site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बराबरीको हैसियतमा भारतले नेपालसँग वार्ता गर्नुको विकल्प छैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । यसअघि भारतले नेपाली भूमि समेटर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको भन्दै नेपालले असन्तुष्टि र विरोध जनाउँदै आएको थियो । नेपालले भारतले नक्सामा राखेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भए पनि भारतले आफ्नो नक्सामा राखेर छिमेकीको विश्वासमा प्रहार गरेको जनाएको थियो । 

नेपालले उक्त विषयमा विरोध जनाउँदा भारतलाई वार्ताका लागि आह्वान गरेको थियो । तर, भारतले तत्काल उक्त भूमि भारतकै भएको र भारतले नेपालको कुनै भूमि समेटर नक्सा सार्वजनिक नगरेको दाबी गरेको थियो । नेपालसँग उक्त क्षेत्रमा सीमा समस्या सुल्झिन बाँकी रहेकोले वार्तामार्फत सुल्झाउने बताएको थियो । तर, नक्सा सार्वजनिक भएको ६ महिनापछि सोही क्षेत्र हुँदै चीनको मानसरोवर जाने सडकमार्गको उद्‌घाटन गर्‍यो ।

विवादित भनेर स्वीकार गरिएकै क्षेत्रमा सडक उद्‌घाटन गरेर भारतले कूटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै नेपालले उक्त क्षेत्रमा कुनै पनि गतिविधि नगर्न नगराउन आग्रह गर्‍यो । तर, भारतले सडक बनाइएको भूमि पूर्णरुपमा भारतको भएको दाबी गर्‍यो । यसअघि सन् २०१५ मा नेपालको अनुपस्थितिमा लिपुलेकलाई भारत र चीनको व्यापारिक नाका बनाउने भारत-चीनबीच सहमति भएको थियो । नेपालले उक्त विषयमासमेत आपत्ति जनाएपछि चीन सच्याउन तयार रहेको प्रतिक्रिया दिए पनि भारतले कुनै प्रतिक्रिया दिएन ।

Prabhu Bank
Agni Group
NIC Asia

पटक-पटक नेपालको आग्रह अस्वीकार गर्दै एकतर्फी अतिक्रमण गर्न थालेपछि नेपालका राजनीतिक दल, सीमाविद्, परराष्ट्र मामिला विज्ञ, नागरिक समाज र आमजनताको दबाबपछि सरकारले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गर्‍यो । कुनै पनि विषयमा तत्काल प्रतिक्रिया जनाउने भारत अहिले मौन छ । भारतले आधिकारिकरुपमा कुनै पनि विज्ञप्ति अथवा नेपालको नक्सा सार्वजनिक विषयमा आफ्नो धारणा व्यक्त गरेको छैन । 

यसअघिका सीमासम्बन्धी हरेक वक्तव्य र नेपालका निर्णयहरुमा भारतले तत्काल प्रतिक्रिया दिएको थियो । तर, अहिले भने भारतले तीन दिनसम्म पनि कुनै प्रतिक्रिया दिएको छैन । चीनले भने मंगलबार कालापानी नेपाल-भारतबीचको मुद्दा भएको र दुई छिमेकीले एकतर्फी हस्तक्षेप रोकेर मित्रवत परामर्शमार्फत समस्या समाधान गर्ने आशा व्यक्त गरेको थियो । यसअघि भारतीय मिडियाहरुले चीनलेसमेत लिपुलेक भारतीय भूमि भएको स्वीकार गरेको बताएका थिए । चीनले पनि मंगलबार कालापानी (जहाँ भारतीय सेनाले कब्जा गरेर बसिरहेको छ) मात्रै उल्लेख गरेको थियो, लिपुलेक र लिम्पियाधुराको विषयमा चीनले कुनै कुरा उठाएको छैन ।

Global Ime bank

भारतीय मिडियाहरुले भने एकोहोरो भारतीय भूमि समेटेर नेपालले नक्सा सार्वजनिक गरेको दाबी गरिरहेका छन् । भारतीय मिडियाका अनुसार सन् १८१६ मा भएको सुगौली सन्धि बमोजिम कालीनदीको मुहान लिपुलेकलाई मानेका छन् । तर, नेपालका सीमाविद्‌हरुले भने लिम्पियाधुरा नै कालीनदीको मुहान मानेका छन् । सन् १८१६ को सुगौली सन्धिअनुसार काली नदीको पूर्वको भाग नेपालको भनेको छ । तर, भारतले सन् १९६२ देखि नै उक्त क्षेत्र कब्जा गरी काली नदीको मुहान नै परिवर्तन गरिदिएका छन् । 

यसअघि भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेले भारतले आफ्नै भूमिमा सडक निर्माण गरेको दाबी गरेका थिए । "यसमा मैले कुनै विरोधाभाष देखेको छैन ।  नेपाली राजदूतले भनेका छन् । हामीले काली नदीको पश्चिमी भागमा सडक निर्माण गरेका हौं । नेपालले काली नदीको पूर्वी भागलाई आफ्नो भूभाग भनेर स्वीकार गरेको हो । त्रिदेशीय विन्दुको सम्बन्धमा त्यहाँ अहिले पनि विवाद रहेन"  उनले चीनतर्फ संकेत गर्दै भनेका थिए, "कुनै देशको उक्साहटमा नेपालले यो मुद्दा उठाएको छ ।"

भारतीय सेनाप्रमुखको अभिव्यक्ति गैरजिम्मेवार र आपत्तिजनक भएको भन्दै भारतले आफूले बोल्नुपर्ने विषयमा सेनालाई बोल्न लगाएको आरोप नेपाली परराष्ट्र मामिलाका जानकारहरुले लगाएका छन् । भारतीय सेनाको नियमानुसार कुनै राजनीतिक र कूटनीतिक विषयमा सेनाले सार्वजनिक अभिव्यक्ति दिन नपाइने प्रावधान भए पनि सेना प्रमुखले दिएको अभिव्यक्तिका विषयमा पनि भारत मौन छ । 

नेपाल चीनको प्रतिनिधिका रुपमा अभिनय गरिरहेको आरोप

भारत आफू मौन भएर यस विषयलाई अन्यमार्फत बोल्‍न लगाइरहेको नेपाली विज्ञहरुले बताएका छन् । भारतीय परराष्ट्र विज्ञहरुले न्युज एक्ससँग कुरा गर्दै नेपाल चीनको प्रतिनिधिको रुपमा चलिरहेको आरोप लगाएका छन् । 

दी सन्डे गार्जियनका सम्पादकीय निर्देशक तथा मनिपाद विश्‍वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख माधव नालपाटले केही नेपालका मानिसहरुले चीनलाई खुसी पार्नका यस्तो गतिविधिहरु गरिरहेको आरोप लगाएका छन् । 

उनले भनेका छन्, "नेपालका केही मानिसहरुले चीनलाई खुसी पार्नका लागि यस्ता गतिविधिहरु गराइरहेका छन् । यसमा पाकिस्तानको समेत संलग्‍नता रहेको छ । वास्तवमा नेपालको भारतसँग एकदमै राम्रो र नजिकको सम्बन्ध छ । वास्तवमा भन्‍ने हो भने नेपाल-भारतबीच सीमा नै छैन । त्यसकारण नेपालले क्षणिकका लागि भारतसँग यस्तो व्यवहार गर्नु दुखद हो ।"

उनले भारतीय सेना प्रमुखले दिएको अभिव्यक्तिबाट पनि नेपाल रिसाएको बताएका छन् । उनले भने, "राष्ट्रिय सुरक्षाको विषय भारतीय सेना प्रमुखले सार्वजनिक मञ्‍चबाट भन्‍नु हुँदैनथ्यो । यो 'सेन्स अफ इस्यु' बनेको छ । भारतले पनि दोहोरो नीतिले कन्फ्युज भएको छ । त्यस्तो दोहोरो कूटनीतिको अन्त्य गर्दै स्पष्ट रुपमा अघि बढ्‍नुपर्छ ।" 

त्यसैगरी भारतीय कूटनीतिज्ञ तथा नेपालसम्बन्ध विज्ञ प्रोफेस एसडी मुनीले करिब ६०-८० वर्षदेखि भारतीय सेना कालापानीमा बसिरहेको छ । त्यती लामो समयदेखि नेपाललाई आफ्नो सीमा र भूमिको बारेमा किन प्रवाह नभएको भन्दै प्रश्‍न गरेका छन् । उनले भने, "विगत ६०-८० वर्षदेखि शान्त रहेको नेपाल अहिले आएर बोल्नुमा कुनै कारण छ ।"

