काठमाडौं । मध्यराति १२ बजेको समयमा ईलाका प्रहरी कार्यालय कोहलपुरमा बाँकेको ठुरिया जंगलमा सवारी दुर्घटनाबारे खबर पुग्यो । खबर पुगेपछि प्रहरी घटनास्थल पुग्यो । लकडाउनको समयमा सुरुमा सामान्य दुर्घटना होला भन्ने प्रहरी अनुमान थियो तर घटनास्थल पुग्दा दृश्य विभत्स र भयानक थियो ।
मध्यराति नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको थियो ।
सोही क्रममा गाडीमा सवार ११ जनाको घटनास्थलमै र १ जना भेरी अस्पतालमा ज्यान गएको हो । घटनास्थल पुगेको प्रहरीलाई अर्को समस्या थियो– दुर्घटना भएको जंगलमा सहज रुपमा मोवाइल नेटकर्वले काम नगर्नु ।
घटनास्थल पुगेका एक प्रहरी भन्छन्,“त्यो दृश्य शब्दमा वर्णन गर्न निकै कठिन छ । निकै विभत्स, भयानक र कहालीलाग्दो । हामी उद्धार गरिरहेका थियौं । जिल्ला, इप्रका कोहलपुरले उनीहरुलाई अस्पतालसम्म लैजान एम्बुलेन्सलगायत सवारीको व्यवस्था गरिरहेको थियो । हामी उद्धार गरिरह्यौं, घाइतेहरु रोइरहे ।”
प्रहरीका अनुसार चामल लोड गरेको ट्रक बिग्रिएपछि जंगलमा रोकिएको थियो । ट्रकमा सहचालक थिए भने चालक ट्रक मर्मत गर्ने समान लिनका लागि नेपालगञ्ज गएका थिए । ट्रकमा ठोक्किएको गाडी सुर्खेतबाट २ जना भारतीयलाई सीमासम्म छोड्नका लागि आएको खुलेको छ ।
फर्किने क्रममा भारतबाट स्वदेश फर्र्किएका सल्यानबासीलाई लगिरहेको थियो । तर बाटोमै दुर्घटनामा पर्यो । कोही घर पुग्नै पाएनन्, कतिपयको अवस्था अझै गम्भीर छ । घटनास्थल पुगेका एक प्रहरी अधिकारीले भने,“ट्रकसँग ठोक्किएको फोर्स गाडीले ट्रकलाई नै ३० मिटरसम्म पर धकेलेको छ । पुरै कच्याककुचुक भएको छ । यस्तो त फिल्मको दृश्यमा मात्रै देखिन्छ ।”
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर वलीका अनुसार दुर्घटनाका मृतक र घाइते सबैलाई भेरी अस्पताल ल्याइएको छ । घाइतेमध्ये ५ को अवस्था गम्भीर छ । कसैको पनि सनाखत हुन सकेको छैन । उद्धार प्रहरीसँगै नेपाली सेनासमेत जुटेको थियो ।