site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad
‘नमस्कार हजुर !’

हाम्रो सुन्दर संस्कार ‘नमस्कार’लाई कोरोना भाइरसले राष्ट्रिय स्तरदेखि अन्तर्राष्ट्रियकरण गरिरहेको छ । आज खोजिँदै छ – आखिर नमस्कारको रहस्य र मर्म के हो ?

नमस्कारको संस्कार इजराइल पुगेको खबर लगभग सबैका मुहारपुस्तिका (फेसबुक) का भित्तामा देख्दा खुसी लाग्यो । अर्कोतिर राम्रो संस्कार छोड्ने हाम्रो मूर्खतासँग उत्तिकै दुःख पनि लाग्यो । एकैछिनपछि विभिन्न समाचारका सूचीमा आए ‘फलाना–फलाना गाउँपालिकाले कोरोनाको सङ्क्रमणबाट जोगिनका लागि नमस्कार अभियान थाले रे’ । यत्तिकैमा मेरा मुहारपुस्तिकाका साथीहरूमध्ये करिब २० प्रतिशतले यसलाई सार्वजनिक गरिरहेका रहेछन् । गजब लाग्यो । कसैले लेखेका थिए– ‘कमसेकम पूर्वीय सुसभ्य संस्कृति विदेशमा पनि फैलिन थालेछ । राम्रो कुरा हो ।’

करिब चार महिना पहिल्यै एकजना त्रिविका विद्यार्थी मित्र रामकृष्ण चालीसेसँग भेट भयो । मैले ओहो ! साथी के छ ? भन्दै हात मिलाउने इसाराले दायाँ हात तेस्र्याएँ । उहाँले मलाई प्रत्युत्तरमा दुवै हातलाई शिष्टतापूर्वक जोडेर भन्नुभयो– ‘नमस्कार हजुर !’ अनि उहाँले भन्नुभयो – म नमस्ते अभियानको अभियन्ता । बडो गजब लाग्यो । यो खडेरीमा एउटा कुवा भेटेको अनुभूति भयो । आपूmले अपनाउन नसके पनि उहाँको अभियानप्रति मलाई साथ दिने मन भयो । हाल उहाँ शिक्षाशास्त्र संकायअन्तर्गत नेपाली विषय पढिरहनुभएको रहेछ ।

मलाई चासो भयो । के हो नमस्ते ? कि नमस्कार चाहिँ हो कि त ? अनि किन हाम्रा मान्छे नमस्कार गर्दा रहेछन् ? सायद, हाम्रा पुर्खा दूरद्रष्टा भएरै यस्ता जीवशैलीलाई अपनाए हुनन् ! कोरोनाभाइरसको जगजगीको पूर्वानुमान तिनमा थियो । डक्टरहरूले त सङ्क्रमित मान्छेबाट स्वाइन फ्लु, बर्डफ्लुदेखि निमोनिया, झाडापखाला, हैजा, टाइफाइट, हेपाटाइटिस ए अनि ई, क्षयरोग, पोलियो, आउँ, जियार्डियासिस थुप्रै सरुवा रोग सर्नसक्छ भन्दा रहेछन् । आखिर भाइरस, ब्याक्टेरिया, प्रोटोजोवा, फङ्ग्स आदिलाई हात मिलाउँदा सँगै सारिन्छ भने त ‘नमस्कार हजुर’ भने नै राम्रो होला नि । हुनलाई हावाबाट पनि सर्छ नै तर कमसेकम एउटा राम्रो उपाय त रहेछ । 
‘नमस्कार’ को शैली प्रिय र वैज्ञानिक पो रहेछ त । आखिर ह्यान्डसेक, हक, म्वाईँभन्दा कैयौँ गुणा उत्तम रहेछ नमस्कार । मौसमी रोगको सिकारबाट जोगिने भएकैले हाम्रा पुर्खाले नमस्कारलाई स्वास्थ्यको दृष्टिले अपनाएछन् । असल र सम्मानित शान्ति र आदर्शको बोधले अपनाएका हुनन् । अझ भनौँ शान्ति र धैर्यको सूचक मानेर अपनाएछन् । अनि हामी आज थम, स्विच, टेलिफोन, विद्युतीय हाजिरी, किबोर्ड आदिलाई साझा प्रयोग गर्दा पनि त ब्याक्टेरिया र किटाणुको आदानप्रदान गर्ने गरिरहेछौँ भने वैज्ञानिक भनेरमात्र नहुने पनि त रहेछ । 

आहा ! अलिकति शिर झुकाएर, प्रेम र सद्भावको मीठो अभिवादन । दुवै हात जोडिएको । सानदार । विदेशतिर झुन्ड्याउने सामग्री धेरै बोक्नु परेकाले एउटामात्र हात खाली हुँदा हात मिलाउने शैली चम्क्यो होला अनि नेपालतिर लम्क्यो होला । हामी त अचानक नमस्कार शैलीको पारखी बनौ, बनौ लाग्यो । मेरा हजुरबालाई ‘हग’ भन्यो भने सायद चर्पीतिर पठाउनुहुँदो हो । मजाक होइन यथार्थ हो । उहाँलाई हात मिलाउनुको कुनै अर्थ र निरर्थकता दुवै थाहा छैन । रमाइलो होली पर्वमा भेला हुने भिडमा डराउनुपर्ने कत्रो भय छ मान्छेलाई आज ! इबोला पशुबाट सर्ने भए पनि कोरोना चाहिँ मानिसका लागि रहेछ क्यार !

