site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad
मेरा ‘बा’ को नियति नहोस्  

जेठा दाजु (दुल्लु नगरपालिकाका कार्यकारी प्रमुख) को फोन आयो । एकदमै आत्तिएर भन्दै हुनुहुन्थ्यो – ‘‘लौन साह्रै गाह्रो पर्‍यो । कामका लागि भारत गएका कामदार हुलका हुल फर्किएका छन् । ‘आइसोलेसन’मा बस्न मान्दैनन् । चेतनाको अभावमा धेरैलाई त कोरोनाले कस्तो असर पार्न सक्छ भन्ने अन्दाज नै छैन । बुझाउनसमेत गाह्रो छ । हुल बाँधेर घुमिरहेकालाई प्रहरीले समाउन पनि सकिरहेको छैन । संक्रमणबाट जोगिन स्वयं प्रहरीसँग साधन स्रोत केही छैन । यस्तै रह्यो भने त सबका सब मर्ने अवस्था आउन सक्छ ।’’

लगत्तै आफूले चिनेका स्वास्थ्य मन्त्रालय, अस्पताल र अलिकति पहुँचमा रहेका केही मानिसलाई फोन गरेँ । सबैबाट उस्तै जबाफ पाएँ – पहिलो कुरा त त्यस्तो सामग्रीको केन्द्रमै अभाव छ । डाक्टरहरुले समेत पाएका छैनन् । भए पनि त्यो पहाडमा पुर्‍याउने कसरी ? 

निरुपाय भएर फोन गरेँ – ’’खै दाइ सम्भव होलाजस्तो लागेन । यहीँका अस्पतालमा डाक्टरले पाएका छैनन् रे !’’ 

कोरोनाले सिंगो विश्वलाई आतंकित बनाइरहँदा नौ दशकअघि आफ्नै परिवारले भोगेको महामारी बारे लेख्न मन लाग्यो । पिता जी सधैँ भन्ने गर्नुहुन्थ्यो – ‘‘हेर ! मेरी आमाको काजकिरिया भएको छैन । मैले जीवनकालमा गर्न सकिन । तिमीहरुले सक्यौ भने गरिदिनु ।’’

पिता जी जीवित रहुन्जेल (२०६३ सम्म) उहाँको त्यो आग्रहलाई गम्भीरतापूर्वक लिएनौ । के भएको थियो ? उहाँले किन आमाको काजकिरिया गर्न नसकेको हो ? सोधिएन । सोधौँला नि बा छँदै हुनुहुन्छ भन्ने लाग्यो । बा परलोक भएको दस वर्षपछि मात्र उहाँको आग्रहअनुसार हजुरआमाको आत्माको शान्तिका लागि यज्ञ गर्ने निर्णय दाजुहरुले गर्नुभयो । 

हाम्रो पुख्र्याैली थलो साबिक नेपा गाउँ विकास समिति वडा – ९ (हाल दुल्लु नगरपालिका – २) मा पूजाको तयारी भयो । पहाडमा बस्ने दाइ आत्मप्रसादलाई व्यवस्थापनको जिम्मा दिइयो । परिवारका सदस्यले एकाहा र लाख बत्ती बाल्ने पूरा तयारी गरिसकेपछि अन्तिम दिनमा म काठमाडौंबाट गाउँ पुगे । पत्रकार हो । यसलाई फुर्सद हुँदैन भनेर परिवारबाट मैले सामाजिक कार्यमा छुट पाउँदै आएको छु । 

विसं २०३६ सालमा अंशबन्डा भएर छिन्नभिन्न दुई हजुरबाका तीन तीन छोराका सबै सन्तानको पहिलोपटक त्यति ठूलो संख्यामा पुख्र्यौली घरमा जमघट भएको  थियो । 

सबै तयारी सकिएर ढाटाका पाहुना र घरमा आइसक्तासमेत हजुर आमाको काजकिरिया बाले किन गर्न सक्नुभएन भन्ने विषयको जानकारी थिएन । ममात्र होइन मेरो परिवारका अधिकांश सदस्यलाई विस्तृतमा जानकारी थिएन । किनभने बा पुस्ताका कोही पनि जीवित थिएनन् । बेलामा सोधिएन । अब भनिदिने कोही बाँकी छैन । बाको आग्रहका आधारमा हजुरआमाको आत्माको शान्तिका लागि यज्ञ गर्दै छौ भन्ने बुझेको थिएँ । 

न मलाई पूर्वजको इतिहास थाहा थियो न त आफ्नै बाजेका सबै सन्तान चिन्थेँ । अंशबन्डा भएर २०३६ सालमा बर्दिया झरियो । सुरुका दिनमा पढाइ र काम थालेपछि काठमाडौंको व्यस्त दैनिकीका कारण पनि फर्किएर पहाड जाने मौका मिलेको थिएन । तीन वर्षको उमेरमा तराई झरेर काठमाडौंमा पढेकाले आफ्ना पूर्वजको रीति, रिवाज, चालचलन र संस्कारसमेत म बुझ्दिनथेँ । 

विसं २०७३ कात्तिक ९ गते । बेलुका खाना खाएर पिताजीहरुले २०१९ सालमा बनाएको पुख्र्यौली घरमा बसिरहेका थियौँ । भतिज कृष्णबहादुरले (उमेरले पिता जीका समवयी) पिता पूर्खाको इतिहास र पूजा गर्नुपर्ने कारणको इतिवृत्तान्त यसरी सुनाए । उनी भन्दै थिए – ‘‘म यी कुरा बाजेहरुबाट सुनेका आधारमा भन्दैछु । अब इतिहास थाहा पाउने कोही जीवित छैनन् ।’’

‘‘तेह्राैँ शताब्दीमा सिंजाका राजा जितारी मल्ल मलय बमले सर्वज्ञधर पण्डितलाई  बिर्ता दिएपछि हाम्रा पुर्खा जुम्लाबाट बसाइँ सरेर ‘नेपा’ आए । नेपामा बसोवास गरेकाले हाम्रो थर नेपाल रहन गयो । देश विदेशमा फैलिएका नेपालहरु उनै सर्वज्ञधर पण्डितका सन्तान हुन् ।’’

सन्तान बढ्दै जाँदा मेरा बूढा बाजे दामोदरका दुई छोरा (माइला लक्ष्मीप्रसाद र साइँला  हरिप्रसाद) जंगल फाँडेर खेतपाती र पशुपालन गरी बस्न थाले । भलायोघारी फाडेर बसेकाले हाम्रो घर भएको ठाउँ भलायाकाटियाका नामले चिनिन्छ । मेरा बा डेढ वर्षको हुनुहुँदा भदौ महिनामा बाजे लक्ष्मीप्रसादको मृत्यु भयो । जिउँदाको जन्ती मर्दाको मलामी भन्ने हिन्दुहरुको संस्कार नै हो । मलामीमा धेरै मानिस सहभागी भए । धर्म गरे मलामी कमाइन्छ भन्ने चलन अझै छ । गाउमा चर्चा चलेछ हैन बाजेले कति धर्म गरेका रहेछन् त यति मलामी कमाए । पादुका बाजेको दाहसंस्कार भयो । 

बाजे बितेको दुई महिनामात्र भएको थियो विसं १९९० ताकाको कुरा हो । हैजाको महामारी फैलियो । मेरी हजुरआमा देवु  सात, साढे दुई र साढे एक वर्ष (देवीप्रसाद, मेरा बा¬¬) का तीन बालक छोरालाई छोडेर जानु भयो ।  

हैजा सर्ने डरले हजुरआमाको लास उठाउने कोही भएन । मलामी आउलान् भनेर एक दिन कुरियो । मृत्युलाई जितेर लास उठाउने हिम्मत कसको ? 

केही उपाय रहेन । साना छोराहरुको सहयोगमा साइँली बजैले घर नजिकैको घर मेलोमा खाडल खनेर जसोतसो जेठानीको लास गाडिन् । नाबालक छोरा । कसैको व्रतबन्ध गरेको छैन । हजुरआमाको काजकिरिया गर्ने कोही भएन । 

त्यो महामारीमा कति मरे थाहा छैन । हिजोआजजस्तो अस्पताल, मिडिया र सडक यातायातको सुविधा थिएन । न त जन्ममृत्युको अभिलेख राख्ने निकाय नै थिए । 

टुहुरा बालक छोराहरुको पालन पोषणको जिम्मेवारी साइँली बजै पम्फा (विधुवा)ले लिइन् । छुट्टिसकेको परिवारलाई एकीकृत गरिन् । उनका जेठा छोरा पन्ध्र सोह्र वर्षका थिए भने अरु दुई बाह्र र दस वर्षका । विधुवा हजुरआमाको जिम्मामा जेठाजुका छोराहरुको जिम्मेवारी पनि थपियो । सबैको पालन पोषण पनि गरिन्, संंस्कार दिइन् रत्तिभर भेदभाव नगरेर । पछिसम्म पनि गाउ“मा चर्चा चल्थ्यो रे हैन यी बाहुन नानीहरु कुन् माइलाका कुन् कान्छाका सन्तान हुन् हँ? चिन्नै गाह्रो छ । 

त्यस घटनाले हाम्रो परिवारको एकतालाई चट्टान सरह बलियो बनाइदियो । छुट्टिएको चालीस वर्ष हुन लाग्यो तर हाम्रो परिवारको एकता गर्व गर्न लायक छ । 

