खिलक बुढाथोकी
घडीका तीनवटै सुई एकै ठाउँ हुन केही सेकेन्डमात्रै बाँकी थियो ।
मसँग उसको पहिलेकै एउटा नम्बर छ, एनसेलको । फोनमा हैन मनमा सेभ भएको । हतारिएर मोबाइलमा डायल गरेँ । स्विचअफ पो रहेछ !
अरु नम्बरहरु पनि थिए उसका । मैैले माग्न जरुरी ठानिनँ । न उसले बताउन चाह्यो कहिल्यै । तर हाम्रो ग्रुपका धेरै साथीहरुसँग उसका सबै नम्बरहरु थिए ।
शिखाको नम्बर डायल गरेँ । चार रिङ्गपछि उठाई उसले । मस्त निदाएकी थिई सायद । मेरो फोनले मुटु कामेछ उसको । केही भएर कल आए झैं लागेछ ।
“के भो ओई,” डराउँदै आत्तिएर बोली ।
“मलाई वसन्तको नम्बर दे न यार । अन्तिममा ३३ भएको वालामा फोन लागेन,” भूमिका बाँध्न जरुरी थिएन । नबाँधी कुरा सकाएँ ।
“के भन्छे यो केटी । नेपालको नम्बरले थोडी फोन लाग्छ ?”
“नेपालको नम्बर ?” चकित भएँ म ।
“वसन्त कहाँ गएको छ र ?”
“ऊ विदेश गएको एक महिना भयो । तँलाई थाहा छैन र ?” उसको आवाजले छक्क मात्र होइन, तीन छक परँे म ।
...
मसँग ऊ छैन । मनको कुनामा उसले सग्लो तस्बिर छाडी गएको छ । सम्झना छाडिगएको छ । नियास्रो छाडिगएको छ । मेरो हस्ताक्षरमा पनि उसको नाम भेटिन्छ । उसले लेखेका शब्दको डायरी सुरक्षित छ । याद आउने कुरा त कति छन कति । मात्र मसँग उसको याद मेटाउने इरेजर छैन ।
वर्ष दिन लगाएर आउने उसको जन्मदिन गनिरहेकी थिएँ । कम्तीमा त्यो दिन विस गरेर खुसी बनाउने बहाना मिल्छ मलाई । बोल्ने बहाना पनि त जन्मदिनले नै जुटाइदिन्थ्यो । बोल्दा मात्रै पनि उसको न्यास्रो खै कता अलप हुन्छ ।
मङ्सिर २९ गतेको प्रतीक्षामा थिएँ । पटकपटक घडी हेरेँ । १२ बज्न पनि कतिबेर लागेको । घडीका तीन वटा सुईलाई एकै ठाउँ पारेर शुभकामना दिउँ झैं भइरह्यो । मन तड्पिइरह्यो ।
रातको १२ बज्नुअघि उसको फेसबुक आईडी खोजेँ, भेटिएन ऊ । प्राय जन्मदिनताका आईडी डिएक्टीभेट गर्छ । यसअघि पनि त एक दुई महिना हराउने, हरियो बाल्दै उपस्थिति जनाउने । उसको बानी थियो । अहिलेको होइन पहिलाकै । हामीले फेसबुक चलाउन थालेदेखिको ।
...
मैले १२ कक्षासम्मै एउटै स्कुल पढेँ । मेरो कक्षामा ऊ सुरुदेखि त थिएन । ऊ कति कक्षाबाट पढ्न आयो राम्ररी याद पनि छैन । ६ कक्षा जस्तो लाग्छ । तर ऊ जुन दिनबाट आयो, त्यसपछि ऊ भएको आभास दिलायो । ऊसँग पहिलो पटक बोलेको पनि खासै सम्झना छैन । तर मलाई यतिचाहिँ याद छ, ऊ आएपछि हाम्रो क्लासका केटीहरुले एउटा क्रस पाए ।
म मास्टरकी छोरी । मेरो बुबा कडा स्वभावको तर पानी झैं सरल । हुन्छ भने हुन्छ, हुँदैन भने हँुदैन ।
कक्षा ८ पुग्दा धेरैले प्रेमगाथा बनाउन भ्याइसकेका थिए । वसन्त पनि सामेल थियो त्यो गाथाभित्र । कक्षा सकिएपछि अलमलिन्थ्यो ऊ । कसैलाई कुथ्र्यो सायद । अझ भनौं न, कोही केटीको प्रतीक्षामा बस्थ्यो ।
झापाको डुडामारी खोलाको आडमा छ मङ्गलबारे बजार, त्यहीँ छ मेरा घर पनि । हरेक मङ्गलबार बजार लाग्छ । अरुतिर त्यस्तो खुद्रे बजारलाई हाट भन्छन् । हामीले कहिल्यै हाट भन्न जानेनौं । घरबाट डुडामारी खोला तरेर ५ मिनेट हिँडेपछि हाम्रो स्कुल आउँछ । लालपानी खोलाको डिलमा छ हाम्रो स्कुल । लालपानी खोलापारि करिब २०÷२५ घरको राजवंशी गाउँ छ । त्यही गाउँ कटेपछि आउँछ वसन्तको गाउँ । दिउँसो खाजा खाने छुट्टीमा म कयौं पटक उसको बारीको बयर चोर्न उसकै गाउँका साथीको साथ लागेर जाने गर्दथेँ । वसन्तको बारीमा पुग्दा अर्कै अनुभूति हुन्थ्यो । कताकता वसन्तसँग बिहे भएपछि मैले काम गर्ने बारी भनेर एकसरो आँखा डुलाउँथेँ ।
प्रजनन् स्वास्थ्यसम्बन्धी एउटा कार्यक्रम चलाउँथ्यो त्यो बेला मेरी स्टोप्स र रिया प्रोजेक्टले । जिज्ञासा नामक मासिक पत्रिका र प्रजनन् स्वास्थ्यसम्बन्धी केही जानकारीमूलक ब्रुसेट बाँडिन्थ्यो । पम्प्लेट बिजुलीका पोलपोलमा टाँसिन्थ्यो । कन्डम, पिल्स चक्की जस्ता गर्भनिरोधक साधनको जानकारीमूलक सडक नाटक देखाइन्थ्यो स्कुलमा ।
९–१० कक्षामा पढ्ने सबै किशोरावस्थाका केटाकेटीको स्वाभाविक रुपमा बानीव्यवहार फरक हुँदै गएको थियो । कतिसम्म भने बिहानको कोचिङ क्लास भैरहँदा केटाहरुको एक हूल कक्षाबाट बाहिरिन्थ्यो ।
ईसाई सुईसुईको कर्कस आवाज कक्षाभित्रसम्म आउँथ्यो । कक्षाभरि हल्ला गरेर वातावरण खराब बनाउँथे । अनि कक्षा सकिएर बाहिर निस्कँदा एड्स दिवसमा कन्डम फुलाएर मार्चपास गरे जस्तो गरी उडाउँथे ।
उनीहरूको व्यवहारले एकप्रकारको लाज उत्पन्न हुन्थ्यो । सरहरुले यसलाई उमेरको उपज मान्थे । हामी केटीहरूचाहिँ सरहरुका अगाडि लाजले रातो–पीरो हुन्थ्यौं ।
केटीहरु केटाहरुसँग बोल्नै नचाहने । कोही बोल्यो भने त्यो त केटाहरुसँग बोल्छे यार भन्दै कुरा काट्थे । मचाहिँ केटाहरुकै बेन्चमा बस्थेँ । केटासँग बोल्ने, केटासँग ठाडठाडै जिस्कने । “लाज पचेको केटी !” मेरा साथीहरुले धेरै पटक भनेका थिए मलाई ।
केटाहरूसँग सङ्गत नगर्नुको विकल्प थिएन । पढाइमा केटीहरु औसत थिए । केटाहरु मेरो प्रतिस्पर्धी । छोरीले लफङ्गा केटीहरुको भन्दा ट्यालेन्टेड केटाको सङ्गत गरेकैमा खुसी थिए, बाबुआमा !
एसएलसीताका कम्बाइन्डस्टडी गथ्र्याैं । राति बाहिर जान अनुमति थिएन मलाई । केटाहरु मेरै घरमा आउथे । रातको ११÷१२ बजेसम्म पढ्थ्यौं हामी । ममी चिया बनाएर ल्याउनुहुन्थ्यो सबैलाई । यसरी पढ्नेमा ७/८ जनाकै ग्रुप थियो हाम्रो । तर कहिले को नआउने, कहिले को नआउने भइरहन्थ्यो । अरु नआएको दिन केही नहुने । वसन्त नआएको दिन पढ्नै मन नलाग्ने हुन्थ्यो मलाई । वसन्त नआएको दिन साथीहरु गइसकेपछि एक्लै बसेर रोएको थिएँ कतिदिन त । उसको अभावमा आँखा कहालिन्थ्यो, मन अतालिन्थ्यो ।
एसएलसीको सेन्टर तोपगाछीको समयगढमा प¥यो । घरभन्दा झन्डै १ घण्टाको साइकल बाटोमा । डुडामारी लालपानी त तर्नै पर्दथ्यो स्कुल जाँदा । कमल र ढ्याङग्री पनि तर्नुपर्ने भयो । अरु त सामान्य लाग्थे तर्नलाई, कमलखोला भने डर लाग्थ्यो । खोलाको स्वभाव कतिबेला ह्वातै आउँछ पत्तै नहुने प्रकृतिको थियो । तरिरहेको बेला ह्वातै आएर लैजाला भन्ने डर लाग्थ्यो । भासिलो थियो खोला पनि, पानीले भन्दा बालुवाले भरिएको ।
आफू मात्रै तर्न त सकस, झन् साइकल पनि तार्नु पर्दथ्यो । अरु साथीहरू क्याम्पा बजार पुगिसक्दा खोला तर्नै नसकेर बस्थेँ म । सबैले छाडेपछि वसन्त कुरिरहेको हुन्थ्यो । आफ्नो साइकल तारेर मेरो तार्न आउँथ्यो वसन्त । साथीहरु पर पुगेपछि ।
वसन्तले हात समाएर खोला ताथ्र्यो मलाई । हातको स्पर्शले किशोर मेरो मनले फरक भाव बुझ्थ्यो । सबैले कडा स्वभाव भएकी छुच्ची केटी भन्थे । बोल्न पनि डराउँथे । तर बिस्तारैबिस्तारै वसन्तले आँट गर्न थाल्यो मसँग मित्रता गर्न, म पग्लँदै गएँ । मैन जस्तै भयो मन । बल्न चाहन्थेँ म, सल्किनँ सक्दैनथेँ । वसन्तले आगो लगायो, मुखले होइन व्यवहारले । मैले पत्तो पाइनँ, माया थियो वा अरु केही । मैलेचाहिँ मायाकै रुपमा लिएँ ।
...
एसएलसीपछि ऊ दमक पढ्ने भयो । मचाहिँ त्यही स्कुल, पपरगाक्षी उमावि । मलाई त कलेज जान समय नै नलाग्ने ।
वसन्त भने २० मिनेट साइकल कुदाएर धरमपुर चोक पुग्यो, त्यसपछि गाडीमा दमक । हाम्रो कलेज छुट्टी हुँदा वसन्त आइपुग्थ्यो, कलेज बङ्क गरेर । कलेज सकिएपछि ग्याङ बनाएर होहल्ला गर्दैै निस्कन्थ्यौं ।
मङ्गलबारे बजारको त्यो रौनक । केटाहरुको ग्याङमा पसेर जिस्काउँदाको मज्जा । वसन्तको हात समाएर उफ्रिन्थेँ मचाहिँ ।
लाग्थ्यो, समय सधैं एउटै रहन्छ । ठाडै झुट ठहरियो । भेटघाट पातलिन थाल्यो । वसन्त दमकमै काम गर्न थाल्यो । दूरीले के छेक्थ्यो र हामीलाई ।
फोन, म्यासेज, च्याट अनि लेटनाइट कल । मेरो दैनिकीका च्याप्टर बने । पढाइका पूरक बने । अभिभावकको आँखा छल्ने आधुनिक बहाना । अन्तरमनमा दबिएको वसन्तले सजिने मौका पायो । स्कुल पढ्दाको साथी ऊ । प्रिय अति प्रिय साथी । अझ भनौं, मैले साथी भन्दा, मेरो मुटुको टुक्रा बनाएको मान्छे । सपनाजपना याद उसकै हुन्थ्यो । तर उसलाई प्रेम व्यक्त गर्न सकिनँ मैले । उसले पनि त मलाई शब्दले केही भनेन । व्यवहारले भने प्रेम भाव झल्कायो । जसरी म उसलाई व्यवहारबाट प्रेम गरिरहेको थिएँ ।
“बेबी !” फोनमा कुरा गर्दाको वसन्तको सम्बोधन थियो यो ।
“धुसा” मैले वसन्तलाई राखिदिएको नाम थियो यो । ऊ सायरी र गजल लेख्थ्यो । साहित्यकार बन्ने अन्तरमनमा टुसाएको हुँदो हो ।
प्लस टुपछि रेडियोमा काम थालेको थिएँ मैले । रेडियोमा सुनेको आवाजको प्रशंसक थियो ऊ ।
नभेटेको दुई हप्ता भएको थियो । मलाईचाहिँ दुई वर्ष जस्तो लाग्थ्यो ।
“बुबा स्कुल, ममी मामाघर ।” वसन्तलाई सुनाएँ मैले ।
“म आउँ त घरमा ?” वसन्तले भेट्ने प्रस्ताव राख्यो । कतिबेला भेटुँझै भएको मलाई के चाहियो र !
रेडियोमा फोन गरेँ, “आज मलाई सञ्चो छैन ।”
सञ्चो नभएर होइन, खुसीले उकुसमुकुस थिएँ म । धुसा आउँदै थियो मलाई भेट्न ।
हातमा किताब बोकेको थियो उसले । सायद, किताब साट्ने बाहना बनाएको थियो उसले ।
फोनमा ननभेज गफ चल्थ्यो धेरैबेरसम्म । घरमा एक्लै भेट्दा ऊ इमानदार भएर बसिरहेको थियो । मानौं, ऊ केटीसँग बोल्दा पनि लजाउँछ ।
दिउँसोको थियो समय । बाफिलो गर्मीले चिटचिट पसिना झारिरहेको । वसन्तलाई देखेर पनि काउकुती लागेको जस्तो भएको थियो मलाई । पसिनाको कारण वसन्त पानी बनेको थियो ।
“कोही आउन्न आज ।” उसले अप्ठ्यारो अनुभूति ग¥यो । वसन्त पटकपटक आएको थियो हाम्रो घरमा । म मात्रै हुँदा होइन, बुबाआमा भाइ सबै हुँदा ।
“बाबा स्कुल । ममी मामाघर । भाइ स्कुल । दादा काममा । अरु को आउँछ ?”
लामो सास फेर्यो उसले । “अनि तिमी !” मलाई अँगालोमा बेरेर बोल्यो ऊ ।
उसका हातले मलाई बेग्लै अनुभूति दिलायो । कहिल्यै नपाएको अनुभूति । मीठो, अमिलो, गुलियो कस्तो भनौं ! झन्, उसले मेरो ओठमा ओठ जोडाउँदाको अनुभूति ।
जब, वसन्तका हात भर्खर बढ्दै गरेका मेरा छातीमा पुगे, यसपछि करेन्ट लागेको जस्तो भयो । दह्रो गरी वसन्तलाई समातेँ । मैले पनि उसकै जसरी ओँठ टोकिदिएँ । जिब्रो चुसिदिएँ ।
वसन्तले मलाई यतिमै छाडेन । सेक्सको लागि तयार देखिन्थ्यो ऊ ।
“धुसा, बिहेअघि सेक्स !” मेरो कुराले हच्कियो ऊ । आफ्नो इच्छालाई मार्यो उसले ।
मनमनै सोचेँ, “वसन्तले मलाई माया गर्दो रहेछ । विश्वास बढायो वसन्तले । ऊ मेरो दिलमा सेट भयो, कहिल्यै नहट्ने गरी । म सेट गर्दै जान थालेँ, वसन्त भत्काउँदै जान थाल्यो । फोन क्रमशः घटायो उसले । पहिलेको जसरी छिनछिनमा आउने म्यासेज पनि कटौती गर्यो ।
पढ्न भन्दै काठमाडौं आएँ म । ऊ पनि मनमा सँगै थियो । याद आउँदा विगतका पाना पल्टाउथेँ । वसन्तको माया सम्झिन्थेँ । तर उसले मलाई एक वर्षपछि सम्झियो ।
९८०.....३३ कलिङ देखियो मोबाइलमा । सेभ थिएन मोबाइलमा । मनले नै मैले उसको नम्बर चिनेँ ।
“कहाँ छौ बेबी ?” वर्षदिनपछिको पहिलो आवाज थियो वसन्तको ।
काठमाडौं आएको रहेछ ऊ । कीर्तिपुरमा बस्दो रहेछ । एक वर्ष सम्पर्कविहीन हुनुको जानकारी गरायो । सरी पनि माग्यो उसले । उसको यादले तड्पिरहेकी मलाई भेट्न पाए के खोज्नु । कीर्तिपुर पुगेँ म ।
“दाजुको कोठा हो !” कोही नभएको मौका पारेको थियो उसले मलाई ।
वल्लो र पल्लो पलङमा बसेर कुरा गरिरहँदै नजिक आएको थियो ।
“तिम्रो कपाल त कति लामो भएछ !” मलाई छुन बहाना बनायो ।
कहिले कानमा हात लैजान्थ्यो, कहिले गर्धन सुम्सुमाउँथ्यो । गफ गरेरै मलाई नजिक बनायो । मेरो पछाडिपट्टिबाट हात छिराएर छातीमा ल्याउन भ्याइसकेको थियो उसले ।
“म पनि अब काठमाडौं बसेर पढ्छु ।” उसले योजना सुनाएको थियो मलाई ।
“हाम्रो पनि भेट हुने रहेछ अब त !” खुसी भएकी थिएँ मचाहिँ ।
“अब त पहिलाको जस्तो सम्पर्कविहीन हुँदैनौ नि !” वसन्तका आँखाले मलाई अन्त नजाने वाचा गरे ।
“म तिमीलाई छाडेर पनि कहीँ जान्छु होला त ?” भाँचिएको मनमा मायाको रसायन भरिरहेको थियो ऊ ।
माया गरेको मेरो मनले उसले तडपाएका यादलाई भुलेर विश्वास गरिरहेको थियो ।
तर उसले पहिल्यैकै जस्तो व्यवहार गर्न थाल्यो । म विश्वास बढाउँदै लैजाने, ऊ वेवास्ता गर्दै जाने ।
सधैं उसले फोन गथ्र्यो मलाई । तड्पिएर बस्थेँ, फोन गर्दैनथेँ मचाहिँ । उसैले बनाएको थियो फोन नगर्ने । बोल्न मन लाग्दा म गर्छु, तिमी मलाई कल नगर्नु उसले पहिले नै भनेको थियो मलाई ।
त्यसैले त म विशेष अवसरमा मात्रै गर्छु उसलाई फोन । डेढ महिना भएको थियो, उसको फोन, म्यासेज केही नआएको । फोन आउन छाडेपछि नै उसको जन्मदिन गनिरहेकी थिएँ म । मङ्सिर २९ गतेको पर्खाइमा ।
मेरो समयमा आयो, महत्वहीन बनेर । ‘विस’ गर्ने बेला थाहा भयो वसन्त पोल्यान्ड गएको छ पढ्न भनेर । सिरानी भिजेको थियो, वसन्तसँगका विगतका दिन सम्झिँदा । वाइफाई ओन रहेछ ।
म्यासेज आएको थियो, “नसुतेर राति किन अनलाइन ?”
घडी हेरेको रातिको दुई बजेको रहेछ । सुशील थियो म्यासेज पठाउने चाहिँ ।
“प्रोजेक्ट वर्क गर्दै थिएँ,” सुशीललाई टारेँ । बाथरुम जान ब्यँुझिएको रहेछ ऊचाहिँ ।
“सुत आज, लेट नाइट भइसक्यो । काम भोलि गर्नू ।” सुशीलले माया दर्शायो ।
उसलाई के थाहा पहिलो माया कस्तो हुन्छ भनेर । अनि, के थाहा बिचरा मेरो सुशीललाई वसन्तको यादमा रात कटाउँदैछे भनेर ।
सुशीलले मलाई मात्रै होइन, मैले पनि सुशीललाई माया गर्छु । वसन्तलाई भन्दा धेरै । वसन्त र सुशीलमध्ये रोज्न परे सुशील रोज्छु । सुशील वसन्त जस्तो छैन । इमानदार छ, मलाई माया गर्छ । तर वसन्तले मेरो मनमा तस्बिर सजाएको छ । सायद फस्ट लभ भनेको यही हो कि ।
“सुतेँ म, सुत तिमी पनि ।” म नसुतुञ्जेल सुशील सुतेन । मेरो म्यासेजको रिप्लाई गर्याे, “स्विट ड्रिम स्विटी..!”
सुशीलको म्यासेजसँगै आँखा चिम्लिएँ सुशीललाई च्यापेर, वसन्तलाई सम्झिएर ।