काठमाडौं । कोरोना भाइरसका कारण मुलुक लकडाउनमा छ । यस्तो अवस्थामा म बाहिर निस्कने कुरा पनि भएन । बिहान–बेलुकी खाना बनाउने अफिसको काम गर्ने अनि फुर्सदको समयमा किताब अनि मोबाइल हेर्ने । यसरी नै मेरो दैनिकी बितिरहेको छ ।
खेलकुद पत्रकार भएका कारण राजनीतिक समाचारहरूमा धेरै रुचि जाँदैन् । उसै पनि मलाई राजनीति धेरै मन पर्दैन । राजनीतिको नाम भनौं या एउटा नागरिकको हैसियतले भनौं जसको विचार राम्रो भयो उसलाई भोटसम्म हाल्ने काम भने गर्छु ।
हिजो आज राजनीतिक समाचार पनि धेरै हेर्न थालेको छु । तर, मैले खोजेको समाचार कहिले पत्रिका, अनलाइन अनि रेडियोमा सुन्दैन अनि देख्दैन पनि । अब राजनीतिक समाचार आएका छन् त यसले कस्तो समाचार खोजेको भन्ने प्रश्न आउला ।
मैले देख्न चाहेका समाचार ।
कुन मन्त्रीले कुन स्थानमा राहत वितरण गरे ? कुन राजनीतिककर्मीले कहाँको नागरिकलाई सहयोग गरे ? कुन मन्त्रीले आफ्नो एक महिनाको तलब कटौती गरेर राहत कोषमा हाले ? यो यस्तै समाचारको खोजीमा छु । तर, लकडाउन भएको २८ दिन बित्दा पनि यस्तो समाचार पढ्न, देख्न अनि सुन्न पाएको छैन ।
यो सबै प्रश्न सबैलाई गर्दैन आरम्भ आफ्नै गर्छु । उसो त सबै मन्त्री तथा सासंदसँग मेरो पहुँच पनि छैन । आफैंले पनि भोट हालेर जिताएको सासंदलाई यो सबै प्रश्न गर्ने अधिकार भने मलाई छ । करिब आठ सय किलोमिटर टाढा जुम्लामा मेरो घर । काठमाडौं बसेको लामो समय भयो । योबीच मैले मेरो जिल्लाका सासंद गजेन्द्र महतलाई प्रत्यक्ष भेट्न पाएको छैन । कहिले–काहीँ उहाँले संसदमा बोलेको भिडियो क्लिप भने हेर्ने गर्छु ।
यदि राजनीतिक बिटमा पत्रकारिता गर्थे भने सायद धेरैपटक हाम्रो भेट हुने थियो । यो समयमा भने सांसदज्यूको साह्रै याद आएको छ । सायद यो समयमा मैले मात्र होइन जुम्लावासी सबैले तपाईंलाई याद गरिरहेका छन् । भलै सबै जुम्लाका बासिन्दालाई सम्झने तपाईंसँग समय नहोला ।
तपाईंको फेसबुक वालमा धेरैपटक हेर्ने गर्छु । जुम्लाका विकास र विस्तारका कुराहरू कति रहेछन् भनेर । तर, यो महामारीका बेला तपाईंको फेसबुक कमै चलेको देख्छु । उसो त जुम्लामा इन्टरनेटले राम्रो काम गर्दैन पनि । भोट माग्दा तपाईंले भन्नुभएको थियो– जुम्लाका सबै बस्तीमा फ्री–इन्टरनेटको व्यवस्था गर्छु भनेर । आशा गरौं छिटै पूरा होस् ।
अब मुख्य कुरामा लागौं । म यति बेला लकडाउनमा छु । खाना बस्न र दैनिक गुजारा गर्न पुगेको छ । तर, मजस्तै काठमाडौंमा बस्ने सबै जुम्लावासीहरूको अवस्था कस्तो छ भन्ने तपाईंले आजसम्म पनि सोच्नुभएको छैन । नत कसैलाई सोध्ने जाँगरै पाल्नुभयो । तपाईंले आफ्नो फेसबुकमा एउटा स्टाटस हालेर पोस्ट गरेको भए पनि म ठीक छु है भन्ने जवाफ दिने थिएँ । किनकि म तपाईंको फेसबुकमा साथी छु ।
यो त परको कुरा भयो । यदि मैले भोलिको दिनमा खान नपाएर जुम्ला जानुपर्ने भयो भने ? किनकि यही तरिकाले लामो समयसम्म यतै बस्नुपर्यो भने त पक्कै भोकमारी अवस्था आउँछ । म आफ्नो परिवारबाट मागेर गुजारा चलाउँला तर, यहाँ यस्ता पनि मानिस छन् जसले आफ्नो परिवारलाई पाल्न राजधानीमा दैनिक मजदुरी गरिरहेका छन् । अब गाउँ फर्कनुपर्यो भने । सोच्नुस् त... आठ सय किलोमिटर हिँड्न सम्भव छ ? तपाईंलाई जुम्ला जानुपर्यो भने त हेलिकोप्टर चार्टर्ड नै गर्न सक्नुहुन्छ होला । अनि हाम्रोबारेमा केही सोच बनाउनुभएको छ ?
अनि अर्काे कुरा तपाईंले आफ्नो एक महिनाको तलब राहत कोषमा हालेको पनि हेर्न चाहन्छु । ताकि सबै जिल्लाका सासंदहरूलाई उदाहरणका रूपमा पेस गर्न सकुँ । तपाईंको एक महिनाको तलब कटाउँदा तपाईंलाई केही फरक पर्दैन मलाई थाहा छ । तर, गरिब जनतालाई धेरै राहत मिल्नेछ । यो सबै मेरो गुनासो र सकारात्मक सोचका रूपमा लिनुहोला । अब म तपाईंको जवाफको आशामा छु ।
धन्यवाद ।
तपाईंकै जिल्लावासी ।
भुपेश उपाध्याय, जुम्ला ।
हाल : कीर्तिपुर