बलेवा । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखमा खरका छाना विस्थापित गर्ने अभियान सुरु गरिएको छ । वडा कार्यालयले वार्षिक कार्यक्रम नै बनाएर वडाभित्र रहेका गरिब विपन्न परिवारका खरका छाना विस्थापन अभियान चलाएको हो ।
विपन्नताका कारण आफैँले जस्ताको छानोलगायत नसक्ने परिवारलाई वडा कार्यालयमार्फत निःशुल्क जस्तापाता उपलब्ध गराएर खरका छाना विस्थापन गरिने छ । गत वर्षसमेत वडाले यो अभियान चलाएको थियो ।
खरका छाना विस्थापन अभियानअन्तर्गत वडा कार्यालयले यस वर्ष १७ परिवारलाई जस्तापाता वितरणका लागि रु छ लाख बजेट विनियोजन गरेको हो ।
यस वर्षको पहिलो चरणमा १२ परिवारलाई खरका छानो परिवर्तनका लागि रङ्गिन जस्तापाता वितरण गरेको वडाध्यक्ष विद्यापति शर्माले जानकारी दिए । बाँकी पाँच परिवारलाई क्रमशः जस्ता उपलब्ध गराइने छ ।
वडा कार्यालयले अघिल्लो वर्ष २४ घरमा जस्ता वितरण गरेको थियो । वडाभित्र करिब ५५ खरका छाना रहेका र आगामी आर्थिक वर्षभित्रै सबै घरमा जस्तापाताले छाउने योजना रहेको वडाध्यक्ष शर्माको भनाइ छ ।
वडाले विनियोजन गरेकाको रकमबाट गाउँपालिकाले जस्तापाता खरिद गरेर उपलब्ध गराएको थियो । भीमापोखराका लागि यस वर्ष ५५ बण्डल जस्ता प्राप्त भएको छ । आर्थिक अवस्था कमजोर भएकाको मात्रै खरका छाना रहेका भन्दै वडाध्यक्ष शर्माले स्थानीयको मौजुदा घरमा मिल्ने गरी जस्ताको व्यवस्था गर्ने गरेको बताए ।
वडा कार्यालयले जस्ताको मात्रै व्यवस्था गर्ने र अन्य आवश्यक सामग्रीको व्यवस्था घरधनीले गर्नुपर्ने छ । खरको छानो हटाएर जस्ता लगाउन पाउने भएपछि स्थानीय खुशी भएका छन् । रासस