारण गत सातादेखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका केही खेलाडी प्रशिक्षणका लागि त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका थिए । आइतबारदेखि राखेपको स्वीकृति लिँदै नेपाल ब्याडमिन्टन संघले पनि राष्ट्रिय खेलाडीको प्रशिक्षण सुरु गरेपछि केही खेलाडी नियमित प्रशिक्षणका लागि राखेपको कबर्डहलमा पुग्ने गरेका छन् । सार्वजनिक यातायात नभएका बेला कोही साइकलमा, कोही स्कुटरमा त कोही हिँडेरै भए पनि त्रिपुरेश्वरस्थित राखेपको कबर्डहलमा पुग्ने गरेका छन् । 

५० मिनेट हिँडेर कबर्डहल
ब्याडमिन्टनको प्रशिक्षण दिन कोरियाली प्रशिक्षण सेओङ कुक चोई हिँडेरै नक्सालबाट कबर्डहल पुग्ने गरेका छन् । उनी नक्सालको क्राउन प्लाजा होटेलबाट बिहानै उठेर खेलाडीलाई प्रशिक्षण दिन करिब ५० मिनेट हिँडेर कबर्डहल पुग्ने गरेका छन् । तीन दिनदेखि ५० मिनेट हिँड्दै बिहान ८ बजे कबर्डहल पुग्ने गरेको प्रशिक्षक सेओङले सुनाए । उनी नेपालमा लकडाउनु सुरु हुनु एक साताअघि नेपाल आइपुगेका थिए ।

त्यस्तै कोरोनापछि सुरु भएको प्रशिक्षणका लागि कबर्डहल पुग्ने खेलाडीमध्येकी एक हुन् शोभा गौचन । उनी बिहानै उठेर ट्र्याकसुट लगाउँदै स्कुटरमा गोंगबुबाट प्रशिक्षणका लागि कबर्डहल पुग्छिन् । उपत्यकाभित्र सवारीसाधन आउजाउमा जोर–बिजोरको नियम लगाएको छ । उनको जोर नम्बरको स्कुटर छ । बिजोर सवारीसाधन चल्ने दिनमा उनी एपीएफको ट्र्याकसुट लगाएर कबर्डहल पुग्छिन् । 

“लामो समयपछि कोर्टमा फर्किन पाएका छौं । यसले छुट्टै आनन्द दिएको छ,” उनले भनिन्, “हामीलाई यस समयमा यति मात्रै भए पनि खेलाडीका लागि धेरै ठूलो विषय हो । किनभने खेल्नु नै हाम्रा लागि पेसा बनेको छ । यसले हामीलाई छिटो लयमा ल्याउन मद्दत गर्नेछ ।” 

कोरोना लागे पनि लागोस्, गएर प्रशिक्षण गरौंझैं लाग्छ
१३औं दक्षिण एसियाली खेलकुद (साग) कि स्वर्ण पदक विजेता कराते खेलाडी अनु अधिकारीले प्रशिक्षण गर्न नपाउँदाको छट्पटीले निकै सताएको बताइन् । कहिले संघले प्रशिक्षणका लागि बोलाउला र जान पाएलाजस्तो भएको बताइन् । 

“कहिले कहीं कोरोना लागे पनि लागोस् । प्रशिक्षण केन्द्रमा गएर प्रशिक्षण गरौंजस्तो पनि लाग्छ,” अनुले तीन महिना लामो बन्दाबन्दीको पीडा पोखिन्, “हामी आफैंले पनि सुरक्षा अपनाएर प्रशिक्षकसँग दिनको एक समय भए पनि प्रशिक्षण सुरु गर्न पाए हुन्थ्यो जस्तो लागेको छ । प्रशिक्षका लागि मनमा आजै जान पाए, भोलि नै जान पाए हुन्थ्यो भन्ने भइरहेको छ ।”

गत सातादेखि उपत्यकाभित्रका अन्य विभिन्न काम पनि विस्तारै सुरु भइरहेका बेला खेलकुद गतिविधि भने उही अवस्थामा छ । खेलकुद क्षेत्र बन्द राख्ने सरकारको निर्णयले खेलाडी निकै मर्कामा परेका छन् । धेरैजसो खेलाडीलाई खेलमा कसरी फर्किने भन्ने चिन्ता छ । 

“एक दिन प्रशिक्षण नगर्दा चिन्ता हुने गथ्र्यो । अहिले तीन महिना बितिसक्यो । घरभित्रै सामान्य प्रशिक्षण गरे पनि फिट नभइरहेको हो कि भन्ने मनमा अर्कै किसिमको छट्पटाहट आइरहेको छ,” उनले भनिन्, “मोटोपनको पीर पर्न थालेको छ । दिमाकले आफैंलाई प्रश्न गर्न थालिसकेको छ, हामी पहिलाको लयमा आउन सक्छौं कि सक्दैनौं ?”

ओलम्पिकको स्कलरसिपमा परेकी अनुले प्रशिक्षणको छट्पटाहटले ओलम्पिक कमिटी र राखेपमा क्लोज क्याम्प राखेरै भए पनि प्रशिक्षण हुनुपर्ने माग गरिन् । “हामीले आमेलम्पिक कमिटी र राखेपमा प्रशिक्षण गर्न पाउँ भनेर मागसमेत गरेका छौं । तर, खेलाडीलाई कोरोना संक्रमण भए कसले जिम्मा लिने भन्ने विषय पनि उठिरहेको छ,” उनले भनिन्, “प्रशिक्षकका अघि प्रशिक्षण गर्नु र आफैं प्रशिक्षण गर्नुमा धेरै अन्तर छ । हामी तीन महिनादेखि सेल्फ प्रशिक्षणमा छौं । यसले आगामी हुने प्रतियोगितामा प्रत्यक्ष असर पार्नेछ ।”

फुटबल नखेल्दा के नपुगे–नपुगेजस्तो लाग्दै छ 
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सुजल श्रेष्ठले आफू मैदानमा फर्किन आतुर भएको बताएका छन् । उनले मैदानमा गएर बल हान्न नपाउँदा निकै नै छट्पटी भएको बताए । “म मात्र होइन हामी सबै खेलाडी मैदानमा फर्किन आतुर छौं । सबै मैदानमा गएर बल हान्न नपाउँदा निकै नै छट्पटीमा छौं,” राष्ट्रिय फुटबल टोलीका कप्तान श्रेष्ठले भने, “तर, कुन कुराले खेल्न नपाएको भन्ने विषय पनि हामीले बुझ्न जरुरी छ । यो समय नखेल्नु नै राम्रो हो । समूहमा भेला नहुनु नै राम्रो हो । तर, खेलाडीलाई नखेलेरै बस्न के नपुगे–नपुगेजस्तो लाग्दो रहेछ ।”

प्रशिक्षणका लागि संघले कहिले डाक्छ भन्ने आफूलाई लागिरहेको उनले बताए । उनले यो महामारीको अन्त्य चाँडै होस् भन्ने कामनासमेत गरे । “सुरक्षा अपनाएर संघले प्रशिक्षणमा बोलाओस् भन्ने छ । युरोपतिर प्रतियोगिता नै सुरु भइरहेका छन् । हाम्रोमा युरोपको जस्तो त्यस्तो स्वास्थ्य सामग्री नहोला । तर, जे छ त्यसै सुरक्षा अपनाएर भए पनि छिटै प्रशिक्षणमा बोलाओस् भन्ने छ,” उनले भने ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro