काठमाडौं । पाँच दाजुभाइ । प्रौढ नढल्कँदै वृद्धावस्थामा पाइला राखिसकेका आमाबाबु । खेती कमाइ गरेर वर्षदिन खान नपुग्ने भएपछि ६ महिनाअघि वासुदेव भट्ट काम खोज्दै दार्चुलाको सीमावर्ती इलाका धार्चुला धकेलिएका थिए ।
आफूसँग सामान्य शिक्षा थियो । काम नै के पाइन्थ्यो र ! धार्चुलाको सिन्नेखोलामा पिथौरागढ प्रशासनले सडक निर्माण गर्दै थियो । उनी त्यहीँ भर्ती भए ।
कष्टसाध्य काम । सस्तो ज्याला । बालखैदेखि हन्डर, ठक्करको बानी परेका वासुदेवले जसोतसो ६ महिना गुजारे । रुखोसुखो खाएर घरमा दुई–चार हजार रुपैयाँ पनि पठाए ।
पुसको प्रारम्भदेखि चीनमा कोरोनाको कहर सुरु भयो । वुहानबाट सुरु भएको कोरोनाको प्रकोपले अन्यत्र पनि गाँज्न थालिसकेको थियो ।
त्यसबाट पूरापूर अनभिज्ञ थिए वासुदेव । चीनमा फैलिएको कोरोनाको कहरबाट आफू पनि प्रताडित हुनुपर्छ भनेर वासुदेवले चिताउन् पनि कसरी ?
चीन छिचोलेर युरोपमा रजगज गरिरहे पनि पिथौरागढसम्म पुगिसकेको थिएन । काम निर्वाध चलिरहेको थियो । चैतको पहिलो सातामा आइपुग्दा अवस्था नकल्पिएकै भयो । कोरोनको प्रकोपले युरोप, अमेरिका हुँदै भारतसम्मै गाँजेपछि ठेकदार काम स्थगित गर्ने निष्कर्षमा पुग्यो ।
काम ठप्प भएपछि रासनपानीको समस्या निम्तने भयो । ठेकेदारले पनि बेवास्ता गर्न थाल्यो । सयौं मजदुरको दशा वासुदेवको जस्तै थियो । गुन्टा बोकेर सबै मजदुर आफ्नो घरको बाटोतिर सोझिए । वासुदेव पनि चार–पाँच घण्टा पैदल हिँडे दार्चुला सीमावर्ती बजार आइपुगे ।
धार्चुला बजारमा सयौं भेला भएका थिए । मानिसहरूको भीड, कोलाहल, चित्कार थियो । कोही नारा लगाइरहेको थिए । कोही बेवारिसेझैं सडकमा अलपत्र थिए । बजारको अवस्था हेर्दा सुरुमा त उनी चकित परे ।
दार्चुला सदरमुकाम खलङ्गावारि देश फर्कनेहरूको लावालस्कर थियो । देश खोज्दै आएका प्रवासी मजदुरहरूको हुल वासुदेवले पहिलोपटक देखेका थिए । सिंगै भारत नेपाल छिर्न खोजिरहेको प्रतीत हुन्थ्यो । देश फर्कन पाइने आशा बोकेर तीन–चारसय किलोमिटर छिचोलेर मानिसहरू धार्चुला बजार आइपुगेका थिए । दार्चुला पस्ने गेट बन्द थियो । उनीहरू आफ्नो भूमि पस्न पाएन् । निमुखा कामदारहरूलाई आफ्नै देशले वैरीको व्यवहार गर्यो ।
चैत १५ गते वासुदेव धार्चुला बजार आइपुगेका थिए । दुई दिन महाकालीको बगरबाट नेपालतिर हेरेर नाराबाजी गरे । सरकारसँग अनुनयविनय गरे । उनीहरूको केही सीप चलेन । पौडन जान्नेहरू महाकालीमा हेलिए । नाङ्गैभुतुङ्गै देश पसे । परिवार भेट्ने धोको पूरा भयो ।
वासुदेवको दुःख सिध्धिएकै थिएन । चैत १६ गते बेलुकीपख पिथौरागढ प्रशासनले बलुवाकोट महाविद्यालयको शिविरमा बसोबासको प्रबन्ध गरिदियो । भारतीय प्रशासनको दया–मायामा पहिलोपल्ट निर्भर हुनुपर्यो ।
देश फर्कने आशैआशमा १६ दिन उनले बलुवाकोटको शिविरमा बिताइसकेका थिए ।
१७औं दिनको बिहानीपख उनको जीवनमा दुःस्वप्न ठोकिन आइपुग्यो । नियतिले बलुवाकोटको शिविरमा धकेलेकै थियो । थाप्लामा अर्को वज्र बज्रियो ।
सारसौदो छाडेर गएकी आमाले सदाका लागि वासुदेवलाई छाडिन् । दुई–तीन दिनअघि मात्रै कुरा भएको थियो । आमाको टठिलो आवाज सुनेर ढुक्क थिए । चाँडै फर्कने विश्वास पनि दिलाएका थिए । नियतिले महाकालीको किनार फाटेजस्तो मृत्युले आमा र छोरा बीचमा कहिल्यै नभेटिने रेखा कोर्यो । कोरोना भयानक दुःस्वप्न बनेर आयो । जिन्दगीले दुर्दान्त क्षण बेहोर्न विवश भयो ।
६५ वर्षीया आमा गौमतीलाई अचानक हृदयाघात भयो । उपचारका लागि बैतडी अस्पताल त पुर्याइयो । चिकित्सकको प्रयत्न सफल हुन पाएन । नयाँ वर्षको भोलिपल्ट बिहान, झिसमिसेमै उनको प्राणपखेरु उडिहाल्यो ।
आमाकै खुसीका लागि उनी अर्काको भूमिका मजदुरी गर्न पुगेका थिए । प्राण जाँदा सँगै हुन पाएनन् । वासुदेवलाई आफ्नो जीवन सार्थक नभएकामा खुब पछुतो भयो ।
सास जाँदा त सँगै हुन पाएनन्, पाएनन् । किरिया त आफ्नै भूमि (देश) मा गर्न पाउँ भन्दै बलुवाकोटमा शिविरको व्यवस्थापन गरिरहेका अधिकारीहरू गुहारे । बलिन्द्रधारा आँसु बगाउँदै देश पठाइदिन याचना गरे ।
वासुदेवको जीवनमा आइपरेको बज्रपात देखेर त्यहाँका अधिकारीहरूको पनि मन रसायो । तर निरुपाय थिए उनीहरू । अन्तिममा ‘तिम्रो देशले प्रयत्न गर्छ भने हामी पठाउन सघाउँला’ भन्दै गए ।
त्यसदिनको दशा सम्झँदै सुवास भन्छन्, “भारतीय अधिकारीहरू आएर कोठाको प्रबन्ध गरिदिए । किरिया बस्ने ठाउँ, लुगाफाटो मिलाइदिए । तर, देश फर्कने वातावरण मिलाइदिन सकेनन् ।”
अहिले वासुदेव बलुवाकोट महाविद्यालयको छुट्टै कोठामा, कुनामा बसेर छाती पिटीपिटी रोइरहेका छन् । देश फर्कन नपाएपछि केश मुण्डन गरेर, सेतो वस्त्रभित्र गहिरो शोकमा डुबेका छन् ।
हिजोसम्म साथी–सङ्गातीसँग कुरा गर्न मन गर्थे । आजबाट उनको वाक्य बसेको छ । तीन दिनदेखि भातपानी केही पनि नखाइ धुम्धुम्ती बसिरहेको सुवास बताउँछन् ।
“मलाई छिटो देश फर्काइदेओ भनेर बर्बराउँछन् । हामी के गर्नु । सबैको उस्तै हालत छ । यस्तो दशा कसैलाई जीवन पनि आइनलागोस् !,” उनीसँग एउटै शिविरमा बसेका सुवास बिलौना गर्छन् ।
“हिजो दिनभर नगरपालिकाका मेयर, दार्चुलाका सीडीओसँग कुरा गर्न खोजे । कतिलाई देश फर्कादेओ, किरिया गर्न त देओ भनेर रोए । आजबाट त थाकेछन् क्यारे, बोल्नै मन गर्दैनन्,” सुवास भन्छन् ।
वासुदेवको मनोदशा देखेर उनका साथीहरू पनि तर्सिएका छन् । त्यही नियति आफ्नो जीवनमा ठोक्किन आइपुग्ने हो कि भनेर त्राहित्राहि छन् ।
“अन्तिम घडीमा आमाको मुख हेर्न नपाए पनि आफ्नै देश गएर किरिया गर्ने मन थियो । दिनभर धामा नगरेका पनि होइनन् । हामीले पनि जोडबल गर्यौं । तर, केही सीप लागेन,” सुवास थप्छन् ।
“न आमाको मुख हेर्न पाएँ । न किरिया गर्न पाएँ । एउटा भाइ बैंलोरमा छन् । बाँकी तीनजना भाइहरू पनि सानै छन् । बाको हालत के होला ? घरमा खर्च पनि छैन, कसरी किरिया उतार्ने हो ? भन्दै रोइरहन्छन्,” वासुदेवको भनाइ उद्धृत गर्दै सुवास भन्छन् ।
बाह्रखरीले वासुदेवको पीडाबारे दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलसँग पनि कुरा गरेको थियो । उनले बिहीबार प्रशासन खुल्नेबित्तिकै वासुदेवलाई नेपाल ल्याउन पहल थालिने बताए ।
“यो मानवीय कुरा हो । मैले पिथौरागढको स्थानीय प्रशासनसँग कुरा गरिसकेको छु । अन्तर्राष्ट्रिय सीमा भएकाले त्यहाँको प्रशासनले माथि कुरा गर्नुपर्छ भनेको छ । आज प्रशासन खुलेपछि आदेश आउँछ होला । आदेश आउनेबित्तिकै नेपाल ल्याउन पहल थाल्छौं,” उनले आश्वस्त पार्दै भने ।
उनले खबर थाहा पाउनेबित्तिकै आफूले पहल थालेको र अन्तर्राष्ट्रिय सीमाको कुरा भएकाले समस्या भएको पनि बताए । “मानवीय संवेदनाको कुरा हो । उहाँलाई मात्रै भए पनि ल्याउनुपर्छ । मैले त्यहाँको प्रशासनलाई भनिसकेको छु । आज समस्या समाधान हुन्छ,” उनले वचनबद्धता व्यक्त गरे ।