
काठमाडौं । बजेट अधिवेशनमा शिक्षकको माग टुंग्याउन सम्भव नभएको सभामुख देवराज घिमिरेको अभिव्यक्तिप्रति सत्तारूढ नेकपा (एमाले) का नेताहरूले असन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव बुझाउन बुधबार सिंहदरबारमा एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोली पुगेको थियो । जसमा नेताहरू प्रदीप ज्ञवाली, राजेन्द्र गौतम, सूर्य थापा, नीरज आचार्य, भीष्म अधिकारीलगायत सहभागी थिए । सो क्रममा घिमिरेले बजेट अधिवेशनमा बजेटसम्बन्धी विषयहरू नै बढी प्राथमिकता दिनु पर्ने भएकाले शिक्षकहरूका माग सम्बोधन गर्नसक्ने अवस्था नरहेको भनी दिएको अभिव्यक्तिको प्रसंग उठेको थियो ।
"सभामुखको बोली परिस्थिति भड्काउने जस्तो भयो । उहाँले बिजनेस ल्याउने हो र ? आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको कुरा राख्नुभयो भन्ने कुरा सोही क्रममा उठ्यो," सहभागी एक नेताले भने, "विधेयक ल्याउछौँ भनेर सरकारले निर्णय नै सार्वजनिक गरिसकेको छ । त्यस्तो क्रममा सभामुखको बोलीमा परिपक्व देखिएन भन्ने कुरा उठ्यो ।"
प्रधानमन्त्री ओलीले भने हो नि भन्दै नेताहरूको कुरामा सही थापेका थिए । "अब आह्वान भएको अधिवेशनले पनि शिक्षा विधेयकलाई तुरुन्तै एक नम्बरको बुँदामा राखेर टुंग्याएर अर्को विषयमा जान सम्भव छैन । किनभने बजेट अधिवेशनले बजेटसँग सम्बन्धित विषयलाई नै प्राथमिकता दिनुपर्छ," सभामुखले बुधबार झापामा सञ्चारकर्मीसँग भनेका थिए ।
यता सरकारले भने शिक्षकहरूको मागलाई प्राथमिकतामा राखेर वैशाख १२ गतेका लागि बजेट अधिवेशन आह्वान गरेको छ । साथै, शिक्षकलाई वार्तामा बस्न आग्रह गरेको छ । तर, शिक्षक महासंघले ऐन जारी हुने विश्वसनीय आधार निर्माण नभएको भन्दै देशभरका शिक्षकहरूलाई माइतीघरमै उपस्थित भएर हाजिर गर्न आग्रह गर्दै आन्दोलन थप सशक्त बनाउने घोषणा गरेको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले १५ दिनदेखि आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय कार्यसमितिको नेतृत्वमा गत चैत २० गतेदेखि काठमाडौंको माइतीघरमा आन्दोलन भइरहेको छ । एक सातासम्मको शान्तिपूर्ण मागमा सरकारले कुनै चासो नदेखाएपछि शिक्षकहरूले चैत २६ गतेदेखि शैक्षिक हड्ताल गरी आन्दोलनलाई थप तिब्रता दिएका छन् ।
आन्दोलनका क्रममा सरकार र शिक्षक महासंघबीच दुईपटक वार्ता समेत भइसकेको छ । पछिल्लोपटक सरकारले वार्ताका लागि आग्रह गरे पनि ऐन जारी नभएसम्म वार्तामा नबस्ने भन्दै शिक्षकहरू आन्दोलनमै सक्रिय भइरहेका छन् ।