अचानक एक मित्र भेटिए । मैले भने – नमस्कार ! उनले भने– अरे, साथी, साथीमा पनि यत्रो औपचारिकता किन ? आफ्नो नाक कोट्याउँदै गरेको हात लगत्तै मतिर तेस्र्याए । म पनि अकमक्क परेँ । अनि म के ठूलो भइटोपल्ने त ! त्यसो भए, नमस्ते गर्नु चाकडी गर्नु हो त ? हाम्रा अध्यात्मले एक आत्माले अर्को आत्मालाई प्रणाम गर्ने अर्थबोध गराए । हामीलाई यो पुरातनवादी र रुढीवादी लाग्यो । हामी आज आधुनिकताको बडप्पनमा जिउन चाहन्छौँ । हामीलाई नमस्ते भन्दै गर्दा होस् या हात मिलाउँदै गर्दा पनि हातै मिलाउने आदत बसिसक्यो । हामी त बडो बडप्पनमा नाकका पोहोरा पैmलाउछौँ । ‘मसँग फलाना.... नेताले पनि हात मिलाएका छन् !’ हात मिलाउनुमा कत्रो बडप्पनको ढोङ छ ?

आफ्नोपन छोड्नु हुँदैन भन्ने बुद्धि हामीमा सबैमा छ । जान्दछौँ पनि तर अर्काको पद्धति अपनाउँदा मपाइँत्व छाँट्न पाउने अर्को भूत पनि चढेकै छ । यही भूतले खर्लप्प खाँदा हामी अर्काकोलाई राम्रो भन्छौँ । अनि जन्मदिन होइन ‘बर्थ डे’ मनाउँछौँ । केक काट्छौँ तर मन्दिरमा, घरमा आमाबाबालाई सम्झने काम होओस्, अहँ मान्दैनौ । ‘पुरानो सिस्टम हुन्छ, नि’ भन्नेहरूको निष्कर्षपश्चात् मद्यपान गर्ने होटलको कोठो चुनिन्छ । 

वेदसम्म पुगेर नमस्ते र नमस्कारलाई खोतल्दा ‘नमस्ते रुद्रमन्वय.....’ भन्ने मन्त्रसम्म पुग्न सकिने रहेछ । ‘नमस्कार’ लाई पनि ‘नमः आकार’ को रूपमा बोध गरिँदो रहेछ । तर, देवदेवीको स्तुति, अभिवादनमा चाहिँ हात मिलाउने साहस गरेका रहेनछौँ । तर, आपूmभन्दा उपरका मानिससँग अभिभावदन गर्न नजान्ने असभ्य संस्कारको रोगबाट हामी आज त निकै बिरामी भइसक्यौँ । अब यी आदर्श गफ पनि हुनलाई हुटिट्याउँले आकाश छाँट्ने कुरा भइदेलान् भन्ने पीडाले पनि सताउँछ । अनि नमस्कारलाई पनि धर्म र आर्य समाजको पहिचान भनेर आफ्नोपनाबाट गलहत्याएर अर्काको अँगाल्दा अलिकति पनि चिसो मान्दैनौ । आफ्नोलाई घृणा र पराइको अन्धानुकरण गर्दै छौँ, घातक कर्म हो भनेर जान्दाजान्दै पनि अँगाल्दै छौँ, छोड्नुपर्छ भन्दाभन्दै पनि बोकेर हिँडिरहेका छौँ । अनि, अर्काकोमा गएर भाँडा माझ्छौँ तर घरको कोठेबारी खन्न लाज हुन्छ हामीलाई । 

ताप्लेजुङका लिम्बू मित्रसँगको भेटमा मलाई ‘सेवारो’ सुन्ने रहर थियो तर उनले अनायासै भनिदिए– ‘गुड अफ्टरनुन साथी ।’ अनि पसारे उनको हात मतिर । आखिर मैलेमात्र चाहेर भयो र ? लोकले अर्कैको थिति चोरिसक्यो । त्यसमै रत्तिइसक्यो हजुर ! 

त्यसो भए आफ्नो गरिमा फाल्नुलाई सभ्यता र परिवर्तन भन्ने त ? नेताजीले नोकरलाई नमस्कार गरे भने, हात मिलाए भने उनको इज्जत घट्छ । त्यसैले उनी आफू सरहकासँग मात्र हात मिलाउँछन् क्यार । आफू उपरकासँग अलि वरबाट लम्केर थोरै निहुरेर हात मिलाउने रहेछन् । कम्युनिस्टहरू पञ्जालाई बेस्सरी कस्दै झट्कारेर हात मिलाउँछन्, समाजवादी दम्भ राखेर हात मिलाउँछन् । कसैलाई ‘कमरेड’, कसैलाई ‘जय नेपाल !’ सायद आआफ्नै पेवा शब्दजस्ता । सबैका आआफ्नै जेजस्ता ढाँचा भए पनि हात मिलाउने संस्कार चाहिँ साझा नै हो । कसैद्वारा नअपनाइएको भन्ने छँदै छैन । 

अनायास एकजना विदेशीले आएर भनून्– ‘होइन, अब नमस्कार गर’ । त्यसपछि हामी उसको कुरालाई पक्कै वाह ! वाह ! भन्ने छौँ । हामीलाई सात्विक र सत्य विचार हो भन्ने भाव भित्री हृदयबाट एक्कासि पलाउनेछ । बाहिर चाहिँ विरोध भित्री समर्थनको युद्ध गर्ने सङ्क्रमणका रोगी हामी । तब त संसारले जे गर्छ त्यही गर्ने अन्धो अठोट हुन्छ । 

जब श्रद्धा हुन्छ तब त नमस्कार हुन्छ । आफूभन्दा पाका, अग्रज, उच्च ओहोदाका या त विपरीत लिङ्गीलाई प्रायः नमस्कार गरिने रहेछ । त्यसो भन्दै गर्दा यो खानदानी संस्कार पनि त रहेछ जसले ठूलाठूला सभा वा भेटमा प्रयोग गर्छन् तर सर्वहारा वर्गको पनि हो किनभने सामान्य मान्छेले हात मिलाउँदैन, नमस्कार नै गर्छ । नमस्कार त समावेशी पनि पो रहेछ । भोट माग्न घरमा आउँदा नमस्कार गर्ने नेताजी पार्टी अफिसमा आपूm जाँदा हातलाई बेस्सरी कसेर हात मिलाउँछन् । 

अफिसबाट घर फर्कँदै गर्दा एकजना युवा विद्यार्थी मलाई देखेपछि अर्कातिर फर्केर यसो छेलिँदै तर्कन चाहेको देखेँ । मैले बुझेँ उनले मसँग हात मिलाउन मिल्दैन थियो क्यारे । म ठूलो उनी साना मान्छेमा त नमस्कार गर्ने आदतै छैन । अनि त उनले नमस्कार गर्नुभन्दा भाग्नुलाई सजिलो किन नमानून् ? यो वर्गको अर्कै लहर छ ।

महिलासँग पनि यसो हात मिलाए स्पर्श गर्ने भाव होला क्यार ! हुँदाहुँदा कुम जोडेर, ओठ जोडेर अरू के के हो –कुइरो रङ हुने र अङ्ग्रेजी बोल्नेले गरेको सिको गर्ने सोचका हामी आधुनिक भइटोपल्ने मान्छे न रहेछौँ । अझ पहिला त भेट्दामात्र नमस्कार हुन्थ्यो, अहिले छुट्दा पनि हात पसार्नै पर्ने बाध्यता छ । भाषणमा पनि नमस्कार या नमस्ते राम्रो हुन्थ्यो होला तर अहिले त ‘गुड मर्निङ’ भन्यो अनि फेरि घडी हे¥यो । ‘ओहो ! ‘अप्टरनुन’ भइसकेछ सरी है ।’ सच्याउनुपर्ने भयो । आखिर नमस्कार या नमस्तेका लागि त समयको यत्रो घेराबन्दी थिएन नि !  

नमस्कार र नमस्ते दुवै हाम्रा संस्कारयुक्त शब्द रहेछन् । सानाले ठूलालाई अभिवादन गर्छन् । सावधानीपूर्वक संस्कारयुक्त प्रणाम गर्छन् तर प्रत्युत्तर आउँछ ः एउटा हात बल्लतल्ल यसो कुमभन्दा माथितिर उठाइदिन्छन् । संस्कार । नमस्ते संस्कार । नमस्ते संस्कृति मार्नेलाई पनि मेरो ‘नमस्ते छ’, कृपया आफ्नै संस्कृतिमा बाँचौँ । 

हाम्रो लोकलाई किन यति धेरै बोझिलो, झन्झटिलो, गहु्रँगो भयो हाम्रो संस्कृति ? पीडा हुनुपर्ने होइन र ! अनि माया लागेर आउँछ – हे सत्यवादी, सुन्दर नमस्कार ! अब तिमी ‘बिचरा नमस्कार !’ भन्ने त ? जसले आदर्श, शान्ति, सम्मानित भावना, हरेक व्यक्तिबीचमा समता, स्वस्थता, आत्मीयता थुप्रै आदर्श भाव, सामाजिक गुणलाई जीवन्त राख्ने रहेछ । त्यसो भए ‘नमस्कार हजुर’ भन्दैमा धार्मिक र रुढिवादी भइदैन नि । हैन र !

bhattarairamesh353@gmil.com

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  ०७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro