काठमाडौं । अन्तरजातीय प्रेमको विषयलाई लिएर तीन जनाको ज्यान जाने गरी रुकुम पश्चिममा भएको घटनालाई लिएर मंगलबार प्रतिनिधिसभा बैठकमा गरमागरम भएको छ । सभामुख अग्नि सापकोटाले बैठक सुरु गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र समाजवादी पार्टीका सांसदहरू उठेका थिए । त्यसलगत्तै उनले सांसद मीन विश्वकर्मालाई बोल्नका लागि समय दिएका थिए ।
सांसद विश्वकर्माले घटनाको भर्त्सना गर्दै संसदीय छानबिन समिति बनाउन माग गरे । अरू केही सांसदले पनि घटना निन्दनीय भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गर्दै गृहमन्त्रीसँग जवाफ माग गरे ।
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सभामुख सापकोटाले गृहमन्त्री रामबहादुर थापालाई समय दिए । बोल्नका लागि रुकुमकै सांसद जनार्दन शर्मा उठेपछि कांग्रेसका सांसदहरूले विरोध गरे । कांग्रेस सांसदहरू उठे पनि सभामुखले शर्मालाई संक्षिप्त कुरा राख्न भनेपछि शर्माले बोल्न सुरु गरे ।
बैठकमा कांग्रेसका सांसदहरूले विरोध गर्दै होहल्ला गरे । सांसद शर्माले आफ्नो क्षेत्रको घटना भएको भन्दै आफूले बोल्न पाउनुपर्ने बताए । उनले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने भन्दै घटनाको राजनीतीकरण नगर्न आग्रह गरे । उनले आफूले बोल्दै गर्दा अवरोध गर्न खोजिएकोमा पनि आपत्ति जनाए ।
त्यसपछि कांग्रेस सांसद प्रकाश रसाइलीले आफूहरूले गृहमन्त्रीको जवाफ चाहेको बताए । उनले भने, “पूर्वगृहमन्त्री भएका कारणले उहाँलाई सूचना पनि होला । त्यो भोलि छानबिनका क्रममा आउला । हामीले अहिले गृहमन्त्रीसँग केके जानकारी छ सांसदलाई जानकारी होस् भनेका हौँ ।”
२ साताभित्र छानबिन प्रतिवेदन दिन भनेका छौं : गृहमन्त्री
गृहमन्त्री थापाले जवाफका क्रममा २ साताभित्र घटनाको छानबिन प्रतिवेदन दिन भनिएको जानकारी दिए । गृहमन्त्रालयले मंगलबार नै ५ सदस्यीय छानबिन समिति गठन गरेको भन्दै दोषीमाथि कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता पनि जनाए ।
उनले केटा पक्ष र केटी पक्षबीच लखेटालखेट हुँदा आफ्नो ज्यान जोगाउनका लागि केटा पक्ष भेरी नदीमा हाम फालेको पनि बताए । केटी लिनका लागि केटा पक्षबाट १९ जना रुकुम गएको, १ जना बाटोबाटै फकिर्एको, तीन जनाको मृत्यु भएको, बेपत्ता भएकाहरूको खोजीका लागि गोताखोर खटिएको जानकारी गराउँदै घटनामा संलग्न भएको आशंकामा १२ जनालाई पक्राउ गरेको मन्त्री थापाले जानकारी दिए ।
उनले यो घटनालाई राजनीतीककण गर्ने हो भने छानबिनमा बाधा पुर्याउने भन्दै राज्यकातर्फबाट राजनीतीकरण नहुने प्रतिबद्धता पनि व्यक्त गरे । छानबिन समितिको प्रतिवेदन आएपछि पीडित परिवारलाई क्षतिपूर्ति दिनेबारे सरकारले सोच्ने पनि बताए ।
संसदीय छानबिन समिति बनाउन माग
नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले रुकुम पश्चिममा तीन जनाको ज्यान गएको घटनामा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा रुकुमको चौरजहारीमा अन्तरजातीय प्रेमका कारण भएको घटनाको अनुसन्धान र छानबिनका लागि प्रतिनिधिसभाअन्तर्गतको संसदीय समिति बनाउन माग गरेका हुन् ।
जेठ १० गते जारकोटका नवराज विक र रुकुम पश्चिमकी एक ठकुरी युवतीबीच प्रेम रहेको र विवाहका लागि साथीसहित जाँदै गरेका उनीहरूमाथि हमला भएको घटना निन्दनीय भएको पनि उनले बताए । सो क्रममा ज्यान जोगाउन भेरी नदीमा हाम फाल्दा नवराज विकसहित तीन जनाको ज्यान गएको छ भने तीन जना अझै बेपत्ता रहेको उनले बताए ।
घटनाका दोषीमाथि कारबाही, बेपत्ताको खोजी र पीडित परिवारलाई क्षतिपूर्तिका विषयमा उनले गृहमन्त्री रामबहादुर थापासँग जवाफ पनि माग गरे । उनले राजनीतिक दबाब र प्रभावमा मुद्दा तोडमोड गर्न खोजिएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।
त्यस्तै, अर्की सांसद पार्वतीकुमारी विशुंखेले अन्तरजातीय विवाहका कारण भएको घटना निन्दनीय भएको बताइन् । प्रेमलाई वैवाहिक सम्बन्धमा परिणत गर्न गएकालाई चौरजहारी वडा नं ८ का अध्यक्षको नेतृत्वमा आक्रमण गरिएको पनि उनले बताइन् ।
घटनामा ज्यान गुमाएका नवराज विक, टीकाराम नेपाली र गणेश बुढामगरको शव भेटिए पनि लोकेन्द्र सुनार, सन्जु विक र गोविन्द शाही अझै बेपत्ता रहेको उनले बताइन् । सांसद विशुँखेले घटनाको सत्यतथ्य छानबिन गरी संलग्न दोषीमाथि कडा कारबाहीको माग गरिन् । उनले सरकारले उच्चस्तरीय समिति बनाएर घटनाको छानबिन गर्नुपर्ने माग गरिन् ।
त्यस्तै, अर्की सांसद रेणुका गुरुङले राष्ट्रिय मानवअधिकार आयोग र दलित आयोगलाई घटनाको छानबिन गर्न माग गरिन् । उनले घटनामा ज्यान गुमाएकाहरूलाई साँस्कृतिक रूपान्तरण सहिद घोषणा गर्न पनि माग गरिन् ।