
जनकपुर । गत वर्षको भुक्तानी विवादले लामो समयदेखि स्थगित रहेको प्रदेशसभा जेठको चौथो साता बस्ने भएको छ । अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न जेठ २४ सभा बोलाउने तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।
प्रदेशसभा गठन भएयता लालबाबु राउत नेतृत्वको सरकारले तेस्रोपटक नीति तथा कार्यक्रम ल्याउन लागेको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश प्रमुख भने फेरिइसकेका छन् । यसअघि दुईवटा नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका रत्नेश्वरलाल कायस्थको स्थानमा तिलक परियार आएका छन् । परियारले पहिलोपटक प्रदेश २ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
नीति आयोगले आव ०७७/७८ का लागि नीति तथा कार्यक्रम तयार गर्ने जिम्मेवारी पाएको छ । प्राडा भोगेन्द्र झाको नेतृत्वमा भइरहेको यो कार्य जेठ २१ सम्म पूरा भइसक्ने जनाइएको छ । नीति तथा कार्यक्रम बनाउन विभिन्न मन्त्रालयका सचिवहरूले पनि सहयोग गरिरहेको र जेठको तेस्रो साताभित्र यो कार्य पूरा हुने आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।
पत्रकारलाई प्रवेश नदिइने
प्रदेशसभामा कोभिड १९ को संक्रमणबाट जोगिन प्रदेशसभा सदस्यहरूलाई दूरी कायम गरी बस्ने व्यवस्था मिलाउन लागिएको सचिवालयले जनाएको छ । पुरानो क्षेत्रीय शिक्षक तालिम केन्द्रको सभाकक्षलाई प्रदेशसभा भवनका रूपमा कायम गरिएको छ ।
यसअघि बीचको फराकिलो ठाउँमा सांसदहरूलाई बस्ने टेबुल र कुर्सीको व्यवस्था गरिएको थियो भने दायाँपट्टि अतिथि र बायाँपट्टि पत्रकार तथा पार्टी प्रतिनिधिलाई बस्न तोकिएको थियो । समान्य अवस्थामा पनि प्रदेशसभा बैठक सञ्चालन हुँदा त्यसैगरी सञ्चारकर्मी बस्ने व्यवस्था थियो, छ । यस वर्ष प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सांसदको दूरी कायम गर्ने क्रममा ठाउँ अभाव भएको भन्दै अतिथिलाई आमन्त्रण नगर्ने र पत्रकारलाई प्रवेश गर्न नदिने प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
“सञ्चारकर्मीहरूका लागि बाहिर टेलिभिजन राखेर प्रत्यक्ष प्रसारण गर्ने व्यवस्थासम्म गर्न सकिन्छ,” यादवले बाह्रखरीसँग भने, “यसअघि भइरहेको जस्तो प्रदेशसभा कक्षमै सञ्चारकर्मीलाई बस्ने व्यवस्था मिलाउन गाह्रो छ ।” भित्र ठाउँ अभावका कारण यसपालि अतिथिहरूलाई पनि सकभर आमन्त्रण नगर्ने पक्षमा सचिवालय रहेको उनले बताए ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सभामा स्थानीय क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य, विभिन्न सरकारी निकाय तथा सुरक्षा निकायका प्रमुखहरूलाई पनि आमन्त्रण गरिन्थ्यो । यस वर्ष प्रतिकूल अवस्थालाई ध्यानमा राखेर सतर्कता अपनाउन यस्तो गर्न लागिएको प्रदेशसभा सचिवालयका सचिव यादवले बताए ।