site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोनाले वीरगन्जका स्थानीयमा त्रास तर बन्द छैन नाका 

जनकपुर । वीरगन्ज महानगरपालिका –३ मा बुधबार एउटै परिवारका १७ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएपछि स्थानीयमा त्रास बढेको छ ।  स्वास्थयकर्मी आत्तिएका छन् । नगर प्रमुख चिन्तामा छन् । प्रशासन र प्रहरी दबावमा छ ।  गएको आइतबार सोही स्थानका ३६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखियो । उनलाई तत्काल वीरगन्जस्थित नारायणी कोरोना अस्पतालको आइसोलेशनमा राखेर उपचार थालियो ।

उनको परिवारका सबै सदस्यलाई होम क्वारेन्टाइनमा बस्न लगाइयो ।  एक जनामा संक्रमण पुष्टि भएपछि परिवारका अन्य सबै सदस्यहरुको पनि स्वाब संकलन गरेर राष्ट्रिय प्रयोगशाला पठाइयो ।  तिनै परिवारका सबै (१७ जना) सदस्यमा संक्रमण फैलिइसकेको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

कोरोना संक्रमितहरुमा २ महिने शिशुदेखि ६६ वर्षसम्मका नागरिक छन् ।  पहिलो पटक पीसीआर जाँच भएको आधारमा गत आइतबार संक्रमित देखिएका ती पुरुष वीरगन्ज –३ का वडा अध्यक्ष बैँजु स्वर्णकारका सहयोगी कार्यकर्ता हुन् । वडा अध्यक्ष स्वर्णकारका सहायकजस्तै भएर उनीसँगै घुमिरहने व्यक्तिमा संक्रमण पुष्टि भएदेखि नै वीरगन्जका धेरै नागरिकमा फैलिएको हुनसक्ने अनुमान सहजै लाउन सकिने महानगर प्रमुख विजय सरावगी बताउँछन् । 

“हुन त मैले डेढ महिना अगावैदेखि वीरगन्जमा पीसीआर जाँचको गति बढाउन माग गरिरहेको छु,” सरावगीले बाह्रखरीसँग भने, “सहयोगको लागि प्रदेश सरकारलाई घच्घच्याएँ, संघ सरकारलाई अनुनय गरेँ । कसैले सुने पो !” 

तीनसाता अगाडि वीरगन्ज आइपुगेको पीसीआर मेशिन आवश्यक उपकरण र प्रविधिको अभावमा त्यसै थन्केको र निरन्तरको प्रयासबाट बल्ल बुधबारदेखि सञ्चालनमा आएको बताउँदै उनले दैनिक रुपमा पीसीआर जाँचको संख्या बढाउनुको विकल्प नरहेको जिकिर गरे ।  

वीरगन्जको शंकास्पद बस्तीमा तत्कालै पीसीआर जाँच गरियो भने पनि हजारदेखि दुई हजार व्यक्तिमा संक्रमण पुष्टि हुनसक्ने अनुमान व्यक्त गर्दै सरावगीले जाँचमा ढिलाई भए पाँच हजारभन्दा बढ्न सक्ने दाबी गर्छन् । 

“वीरगन्जमा पाँच हजारदेखि दस हजार व्यक्तिलाई तत्काल पीसीआर जाँच गर्नुपर्ने आवश्यकता छ,” महानगर प्रमुख सरावगीले भने, “तीमध्ये दसदेखि बीस प्रतिशत व्यक्तिमा कोरोना संक्रमण हुनसक्ने अनुमान छ । जाँचमै ढिलाई भए यो संख्या तीन गुणासम्म बढ्न सक्छ ।”

तीनवटा भन्सार नाका रहेको वीरगन्जमा दैनिक सयौँको संख्यामा मालवाहक सवारी सीमा वारिपारी ओहोरदोहोर गरिरहेका छन् । देशमा आयात हुने सामानको करिब ५० प्रतिशत आपुर्ति यही नाकाबाट भइरहेको छ । 

काठमाडौंलाई आवश्यक सामान आपुर्ति गर्नमात्रै मतलब रहेको टिप्पणी गर्दै सरावगीले थपे, “वीरगन्जलाई जेसुकै होस् काठमाडौंमा बस्ने सरकारलाई के मतलब ?” वीरगन्जलाई लिएर बढी नै राजनीति भइरहेको उल्लेख गर्दै उनले संघ र प्रदेश सरकारलाई जानकारी हुँदाहुँदै पनि नाकाको नियमन गर्न गम्भीर नदेखिएको आरोप लगाए । 

वीरगन्ज महानगरपालिकालाई यतिबेला पैसाको आवश्यकता नरहेको प्रष्ट्याउँदै सरावगीले बढीभन्दा बढी पीसीआर जाँच गर्ने व्यवस्था मिलाइदिन माथिल्ला सरकारसँग आग्रह गरे । 

“विश्वभर रहेको समस्याको कारण आवश्यक उपकरण आपुर्ति गर्न देशलाई कठिनाइ भोग्नु परिरहेको हुनसक्छ । तर, सरकारले अन्यत्र कतै नअल्झेर पीसीआर जाँचको गति बढाउनका लागि ध्यान केन्द्रित गर्न मेरो बिन्ती छ,” उनले भने । 

महानगरको दक्षिण क्षेत्र पूर्ण सील

एकैदिन एउटै परिवारका १७ जनामा कोरोना संक्रमणको पुष्टि भएलगत्तै बुधबार अपराह्न बसेको जिल्ला सुरक्षा समितिको बैठकले महानगरको दक्षिणी क्षेत्र पूरै सील गर्ने निर्णय गरेको छ । जिल्लाको वर्तमान अवस्था विश्लेषण र कोरोना संक्रमण नियन्त्रण एवं रोकथामका प्रयासहरुको समीक्षा गर्न बसेको बैठकले वडा नम्बर १, २ र ३ का प्रमुख इलाकाहरु सील गर्ने निर्णय गरेको हो ।

पूर्वमा रजत जयन्ती चोक, इदगाह चोक, छप्कैया बीट चोक र मालपोत चोक, पश्चिममा छप्कैया बजार चोक, सिर्सिया पुल चोक र सिर्सिया भन्सार, उत्तरमा एमबीएस स्कुल, पानीट्यांकी चोक, युक्ति सुधार केन्द्र र बही पुल तथा दक्षिणमा पर्ने वडा १ र २ सँग जोडिएको भारतीय सीमाबीचको भागलाई पूर्ण रुपमा सील गरिएको हो । 

यस क्षेत्रमा कुनै पनि सवारीसाधन सञ्चालन गर्न निषेध गरिएको छ । 

त्यस्तै, संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका सबैको शिघ्र कन्ट्याक्ट ट्रेसिङगरी चेकजाँचको कामलाई तीव्र पार्ने, पावरहाउस चोकदेखि रजत जयन्ती चोकसम्म अतिआवश्यक सवारीबाहेक साइकलसम्मका साधन चलाउन पूर्ण रुपले प्रतिबन्ध गर्ने र औषधी उपचार तथा अतिआवश्यक खाद्यवस्तु खरिद गर्न बाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर निस्किन निषेध गर्ने निर्णय बैठकले गरेको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  ०८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro