दैवी विपत्ति थाहा दिएर आउँदैन । यस्ता विपत्तिका रूप अनेक हुन्छन्, कुन रूपमा कति बेला कस्तो विपत्ति आउँछ, थाहै हुँदैन ! मान्छेले आफ्ना लागि धेरै वस्तुको आविष्कार गरेको छ । तर, ती आविष्कारसँगै प्रकृतिको विनाश पनि गर्दै गरेको छ । मान्छेले अरू जे जेलाई जिते पनि प्रकृतिसँग भने सधैं हारेको छ । मान्छेले जतिनै अहमताको चुलीमा टेकेर प्रदर्शन गरे पनि प्रकृतिसँग त हारेकै हुन्छ । प्रकृतिको अगाडि निरीह बन्छ मान्छे । यस्तै निरीहताका उदाहरण हामीले धेरै देखेका छौँ, भोगेका छौँ र अहिले ‘कोरोना भाइरस’को त्रासले संसार हल्लाउँदा पनि निरीह हुनुबाहेक हामीले अरू उपाय देखिरहेका छैनौ ।
राजनीतिक अस्थिरता, बाढीपहिरो र भूकम्पलगायत विविध प्रकोपहरूसँग पांैठेजोरी खेलिसकेका हामी अहिले विश्वव्यापी संकट बन्न पुगेको कोरोना भाइरसको सामना गरिरहेका छौँ । अति विकसित मुलुकहरूले त कोरोनासँग लड्न नसकेको अवस्थामा हाम्रोजस्तो मुलुकले कसरी थाम्ला कोरोनाको त्रास !
यो प्रतिकूल परिस्थितिका कारण सबै भयभीत छन् भने व्यवसाय पनि धराशायी हुनु कुन् नौलो कुरा भयो र ! अहिलेसम्म नेपालमा एक दुई जनामा कोरोनाको संक्रमण देखिए पनि हामी असुरक्षित बस्ने अवस्था छैन । यसको असरबाट भने हामी प्रभावित बनिसकेका छौँ । यतिबेला यसको मुख्य प्रभाव परेको भने पर्यटन क्षेत्रमै हो ।
नेपालको पर्यटन व्यवसायको एउटा मुख्य थलो ठमेल कोरोनाको प्रभावले थला नै परेको छ । प्रायः नेपाल बन्द र सार्र्वजनिक बिदामासमेत बन्द नहुने ठमेलको व्यवसाय यति बेला कोरोना भाइरसको प्रभावका कारण ठप्प भएको छ । यहाँका चर्चित डिस्को, डान्स र रेस्टुराँहरूमा ताल्चा मारिएको छ । टुर्स र ट्राभल्सहरू पनि फर्सदिला बनेका छन् । क्युरियो, गिफ्ट पसलहरू खोल्ने कि नखोल्ने दोधारमा छन् व्यवसायी । हस्तकला र पस्मिनालगायत ट्रेकिङ सामग्रीका पसलहरू केही खुले पनि ग्राहक पाउन सकेका छैनन् ! गेस्ट हाउसहरूले पाहुना पाउने अवस्था नै छैन ।
यस क्षेत्रको चर्को घर भाडा र बैंकको ऋण कसरी तिर्ने भनेर व्यवसायी चिन्तित बनेका छन् । नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष, २०२०’मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य बोकेको थियो । सरकारको उक्त अभियानबाट व्यवसायीहरू उत्साहित देखिएका थिए । तर, चीनको वुहान सहरबाट देखिएको कोरोना भाइरस (कोभिड –१९)को संक्रमणले नेपाली पर्यटन व्यवसायलाई नराम्ररी थला पारेको छ ।
भाइरसको अनियन्त्रित विस्तारका कारण सरकारले नेपाल भ्रमण वर्ष स्थगित गरेको छ । वास्तवमा, नेपाल पर्यटकहरूको रोजाइमा पर्ने देश हो । सोझा, सिधा र इमानदार नेपालीको पहिचान नै बनिसकेको छ । यही पहिचानसँग झुम्मिएका पर्यटकले नेपालमा आफूलाई पूर्णतया सुरक्षित ठान्ने गरेका छन् । त्यसकारण पनि उनीहरूको रोजाइसँगै नेपालको पर्यटन व्यवसायले गति समातेको थियो । पर्यटन व्यवसाय नेपालभरका लागि राम्रो भएको ठानिन्थ्यो ।
पछिल्लो समयमा धराशायी हुँदैगएको यस व्यवसायमा, व्यवसायी त्यति आकर्षित देखिएका पनि छैनन् ! त्यसको मुख्य कारण नै प्राकृतिक प्रकोप तथा विभिन्न किसिमका विपत्ति हुन् । नेपालमा मात्र नभएर विश्वमै देखिएको यस्तो प्रभावले धेरैलाई निराश बनाएको छ । त्यही निराशाको फिलिङ्गोले हामी सबैलाई जलाइरहेको छ ।
विश्वभरका मानिसले धेरै प्रकारका विपद्को सामना गरिरहेका दृश्य हामीबाट छिपेको छैन । कति विपद हामी आफँैले पनि भोगेका छाँैं । तर, यस्ता विपत्ति धेरै समय टिकाउ हुँदैनन् । केही समयपछि साम्य हुनैपर्छ र हुन्छ पनि । तथापि, यस्ता विपद् र प्रकोपले छोडेर गएको छापले हामीलाई लामो समयसम्म सताइरहेको हुन्छ । विपदा र प्रकोपले हाम्रो जीवन–गतिलाई सुस्त र शिथिल बनाई दिन्छ ।
त्यही शिथिलता अहिले पर्यटन व्यवसायमा देखिएको छ । भूकम्पको पीडा भुल्नभुल्न थालेका व्यवसायीमाथि पुनः कोरोनाको अम्ल (एसिड) बर्सिएको छ । यसपटकको कोरोनाभाइरसको संत्रासले तङग्रिन कठिन हुने ठमेलका व्यवसायीबीच भेटका बेला चर्चा हुँदैआएको छ । आफ्नै बलबुताले सिर्जना गरेका यस्ता व्यवसायमा सधैंँ एकपछि अर्को संकटको वाण लाग्नुले व्यवसायीलाई घायल बनाएको छ । यस प्रतिकूल परिस्थितिको सामना गर्नु व्यवसायीहरूको नियति भएको छ । यद्यपि, व्यवसायीहरूले सरकारी सहयोगको अपेक्षा पनि गरिरहेका छन् । उनीहरू सरकारको सहयोग पर्खिरहेका छन् ।
बुढापाकाको भनाइ छ – ‘एउटा बाटो बन्द भयो भनेर आत्तिनु हुँदैन, किनभने त्यहाँ हजारांै बाटा स्वागतमा पर्खिरहेका हुनेछन्’ । झट्ट हेर्दा हो जस्तो लाग्छ । तर, वर्तमान पीडाले हजारौं बाटाहरूसम्म पुग्ने साहस नै जुट्दैन ! कोरोना भाइरस हाम्रोमात्रै समस्या होइन । यो विश्वव्यापीरूपमा फैलिरहेको सन्त्रास हो । मर्नेहरू यस्ता सन्त्रासको घट्टमा पिसिए पनि बाँच्नेहरूलाई त्यसले मानवीय भएर बाँच्न सिकाउँछ नै । सबैले बुझ्नुपर्ने यही हो । अपितु, स्वार्र्थी संसारमा यसप्रतिको बुझाइ शून्यनै हुने देखिन्छ । अझै, हाम्रोजस्तो विकासोन्मुख देशमा केही होला र ? के त्यो मानवीयता हामीमा जागृत नहोला र ?
जे जताका कुरा गरे पनि अहिलेको यस विपत्तिले पर्यटन व्यवसायलाई मात्रै मारमा पारेको छैन हरेक क्षेत्र मारमा परिरहेको छ । सरकारले कोरोनाभाइरस रोकथामको बारेमा चालेका कदमहरू सकारात्मक नै देखिएको भए पनि धेरै फैलियो भने के गर्ने भन्ने संत्रासले सबैलाई त्रसित बनाएको छ । अहिलेसम्म विश्वका १ सय ८० राष्ट्रहरूमा फैलिसकेको यस महामारीलाई शक्तिशाली राष्ट्रहरूले समेत परास्त गर्न नसकेको अवस्थामा नेपाल निरीह बन्नुको के विकल्प होला र ?
यतिबेला सरकारको कमजोरी देख्ने हामी नेपालीले कहिल्यै पनि आफ्नो कर्तव्य पालन ग¥यौँ कि गरेनाँै भनेर सोच्ने गरेका नै छैनौ । त्यसैले पनि ठमेलका व्यवसायीहरू यस मामिलामा उदार नै देखिएका छन् । होटल, रेस्टुराँहरूले कामदारहरूलाई बिदा दिइसकेका छन् । अरू व्यवसायीले पनि व्यवसाय बन्द गरेर सेल्फ क्वारेन्टाइनको बाटो समाएका छन् ।
कतिपय व्यवसायी ज्यान रहे फेरि व्यवसाय गरिन्छ, भनिरहेका छन् । वास्तवमा, यो कटु सत्य हो । कोरोनाबाट बाँच्नको लागि पहिले आफू सुरक्षित हौंँ र सरकार र स्वास्थ्यकर्मीहरूले दिएका सुझाव र निर्देशनहरूमा ध्यान दिउँ । अनि त्यसैअनुरूप अगाडि बढौँ ।
ठमेल ठप्प छ । ठमेलको सबै व्यवसाय ठप्प भए पनि अहिलेलाई आफ्नो ज्यान बचाएर फर्कौँ । ठप्प ठमेल, भोलि फेरि बौरिने नै छ ।