नयाँ ठाउँ घुम्ने र त्यसलाई सुन्दर तथा कलात्मक शैलीमा लेख्ने आदत बसालेका नियात्रा लेखक यतिखेर सबैभन्दा बढी मारमा परेका छन् । उसै पनि एउटा लेखकलाई जसरी भ्रमण आवश्यक पर्छ उसैगरी अध्ययन पनि जरुरी हुन्छ । साहित्यका अन्य विधा कोठामै बसेर सिर्जना गर्न सके पनि नियात्राको मुख्य स्रोत भनेको भ्रमण नै हो । के सोचिरहेका होलान् यतिखेर नियात्राकारहरु ?
नेपालमा नियात्रा लेखनको इतिहास लामो रहेको मानिन्छ । पहिले नियात्रा नभनेर यात्रा संस्मरण वा यात्रा वृत्तान्त भनिए पनि यात्रामा देखेका–भोगेका, अनुभूत–महसुस गरेका र यात्राले दिएको अनुभव बयान गर्ने परम्परालाई नै यात्रा संस्मरण भनिएको हो ।
नेपालमा ५२५ वर्ष अघिदेखि नै यात्रा संस्मरण लेखिएको मानिन्छ । पछिल्लो दुई वर्षदेखि नियात्रा साहित्यको सिद्धान्तका विषयमा पुस्तक लेख्दै गरेका नियात्राकार जय छाङ्छाका अनुसार नेपालमा नियात्रा साहित्यको इतिहास १५५० सालदेखि सुरु भएको हो । तत्कालीन राजा गगनीराजले पहिलो पटक यात्रा वृत्तान्त लेखेका थिए र उनको यस यात्रा वृत्तान्तमा उनले मुगुदेखि मुस्ताङसम्मको यात्रालाई शब्दचित्रको स्वरुप दिएका थिए ।
त्यसपछिका दिनमा शेरसिंह राना, चिरञ्जीवी शर्मा पौडेल, रणशुर लिम्बु, भवानी भिक्षु, लैनसिंह बाङ्देल, केदारमणि आदिहरुका नियात्रा कृति प्रकाशनमा आएको देखिन्छ ।
यसरी सुरु भएको नेपाली नियात्रा साहित्य आज वृहत् र व्यापक भइसकेको छ । ५ सय वर्षभन्दा अगाडि लेख्न सुरु भएको नियात्रा साहित्यमा समयअनुसार लेखन शैलीमा परिमार्जन हुँदै आएको देखिन्छ ।
नियात्राकार छाङ्छाका अनुसार कुनै पनि नियात्राका लागि पाँच ‘क’ को आवश्यकता रहन्छ । ‘कहाँ, कहिले, कसरी, को र किन’ ले खोजेको कुरा कुनै पनि नियात्रा लेखकले बुझ्नु पर्ने र त्यसलाई आफ्नो नियात्रामा प्रस्तुत गर्नसक्नु पर्ने उनको भनाइ छ ।
यद्यपि, नियात्रा लेखनका लागि आवश्यक मूलतत्व कुनै पनि स्थानको भ्रमण नै हो । बिनाभ्रमण नियात्रा लेखन वा यात्रा संस्मरण सम्भव छैन । रचनाशिल्प र शैली अनि नियात्राको प्रस्तुति गतिमय अथवा संस्मरणात्मक भए पनि त्यसका लागि कुनै न कुनै स्थानविशेषको भ्रमण जरुरी छ । त्यसैले पनि नियात्रा लेखनमा सक्रिय लेखकहरुको रुचि यात्रातिर हुनु स्वाभाविक हो ।
कविता, कथा, निबन्ध र उपन्यासजस्ता कृति कोठामै बसेर सिर्जना गर्न सकिन्छ । तर नियात्रा लेखन कोठाभित्र बसेर सम्भव नहुने नियात्रा समाजका अध्यक्ष तथा नियात्राकार चन्द्रप्रसाद भट्टराई बताउँछन् ।
सधैं घुम्ने र लेख्ने यायावरी चरित्र बोकेका नियात्रा लेखकहरुको यात्राक्रम यतिबेला ठप्प छ । यात्रा घरकै यो कोठा र त्यो कोठामा सीमित भएको छ । बन्दाबन्दी (लकडाउन)को यो परिस्थितिमा ती यायावर लेखकहरु के गरिरहेका होलान् ? के सोचिरहेका होलान् ? वैश्विकरुपमा सिर्जित यो परिस्थितिलाई ती लेखकहरु कसरी अनुभूत गरिरहेका होलान् ? नेपाली नियात्रा साहित्यमा सक्रिय केही नियात्राकारहरु घनश्याम राजकर्णिकार, जय छाङ्छा, चन्द्रप्रसाद भट्टराई, प्रतीक ढकाल र इल्या भट्टराईको दृष्टिकोण यहाँ प्रस्तुत छ ।
घनश्याम राजकर्णिकार
पक्कै हो, नघुमी नियात्रा लेखिँदैन । यायावरी चरित्र एउटा नियात्राकारमा हुनु नै पर्छ । तर मलाई लाग्छ, घुम्ने भनेको कहिलेकाहीँ मात्रै हो । म पनि मौका मिल्दा घुम्ने र आफूलाई रोचक तथा रुचिकर लागेको विषय बुँदा टिपोट गरेर लेख्ने गर्छु । अनि, जब म घर फर्किन्छु त्यसपछि मात्रै घोत्लिएर लेखनमा लाग्छु । गाइगोरुले फुर्सद्मा उग्राएजस्तै !
यस पटक यो बन्दाबन्दीको समय मैले लेखपढ गरेर बिताएँ । अहिले मैले नियात्रा लेखेको छैन । बरु पढेँ । आफ्ना केही संस्मरणको सम्पादनमा समय दिएँ ।
यसबीचमा मैले मेरा पिताजीको विषयमा लेखिरहेको किताबको सम्पादनमा पनि समय खर्चिएँ । अनि केही पुराना कुरा सम्झना गर्दै त्यसलाई लेख्ने काम गरेँ । यस हिसाबले मेरो समय सिर्जनशीलतामै बितेको छ ।
अघिल्लो वर्ष म सिङ्गापुर गएको थिएँ । त्यहाँ जाँदाको केही सन्दर्भ नियात्राका रुपमा ल्याउन नसकिने होइन । तर ख्वै, उमेरले गर्दा होला अचेल मलाई नियात्रा लेखनमा खासै रुचि जागिरहेको छैन ।
बीचमा घुम्न जाने सोचाइ पनि आएन । वास्तवमा यो बन्दाबन्दीले मेरा केही संस्मरण र पिताजीको किताबलाई सम्पादन गर्ने समय जुराएकै हो ।
जय छाङ्छा
यात्राको नाममा बिहानको केही समय मर्निङवाकबाहेक बाँकी समय घरमै बसिरहेको छु । हुन त, नियात्राकार भनेका घुमन्ते चरित्रका मानिस हुन् । तिनले नघुमी, नहेरी, कतै नगई नियात्रा हुँदैन । नियात्रा लेख्नका लागि पहिलो काम घुम्नै पर्छ । ठाउँठाउँ हेर्नै पर्छ । साना, मसिना विषय पनि समाउनै पर्छ ।
पाँच साता नाघिसकेको छ बन्दाबन्दीको । यो समयको सदुपयोग गर्दै मैले केही वर्षअघिको भारत भ्रमणलाई नियात्रामा परिणत गर्दै गएको छु । लेखिएका नियात्राको सम्पादन गर्दै छु । त्यसअघि नियात्रा सम्बन्धी एउटा सैद्धान्तिक पुस्तक लेख्ने काम सकेँ । त्यो पुस्तक प्रेसमा गइसकेको छ ।
मेरो विचारमा एउटा नियात्रा लेखकले धेरै कुरा आफ्नो नियात्रामा भन्न सक्नुपर्छ । नियात्रामा मसिनामसिना कुरा पनि लेखिनु पर्छ । किनभने, भ्रमणमा देखिएका विभिन्न कुरा नियात्रामा लेखिनु भनेको त्यहाँको इतिहास उतार्नु हो । भोलिका दिनमा त्यसले त्यो स्थानमा यस्तायस्ता वस्तु थियो भन्ने देखाउँछ ।
एउटा नियात्राकारले घुमेरै कुनै पनि कुरा लेख्ने हो । यात्रा गरियो, त्यो यात्राको बारेमा लेखियो । तर त्यो यात्रा पढ्दा पाठकले महसुस गर्न सक्नु पर्छ लेखकसँगै आफू पनि हिँडेको । अर्थात् गतिशीलता नियात्रामा हुनैपर्छ । अनि मात्र नियात्रा नियात्रा ठहरिन्छ । हैन भने संस्मरण वा स्मृति मात्रै हुन्छ ।
नियात्रा पढ्दा पाठकको रुचिलाई पनि ध्यान दिनु पर्छ । किनभने, कुनै पनि ठाउँको इतिहास हुन्छ । समाज र संस्कृति हुन्छ । प्रकृति र परिवेश हुन्छ । ती सबैलाई मसिनो रुपमा प्रस्तुत गर्नु नियात्राकारको दायित्व हुन्छ ।
कुनै पाठकले संस्कृतिमा रुचि राखिरहेको हुन्छ कसैले इतिहासमा । कसैले त्यहाँको प्राकृतिक सौन्दर्यलाई खोजिरहेको हुन सक्छ भने व्यापारव्यवसायको अवस्था पनि खोजिन सक्छ । त्यसैले एउटा नियात्राकारले घुम्न गएको ठाउँको यथार्थ रुप नियात्रामा प्रस्तुत गर्न सक्नु पर्छ ।
केही समयअघि ‘पैदलै काठमाडौंका चुलीहरु’ प्रकाशनमा ल्याएँ । त्यसमा काठमाडौंका डाँडाकाँडाको भ्रमणको चर्चा गरिएको छ । त्यसैको अर्को चरणमा मैले र अरु पनि केही साथीहरुले छेउका डाँडाहरु घुम्ने काम ग¥यौं । हातखुट्टा चल्दासम्म, आँखाले देख्दासम्म घुम्नुपर्ने डाँडाकाँडा छुने विचार छ । केही डाँडा अहिले पनि घुम्ने विचार थियो, तर बन्दाबन्दीले रोकिएको छ ।
चन्द्रप्रसाद भट्टराई
बन्दाबन्दीमा घरमै बसेर काम गरिरहेको छु । त्यसो त हामीले अँगालेको विधा नियात्रा लेखनका लागि घुम्नै पर्छ । तर यतिबेला बाहिर हिँड्ने कुरा पनि त भएन ! सरकारले घरमा बस्न भनेकोले घरमा नै बस्नु प¥यो ।
हो, यतिबेला लेख्न खोजेर पनि लेख्न सकिएन ! त्यसैले समयको सदुपयोग गर्दै केही किताबहरु पढेँ । तर नियात्राभन्दा कथातिर ध्यान दिएको छु । यतिबेला केही हिन्दी र रुसी कथाहरु पढ्दै छु । पहिलेका कथाहरु पढ्दा मजा पनि आउँछ । बङ्गाली लेखकका कथाले मलाई तानिरहेको छ । ती पुराना कथाहरुबाट ब्रिटिसकालको भारतीय जनजीवन कस्तो रहेछ भन्ने थाहा भइरहेको छ !
कथा पढ्दा एउटा नियात्राकारमा यात्राको भाव जागृत हुनु स्वाभाविक हो जस्तो लाग्छ मलाई । किनभने कथामा पनि ठाउँ, प्रकृति र संस्कृतिको वर्णन गरिएको हुन्छ । त्यसैले पनि ती ठाउँहरुको भ्रमण गर्न पाए, त्यहाँ भएको परिवर्तन हेर्न पाए हुन्थ्यो भन्ने लालसा मनमा हुँदो रहेछ ।
नियात्रामा पनि त्यो भाव र भूमि प्रस्तुत गर्नसक्नु पर्छ एउटा नियात्राकारले । नियात्राभित्रै पनि एउटा लेखकले कथा अटाउन सक्छ । त्यो नियात्राकारको क्षमतामा भर पर्ने कुरा हो । लेखकको लेखन शैलीमा भर पर्ने कुरा हो ।
अहिले लकडाउनमा बस्नु परेको छ, तर यही समयमा मेरो तनहुँतिर जाने कुरो थियो । बन्दाबन्दीले रोकियो । अब त्यो यात्रा बन्दाबन्दी खुलेपछि मात्रै हुन्छ होला ।
प्रतीक ढकाल
बन्दाबन्दीमा घर बस्नुबाहेक कुनै सिर्जनशील काम हुन सकेको छैन । अहिले त चाहिने–नचाहिने बेलामा खायो, चाहिने–नचाहिने बेलामा सुत्यो । दिन त त्यसरी पो बितिरहेको छ !
भौतिकरुपमा एकदमै ठूलो समयको प्राप्ति भएको मलाई थाहा छ । अरु धेरै कामहरुबाट मुक्ति पाइएको छ । आफूले चाहेको काम गर्नलाई पूराका पूरा समय मिलेको छ । तर निर्वाचनको बेलामा जसरी सबैको ध्यान मतगणनातिर मात्रै जान्छ, त्यसरी नै यतिबेला पनि डब्लूएचओको कोरोना बुलेटिन र कोरोनाका समाचारहरुले ध्यान तानिरहेको छ । सिर्जनाले होइन !
यो कुरा पटक्कै राम्रो होइन । थाहा छ । तर नजाँनिदो पाराले ध्यान जान्छ । दैनिक कति जनाको निधन भयो । कति प्रतिशतका हिसाबले घटिरहेका छन् सङ्क्रमित ? कहाँ कहाँ के के भइरहेको छ । यो परिस्थितिमा कतिले कोरोनाभाइरसलाई जिते । हो यस्ता कुराले ध्यान तान्छ । जब कि यो हारजीतको खेल हैन !
खासमा यतिबेला दिमाग नै लकडाउन भएको हो कि भन्ने मलाई लाग्छ । यतिबेला सिर्जना गर्नु त परको कुरा, पढ्नै पनि कठिन छ । केही किताबहरु पढौं भन्ने लागेको छ । तर जुन गतिमा पढनु पर्ने हो, त्यो गतिमा पढ्न सकिएन । मानसिक रुपले नै निष्क्रिय हुने रहेछ ।
यो बन्दाबन्दीमा अलिअलि आध्यात्मिक किताबहरु पढेँ । ‘कुरान’ सिध्याउन लागेको छु । यसपछि ‘शिवपुराण’ पढ्ने सोच्दैछु । यही फुर्सद्को समयमा रामायण र महाभारतको टेलिशृङ्खला हेरेँ । यो पनि रामायण र महाभारत पढेको जस्तै भएको छ ।
मेरो बानी अरु बेला पनि लकडाउनमा बसेजस्तै हो । एउटा किताब लिएर बसेपछि त्यसैमा दिन बित्छ । अझै दुईतीन दिन पनि बित्न सक्छ । यस दृष्टिकोणबाट लकडाउनको यो समय मेरो लागि मिल्दोजुल्दो नै छ । घुम्न पाइनँ, डुल्न पाइनँ भन्ने मलाई अलिकति पनि लागेको छैन । तर पनि यतिबेला केही गर्न भने सकिरहेको छैन !
यो बीचमा सुदूरपश्चिमका कुनै क्षेत्र वा गाउँमा घुम्न जाने कुरो मिलाएको थिएँ । किनभने, यतिबेला केही समयका लागि छुट्टीजस्तै थियो, मेरा लागि । त्यता घुम्ने र केही लेख्ने भन्ने थियो । बन्दाबन्दीले त्यसोे हुन दिएन । घरमै बसायो ।
एकदमै अ–सिर्जनशील समय रहेछ । समय हातमा जत्ति पनि छ तर गर्न भने केही पनि सकिँदो रहेनछ ! सपनामा कुद्न नसकेको जस्तै भएको छ । एउटा लेख लेख्न मलाई एकजना मित्रले भनेका थिए । जब कि म त्यस्ता आर्टिकल एक सिटिङमा सिध्याउँछु । यतिबेला मित्रले जिम्मा लगाएको एउटा लेख लेख्न पनि सकिरहेको छैन !
इल्या भट्टराई
बन्दाबन्दीको यो परिस्थिति वैश्विक भएकोले मानसिकरुपले नै यसका लागि तयार भएको छु । सबैले त्यही तयारीका साथ रहँदा नै राम्रो होला ।
हुन त, यायावरी मन हो हामी नियात्रा लेखकहरुको । एउटा नियात्राकारले घुमेर नै सिर्जना गर्ने हो । त्यसैले उसले घुम्न खोज्छ नै । तर यो बखत समय र परिस्थितिले बाहिर जानु हुन्न है भनेपछि जाने कुरै पनि त भएन ।
यो समय निक्कै फुर्सदमा रहियो । केही समयअघि गरिएको इजिप्ट भ्रमणको नियात्रा लेख्न बाँकी नै थियो । त्यो लेख्ने काम भयो यो बन्दाबन्दीमा । अहिले त्यसको पुनःलेखन र सम्पादन गर्ने काम गरिरहेकी छु । यसरी नै म नियात्राको आनन्द लिइरहेकी छु ।
म र मेरो परिवार सुरक्षित छ भन्ने सोचिएपछि मनमा त्रास नहुँदो रहेछ । त्रास मभित्र पनि छैन । त्यसैले मैले लेख्न सकेकी हुँ । तर एउटा कुरो के हो भने, हामी सामाजिक प्राणी हुँदाहुँदै पनि सामाजिक दूरी राख्नु पर्ने भएकोले अलिकति अन्योलको अवस्था भने छ !
मेरो ९४ वर्षकी आमा हुनुहुन्छ । हरेक दिन मैले एक घण्टाजति आमासँग फोनमा कुरा गरिरहेकी हुन्छु । जब कि म साताको एकदुई दिन आमालाई भेट्न नै जान्थेँ । अहिले त्यो सम्भव रहेन ।
यतिबेला म मेरा पतिको बरखीमा रहेकोले कतै बाहिर घुम्न जाने सोचेको थिइनँ ।