काठमाडौं । काठमाडौंमा प्रहरीले मास्कको कालोबजारी विरुद्ध ‘अपसेन’ जारी राखेको छ । सोमबार मात्रै सतुङगलबाट ६ लाखभन्दा बढी सर्जिकल मास्क बरामद गरेको छ । आरडीजी ट्रेडर्सबाट प्रहरीले मास्क बरामद गरेको हो ।
यसअघि आइतबार साँझ कपन क्षेत्रबाट १ लाख ६८ हजार सर्जिकल मास्क बरामद गरेको थियो । आइतबार कपन क्षेत्रबाटै मास्क बरामद गर्दा त्यही सूचनाका आधारमा प्रहरीले सतुङगलमा रहेको आरडीजी ट्रेडर्सबाट ६ लाखभन्दा बढी मास्क बरामद गरेको हो ।
प्रहरीले आइतबार र सोमबार गरी २ भारतीयसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपनमा पोते पसल सञ्चालन गर्दै आएका अजिम मिया, प्लाष्टिक उद्योग सञ्चालन गर्दै आएका सञ्जनकुमार रेग्मी, आरडीजी सप्लायर्सका सुरज गोयल, सुवास महेश्वरी र गाडी चालक र सहयोगी छन् ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयका डीआईजी विश्वराज पोखरेलले कालोबजारीको सूचना भए प्रहरीलाई उपलब्ध गराउन आग्रह गरे ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले कोरोना भाइसरको संक्रमण त्रास बढेका बेला मास्कमा कालोबजारी गर्ने गिरोहविरुद्ध आफूहरु सक्रिय रहेको बताए ।
प्रहरी नै बनेको थियो ग्राहक
एक प्रहरी अधिकारीका अनुसार प्रहरीलाई मास्कको कालोबजारीको सूचना शनिबार आइपुगेको थियो । त्यही सूचनाका आधारमा प्रहरीले मास्क कालोबजारी गर्ने गिरोहको खोजी गर्न थाल्यो । प्रहरी आफै मास्क किन्ने ग्राहक बन्यो ।
सादा पोसाकमा रहेको प्रहरी टोलीले आइतबार कपनमा चुरापोते पसल सञ्चालन गर्दै आएका एक व्यक्तिलाई भेट्यो । ती अधिकारीले भने, “हामीले चीन पठाउन मास्क चाहियो । पैसाको चिन्ता गर्न पर्दैन भन्यौं ।”
पोते पसलले मास्क भनेजति उपलब्ध गराउन सकिने तर एक सर्जिकल मास्कको दर ३१ देखि ३२ रुपैयाँ हुने बताए । प्रहरी सहमति जनायो । पोते पसल सञ्चालकले कपनमै मिलन प्लाष्टिक उद्योगका सञ्चालकलाई भेटे । पोते पसल सञ्चालक र प्लाष्टिक उद्योग सञ्चालकले सस्तो मूल्यमा ल्याएर मास्क बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ । त्यस क्रममा प्रहरीले ३० लाख बराबरको मास्क उपलब्ध गराइदिन आग्रह गरे ।
उनीहरुले कपनमा ग्राहक बनेको प्रहरी टोलीललाई मास्क उपलब्ध गराए । लगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गर्यो । उनीहरुकै बयानका आधारमा सतुङगलमा रहेको आरडीजी ट्रेडर्सबाट ६ लाखभन्दा बढी मास्क बरामद गरेको हो ।
उनीहरुले आरपीजे ट्रेडर्सबाटै मास्क लगेर कमिसन खाएर बेच्दै आएको खुलेको छ । सर्जिकल मास्कको भ्याटसहितको बजार मूल्य साढे २ रुपैयाँ परेपछि कोरोनाको त्रासअघि १० रुपैयाँमा फार्मेसी लगायतका स्थानमा सहज पाइँदै आएको थियो । तर, कोरोनाको त्रासपछि ५० रुपैयाFमा सम्ममा सर्जिकल मास्क बेचिFदै आएको थियो ।
यसअघि शनिबार पनि कालो बजारी गर्न लुकाएर राखिएको ७८ हजार सर्जिकल मास्कसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र स्वयम्भूको संयुक्त टोलीले काठमाडौंको डब्लुबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महाकाल मञ्जुश्री टे«डर्सका सञ्चालक मिन्टु तामाङ, अनिश कार्की, उज्ज्वल अधिकारी, मानकाजी लामा, थुमराज उपाध्याय, नृप कार्की, गणेश तामाङ र शिव खड्का छन् ।