site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश २ को चुनौती ‘खुला सीमा’

जनकपुर । प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढेपछि कोरोना अस्पतालको संख्या वृद्धि गर्न प्रदेश सरकार अग्रसर भएको छ । 

हाल वीरगन्जस्थित नारायणी अस्पताल र जनकपुरको प्रादेशिक अस्पतालमा दुई सयको दरले शय्या संख्या उपलब्ध रहे पनि संक्रमितको संख्या बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर पूर्वतयारीमा जोड दिनुपर्ने प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए । मंगलबार मात्रै यस प्रदेशमा ६३ संक्रमित थपिएपछि अहिले ९५ जना पुगेका छन् । उनीहरूमध्ये एकजना निको भएर घर फर्किएका छन् र दुईजना जनकपुर अस्पतालमा छन् भने बाँकी ९२ जना वीरगन्जमा उपचारार्थ भर्ना छन् । 

प्रदेशमा संक्रमितको संख्यामा अप्रत्यासित बढेपछि प्रदेश सरकार थप गम्भीर भएको हो । बुधबार प्रदेशस्तरीय सुरक्षा संयन्त्रको बैठक बसेर सरकारले थप सतर्कता अपनाउँदै अगामी योजनाबारे छलफल गरेको डीआईजी सिंहले बताए । प्रदेश २ का सबै (आठवटै) जिल्ला भारतीय सीमासँग जोडिएका छन् । यसले जोखिम पनि बढेको उनको भनाइ हो । 

खुला सीमानाको दुरुपयोग नियन्त्रण गर्न नसक्दा यतिबेला जोखिम झनै बढेको उल्लेख गर्दै डीआईजी सिंहले बाह्रखरीसँग भने, “पारिबाट कसैलाई वारि प्रवेश गर्न नदिन दिनरात सुरक्षाकर्मी तैनाथ छन् । सकेसम्म सीमा सिल गरिराख्ने प्रयासमा प्रहरी हो तर पनि चोरबाटो प्रयोग गरी मध्यराति नेपाल भित्रिनेहरू हाम्रो चुनौती हो ।” उक्त चुनौती सामना गर्न आमनागरिकको साथ र समर्थनको आवश्यकता औंल्याउँदै उनले कोरोना संक्रमणलाई फैलिन नदिन बाहिरबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा बस्न र सामाजिक दूरी कायम गर्न आग्रह गरे । 

बैठकको अगुवाइ गरेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले भारतबाट सुरक्षाकर्मीको आँखा छलेर भित्रिने व्यक्तिहरू कोरोना संक्रमण नियन्त्रण प्रक्रियाको मुख्य चुनौती रहेको बताए । “सुरुमा वीरगन्जको मस्जिदमा भेटिएको भारतीय जमातीले प्रदेशमा कोरोना संक्रमण गराएको देखियो,” उनले भने, “पछिल्लो समय देखिएको अवस्थाले धेरै सचेत र सावधानी अपनाउनुपर्ने आवश्यकता छ ।” यो परिवेशमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको उनले बताए । 

मन्त्री यादवले पर्सा जिल्लालाई रेडजोन घोषणा गरी पूर्ण सिल गरिसकेको जानकारी दिँदै अन्य जिल्लाहरूमा पनि संक्रमितहरूको कन्ट्याक्ट टे«सिङ गरेर जाँचमा तीव्रता दिने र सम्बन्धित क्षेत्रलाई सिल गर्दै जाने रणनीति लिएको जनाए । 

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भारतीय सीमाको निगरानीमा थप सुरक्षाकर्मी परिचालन गर्ने, नेपाल प्रवेश गरिसकेकाहरूलाई उचित व्यवस्थापन गर्ने, क्वारेन्टाइन सञ्चालन प्रक्रियालाई प्रभावकारी बनाउने र क्वारेन्टाइनको संख्या थप गर्नेलगायत विषयमा पनि बैठकमा छलफल भएको जनाए । उनले आवश्यकता परेका बेला सीमा क्षेत्रमा सेनालाई समेत परिचालन गर्न सकिने बताउँदै विपतको परिस्थिति ध्यानमा राखेर आमनागरिकलाई अझ गम्भीर भएर सतर्कता अपनाउन आग्रह गरे । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro