बष्टन (अमेरिका) । चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोनाभाइरसको संक्रमणले अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा रहेका नेपालीहरुको दैनिक जीवनमा पनि यसले प्रभाव पारेको छ ।
अमेरिकामा रहेका नेपालीहरु सामाजिक दूरी कायम राख्दै घरैमा बसिरहेका छन् र कोभिड–१९ लाई विस्तार हुनबाट रोक्न सघाउ पुर्याइरहेका छन् ।
अस्पताल तथा स्वास्थोपचार क्षेत्रसँग सम्बन्धित र अन्य अत्यावश्यकीय सेवामा संलग्न व्यक्तिहरु अग्रपंक्तिमा रहेर जनजीवनलाई सेवा गरिरहेका छन् । उनीहरुलाई हिरोको रुपमा पनि सरकार तथा जनताले सम्मान व्यक्त गरिरहेका छन् ।
हामीले न्यूयोर्क, क्यालीफोर्निया, कनेक्टिकट र न्यूह्याम्सरमा बस्ने नेपालीहरुसँग कुरा गरेर उनीहरुको अनुभव बटुलेका छौं । उनीहरु सबैको साझा अनुभव उस्तै छ, प्रायः सबैजना यो लकडाउनबाट बाहिर निस्कन चाहन्छन्, यद्यपि सरकारको कोरोनाविरुद्धको युद्धसँग उनीहरुको सहकार्य छ र यसका लागि नियमको पालना गर्नैपर्छ । घरैमा बस्ने कुरालाई सचेतनाका साथ पालना पनि गरेको देखिन्छ ।
हेरौँ अमेरिकामा रहेका नेपालीहरुको अनुभव
डा. कञ्चन कोइराला, पल्मोनोलोजिष्ट (पालोमार हेल्थ हस्पिटल, सान डिएगो, क्यालिफोर्निया)
सान डियगो, क्यालिफोर्नीयामा कोरोना भाइरसका बिरामी अमेरिकाका अन्य स्थानभन्दा कमै छन् । कोभिड–१९ लागेर सघन उपचार कक्षमा भर्ना भएका बिरामीहरुलाई सेवा दिइरहेको छु । हाल मैले हेरिरहेका बिरामीहरुमध्ये करिब ५ जना अति सिकिस्त छन् भने २ जना भेन्टिलेटरमा रहेर मृत्युसँग संघर्ष गरिरहेका छन् ।
अति कमजोर र धेरैनै गलेका करिब ३ जना बिरामीहरुको मृत्यु भइसकेको छ ।
म पालोमर हेल्थ हस्पिटलमा पल्मोनरी तथा आईसीयू डिपार्टमेन्टमा कार्यरत रही हाल कोरोनाभाइरसले सिकिस्त भएका बिरामीहरुको सेवामा उपलब्ध छु । जब कोभिड १९ चीनको वुहानमा धेरै मानिसको मृत्युको कारण बनिरहेको थियो, त्यतिबेलादखिनै यो अस्पतालमा आवश्यक पूर्वतयारीहरु गरेका थियौँ ।
यो अस्पतालको सञ्चालक समितिमा पनि म रहेको छु र मैलेनै पूर्वतयारीको सुझावहरु दिएको थिएँ ।
कोरोनाभाइरस बयोवृद्धलाई बढी लाग्ने गरेको छ । तर २० वर्ष, ४० वर्ष, ५० वर्ष उमेर समूहका मानिसलाई पनि यो भाइरसले आक्रमण गरेको छ । जसको रोग प्रतिरोधात्मक क्षमता अत्यन्त कमजोर छ र जो दम, मुटुरोग आदिको बिरामी छ, उनीहरुलाई यो रोगले हदैसम्म गलाउँछ । म बसेको काउन्टीमा हालसम्म ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ककेसियन, हिस्प्यानिक र ब्ल्याकको बढी बाहुल्यता छ ।
को बढी संक्रमित हुने र संक्रमित भएपछि कसलाई रोगले बढी गाल्छ भन्ने कुरा उमेर, शारीरिक अवस्था एवम् अर्थ सामाजिक स्थितिले पनि फरक पार्ने रहेछ । कोरोना लागेर पनि लक्षण नदेखिने पनि हुन्छ कतिपयलाई, त्यो स्थितिलाई एसिम्टोम्याटिक भनिन्छ ।
कोभिड १९ संक्रमित भएर पनि लक्षण नदेखिने मानिसहरु यो भाइरसका सक्रिय स्रोत हुन सक्छन् ।
त्यसैकारण यस्तो महामारीमा सबैजना घरमै बस्ने, सामाजिक दूरी कायम गर्ने तथा व्यक्तिगत सरसफाइमा ध्यान दिनेजस्ता कुराहरुले यो महामारीलाई फैलिनबाट रोक्न सकिन्छ । कोरोना भाइरस संक्रमणको दर अहिले क्यालीफोर्नीया राज्यमा निकै कम भएको छ ।
उत्तरी छिमेकी राज्य वासिङ्गटनमा कोरोना देखिनासाथै क्यालिफोर्नियाको जनस्वास्थले सावधानीका उपाय अपनाएको थियो ।
समयमै लकडाउन गरेको कारणले र यहाँका बासिन्दाहरुले पनि राज्यका गभर्नर र सिटीका एड्भाइजरीहरुको राम्रोसँग पालना गरेकै कारण हुनसक्छ संक्रमण फैलावटको वृद्धिदर रोकिएर घट्दो क्रममा छ । त्यसैकारण क्यालिफोर्नीया राज्यले ५०० थान भेन्टिलेटरअरु अरु राज्यहरुको आवश्यकताका लागि दिएको छ ।
सान डियगोमा करिब २५० नेपाली परिवारहरु बसोबास गर्दछन् उनीहरु प्रायः सूचना प्रविधि सम्बन्धी पेशा व्यवसायमा संलग्न छन् ।
नेपालीभाषी भुटानीहरुको पनि बसोबास रहेको छ यहाँ । नेपालीहरु कसैलाई पनि संक्रमण लागेको सुनेको छैन ।
पद्मा लिंङ्खा मगर– ज्याक्सन हाइट्स, न्यूयोर्क
लकडाउनमा बसेको अहिले २६ दिन जति भयो । दिनहुँ मृत्युका समाचार हेर्दा अत्यास लाग्छ । समाचार नहेरी पनि बस्न सकिँदैन । म कोरोनाभाइरसका बिरामीहरु उपचार गरिने न्यूयोर्कको एल्महस्र्ट हस्पिटलको नजिकै बस्छु । बाहिर निस्केको छैन । समाचार सुनेर भन्नेहो भने यहाँको स्थित भयाबहनै छ । चामल र गेडागुडीको पर्याप्त जोहो गरेका छौँ ।
तर ताजा तरकारीहरु चाहिँ बेलाबेलामा सकिन्छ । त्यस्तो बेला अनलाइन अर्डर नै राम्रो विकल्प हो । अनलाइन अर्डर गर्दा आफ्नो पालो निकै पछि आउने रहेछ । मेरो अपार्टमेन्टमा कोही कोरोनाका बिरामी छैनन् । हामी सबैजना ठिक छौँ । तर डर लाग्छ अहिलेको यो परिस्थितिमा मेरो श्रीमानको काम चाहिँ खुला छ । तर हिजोआज उहाँ काममा जानुभएको छैन ।
वसन्तको यो समयमा बाहिर फूलहरु फूलेका कारण एलर्जीको सिजन पनि हो यो । त्यसकारण उहाँ काममा नजानुभएको हो । अहिले नेपाली समूदायका संघसंस्थाहरुले एकजूट भइ आवश्यक परेका नेपालीहरुलाई सहयोग गरिरहेका छन् न्यूयोर्कमा । त्यो अत्यन्तै सराहनीय काम हो । अनि अर्को कुरा विभिन्न विचारधारा र उद्देश्यबाट सञ्चालित ति नेपाली संघसँस्थाहरु यसरी मिलेर काम गरेको देख्नु खुसीको कुरा पनि हो ।
उहाँहरुले संक्रमित नेपालीहरुलाइ आवश्यक परेको खण्डमा ग्रोसरी तथा औषधीहरु पुर्याइदिइ राख्नुभएको छ । म अमेरिका आएको १३ वर्ष जति हुन लाग्यो । मेरो घर रुकुुम र माइती संखुवासभा हो । जिविकाको लागि म पार्लरमा काम गर्छु । काम ठप्प हुने भइहाल्यो यस्तो परिस्थितिमा । यो कारोना कहर सपना हो कि विपना हो जस्तो लागिरहेको छ ।
एउटा मान्छेदेखि अर्को मान्छे डराउनुपर्ने यो कस्तो दिन आयो । प्रविधि सम्पन्न राष्ट्र अमेरिकामा कोरोनाले यस्तो त्रास उत्पन्न गरेको छ । नेपालमा कोरोना नफैलियोस् भन्नका लागि सबैजना सचेत हुनुहोस्, सबैजना घरमै बस्नुहोस र सामाजिक दूरी कायम गर्नुहोस् भन्ने मेरो सन्देश छ ।
फुर्सदको समयमा म गीत, गजल र कविताहरु लेख्छु । मेरा गीतहरु सामाजिक विषय, प्रेम विछोड आदिमा केन्द्रित हुन्छन् । यो बन्दको समयमा कितावहरु पढेर दिन बिताइरहको छु । अहिले चाहिँ म सरस्वती प्रतिक्षाको नाथिया भन्ने किताब पढिरहेको छु ।
गोकुल श्रेष्ठ– क्वीन्स, न्यूयोर्क
म सेल्फ क्वारेन्टाइनमा बसेको करिब २३ दिन जति भयो । हालसम्म कुनै लक्षण देखिएको छैन । म पनि अपार्टमेन्ट सेयर गरेर बस्छु तर हामीमध्ये कोही पनि बाहिर निस्केका छैनौं । ग्रोसरी, ड्राइ फूड र खाद्यान्न २ महिनासम्म पुग्ने गरी जोहो गरेका छौँ । मेरो सम्पर्कमा भएका साथीभाइहरु पनि सेल्फ क्वारेन्टाइनमै छन् ।
न्यूयोर्कमा धेरै नेपालीहरुलाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ । तर उनीहरु यो कुरा अरुलाई भन्न खोजिरहेका छैनन् ।
कति नेपालीहरुलाई कोरोना भएको छ भनेर यकिन संख्या भन्न सकिने स्थिति छैन किनभने यस्तो किसिमको तथ्यांक न त अस्पतालले नै सार्वजनिक गरेको छ अथवा न न्यूयोर्क सिटीले नै ।
कोठा तथा अपार्टमेन्ट सेयर गरेर बस्ने भएका कारण पनि संक्रमितहरुबाट अरुमा सजिलै कोरोनाभाइरस फैलिन्छ । गर्मी महिना सुरु भएपछि कोरोनाको यो संक्रामक अवस्थाको अन्त्य होला कि भन्ने अपेक्षा छ । म पनि राइड सेयरिङमा इन्डिपेन्डेन्ट कन्ट्रयाक्टरको रुपमा काम गर्थेँ तर अहिले काम बन्द गरेर बसिरहेको छु । नेपालमा म सगरमाथा टेलिभिजन सम्बद्ध सञ्चारकर्मी थिएँ । न्यूयोर्क बस्न थालेको छ वर्ष जति भयो ।
न्यूयोर्कमा अहिलेको यो समयमा काम नगरी बस्न नसक्ने धेरै मानिसहरु छन् । किनभने उनीहरुसँग अर्को विकल्प पनि छैन ।
दोर्जी शेर्पा– ज्याक्सन हाइट्स
म पनि मार्च १६ देखी लकडाउनमा बसेको छु । ज्याक्सन हाइट्समा आफनो परिवारको साथमा बस्दछु । खानेकुरा र तरकारीहरु अनलाइन अर्डर गरेर इन्स्टाकार्ट मार्फत मगाउने गरेको छु तर डेलिभरी डेट पाउन निकै गाह्रो छ । धेरै दिन नबिग्रने खानेकुराहरु त स्टक किनेर राखेको पनि हुन्छ । तर सागसब्जीहरुका लागि भने पसलमै किन्न जानुपर्ने स्थिति छ ।
यहाँ नजिकै भारतीयहरुको पटेल ब्रदर्स भन्ने स्टोर छ । आवश्यक परेको खण्डमा त्यहाँबाट ल्याइन्छ ।
मलाई अलि अगाडि चिसो लागेजस्तो भएको थियो । स्वाद र वासना थाहा पाउने क्षमता पनि गुमेजस्तो भएको थियो तर ज्वरो थिएन । अहिले स्वाद र वासना थाहा पाउने क्षमता फेरि आइसकेको छ । त्यो चिसोकै लक्षण मात्र हुनुपर्छ ।
अमेरिकामा पनि यस्तो महामारी फैलेला भन्ने मलाई लागेको थिएन । अमेरिकामा जब पहिलोपटक वासिङ्गटन राज्यमा कोरोनाभाइरस देखियो त्यतिबेला यहाँ गम्भिरतापूर्वक लिइएन । लकडाउन गर्न पनि ढिलाइ गरियो । पहिला मास्कहरुको प्रयोग हेल्थकेयर वर्करले मात्र गर्ने हो सर्वसाधारणले गर्ने होइन भनिएको थियो । तर भाइरसको बारेमा नयाँ तथ्यहरु आएपछि अहिले भने मुख छोपेर हिंड्नुपर्छ भनिएको छ ।
प्रकाश बुढा– रचेश्टर, मुन्रो काउन्टी, न्यूयोर्क स्टेट
अन्य न्यूयोर्कवासी जस्तै अपस्टेट न्यूयोर्कमा पनि प्रायः सबैजना घरैमा बसेका छन् । स्थिति निकै भयावह बन्दै गएको छ अमेरिकाभर र खासगरी न्यूयोर्कमा । म यात्रामा आधारित भएर अमेरिकाका विभिन्न अदालतहरुमा दोभाषेको काम गर्छु तर अहिले यात्रा बन्द छ र काम पनि बन्द हुने भइहाल्यो ।
यात्रामा धेरै अभ्यस्त मेरो जीवन अहिले एकाएक फरक बन्न पुगेको छ । मेरो यात्रा जीवन पनि मिस भइरहेको अवश्था छ । न्यूयोर्क सहर म बसेको स्थानबाट ३ सय २० माइल टाढा पर्छ जहाँ कोभिड १९को ताण्डब चलिरहेको छ । न्यूयोर्क सहरमा जस्तो डरलाग्दो परिस्थिति छैन म बसेको अपस्टेट न्यूयोर्क क्षेत्रमा तर पनि संक्रमणहरु बढिरहेका छन् ।
मलाई विश्वास छ, यो विश्वव्यापी दुःखको अन्त छिट्टै हुनेछ । सामाजिक दुरी कायम गरौँ, घरमै बसौँ र यो कोभिड १९ लाई पराजित गरौँ ।
राम भण्डारी– न्यू ह्याम्सर
बन्दाबन्दी (लकडाउन) को मेरो दैनिकी सामान्य ढंगले व्यतित भइरहेको छ । म हाल एउटा सरकारी कार्यालयमा काम गर्छु र बन्दका कारण अहिले मेरो काम अनलाइनमार्फत भइरहेको छ । त्यसैले सोमबारदेखि शुक्रबारसम्म दैनिक ८ घण्टा त घरमा कामै गरेर बितिरहेको छ ।
बाँकी दुईदिन परिवारसँग समय बितिरहेको छ । त्यसको साथसाथै सामाजिक सञ्जाल चलाउने, फिल्महरु हेर्ने आदि क्रियाकलापले मेरो सप्ताहन्तको उपयोग हुन्छ । यो उराठलाग्दो समयमा मैले कविताहरु लेखेको छैन । किनभने यस्तो बेलाका रचनाहरु प्नि निराशा उत्पन्न गर्ने खालका हुनसक्छन् भन्ने मेरो व्यक्तिगत मान्यता छ । बरु म आशा जगाउने खालका युवा लेखकका रचनाहरु पढेर पनि समय व्यतित गर्छु । यो लकडाउनले मान्छे मान्छेको सामाजिक दुरी बढेको भएता पनि सामूहिक भावना चाहिँ सशक्त रुपमा बढिरहेको जस्तो मैंले अनुभूत गरेको छु ।
म बसेको राज्य न्यू ह्याम्सरमा हालसम्म २२ जना मानिसको मृत्यू भएको छ । संक्रमितको संख्या ९ सय पुगेको छ ।
अनामिका न्यौपाने (सीता)– वेष्ट हेभन, कनेक्टिकट
यो समय डरलाग्दो छ । अमेरिकालगायत प्रायः विश्वका सबै देशमा यस्तो कहिल्यै नसोचेको कुरा कोभिड १९ को महामारी आयो । म बसेको राज्यमा हालसम्म ४ सय ४८ जनाले कोभिड १९ बाट ज्यान गुमाइसकेको छन् । अहिलेसम्म हामी सुरक्षित छौँ । यो रोगको संक्रमण फैलिनबाट रोक्नका लागि हामी पनि घरमै बसेका छौँ ।
घरमा बस्दा सारै पट्यारलाग्दो दैनिकी छ । खाने, बस्ने, टिभी हेर्ने भन्दा बाहेक अर्को काम केही छैन ।
दैनिक ठुलो संख्यामा मानिसहरु मरेको समाचार सुन्दा सुन्दा सारै दिक्क लाग्न थाल्यो । धेरै समाचार सुनेर डिप्रेसनमा नै गइएला भनेर अहिले त समाचार नै हेर्न छोडेका छौँ । फेसबुक पनि खास हेर्दिनँ त्यही कारणले । नेपालमा सम्पर्क गर्नको लागि केबल म्यासेन्जर मात्र चलाउँछु ।
दैनिक रुपमा नेपालमा रहनुभएका परिवार आफन्तसँग सम्पर्क गर्छु । अमेरिकामा यति धेरै मानिसहरुको मृत्युको खबर सुनेर नेपालमा रहनुभएको मेरो ममीलाई धेरै चिन्ता छ । त्यही भएर दैनिक २ मिनेट मात्र भए पनि ममीसँग कुरा गर्न छुटाउदिन । नेपालमा रहेकी मेरी दिदीको ५ वर्षे छोरीको कुरा सुनेर म छक्क परें । हिजो उसले भन्दैथिइ– काममा जाँदा मास्क, सेनिटाइजर र ग्लभ्स लगाएर जानुहोला, नत्र मरिन्छ । कलिलो त्यो बालमनोविज्ञानमा पनि कस्तो कठोर परिस्थितिले प्रवेश गर्यो ।
नारायण पौडेल– क्यालिफोर्निया
अहिले घरमै बसेर समय बितिरहेको छ । घरै बस्ने भन्ने सरकारको निर्णयलाई सहयोग गर्दा काममा पनि जान पाइएको छैन । काम नभएपछि सरकारले बेरोजगारी भत्ता दिने निर्णय पनि गरेको छ । सबै अमेरिकाका बासिन्दा जस्तै हामी पनि सरकारी राहतको पनि प्रतिक्षा गरिरहेका छौं । अहिलेसम्म बेरोजगारी भत्ता र राहत आइपुगेको छैन ।
तमाम व्यवसाय बन्द भएपछि र मानिसहरु रोजगारीमा नरहेपछि घरको लागि तिर्नुपर्ने किस्ता पनि अहिले केही समयका लागि डिफर गरेको अवस्था छ । खाद्यान्न तथा तरकारीहरुको किनमेल गर्न अनलाइनकै भर छ । यद्यपी, टिक्ने खालका दाल चामलहरुको बन्द हुनु अगाडि किनेका थियौं । बजारमा ट्वाइलेटपेपरको पनि मूल्य वृद्धि भएको छ ।
हामी परिवारमा नयाँ सदस्यको पनि अपेक्षा गरिरहेका छौं यही जुलाइमा । गर्भवती अवस्थामा श्रीमतिलाई अस्पतालको अपोइन्टमेन्टमा जानलाई पनि समस्या भइरहेको छ ।
म बसेको पिट्सबर्ग सहर कोन्टा कोष्टा काउन्टी अन्तर्गत पर्दछ जहाँ ११ जनाको मृत्यु भएको छ ।