प्रोफेसर मुनीले सन् १८१६ मा बेलायतसँगको सम्झौताका क्रममा नेपाल-भारत सीमा कालीनदीले छुट्याएको उल्लेख गर्दै भने, "भारतले सडक बनाएको र नक्सामा राखेको भूमि काली नदी पश्‍चिमको भाग हो । पछिल्लो समय बोल्नुमा दुईवटा मुख्य कारणहरु छन् । पहिलो भनेको नेपालको आन्तरिक राजनीतिमा देखिएका सबै द्वन्द्वहरुलाई डाइभर्ट गर्न प्रधानमन्त्रीले यो चाल चलेका हुन् । दोस्रो भनेको नेपालमा एन्टि-इन्डियन मानसिकता बढ्दो छ । जसलाई नेपाल सरकारले उपयोग गरेको हो ।" 

त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ स्वर्ण सिंहले नेपालले चीनको उक्साहटमा पछिल्ला भारतविरुद्धका गतिविधिहरु गरिरहेको आरोप लगाएका छन् । उनले भने, "नेपालले पहिलो त चिनियाँ सहयोगबाट सुसज्जित सुरक्षा फौज सशस्त्रलाई सीमामा पठाएको छ । त्यहाँ पहिलेदेखि नेपाल प्रहरी भए पनि सशस्त्र पठाएको  छ । चीनले विगत चार-पाँच वर्षयता सशस्त्रलाई ठूलो सहयोग गरिरहेको छ ।"  

उनले नेपालको राजनीतिक संकट पार लगाउन चिनियाँ राजदूतले लगाएको गुणको ऋण तिरेकोसमेत आरोप लगाएका छन् । उनले भने, "नेपालमा सरकारले केही काम गरेन भनेर व्यापक आलोचना भएर सरकार ढल्ने स्थितिमा थियो । चिनियाँ राजदूतले प्रमुख नेताहरुलाई भेटेर संकट पार लगाइ दिए । नेपालका राष्ट्रपतिलाई फोन गरेर चिनियाँ राष्ट्रपतिले आन्तरिक राजनीतिक विवाद समाधानमा भूमिका खेले । यी विभिन्‍न कुराले नेपाललाई चीनले इन्फ्लुयन्स गरिरहेको छ ।" 

भारतीय पूर्व सैनिक मेजर जनरल डा. जीजी दि्वभेदीले कालीनदी पश्‍चिमको भाग भारतको भएको दाबी गरेका छन् । उनले अहिले दक्षिण एसियालगायतका क्षेत्रमा चिनियाँ पहुँच बढ्दै गएको र त्यसको प्रभाव नेपालमा परेको बताएका छन् । 

उनले भने, "चीनले विभिन्‍न माध्यमहरुबाट आफ्नो पहुँच विस्तार गर्दै गएको छ । नेपाल-चीन सम्बन्ध अहिले निकै राम्रो छ । यसअघि भारत भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिन पिङ नेपाल पुगेर महत्वपूर्ण सम्झौता गरेका छन् । भारतप्रति चिनियाँ राष्ट्रपतिको व्यवहार पूर्वाग्रही भएको बुझ्‍न सकिन्छ । काठमाडौंमा पुगेका राष्ट्रपति सीले हिमालय-पार रेलवे लाइन विस्तार गर्ने लोभ देखाएका छन् । अन्य विभिन्‍न क्षेत्रमा समेत चीनको उपस्थिति बाक्लो भएको छ ।" 

भूराजनीतिक हिसाबमा सीको गेम प्लानअनुसार नेपाल चलिरहेको उनको आरोप छ । उनले भने, "भारतप्रति नेपाल पहिलेदेखि सन्तुष्ट नभएको अवसरलाई उपयोग गरेको छ । हामीले बराबरीको हैसियतमा नेपालसँग डिल गर्नुपर्छ र नेपालमा चिनियाँ उपस्थिति घटाउनुपर्छ ।" 

भारतीय विज्ञहरुले यी विविध आरोप लगाए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको उक्साहटमा नलागेको बताएका छन् । उनले मंगलबार भनेका थिए, "नेपाल कसैको उक्साहटमा लागेको छैन । नेपाल आफ्नो भूमि फिर्ता लिएरै छोड्छ । आफ्नो राष्ट्रियताको र सार्वभौमसत्ताको रक्षाको पक्षमा बोल्दा कसैको उक्साहटमा लागेको हुँदैन । म भारतलाई सोध्‍नेवाला छु - सत्यमेव जयते कि सिंहमेव जयते ?" 

सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान र कालीनदी पूर्वको भाग नेपालको भएको उल्लेख गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement