काठमाडौं । कर्णाली प्रदेशमा खेलकुद गतिविधि प्रायः कमै मात्रमा हुन्छन् । सामान्य खाले खेलकुद प्रतियोगिता बाहेकका ठूला प्रतियोगिता भने कर्णालीमा शून्य छन् ।
खेलकुदमा कर्णालीको विगत सम्झन लायक छैन । भौगोलिक विकटता र अभावले भरिएको कर्णाली खेलकुद क्षेत्रमा पनि निकै पछि छ । त्यसको गतिलो उदाहरण हो प्रदेश पाँचमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णविहीन हुनु । यसको मतलब खेलकुदको सम्भावना नभएको भने होइन ।
थोरैमात्र लगानी गर्ने र नतिजा खोज्ने प्रवृत्तिमा खेलाडी पिल्सिरहेका बेला कर्णालीमा पनि त्यसैको असर छ । सरकारको लगानी न्यून रहे पनि कर्णालीले राष्ट्रिय खेलाडी उत्पादनमा भने कुनै कसुर बाँकी राखेको छैन । देश विदेशमा नेपालको झण्डा फहराएका धावक हरि रोकाया, विश्वरुपा बुढा र फुटबलका रोहित चन्द लगायतका धेरै खेलाडी कर्णालीले जन्माएको छ ।
सरकारले उचित लगानी गरेमा कर्णाली प्रदेशले आगामी केही वर्षमा नै खेलकुद क्षेत्रमा अब्बल हुन सक्ने खेलकुद विज्ञ बताउँछन् । खेलकुद प्रतियोगिता शून्य हुँदा र खेलकुदमा भौतिक पूर्वाधार शून्य हुँदा पनि कर्णालीमा खेलकुद क्षेत्र खस्किँदो मात्रामा छ ।
आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दा अर्थमन्त्री युवराज खतिवडाले खेलकुद क्षेत्रको विकासका लागि उच्च पर्वतीय खेल कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको घोषणा गरे । उनले खेलकुद पूर्वाधारको अभाव भएको कर्णाली प्रदेशमा खेलकुद सञ्चालन हुनसक्ने गरी राष्ट्रिय पूर्वाधार विकासका गर्न बजेट विनियोजन गरेको पनि बताए ।
यसअघि उच्च पर्वतीय प्रशिक्षण केन्द्रबारे धेरै अध्ययन र छलफल भने नभएका होइनन् । यसको सम्भावनाका विषयमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र विभन्न संघसंस्थाहरूले अध्ययन गरेका थिए ।
यसैका लागि भन्दै सरकारले बर्सोनि बजेट समेत विनियोजन गर्दै आएको थियो । बजेट विनियोजन भए पनि काम भने सुरु हुन सकेन । जस कारण यस शीर्षकमा छुट्याइएको बजेट ‘फ्रिज’ हुँदै आएको थियो ।
यो वर्षको बजेट भने अलि फरक ढंगले छुटाएको छ । सरकारले कर्णाली प्रदेशकै लागि मात्र भनेर बजेट छुट्याएको हो । कर्णालीको खेलकुदका लागि सरकारले चालेको यो ठूलो कदम पहिलो पटक हो । तर, यो पटकको कार्यक्रम पनि लागु हुन्छ हुन्न भने दोधार भने छ । यदि यो कार्यक्रम लागु भएमा कर्णालीको खेलकुद क्षेत्रले ठूलो फड्को मार्नेछ ।
तर, अघिल्लो वर्ष जस्तै बजेट आउने कार्यान्वयन नभएर फिर्ता जाने भएमा भने कर्णालीको खेलकुद क्षेत्रमा विकासप्रति पलाएको आशा निराशामा बदलिनेछ । उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्र निर्माण गर्ने कार्य अन्तर्गत हाल जुम्लाको गुठिचौरलाई मुख्य केन्द्र विन्दु बनाइएको छ ।
जुम्लाको गुठिचौरमा पूर्व राखेप सदस्यसचिव केशवकुमार विष्ट गएर अवलोकन गरेका थिए । उनले जुम्लामै पुगेर अवलोकन गरे पश्चात् जुम्लामा यो कार्यक्रम लागु गर्दा सहज हुने बताएका थिए ।
कर्णालीको जुम्ला जिल्ला मात्र नभएर मुगु, डोल्पा, जाजरकोट लगायतका क्षेत्रमा पनि उच्च पर्वतीय प्रशिक्षण केन्द्रको सम्भावना छ । अझ भनौं मुगुको रारा क्षेत्रमा उच्च पर्वतीय प्रशिक्षण केन्द्र स्थापनाका लागि अर्को केन्द्रका रूपमा हेरिएको छ ।