काठमाडौं । चैत ११ गतेबाट वैशाख १८ गतेसम्म काठमाडौं उपत्यकामा ३४ जनाले आत्महत्या गरे । यहि अवधिमा १० वटा जवरजस्ती करणीका घटना पनि भए । ७४ जनाले भवितव्यमा ज्यान गुमाए । २ वटा बाल यौन दुराचारका घटना पनि भए ।
लकडाउनको अवधिमा पनि अपराधका यी घटनाले प्रहरीलाई झस्काएको छ । विश्वभर कोरोनाभाइरसको महामारीका कारण नेपालमा चैत ११ गतेबाट जारी वैशाख २५ गतेबाट लकडाउनको घोषणा भएको छ । लकडाउनका कारण सबै क्षेत्र ठप्प छन् । अझै लकडाउन लम्बिने संकेत छ । उच्च स्तरीय समितिले आज त्यसको प्रस्ताव तयार पार्दैछ । कम्तीमा पनि एकसाता कलडाउन लम्ब्याउने तयारी भइरहेको छ । उल्लेख्य मात्रामा नभए पनि बढिरहेका केही अपराधले प्रहरी चनाखो हुनुपर्ने देखिएको प्रहरीका उच्च अधिकारी बताउँछन् ।
कसरी जन्मिन्छ अपराध ?
नेपाल प्रहरीका डीआईजी विश्वराज पोखरेल कमजोर आर्थिक अवस्था भएका मुलुकमा ठूला संकटपछि अपराध बढ्ने गरेको बताउँछन् । अपराध न्युनीकरणका लागि समुदाय र प्रहरी सँगसँगै बढ्नुपर्ने उनको तर्क छ । उनले भने,“लकडाउनपछि समाजमा देखिने समस्याबाट अपराधको जन्म हुन सक्छ । बेरोजगारी, बढ्दो निरासा त्यसका कारण बन्न सक्छन् । त्यस्ता व्यक्तिहरु अपराध कार्यमा लाग्न सक्ने सम्भावना रहन्छ । त्यतिबेला प्रहरीको मात्रै होइन अपराध न्युनीकरणमा समाजकै महत्वपूर्ण भूमिका रहन्छ ।”
पूर्वप्रहरी अधिकारी पनि लकडाउनपछिको समयलाई व्यवस्थापन गर्न नसकिए त्यसको फाइदा विद्रोहीले उठाएर मुलुकमा अस्थिरता निम्त्याउन सक्ने दाबी गर्छन् । उनका अनुसार निजी क्षेत्रलगायतले अब रोजगारी कटौती गर्न सक्छन् ।
अनौपचारिक क्षेत्रबाट रोजगार गुमाएका व्यक्तिको व्यवस्थापन सही रुपमा गर्न नसकिने चुनौती बन्न सक्ने प्रहरीको आकलन छ ।
६५ वर्षमा पहिलोपटक काठमाडौं परिसर थुनुवाविहीन
६५ वर्षमा पहिलोपटक महानगरीय प्रहरी परिसर काठमाडौंको थुनुवा कक्ष थुनुवाविहीन भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख समेत रहेका डीआईजी विश्वराज पोखरेलका अनुसार लकडाउनपूर्व दैनिक परिसरको थुनुवा कक्षमा २ सय जनासम्म हुन्थे । लकडाउनका कारण प्रहरीले पक्राउ नगरी नहुनेलाई मात्रै पक्राउ पनि यसको ठूलो कारण हो ।
उनले भने, “राजधानीकै थुनुवा कक्षमा एकजना पनि नहुनु भनेको अपराध कम हुनु हो । तर आत्महत्या, चोरी, भवितव्यका घटना भइरहेकै छन् । सबै कुरातर्फ प्रहरी सचेत र सतर्क छ ।” काठमाडौंका विभिन्न वृतमा विभिन्न कसुरमा ३७ जना भने थुनुवा छन् । हाल उपत्यकामा ९ हजार बढी प्रहरी परिचालन भएको पोखरेल बताउँछन् ।