काठमाडौं । भारत उत्तर प्रदेशका विभिन्न स्थानमा कोरोना भाइरसका संक्रमित भेटिएपछि त्यहाँ रहेका नेपाली धमाधम स्वदेश फर्किन थालेका छन् । कञ्चनपुरको गड्डाचौकी भएर भारतमा रोजगारीका लागि गएका नेपाली घर फर्किन थालेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासीनीका अनुसार बिहान ६ बजेदेखि ९ बजेसम्म झण्डै ३ हजार नेपाली स्वदेश भित्रिएका छन् ।
साँझसम्म यो संख्या बढ्ने अनुमान गरिएको छ । स्वास्थ्यकर्मी रहेको हेल्थ डेस्क राखिए पनि नागरिकको चाप अत्यधीक बढेपछि स्वास्थ्यजाँचमा नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको छ । स्वास्थ्य जाँचका क्रममा ज्वरो आएको तथा शंका लागेमा महाकाली अञ्चल अस्पतालमा पठाउने व्यवस्था मिलाइएको एसपी मरासीनीले बताए ।
भारतको नयाँ दिल्लीसँग सबैभन्दा छोटो दूरीको गड्डाचौकी नाकाबाट दैनिक हजारौं नेपाली भित्रिन थालेपछि स्थानीयमा त्रास उत्पन्न हुन थालेको छ । उक्त नाका भएर कर्णाली र सुदूरपश्चिमका हजारौं नेपाली भारतका विभिन्न सहरमा मजदुरीमा लागि जाने गर्दछन् ।
तस्बिर सहयोग : पुष्कर भट्ट