
जनकपुर । मंगलबार अबेर राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीअनुसार प्रदेश २ मा फेरि २३ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै प्रदेश २ मा संक्रमितको संख्या ९७ पुगेको छ ।
मंगलबारै दिउँसो जारी भएको विज्ञप्तीले पर्सामा ३९ र बारामा १ जनामा संक्रमित थपिएको जनाएको थियो । राति सवा १० बजे मन्त्रालयले यस प्रदेशमा २३ जना थपिएको जनाएको हो । ती मध्ये पर्साका १८ जना, धनुषा र महोत्तरीका दुई दुई जना तथा सर्लाहीका एक जना संक्रमित देखिएको हो ।
मंगलबार एकै पटक जिल्लाका विभिन्न पालिकाबाट ३९ जनामा संक्रमण पुष्टी भए लगत्तै बसेको जिल्ला सुरक्षा समितिको बैठकले साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । अर्को निर्णय नभएसम्मका लागि यो निषेधाज्ञा जारी रहने जिल्ला प्रशासन कार्यालयका प्रवक्ता ललित बस्नेतले जानकारी दिए ।
यसैबीच, कोरोना भाइरस संक्रमणको वर्तमान अवस्थालाई विश्लेषणगरी नयाँ रणनीति बनाउन प्रदेशस्तरीय सुरक्षा समितिको बैठक आहवान गरिएको छ । बुधबार बिहान ८ बजे बस्न लागेको उक्त बैठकले पर्सा जिल्लालाई पूर्ण सिल गरी अन्य जिल्लामा संक्रमित देखिएकाहरु बसोबास गर्ने क्षेत्रलाई सिल गर्दै कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय लिइने आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।
“अहिलेसम्मको अवस्था हेर्दा दिन प्रतिदिन प्रदेशको स्थिति नाजुक बन्दै गइरहेको छ” मन्त्री यादवले बाह्रखरीसँग भने, “यो अवस्थाको सुक्ष्म अध्ययन र विश्लेषणगरी रणनीतिक योजना बनाएर अघि बढ्न प्रदेश सुरक्षा समितिको बैठक बोलाएको छु ।” संक्रमितको संख्या वृद्धि भइरहेको अवस्थालाई अध्ययनगरी संक्रमण फैलिने क्रमलाई नियन्त्रण गर्न विज्ञहरुसँग पनि सुझाव लिइरहेको उनले बताए ।