म जन्मिएपछि पनि दुई बाजेका (छ ‘बा’हरु) सन्तानको ४५ सदस्यीय हाम्रो परिवार सगोलमै थियो । 

हैजाको महामारीले हाम्रा ‘बा’ हरुको सर्वस्व त गुम्यो नै त्यही पीडाले उहा“हरुलाई संघर्ष गर्न पनि सिकायो । संघर्षमात्र सिकाएन एउटा आदर्श परिवारका रुपमा स्थापित गरिदियो । 

मेहनतको परिणाम नै मान्नुपर्छ – साढे तीन दशकको अन्तरालमा ठूला बा प्रभुरामले व्यापारमा उल्लेख्य सफलता पाउनुभयो । उहा“कै कुशल नेतृत्व र व्यवस्थापनमा हाम्रो परिवारले त्यस क्षेत्रमा ख्याति कमायो । भारत बेलायतको अधीनमा भएका बखत अफिमको व्यापार निक्कै फस्टाएको थियो । ती दिन अफिमको बेचबिखन र उपभोगमा प्रतिबन्ध थिएन । दोस्रो विश्वयुद्वताका ब्रिटिस भारतमा अफिमको ठूलो माग थियो । मध्यपश्चिमका गाउँ गाउँबाट ठूलो परिमाणमा अफिम संकलन गरेर राजापुर पुर्‍याइन्थ्यो । भारतीय व्यापारीले त्यहीँबाट उठाउँथे । यो व्यवसायबाट उहाँले मनग्य आर्जन गर्नुभयो ।

पश्चिम नेपालको व्यापार केन्द्र राजापुर र दुल्लुमा कपडा, नुन तेलको व्यवसाय विस्तार गर्नुभयो । दैलेख, सुर्खेत र बर्दियामा प्रशस्त जमिन जोड्नु भयो । गाउँमा शिक्षाको ज्योति बाल्नुपर्छ भनेर कृष्णकोट स्कूल खोल्नु भयो । अहिले उच्च मावि बनेको छ । कृषि र पशुपालनको सुधारका लागि बीउ र उन्नत भैँसी भित्र्याउनु भयो ।  

साढे तीन दशकको अथक परिश्रमबाट परिवारलाई आर्थिक सामाजिकरुपमा सबल बनाउने ठूला ‘बा’ प्रभुरामको पनि २०२४ सालमा प्राकृतिक प्रकोपमै परेर ज्यान गयो । प्रकृति जति बलवान त कोही रहेछन । बर्दियामा व्यवसाय र खेतीपातीको व्यवहार मिलाएर दुल्लु (दैलेख) जाने क्रममा चट्याङ परेर घर पुग्न नपाउँदै बाटोमै उहाँको प्राण गयो । पिता तुल्य दाजुको मृत्युपछि मेरा ‘बा’ हरु फेरि टुहुरा हुनुभयो । मियो भाँचिएपछि व्यापार व्यवसाय बिग्रियो । ऋण लिने पनि तिर्न आएनन् । उहाँले जोडेको जमिनसमेत लाखापाखा भयो । 

फेरी हाम्रो परिवारमा दुःखका दिन सुरु भए ।  ‘बा’ पुस्ताले मेरी हजुर आमाको न राम्ररी काजकिरिया गर्न पायो न त उहा“को आत्माको शान्तिका लागि यज्ञ नै । लक्ष्मी र हरिप्रसादका छ छोराका सन्तान हामी (एक दर्जन छोराले) संयुक्तरुपले हजुरआमाको शान्तिका लागि कात्तिक १०, २०७३ मा यज्ञ लगायौँ । मेरा लागि पूजा विधि र संस्कार एकदमै नौलो थियो । 

काम सकिएपछि रातिदेखि नै फर्किने तयारी गर्दै थियो । नातागोता, आफन्त र गाउँका दिदी बहिनीले हाम्रो बिदाइमा गीत गाएरै रात काटे । तिनले गाएका हरेक लयमा सन्देश थियो – ‘‘सहर पस्यौ, जन्मभूमि, संस्कार र संस्कृति नभुल्नू । सहरको रमझममा तिमी चाहे जति हराए पनि हाम्रो जस्तो निःस्वार्थ चोखो माया पाउने छैनौ ।’’
हाम्रो बिदाइमा रात काट्नेहरु सबै कुनै न कुनैरुपमा हाम्रा बाहरुबाट सहयोग पाउनेहरु नै थिए । हाम्रो पुस्ताका अधिकांश सदस्यलाई त चिन्दा पनि चिन्दैनथे । 
 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro