साँझपख निकै ठूलो हुरी चल्यो । यहीबेला म बाहिरफेर कतै भएको भए अवाक् हुन्थे होला, तर म कोठाभित्र छु । सिसाको झ्यालबाट नियालें, मज्जाले नियालें हुरीले सकेजति सब चिज हल्लाइरहेको छ । म बस्ने घरको अघिपट्टि रहेको एउटा फूलको बोटलाई सायद हम्मे परेको हुनुपर्छ हुरीबाट जोगिन । चैतमासको हुरी न हो । यही हुरीकै गतिमा मनको गाडी बाल्यकालीन विगतको सडकतिर गुड्यो । चैते हुरी बेस्सरी चलेका बेला त्यो बेलाको मेरो ‘लिखुरे’ ज्यानलाई पो उडाउँछ कि, हैन घरै पो उडाइदिन्छ कि भनेर डराएको दिनको याद आयो । हुरी, बादल, झरी र घाम यी सबै कुरा त प्रकृतिमा भइरहन्छन् । योचाहिँ मैले उमेर बढ्दै जादाँ थाहा पाएँ । मान्छे नै उडाउला झै गरेर चलिरहेकोे त्यो हुरीदेखि केही डर लागेन, किनकि म कोठाभित्र छु । मलाई यो हुरीदेखि कुनै दुःख छैन । अहिले त म सुखमा छु ।
मनमा प्रश्न आइहाल्यो साच्चै सुख के हो ? एकछिन घोत्लिएँ, यो प्रश्नको जवाफ सगरमाथाको उचाइँजस्तो एउटै छैन । हरेकले आफ्नो भोगाइअनुसार यसलाई परिभाषित गर्ने हो । मान्छेसँग जे छैन त्यही होस् भन्ने चाहना हुन्छ । अनि आफूसँग नभएको त्यही चिज प्राप्तिपश्चात् सुख हुन्छ भन्ठानेको हाम्लाई जब त्यो चिज साँच्चै प्राप्त हुन्छ नि, तब पनि सुख हुन्न । त्यसपछि पनि फेरि अर्को प्राप्तिको भोक जाग्छ । यो जीवनपर्यन्त चलिरहन्छ । सुखकै खोजीमा अन्ततः जीवन–यात्रा नै टुङ्गिन्छ ।
लाग्थ्यो, मलाई मात्र होइन धेरैलाई लाग्छ होला, सुख कुनै भौतिक चिजको प्राप्ति हो तर त्योभन्दा पनि सुख त ‘बसीबसी खानु’ हो । जब त्यही आइप¥यो अनि थाहा भयो योे त सुख हैन रहेछ ! त्यसो भा सुख के हो त ? फेरि उही प्रश्न खडा भयो ।
कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले गरेको लकडाउन जारी छ । यो अझै लम्बिने संकेत छँदै छ । ‘लकडाउन’ शब्दै नयाँजस्तो लाग्छ । नयाँ हैन तर हाम्रो जनजीवनमा खासै प्रयोगमा नआएको भएर नयाँ जस्तो लागिरहेको छ । यो मात्रै होइन ‘कोरोना–कहर’ सुरु भएसँगै अरू पनि केही नयाँ शब्द जनजिब्रोमा झुन्डिन आइपुगे ।
लकडाउनपश्चात् संसारभरका मानिसको दैनिकीमा एकाएक परिवर्तन आयो । हिँडेर नपुगिएला भनेर द्रुत सवारीमा यात्रारत सबै जहाँ छन् त्यही रोकिनुप¥यो । संसारभरका मानिस चार दिवारभित्रै बस्नुपर्ने भयो । काम, काम भनेर कुदिरहेकाहरू विश्राम चाहन्थे, केही क्षण बसेर सुस्ताउन चाहन्थे, आफ्नो घर–परिवारसँग रमाउन चाहन्थे । आज त्यही दिन आइपुग्यो ।
हिजो काममा कुद्दा लाग्थ्यो, ‘कति कामै मात्र गरिरहनु कहिलेकाहीं त घरमै बस्न पाए हुने’, ‘उफ् ! यो काम’, ‘हाय मेरो जीन्दगी मलाई कति दुःख छ !’ ‘बसीबसी खानेदिन कहिले आउला ?’ आदि–इत्यादी कुरा मनमा आउँथे । त्यो बेला लाग्थ्यो, काम गर्नु त दुःख हो । बसिरहनु पो सुख हो । तर जब कल्पना गरिएको त्यही सुख अर्थात् बसिराख्ने अवसर आयो नि, पहिलो एकदिन मात्रै कोठाभित्रै आफ्नो कायालाई रोकिराख्न हम्मे प¥यो । अरू पनि धेरै दिन यसैगरी बिताउनु थियो । कममा कुदिरहँदा कल्पना गरेको ‘बसीबसी खाने’ दिन त आयो तर चौबीस घण्टा मात्रै पनि यो खप्न सकिएन । बस्ने मात्रै भएको भए एउटा कुरा, यहाँ त कोरोना संक्रमणको डर छ । त्योसँगै अरू पनि धेरै डर छन् । न कतै घुमफिरको अवसर, न अघिल्ला दिनहरूजस्तो भेटघाट र अन्तरंग ।
विगतको याद, सम्भावित भय र आगतको चिन्ताबीच एउटा घरको कोठा, कौसी, छत र आँगनमा सीमित हुनु वास्तवमा सुख थिएन । सुख त काम गर्दा नै थियो । व्यस्त हुँदा नै थियो । ‘बसीबसी खाने’ भन्दा परको अर्को कल्पना नभएकाले होला । यो कोठामा बसीबसी खाइरहेका बेला विगतकै सक्रियता याद आयो । विगतको कामको बोझ नै सही त्यही कुरा ‘मिस’ भयो ।
एकान्तबासमा हुँदा मनमा अनेकन भाव आए, गए तर एउटा भावले भने जरा गाड्यो, यो बसिराख्ने कहर कहिले सकिएला र काम गरिराख्ने अनि आफूलाई गतिवान् बनाइराख्ने दिन कहिले आउला ! अहिले मान्छेहरूको भिडबीच आफ्ना डेगलाई छिटोछिटो चाल्ने दिनको सुन्दर कल्पना गर्दै बसिएको छ ।
यति लेखेपछि बाहिरफेर नजर लगाएँ, अघिको हुरी केही कम भएको थियो । कोठामा बिजुली गायब भए पनि आकाशमा बिजुली चम्किरहेको थियो अनि पातलो झरीका कारण हावालाई केही असहजता भइरहेको थियो । सुख के हो ? भन्ने प्रश्नको स्पस्ट परिभाषा पाउन नसकिए पनि, अहिलेको मेरो निष्कर्ष थियो, दिलोज्यान र बुद्धि–विवेक लगाएर, असिन–पसिन हुँदै गरिने काम अनि त्यसले दिने परिणाम नै सुख रहेछ । कामै गर्न नपाउनु, शरीरमा रोग लाग्नु वा लाग्ने भयबीच बसिराख्नु यो पो दुःख रहेछ । स्वास्थ तन, शुद्ध मन र तन्दुुरुस्त शरीर लिएर पसिना बगाउन पाउने दिनको सुन्दर कल्पना गर्दै यत्ति लेखियो । जय–होस् !