सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले ५० लाखको विपत् व्यवस्थापन कोष स्थापना गरेको छ । नगरपालिकाको सोमबारको बैठकले विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कोष स्थापना गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने, अतिविपन्न तथा चुलो बाल्नै कठिन भएका परिवारलाई राहत उपलब्ध गराउने भएको छ । सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित भएका विपन्न परिवारको वडाबाट लगत संकलन गरी राहत उपलब्ध गराउने उपप्रमुख जानुका पराजुलीले जानकारी दिइन् । यस्तै बैठकले चैतभित्र विदेशबाट आएका व्यक्ति तथा उनीहरूको परिवारको स्वास्थ्य परीक्षण गर्ने निर्णयसमेत गरेको छ । मेडिकल अधिकृतको नेतृत्वमा घरघरमा गएर स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो । -रासस