यी दुईको जोडीलाई ढुकुरको जोडी भन्दा केही फरक पर्दैन थियो । सधैँ सँगै बस्दथे । असाध्य मिल्ने । करिब १० वर्ष त सँगै बसेको नै भैसकेको थियो । तर निःसन्तान । आफ्नो सन्तान नभएकोमा तिनीहरूलाई जोरी पारीले कुरा काट्लान भन्ने पनि कुनै चिन्ता देखिएन । एक आपसको सम्बन्धमा पनि वितृष्णा वा विमोह देखिएको हैन । तर, सन्तान भएन । उनीहरूको हित चाहनेहरूलाई यो जोडीको सन्तान नभएकोमा चिन्ता लागेको थियो । यी जोडी विलक्षण भएको कारण यिनको सन्तानको पनि निकै महत्व हुने अपेक्षा थियो । तर, भाग्यको खेल भनौं वा मानवीय कारण, यो जोडीको सन्तान हुन सकेन ।
एक दशकको सम्बन्ध भएको जोडीले किन सन्तान पैदा गर्न सकेनन् भनेर नजिककाहरूले निकै खोजीनीति गरे । केही कुरो पत्तो लागेन । दुई जोई–पोईको त्यत्रो झगडा–मारामार पनि केही देखिएको होइन । तर, यिनमा रति राग भन्ने सबै प्राणीमा भगवानलेनै भरेर पठाएको भावना देखिएन । र, रतिराग नभएकोमा दुवैले कुनै प्रकारले पश्चाताप गरेका पनि थिएनन् । खाने, खेल्ने, एक अर्काको शरीरमा टाँसिएर बस्ने, कहिलेकाहीँ जिस्किएर पिटापिट गरेजस्तो, कहिले मायाले एउटै न्यानो अंगालोमा कस्सिएजस्तो । देख्नेहरूले पनि कति मायालु जोडी भन्ने, कतिले त यस्तो राम्रो र सबैले चाहेको जोडी भनेर डाहै गर्दथे । तर, उनीहरू के चाहन्थे, के सोच्दथे र किन सन्तान जन्माउने कोशिस गर्दैनथे भनेर शायद कसैले जान्न चाहेन, जान्न सकेन वा जान्ने कोशिस नै गरेन ।
तर, समय बलियो हुन्छ र समयको असर हरेक प्राणीमा फरक फरक ढंगले परिरहेको हुन्छ । चीनको वुहानबाट सल्किएको कोरोनाभाइरसको प्रकोपले यी दुईको प्रेममा निकै सकारात्मक परिवर्तन ल्यायो ।
शायद दुवैलाई एक प्रकारको एकान्तको जरुरत थियो । दुवैलाई लागेको थियो होला यो हल्लाखल्ला र आवाजहरूको दुनियाबाट कतै एकान्तमा बस्न पाए, कतै हामीलाई कसैले वास्ता गरेको छैन भन्ने आभाष भए । कुनै एक जोडी आँखा पनि हाम्रो गोप्यता भंग गर्न नआइदिए कति सुन्दर हुन्थ्यो होला हाम्रा जीवन भन्ने सोची रहेको जस्तो ।
यींग यींगलाई कोभिडले दिएको निस्तब्धता, शून्यता र अचानक वातावरणलाई ढाकेको चरा–चुरुङ्गीको मधुर आवाजले मानौं एउटा निन्द्राबाट ब्युँझाइदियो । उनलाई आफ्नै शरीर साह्रै राम्रो लाग्न थाल्यो, वातावरण रमणीय लाग्न थाल्यो र सधैं उनको वरिपरि उँघेर बस्ने ली ली पनि निकै आकर्षक लाग्न थाले ।
लामो जाडोको मौसमपछि घाम पनि विस्तारै रापिलो हुँदै आएको थियो । उनीहरूको निवास वरिपरिको हरियालीले पालुवा फेर्न थालेको थियो ।
वसन्त ऋतुको आगमनसँगै सुन्दरी यींग यींगलाई आफ्नै शरीरमा पनि नयाँ पालुवा आएको, कतै रिक्तता, कतै मादकता, कुनै मदले मातिएको जस्तो भावना फैलेझै भयो । सधैँ हङकङको ओसन पार्कमा घुम्न आउने हजारौंको भीडले उनलाई एकोहोरो निहार्दा आफैँ खिइसकेको जस्तो उनलाई लागेको थियो, जुन अहिले थिएन । हङकङ गएको जनवरी महिनाको २६ तारिखदेखि लकडाउनमा परेसँगै उनमा यो नयाँ उन्मादका लहरहरू आउन थालेका थिए ।
ली ली पनि अहिले परिवर्तित भएको वातावरणप्रति विश्वस्त हुन सकेको थिएन । अब लकडाउन कति दिन होला र भन्ने उसलाई पनि नलागेको होइन ।
तर, विस्तारै लकडाउनको समय बढदै गएको र आफ्नी प्रियसीको खुसीको पारो पनि बढदै गएकोले उ पनि नयाँ वातावरणसँग सम्मोहित हुँदै गएको थियो । संसारले राम्री भनेकी उसकी प्रेमिका यींग यींगलाई अब उ पनि राम्री देख्न थालेको थियो । दश वर्षको यो जोडीलाई एक अर्कासँग हातमा हात मिलाएर सँगै हिँडदा अभूतपूर्व आनन्द आउन थालेको थियो ।
शरीरमा बढेको मादकता र वातावरणमा चढेको तापक्रमले यींग यींगलाई नजिकैको तलाउमा गएर आफ्नो शरीरको तापक्रम कम गर्ने जाँगर आयो । उनी विस्तारै विस्तारै तलाऊमा डुब्दै मग्न भएर पानीमा तरंग पैदा गर्दा ली ली भने अर्कै तरंग महशुस गर्न थालेको थियो ।
आफ्नी प्रेमिका खोस्न आउने कुनै दुष्ट वरिपरि छ कि भनेर उ पनि चुस्त देखिन थाल्यो । अन्ततः साथ साथै बसेका यी दुई चाइनिज पाण्डामा रतिराग जाग्यो । यिनले आपसमा संसर्ग गरेको भिडियो ओसन पार्कका कर्मचारीले गोप्य रुपमा खिचे र संसारभरी फिंजाए ।
संसारभरीका वन्यजन्तु प्रेमीले यिनको रासलिला रमाई रमाई हेरे र कोरोनाभाइरसलाई अन्य कुनै कुरामा नभए पनि यो वातावरणीय परिवर्तन र यो शान्ति ल्याउन मद्दत गरेकोमा हार्दिक धन्यवाद दिए ।
हङकङमा यसरी कोभिड–१९ ले चाइनिज पाण्डाको पालन क्षेत्रमा प्रजनन् हुनसक्ने अवस्था र यिनको जनसंख्या बृद्धि हुने सम्भावना बढाएसँगै नेपालको वन जंगलमा बसेका, राष्ट्रिय निकुञ्जमा संरक्षित गरिएका र आरक्षमा रहेका जनावरहरूको मानसिक र स्वास्थ्यमा लकडाउनको कस्तो असर परेको होला भनेर कसैले अध्ययन गरेको होला कि नहोला ? जहिल्यै सयौं डिजल गाडीमा घ्वार घ्वार र घुर घुर गर्दै सौराहा, जगतपुर, मेघौली, अमलटारीमा उनीहरूलाई हेर्न आउने मानिस अहिले नआउँदा कति जनावरले कस्तो प्रकारले व्यवहार गर्दै होलान् भन्ने विषयमा कसले अध्ययन गरे होलान् भन्ने सोच मनमा अनायासै आउने रहेछ । शायद नेपाली जंगलमा विरलै देखिने जंगली बाघले पनि आफ्नो प्रणय लीला बढाए कि, कतै नेपालको जंगलमा पनि अर्ना, मृग, भालु र अन्य लुप्त हुन लागेको जनावरको संख्यामा केही बढोत्तरी भयो कि भन्ने एक आशा मनमा पलाएको छ ।