
जनकपुर । जनकपुरमा मंगलबारमात्रै १८ जना कामदार भारतबाट फर्केपछि स्थानीय तहलाई व्यवस्थापन गर्न हम्मे पर्यो । धनुषामा सोमबार ६९ र आइतबार ६१ जना भारतबाट फर्केको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जनाए ।
यसअघि एकजना वडा अध्यक्षले वडास्तरमा एउटा क्वारेन्टाइन बनाएपनि जनकपुरधाम उपमहानगरपालिकाको तर्फबाट कतै व्यवस्था गरिएको थिएन । भारतबाट कामदारहरु फर्किन थालेपछि मंगलबारै आकस्मिक रुपमा ३१ वेडको क्वारेन्टाइन सञ्चालन गरेको छ । पछि एक सय बेड व्यवस्थापन गर्नेगरी उपमहानगरले तत्काल रामचोकस्थित गोपाल धर्मशालामा उक्त क्वारेन्टाइन निर्माण गरेको हो ।
क्वारेन्टाइनमा बस्नेहरुका लागि फ्री वाईफाई, खेलकुद सामग्री, बाल्टिन र मग, गम्छा, झुलदेखि व्यक्तिगत सफाइका लागि आवश्यक सम्पूर्ण सामग्री उपमहानगरको तर्फबाट उपलब्ध गराइएको मेयर लालकिशोर साहले जनाए । उनले हरेक दिन बिहान क्वारेन्टाइनमा बस्नेहरुलाई योगा गराउन प्रशिक्षक नियुक्त गरेको बताउँदै दिनभर विभिन्न खेलकुदमा संलग्न गराउने व्यवस्था पनि गरिएको जनाए ।
केही जिल्लाका क्वारेन्टाइनमा बस्न नचाहने र जबरजस्ती राखिदिए कसैगरी भाग्ने पर्यत्न गरिरहने घटनाहरु सञ्चार माध्यममा सम्प्रेषण हुन थालेपछि योगासमेत मनोरञ्जनका सम्पूर्ण व्यवस्था गरिएको उनले बताए । नगर प्रमुख साहले क्वारेन्टाइनमा बस्नेहरुका लागि बिहान खाजा र अपराहन खाजा तथा दिउँसो र साँझ पोषिलो खानाको लागि छुट्टै प्रबन्ध गरिएको जानकारी दिए ।
अन्य स्थानीय तहहरुले विद्यालयमा बनाएको क्वारेन्टाइनहरु पनि भरिभराउ छन् ।
वैशाखको अन्तिम सातासम्म तीन जना रहेको सबैला नगरपालिकाको क्वारेन्टाइनमा जेठको पहिलो साता ३३ जना पुग्यो । मंगलबार ५५ जना पुगेको क्वारेन्टाइन व्यवस्थापन समितिले जनाएको छ ।
सुरुमा २५ वेडको क्वारेन्टाइन सञ्चालन गरेकोमा अहिले थप खाट लगायत सामग्री जुटाउन धौ धौ परिरहेको स्वास्थ्य संयोजक रामदुलार यादव बताउँछन् । उनका अनुसार असीमित रुपले संख्या बढ्न थालेपछि आकस्मिक रुपमा नयाँ सौचालय, चापाकल, मोटर जडान लगायत संरचना निर्माण थालिएको छ । यस अघि विद्यालयको नवनिर्मित भवनमा मात्रै क्वारेन्टाइन सञ्चालन गरिएकोमा मंगलबारदेखि कक्षाकोठाहरुमा पनि विस्तार गर्न थालिएको छ ।
विदेह नगरपालिकामा पनि क्वारेन्टाइनमा बस्नेको संख्या ५२ पुगेको छ । भारतबाट स्थानीय कामदार आउन थालेपछि पछिल्लो तीन दिनमा संख्या दोब्बर पुगेको स्वास्थ्य संयोजक रामगुलाम कर्णले जानकारी दिए । सुरुमा २० वेडको क्वारेन्टाइन सञ्चालन गरिएको विदेहमा संख्या थपिएपछि ४० वेड र अहिले ८० वेडमा विस्तार गरिएको उनले बताए । कर्णले दिनदिनै संख्या बढ्न थालेपछि खानेपानी, सरसफाई, सौचालय र खानाको व्यवस्थापनमा समस्या भइरहेको जानकारी दिए ।
गिद्धाको जनता माविमा सञ्चालित उक्त क्वारेन्टाइनले धान्न नसकिने देखिएपछि दुहबीस्थित अर्को विद्यालयमा पनि सय वेडको क्वारेन्टाइन निर्माणको तयारी थालिएको कर्णले जानकारी दिए । उनका अनुसार विदेह नगरपालिकाको १४ किलोमिटर भुभाग भारतीय सीमासँग जोडिएको छ ।
शहिदनगर नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा १७ जना छन् । स्वास्थ्यकर्मी समेत १७ जनाको स्वाब संकलन गरेर मंगलबार पिसिआर जाँचको लागि जनकपुर पठाइएको नगरका स्वास्थ्य संयोजक रामसिकिल यादवले बताए । उनका अनुसार दुई दिन अघिसम्म भारतीय सीमा सील गरिएको कारण तत्काल क्वारेन्टाइनमा बस्नेको संख्या सीमित रहेपनि भारतमा पढ्ने तथा काम गर्ने नेपालीहरु आउन चाहे जटही नाका खुल्ला गरिएपछि एक दुई दिनमा अकल्पनीय रुपमा बढ्ने अनुमान गरिएको छ ।
वैशाख ३० गते पहिलो पटक एक पत्रकारसमेत दुई जना संक्रमित देखिएको धनुषामा मंगलबारसम्म संक्रमितको संख्या सात पुगेको छ । ती मध्ये अधिकांस संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङगरी स्वाब जाँचको प्रक्रियामै रहेको हुँदा संख्या बढ्न सक्ने अनुमान छ । धनुषाका विभिन्न पालिकाले सञ्चालन गरेको क्वारेन्टाइनहरुमा ३ सय ९९ जना बसिरहेको प्रजिअ निरौलाले बाह्रखरीलाई जनाए ।