काठमाडौं । उदयपुरमा बालिका अपरहणको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँच महिला र आठ पुरुष छन् ।
उनीहरुको साथबाट तीन थान पेस्तोलसँगै १२ वटा बम बरामद भएको छ । प्रहरी प्रवक्ता डीआईजी (प्रस्तावित एआईजी) शैलेश थापाले घटनाको पुष्टि गरे । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सो समूहले बुधबार धनुषाबाट बुधबार १४ वर्षीया सपना मोक्तान (नाम परिवर्तन)को अपरहण गरेका थिए ।
अपहरणपछि संयुक्त रुपमा खोजी गर्दै जाँदा सिरहा र उदयपुरको सीमामा पर्ने कटारी नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रविनकुमार श्रेष्ठले जानकारी दिए । बालिकाको पनि सकुशल उद्धार गरिएको छ । उनीहरुले चन्दाका लागि बालिका अपरहण गरेको हुनसक्ने प्रहरी आशंका छ ।